कबड्डीमा डेब्यु र बच्चन परिवारसँग आश्चर्यजनक भेट « Khabarhub
Logo
१ आश्विन २०७७, बिहीबार

कबड्डीमा डेब्यु र बच्चन परिवारसँग आश्चर्यजनक भेट



काठमाडौँ–  कुरा ५० साल  अघिको हो । धनुषाको सखुवा बजारवरपर कबड्डी खेलको निकै चहलपहल थियो ।  फूटबल पनि हुन्थ्यो । मान्छेहरू फूटबलभन्दा कबड्डीमै झुम्मिन्थे । त्यतिबेला १०–१२ वर्ष उमेरका सञ्जय श्रेष्ठ खेलकुदमा रुचि राख्थे । सञ्जय स्कुलमा फूटबल खेल्थे, गाउँमा कबड्डी ।

उनको गाउँमा कबड्डी धेरै खेलिनुमा उनका मामा मानबहादुर श्रेष्ठहरूको पुस्ताले खेलमा गरेको योगदान नै मुख्य कारण थियो । त्यतिबेला गाउँ—गाउँका टीमबीच कबड्डी प्रतियोगिता हुन्थ्यो । खेल हेर्न भिड लाग्थ्यो ।

खेलबाट मामा मानबहादुर उनका साथीहरूको ख्याति देखेर सञ्जय पनि कबड्डीमा लागे । कक्षा सातसम्म पढ्दा फूटबलमा रुचि भएका उनी ८ कक्षामा पुगेपछि कबड्डीतिर ढल्किए । त्यही वेला आठौँ दक्षिण एसियाली खेलकुद (साग) काठमाडौँमा आयोजना भएको थियो । सागमा कबड्डीतर्फ सञ्जयका गाउँले दाइ सरोज सिंह पनि सागमा सहभागी भएका थिए ।

सञ्जय भन्छन्, ‘स्कूलमा म फूटबल खेल्थेँ । पछि गाउँमा कबड्डी भएपछि मैले फूटबलभन्दा कबड्डी नै रोजेँ ।’

सञ्जय छिमेकी गाउँको शिरेश्वर क्लबबाट कबड्डी खेल्न थाले । त्यहीँ ख्यातिप्राप्त कबड्डी प्रशिक्षक रामनारायण सिंहसँग भेट भयो । सिंह नेपालमा कबड्डीका राम्रा प्रशिक्षक हुन् ।

पछिल्लो सात वर्षदेखि लगातार भारतीय प्रो कबड्डी खेलिरहेका सञ्जय आफूलाई नेपालभन्दा बाहिरका मान्छेहरूले बढी चिन्ने गरेको बताउँछन् । उनी नेपालभन्दा बाहिरका मान्छेसामु पहिचान बनाएका खेलाडी हुन् । यसमा उनी सहमत छन्, ‘मैले १६ वर्षदेखि लगातार नेपालका लागि खेलिरहेको छु तर यहाँ मलाई कबड्डीका मान्छेहरूले मात्रै चिन्छन् । भारतमा क्लबलाई फलो गर्ने धेरैले चिन्छन् ।’

सञ्जयले मध्यमाञ्चलबाट बृहत् राष्ट्रिय खेलकुदमा चार संस्करण लगातार खेले जसमा पाँचौँ र सातौँमा रजत पदक दिलाए । छैठौँमा स्वर्ण पदक दिलाए । आठौँ खेलकुदमा भने प्रदेश २ ले पदक हात पार्न सकेन । अन्तर्राष्ट्रियमा एघारौँ सागमा नेपाललाई कास्य दिलाएका थिए ।

डेब्यु अन्तर्राष्ट्रियमा

सिंहसँगको भेटपछि सञ्जयले कबड्डीलाई नै आफ्नो भविष्य बनाउने सोच बनाए । क्लबमा राम्रो गर्दा उनी २०५८ सालको राष्ट्रिय खेलकुदको छनोट प्रक्रियामा आए । क्षेत्रीय छनोट खेले । अनि बृहत् राष्ट्रिय खेलकुदका लागि छनोट भए ।

विडम्बना ! राष्ट्रिय खेलकुद उद्घाटनको उघिल्लो दिन राजदरबार हत्याकाण्ड भयो । त्यसपछि उनको राष्ट्रिय खेलकुद खेल्ने सपना तत्कालका लागि टुङ्गियो । त्यति नै बेला नवौँ दक्षिण एसियाली खेलकुदको छनोट हुने भयो ।

पाकिस्तानमा हुने साग पनि पटक–पटक सर्दै सन् २००४ मा हुने तय भएको थियो । त्यसमा लागि टुँडिखेलमा खुला छनोट भयो । यसमा सञ्जय दोस्रो भएर पाकिस्तानमा भएको सागमा नेपालको प्रतिनिधित्व गरे । उनले २१ वर्षको उमेरमा राष्ट्रिय टिमबाट डेब्यु गरे ।

सञ्जयले दशौँ, एघारौँ र बाह्रौँ दक्षिण एसियाली खेलकुद पनि खेले । बाह्रौँ सागमा त उनले नेपाली टोलीको कप्तानको जिम्मेवारी नै पाए । काठमाडौँमा भएको १३औँ साग भने उनले खेल्न पाएनन् । भारतमा हुने प्रो कबड्डी लिगका कारण साग नेपालमा सहभागी हुन नसकेको उनले बताए ।

प्रो कबड्डी यात्रा

सन् २०१४ मा भारतमा प्रो कबड्डी लिग हुने भयो । हरेक टिमले विदेशी खेलाडीलाई क्लबमा अनुबन्ध गर्नुपर्ने प्रावधान बन्यो । त्यहीबेला कबड्डीको अन्तर्राष्ट्रिय संस्थाले नेपालका खेलाडीको विवरण माग्यो । त्यसमा सञ्जयसहित अन्य खेलाडीको पनि नाम पठाइयो ।

खेलका लागि सञ्जय एक्लै छनोट भए । उनलाई जयपुरको टिमले विदेशी कोटाबाट छनोट गर्‍यो । पहिलो संस्करणमै जयपुर च्याम्पियन पनि बन्यो । लगातार सात सिजन प्रो कबड्डी खेलेका उनले सुरुका तीन सिजन जयपुरबाटै खेले । चौथो, पाँचौ र सातौँ संस्करण बेङ्ग्लुरु बुल्सबाट खेले । छैठौँ संस्करण पुनेको टिमबाट खेले ।

प्रो कबड्डीमा सि ग्रेडका खेलाडी रहेका सञ्जलले पहिलो वर्ष दुई लाख भारतीय रुपैयाँ पाएका थिए । सातौँ संस्करण खेल्दा बेङ्ग्लुरुले १० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो ।

कबड्डी लिगले आफ्नो खेल अनुभव र आर्थिक जीवनमा धेरै सहयोग गरेको उनी बताउँछन् ।

‘सुरुमा अनुबन्ध हुँदा निकै खुसी लागेको थियो । गर्व महसुस भएको थियो,’ सञ्जयले भने, ‘प्रो कबड्डी खेल्ने पहिलो खेलाडी भएकोमा अत्यन्तै खुसी लागेको थियो ।’ प्रो कबड्डी लिगले खेलेपछि राम्रो खेल्न सक्दो खेलेरै जिविका चलाउन सकिन्छ भन्ने महसुस भएको उनले बताए ।

बच्चन परिवारसँग त्यो भेट

सञ्जयललाई प्रो कबड्डी टिम जयपुरले अनुबन्ध गरेको थियो । उक्त क्लबका मालिक हुन्, बलिउड अभिनेता अभिषेक बच्चन । नेपालबाट पहिलो संस्करणका लागि सञ्जय भारत गएपछि टेलिभिजनमा मात्रै देखेका बच्चनसँग पहिलोपटक भेट भयो । अभिषेकसँग भेट होला भनेर उनले कहिलै पनि सोचेका थिएनन् । त्यहाँ अभिषेकसँगै किङ खानको नामले परिचित शाहरूख खानसँग पनि भेट भयो । यो भेट अनपेक्षित र आश्चर्यजनक थियो ।

अभिषेकका पिता अमिताभ बच्चनसहित परिवारै खेलाडी भेट्न होटलसम्म पुगेको उनी सम्झन्छन् । ‘सधैँ फिल्ममा देखेका बलिउड सेलिब्रेटीहरूसँग सिधै भेट्छु कहिलै लागेको थिएन । पहिलोपटक जाँदा नै अमिताभ, अभिषेक र ऐश्वर्यासँग भेट भयो,’ सञ्जयले भने, ‘मेरा लागि सबैभन्दा उपलव्धिको क्षण त्यो नै मान्छु ।’

अभिषेक हरेक भेटमा घर परिवारबारे सोध्ने गर्छन् । सञ्जय भन्छन्, ‘म एउटा खेलाडी । उहाँहरूको फ्यान पनि हुँ । उहाँहरूलाई अगाडि देख्दा निकै उत्साहित भएँ । उहाँहरूसँग घरपरिवार र नेपालका बारेमा कुरा हुन्थ्यो ।’

अभिषेक नेपालमा कबड्डी खेलको अवस्थाबारे पनि चासो राख्छन् ।

संघ प्रभावकारी हुनु पर्छ

नेपाली कबड्डी टिमका पूर्व कप्तान सञ्जय आफू प्रो कबड्डी लिगमा आवद्ध भए पनि पहिलो रोजाइमा कोर्टमा उत्रिन भने निकै कठिन भएको बताउँछन् ।

लगातार सातपटक लिग खेलेका उनी सब्स्टिच्युट खेलाडीमा परे पनि अहिलेसम्म पहिलो रोजाइमा कोर्टमा उत्रिन नपाएको स्वीकार गर्छन् । प्रो लिगमा ए बि र सि ग्रेड गरेर टिमहरूले खेलाडी अनुबन्ध गर्छन् । सि गे्रडका खेलाडी पहिलो रोजाइमा पर्न निकै मुश्किल पर्छ ।

नेपालजस्ता देशका खेलाडी प्राय सि ग्रेडमै हुन्छन् । उनीहरूलाई ए ग्रेडका खेलाडीसँग प्रतिस्पर्धा गर्न कठिन हुन्छ । हरेक वर्ष लिगको डेढ महिनाअघि क्याम्प सुरु हुन्छ । त्यसमा राम्रो गर्ने खेलाडीहरू नै पहिलो ७ जनामा पर्छन् । अरू ५ जना सब्स्टिच्युटमा हुन्छन् ।

नेपालबाट पछिल्लो समय लालमोहर यादव पनि प्रो लिग खेलिरहेका छन् । तर, प्रो कबड्डीमा उनी सहभागितामै सीमित छन् ।

वर्षभरिमा एक–दुई खेलमात्रै हुँदा एक्स्पोजर नपुगेको सञ्जयको भनाइ छ । नेपालमा कबड्डीको संरचना नै कमजोर रहेकोले उनको बुझाइ छ । हुन पनि नेपाल कबड्डी संघले वर्षमा एउटै पनि नियमित लिग आयोजना गर्न सकेको छैन । संघले सधैँ लिग गर्ने आश्वासन दिए पनि कार्यान्वयन भएको छैन ।

सञ्जय भन्छन्, ‘हाम्रो फउन्डेसन नै कमजोर छ । यहाँ हामी वर्षमा एउटा प्रतियोगिता खेल्छौँ । त्यसले कति प्रतिफल दिन्छ र ! संघले लिग गर्ने भनेको पनि धेरै भइसक्यो, अहिलेसम्म भएको छैन ।’

खेलाडीको हकमा सरकार बेखबर रहेको उनको गुनासो छ । खेलाडी जीवन सकिएपछि के गर्ने भन्नेमा सरकारको कुनै योजना नभएकोमा सञ्जयको गुनासो छ ।


भर्खर

0