स्पेनले आप्रवासीमाथि कडाइ गर्ने भएपछि नेपालीहरू पोर्चुगल सर्दै | Khabarhub Khabarhub

स्पेनले आप्रवासीमाथि कडाइ गर्ने भएपछि नेपालीहरू पोर्चुगल सर्दै


२१ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बार्सिलोना (स्पेन)– कोरोना भाइरसको सबैभन्दा नराम्रो प्रभाव व्यहोरेको युरोपेली मुलुक स्पेनले आप्रवासीमाथि कडाइ गर्ने भएको छ ।

स्पेन सरकारले अवैधानिक आप्रवासीमाथि कडाइ गर्ने भएको हो । उपप्रधानमन्त्री पाब्लो इग्लेसियसले कादेना सेर रेडियोमा दिएको अन्तर्वार्तामा बताएअनुसार गैरकानूनीरूपमा बसेका आप्रवासी देश निकाला हुनेछन् र आर्राइगो सोसल खारेज हुनेछ ।

आर्राइगो सोसल अन्तर्गत अध्यागमन अर्टिकल १२४.२ खारेज गरिनेछ । तीन वर्ष गैरकानूनीरूपमा लुकेर बसेकाले एक वर्षको कामको कन्ट्राक्टका आधारमा आर्राइगो सोसलको लागि निवेदन दिने सक्ने नियम थियो । आर्राइगो सोसल कामका लागि दिने अनुमति हो ।

उपप्रधानमन्त्री इग्लेसियसका अनुसार आउने वर्षदेखि आप्रवासी सम्बन्धी नियम नयाँ हुनेछ । योसँगै आप्रवासीका कारण स्पेनिस जनताको बेरोजगार हुने समस्या अन्त्य हुने उनको भनाइ छ । पासपोर्टबाट इम्पाद्रोनामिएन्तो गरेका सबै आप्रवासीको विवरण खारेज गरिनेछ ।

यसअघि निःशुल्क स्वास्थ्य सुविधा लिन पासपोर्टबाट हेल्थ कार्ड ( तारखेता सानीतारिआ) बनाउन बन्देज भएजस्तै इम्पाद्रोनामिएन्तो गर्न दिने व्यवस्थ हटाइने छ । इम्पाद्रोनामिएन्तो अस्थायी बसोबास सम्बन्धी व्यवस्था हो ।

गत महिना गठबन्धन सरकारका प्रधानमन्त्री पेद्रो सान्चेसले संसदमा आर्राइगो सोसल खारेज लगायत आप्रवासी नियममा सुधार गर्ने बताएका थिए । कोरोना संक्रमण नियन्त्रणसँगै सरकारले आप्रवासीमाथि कडाइ गर्ने पनि उनले भनेका थिए ।

उता आप्रवासीमाथि कडाइ गर्ने तयारीसँगै स्पेनमा तीन वर्षमा कार्ड बनाउन गैरकानूनीरूपमा बसेका नेपालीहरू समस्यामा परेका छन् । कोरोना संक्रमण बढेको बेलामा पनि सयौँ नेपालीहरू धमाधम पोर्चुगल जान सुरु गरेका छन् । कागजात बनाउन सजिलो मुलुकमध्ये पोर्चुगल एक हो । यहाँ प्रक्रिया पुगेको एक वर्षमा ‘अस्थायी रेसीडेन्सी’ कार्ड बन्न सक्छ ।

जर्मनीको भिसा लगाएर दुई वर्षअघि स्पेनको बार्सिलोना आएर बसेकी पुनम लामा पोर्चुगलको राजधानी लिस्बन पुगेकी छन् । उनले भनिन्, ‘स्पेनमा कामको समस्या, त्यसमाथि कागज बन्ने-नबन्ने ग्यारेन्टी छैन । लाखौँ स्पेनिसहरू बेरोजगार छन् । कार्ड बनाउन बन्द गर्ने हल्ला भएर लिस्बनमा चिनेजानेकोमा आएकी हुँ ।’

उनले लिस्बनमा प्रक्रिया सुरु भएको बताइन् । उनले भनिन्, ‘पहिले नै आउनुपर्ने थियो, दुई वर्ष खेर गयो । मेरो पूर्व श्रीमानलाई नै १२ लाख बुझाएर भिसा लगाइएकी थिए । भिसा लगाउन सजिलो छैन, त्यसमाथि यहाँ (स्पेन) कार्ड बनाउन समस्या छ ।’

सात वर्षदेखि बार्सिलोनामा परिवारसहित बसेका विनोद गिरीका अनुसार स्पेनमा नेपाली धेरै छन् । कामको पनि समस्या छ । उनले भने, ‘सरकारले तीन वर्षे ‘आर्राइगो कार्ड’ दिने सिस्टम पहिले नै हटाउने भनेको थियो, अब बन्द गर्ने नयाँ कुरो भएन ।’

गिरीका अनुसार विभिन्न माध्यमबाट युरोप आउन नेपालीहरूले १५ लाख रुपैयाँसम्म खर्च गरेका छन् । अस्थायी बसोबासको कार्ड बनाउन समस्या छ । भनेजस्तो काम पाइँदैन । उनले भने, ‘अब दुईचार वर्ष युरोपमा काम पाउन निकै कठिन हुनेछ ।’

कोरोना भाइरसको महामारीका कारण स्पेनमा आर्थिक मन्दी र बेरोजगारी दर बढेको छ । हाल स्पेनमा बेरोजगारी दर १५.३३ प्रतिशत छ, ३३ लाख ६८ हजार स्पेनिसहरू बेरोजगार छन् ।

स्पेनको तेस्रो ठूलो आप्रवासी र इस्लाम विरोधी दक्षिणपन्थी वोक्स पार्टीले अवैध आप्रवासी देश निकाला गर्ने, आर्राइगो बन्द गराउने, कट्टरपन्थी मस्जिदहरू बन्द गराउने लगायतका कडा मुद्दाहरू संसदमा उठाउने गरेको छ । वोक्स पार्टीले कानुनीरूपमा बसेको आप्रवासीले कुनै अपराध गरेको छ भने पनि देश निकाला गर्नुपर्ने भन्दै आप्रवासी विरोधी मुद्दा अघि सारेको छ ।

विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बढ्दो संक्रमणले स्पेनमा पनि भयावह अवस्था सिर्जना गरेको छ । स्पेनमा कोरोना संक्रमितको संख्या अहिलेसम्म ८ लाख ५२ हजारभन्दा बढी छ पुगेको छ । कोरोनाले ३२ हजार २ सयभन्दा बढीको मृत्यु भएको छ ।

युरोपमा सबैभन्दा ठूलो अर्थतन्त्र भएका पाँच देशहरू फ्रान्स, जर्मनी, इटाली, स्पेन र बेलायत हुन् । कोरोना भाइरसका कारण स्पेन आर्थिक मन्दीको चपेटामा परेको छ । अन्य देशको तुलनामा स्पेनको अर्थव्यवस्थामा निकै गिरावट छ ।

स्पेनमा निर्यात, लगानी र उपभोक्ताको खर्चमा गिरावट आएको छ । तथ्यांकअनुसार पछिल्लो महिना स्पेनको अर्थव्यवस्थाका लागि सबैभन्दा खराब समय भयो । स्पेनको जीडीपीमा पनि निरन्तर गिरावट छ । कृष्ण खनाल ‘मदन’बाट

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  ५ : २६ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका