लकडाउनमा खाना पकाउन सिक्दैछिन् भलिबल कप्तान « Khabarhub
Logo
११ जेष्ठ २०७७, आइतबार

लकडाउनमा खाना पकाउन सिक्दैछिन् भलिबल कप्तान



काठमाडौं– राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही म्याग्दीको राखु पिपलस्थित घरमा परिवारसँगै समय बिताउँदै छिन् ।

नेपालगञ्जमा भएको प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता सकिएपछि घर फर्किएकी अरुणाको समय घरेलु काममा बितिरहेको छ ।

कोरोना भाइरस (कोभिड–१९) विश्वभर महामारीका रूपमा फैलिएको यो समयमा अरुणा घर पुगिन् । यसपछि लकडाउन घरमै बित्दैछ ।

यसअघि उनी गएको दशैँ, तिहारमा घर गएकी थिइन् । खेलक्षेत्रमा लागेपछि एक हप्ताभन्दा बढी घरमा बसेकी थिइनन् । पछिल्लो झण्डै दश वर्षपछि यसपालि अरुणा दुई हप्ताभन्दा लामो समय घरमा छिन् । भन्छिन्, ‘बस्ने समय मिलेको छ ।’

लामो समयपछि गाउँमा धेरै दिन बस्न पाउँदा खुसी लागे पनि देशमा कोरोना भाइरस संक्रणको असहज परिस्थितिले उनलाई खल्लो लागेको छ । घरमा परिवारजनसँगै रमाइलै भएको पनि उनले बताइन् ।

अरुणा नेपालको महिला भलिबलको इतिहासमा पहिलो अन्तर्राष्ट्रिय स्वर्ण विजेता कप्तान हुन् । सधैँ भलिबलसँग कहिले मैदानमा कहिले अभ्यासस्थलमा हुने अरुणाको दिनचर्या लकडाउनले फेरिदिएको छ । आजभोलि उनी खानाका परिकार बनाउन सिक्दैछिन् ।

‘भण्डै १०–११ वर्षपछि गाउँमा धेरै समय बसेकी हुँ । यसअघि दशैँ तिहारमा आउँदा पनि हप्ता दिनमा काठमाडौं फर्किनु पथ्र्यो । यसपालि अलि लामो समय परिवारसँग बस्न पाइएको छ,’ अरुणाले भनिन्, ‘परिस्थिति सहज छैन । सबै जना सचेत रहनुपर्छ । म पनि सचेत छु । सुरक्षित रहेर परिवारसँग समय बिताइरहेकी छु । रमाइलो हुँदैछ ।’

अरुणा बिहान बेलुका अभ्यासका लागि आफ्नो टिम मेटसँग भलिबल कोटमा होइन, घरमै आमा, दाजुहरूसँग चिया पिउँदै हुन्छिन् । जसै दिन घर्किंदै आउँछ अरुणा आमालाई भान्सामा काम सघाउँछिन् । केही नयाँ परिकार बनाउन सिक्छिन् ।

अरुणा स्कुल, कलेज पढ्दा लामो समय छात्रावासमा बसिन् । उनका लागि अहिलेको घरबसाइ निकै रमाइलो भएको छ । घरायसी काम सिक्ने अवसर मिलेको छ ।

‘म लामो समय होस्टल बसेकी थिएँ । अहिले घरमा बस्ने समय मिलेको छ । खानाका परिकार बनाउन सिकिरहेकी छु,’ अरुणाले भनिन्, ‘घरमा भैँसी छ, घाँस काट्न गएकी छैन, घर भित्रको काम भने गरिरहेकी छु ।’

नेपालगञ्जमा प्रधानमन्त्री कप भलिबलका क्रममा अरुणाको हातमा चोट लागेको थियो । अहिले ठिक भइसकेको उनले बताइन् ।

अरुणा राष्ट्रिय टोलीसँगै मोफसलमा पनि सफल खेलाडी हुन् । प्रधानमन्त्री कपमा गण्डकी प्रदेशको टोली सहभागी नभएपछि उनले न्यु डायमन्ड भलिबल क्लबबाट खेलिन्, जसमा न्यु डायमन्ड चौथो भएको थियो ।

अहिले उनले भलिबल अभ्यासै गर्न पाएकी छैनन् । ‘गाउँमा भलिबल खेल्ने माहौल छैन तर पनि घरमा भलिबल छ । कहिले दाइसँग त कहिले आमासँग रमाइलो गर्दै खेलिन्छ,’ अरुणाले टेलिफोनमा खबरहबसँग भनिन्, ‘भाइ अष्ट्रेलियामा छन् । भाउजु लकडाउनले गर्दा काठमाडौंबाट घर आउन पाउनुभएन । उहाँहरूसँग पनि कुरा भइरहन्छ ।’

छिमेकी जिल्ला बाग्लुङमा एक जनामा कोरोना संक्रमण पुष्टि भएपछि म्याग्दीका मानिसहरू डराएको अरुणाले बताइन् । ‘यता बाग्लुङमा संक्रमण पुष्टिभएपछि गाउँमा मानिसहरू डराइरहेका छन् । शहरको जसरी ठप्प त छैन तर पनि काम नपरी मानिसहरू बाहिन निस्किँदैनन्,’ उनले भनिन् ।

आउँदो वैशाखमा शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले भलिबल प्रतियोगिता आयोजना गर्ने तय थियो । कोरोना भाइरसका कारण स्थगित भएको छ ।

अरुणाले २०६४ सालमा भलिबल खेल्न थालेकी हुन् । पछिल्लो ५–६ वर्षदेखि राष्ट्रिय टोलीमा छिन् । अहिले उनी राष्ट्रिय टोलीकी कप्तान छिन् । एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपाललाई पहिलो अन्तर्राष्ट्रिय स्वर्ण दिलाउन सफल भइन् । अरुणा नेतृत्वको टोलीले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक हात पारेको थियो ।

सागको फाइनल खेलमा भारतसँग पराजित भएपछि स्वर्ण पदकको इतिहास रच्नबाट चुके पनि रजत पदकको कीर्तिमान भने बनाएको थियो । साग भलिबलमा नेपालले रजत जितेको पनि पहिलो पटक हो ।


भर्खर

0