महामारीमा मनोसामाजिक समस्या र समाधान « Khabarhub
Logo
१९ असार २०७७, शुक्रबार

महामारीमा मनोसामाजिक समस्या र समाधान



हाम्रो समाजमा मानसिक रोग र यसको उपचारबारे धेरै भ्रमहरू छन् । मानसिक रोगको वैज्ञानिक आधार छैन, यस्तो रोग नै हुन्न भन्ने जमात पनि ठूलै छ । वैज्ञानिक अनुसन्धानहरूले भने मानसिक रोगका धेरै तथ्यहरू पत्ता लगाएर उपचार पद्धति विकास गरेका छन् ।

सिग्मन्ड फ्रेडको सिद्धान्तसँगै मनको अस्तित्वलाई विज्ञानले स्वीकार गरेको धेरै भयो । यसैमा आधारित भएर गरिएका धेरै खोज र अनुसन्धानहरूले धेरै प्रकारका मनोवैज्ञानिक अर्थात मानसिक रोगहरू हुने तथ्य प्रष्ट पारेका छन् ।

मनोवैज्ञानिक रोगलाई अरू रोगजस्तै मान्न सकिने आधारहरू पनि धेरै छन् । संसारको एक चौथाई जनसंख्या मानसिक रोगको समस्याबाट गुज्रिरहँदासम्म पनि यस्तो रोग नै हुन्न भन्नु मुर्खता हुनेछ । धेरैजसो अवस्थामा मानसिक रोगको निदान व्यक्तिको सोचाइ, भोगाइ र व्यवहारमा आएको परिवर्तनबाट हुने गर्छ । मानसिक रोगको निदान र उपचारमा सकारात्मक पहल आजको आवश्यकता भएको छ ।

आधुनिक विकास र बढ्दो प्रतिस्पर्धासँगै मानिसमा तनाव बढ्न थालेको छ । तनावले समयमा निकास नपाउँदा मानिस बिस्तारै कुनै प्रकारको मानसिक रोगको समस्या पर्न थाल्छ र आत्महत्यासम्म पुग्न सक्छ ।

महामारी, लकडाउन र मानसिक समस्या

संसारभरि कोरोना भाइरस (कोभिड–१९) को महामारीले मानिसहरू आक्रान्त भइरहेका छन् । मानिसहरू दैनिक गुजाराको चिन्तामा पर्न थालेका छन् । धेरैको व्यवसाय चौपट भएको छ । धरै मानिस भविष्यको चिन्तामा डुब्न थालेका छन् । यसले मानसिक समस्याहरू पनि धेरै देखिन थालेका छन् । विश्व स्वास्थ्य सङ्गठनले निकट भविष्यमा मानसिक रोगको महामारी नै आउन सक्ने आकलन गरेको छ ।

हालको अवस्थामा जुन खालको आर्थिक, सामाजिक अनि शैक्षिक अनिश्चितता छ, त्यसले व्यक्तिमा अस्थिर मनोभाव वा अस्थिर मनोदशा पैदा गर्न सक्दछ । यस्तो मनोदशाले व्यक्ति मनोवैज्ञानिक समस्याबाट ग्रसित हुने सम्भावना धेरै हुन्छ ।

कहिलेकाहीँ त यो नै आत्महत्याको कारक समेत बन्न पुग्दछ । जुनसुकै उमेर समूहका मानिसमा यस्तो समस्या देखिने सम्भावना रहन्छ । नेपालमा लकडाउनको समयमा आत्महत्या गर्नेको संख्या बढेको भन्ने तथ्यांकहरू प्रकाशित हुन थालेका छन् ।

नेपाल प्रहरीकै तथ्यांकअनुसार पनि लकडाउनअघिको तुलनामा दैनिक सरदर आत्महत्याको संख्या बढेको छ । यस्तो अवस्थाप्रति मनोविद तथा मनोचिकित्सकहरूले चिन्ता प्रकट गर्न थालेका छन् ।

यहाँ मानिसमा देखिने मानसिक समस्याका लक्षणहरू उमेको तीन अवस्थाका आधारमा संक्षेपमा प्रकाश पार्ने प्रयास गरिएको छ ।

आधुनिक विकास र बढ्दो प्रतिस्पर्धासँगै मानिसमा तनाव बढ्न थालेको छ । तनावले समयमा निकास नपाउँदा मानिस बिस्तारै कुनै प्रकारको मानसिक रोगको समस्या पर्न थाल्छ र आत्महत्यासम्म पुग्न सक्छ ।

बाल्यावस्था :

बाल्य अवस्थाका व्यक्तिमा एक्लै बस्न मन गर्ने, परिवारका सदस्य र साथीहरूसँग घुलमिल नहुने, धेरै रिसाउने, ससानो कुरामा झगडा गर्ने, लडीबुडी गर्ने, आफूभन्दा ठूलाले भनेको नमान्ने, धेरै चकचक गर्नेजस्ता लक्षणहरू देखिन्छन् । यस्तो अवस्था धेरै देखिए मानसिक समस्या भएको हुन सक्छ ।

वयस्क :

वयस्क उमेरका व्यक्तिमा मन निरास हुने, नरमाइलो लाग्ने, रुन मन लाग्ने, पश्चातापको भावना आउने, डर लाग्ने, कुराहरू छिटो बिर्सिने, काममा ध्यान नजाने जस्ता लक्षणहरू देखापर्छन् । यसैगरी, अनावश्यक सोच आउने, निद्रा नलाग्ने, शरीर पोल्ने, झमझम गर्ने, कुनै प्रकारको भ्रम हुने, मिथ्याभास हुने लक्षणहरू हुन्छन् । यस्तै लक्षणसँगै आत्महत्याको सोच आउने हुन्छ । बाँच्नुको सार छैन, अब मर्छु भन्ने सोच आउँछ ।

बुढेसकाल :

बुढेसकालको व्यक्तिमा डर लाग्ने, शंका लाग्ने, स्मरणशक्ति कम हुने, ससानो कुरामा झिँजो लाग्ने, मन उदास हुने, रुन मन लाग्ने, छटपटी हुनेजस्ता लक्षणहरू देखापर्छन् ।

मानसिक रोग भएको वयस्क व्यक्तिमा लागु पदार्थको दुर्व्यसन हुने सम्भावना पनि हुन्छ । महामारीको समयमा त झन् लागुपदार्थको प्रयोग बढ्ने सम्भावना धेरै हुन्छ । तनाव कम गर्ने नाममा मादकपदार्थ र अन्य लागुऔषध प्रयोग गर्ने गरेको पाइएको छ ।

सामाजिक दूरीको मनोवैज्ञानिक असर

कोभिड–१९ अत्यधिक संक्रामक भाइरल इन्फेक्सन हो । श्वासप्रश्वासको माध्यमले सर्ने हुनाले सुरक्षाको हिसाबले व्यक्तिहरूका बीचमा शारीरिक/सामाजिक दूरी आवश्यक हुन्छ । एकातिर रोगबाट बच्न सामाजिक दूरी अवश्यक हुन्छ भने अर्कातिर असुरक्षाको अनुभव हुने यस्तो समयमा मानिसहरूबीच निकटता र एकताको भाव आवश्यक हुन्छ ।

यस्तो परस्पर विपरीत परिस्थितिमा मानसिक समस्या बढ्ने सम्भावना हुन्छ । संक्रमणबाट बच्न लकडाउन मान्नै पर्छ र सामाजिक दूरी पनि बनाउनै पर्छ । यस्तो अवस्थामा मानसिक समस्या भएका व्यक्तिलाई सान्त्वना र मनोविद वा मनोचिकित्सकको कुशल परामर्श आवश्यक पर्छ ।

क्वारेन्टिनले र आइसोलेसनले मानिसमा एक्लोपन महसुस गराउँछ । एक्लोपनले मानसिक समस्या बढाउँछ । यस्तो अवस्थामा मानसिक स्वास्थमा विशेष ध्यान दिन आवश्यक पर्छ ।

यस्तो समयमा सकारात्मक सोचाइ, दरिलो आत्मविश्वास र आत्म अनुशासन महत्वपूर्ण हुन्छ ।

सूचनाको अधिक भार

कोभिड–१९ महामारीको यो समयमा सबै सञ्चारमाध्यमहरू यसैसँग सम्बन्धित छन् । अनलाइन माध्यमहरू पढूँ, पत्रिका पढूँ, रेडियो सुनूँ, टेलिभिजन हेरूँ, फेसबुकमा साथीहरूका स्टाटस हेरूँ, जताततै कोराना संक्रमण, मृत्यु र यसबाट समाजमा व्याप्त समस्यामात्रै देखापर्छ ।

अर्थात, एकैथरी सूचनाको भारी र बाढी छ । यस्तो एकै किसिमको एकोहोरो सूचनाले मनोवैज्ञानिक समस्याहरू आउनसक्ने अनुसन्धानहरूले देखाएका छन् । पहिलेदेखि नै एन्जाइटी र डिप्रेसनजस्ता समस्या भएका व्यक्तिमा यस्ता समस्याले जटिल रूप लिने सम्भावना हुन्छ । यस्तो समयमा पहिलोपल्ट मानसिक समस्या देखापर्ने पनि हुन्छ ।

अब्सेसिभ कम्पल्सिब डिसअर्डर (ओसीडी) भएका व्यक्तिलाई त अहिलेको अवस्थाले झनै कठिन स्थिति पैदा गरिदिएको छ । कहिलेकाहीँ गलत सूचनाको कारण आफूले आफैँलाई हानी पुर्‍याउने अर्थात आत्महत्याको सोच आउनेसम्म हुन सक्दछ ।

ओडीसी एक मानसिक रोग हो । यसले व्यक्तिमा अनियन्त्रित र अनावश्यक विचारहरू वा संवेदनाहरू उत्पन्न गराउँछ जसले व्यक्तिलाई दोहोर्‍याएर केही गर्न प्रेरित गर्दछ । दोहोरिने व्यवहारहरू जस्तै : बारम्बार हात धुने, चिजहरू बारम्बार जाँच्ने वा सफा गर्ने जस्ता समस्याहरू देखापर्छन् । ओडीसी भएका व्यक्तिहरू अहिलेको महामारीको समयमा मानसिक समस्याबाट बढी पीडित हुन्छन् ।

समस्या बढ्दै गएको अनुभव भयो भने, आफैँले व्यवस्थापन गर्न नसक्ने जस्तो भयो भने ढिलो नगरी मनोविद वा मनोचिकित्सकसँग सल्लाह लिनुपर्छ । मानसिक समस्या पनि रोग नै हो । साधारण उपायहरू, केही परामर्श र आवश्यक परे केही औषधिबाट समस्या समाधान गर्न सकिन्छ । रोग निको हुन्छ ।

सबल मानसिक स्थित

मानसिकरूपमा स्वस्थ रहनु शारीरिक स्वास्थ्य जत्तिकै महत्वपूर्ण हुन्छ । मानसिकरूपमा स्वस्थ व्यक्तिमात्रै शारीरिकरूपमा पनि स्वस्थ हुन्छ । योग, व्यायाम, स्वस्थ खानपान र पर्याप्त निद्राले मानसिकरूपमा सबल रहन सहयोग गर्दछन् । ममस्याको प्रकृतिअनुसार अन्य उपायहरू पनि अपनाउनु पर्छ ।

आजको महामारीको समयमा यो विषम परिस्थिति अवश्य टरेर जान्छ र नयाँ बिहानी फेरि आउँछ भन्ने सकारात्मक सोच आवश्यक पर्छ । यस्तो समयमा सकारात्मक सोचको ऊर्जाले मानिसको मनलाई अस्थिर हुनबाट जोगाउने काम गर्दछ । साथै, तनावको सही व्यवस्थापन पनि मानसिक रूपमा स्वस्थ रहने आवश्यक कडी हो ।

मानसिक स्वास्थ्यबारे थोरै सचेत व्यक्ति आफैँले आफ्नो, आफ्ना परिवारका सदस्य र निकट व्यक्तिहरूको मानसिक समस्याको केही लक्षण थाहा पाउन सक्छ ।

रोगको लक्षण देखिएको छ भने व्यक्ति स्वयमले आफैँमा र आफूले पहिचान गरेको व्यक्तिमा सकारात्मक सोच विकास गर्न सक्छ । तनाव व्यवस्थापनबाट उत्साह बढाउन सक्छ ।

समस्या बढ्दै गएको अनुभव भयो भने, आफैँले व्यवस्थापन गर्न नसक्ने जस्तो भयो भने ढिलो नगरी मनोविद वा मनोचिकित्सकसँग सल्लाह लिनुपर्छ । मानसिक समस्या पनि रोग नै हो । साधारण उपायहरू, केही परामर्श र आवश्यक परे केही औषधिबाट समस्या समाधान गर्न सकिन्छ । रोग निको हुन्छ ।

मानसिक रोगप्रति हाम्रो समाजको नकारात्मक धारणाका कारणले मानिसहरू परामर्शमा वा उपचारमा जान हिच्किचाउँछन् । समयमै समाधान गर्न नसक्दा समस्या जटिल हुँदै जान्छ र आत्महत्या हुन्छ । मानसिक रोग कुनै नराम्रो र नकारात्मक कुरा नभएर यो एउटा रोग हो, यसको समाधान र उपचार छ भन्ने जनचेतना पनि उत्तिकै आवश्यक छ ।

(लेखक मनोचिकित्सक हुन् ।)


भर्खर

0