स्वावलम्बी ८० वर्षे आमा भन्छिन्– हात चलुञ्जेल पाखुरा बजारेरै खाने हो « Khabarhub
Logo
६ आश्विन २०७८, बुधबार

स्वावलम्बी ८० वर्षे आमा भन्छिन्– हात चलुञ्जेल पाखुरा बजारेरै खाने हो



काठमाडौं– प्राय: हरेक दिन, बाङ्गेमुढाको एक छेउमा बसिरहने एक वृद्धा । जो सधै ती व्यक्तिहरुको प्रतिक्षामा बसिरहेकी हुन्छिन्, जसले उनको साग किनिदेओस्।

हँसिलो चेहरा । सेतै फुलेका कपाल । अनुहारको छाला पनि मुजा परिसकेको छ । दाँत झरिसकेका छन् । झट्ट हेर्दा घरमा आराम गरेर बस्नुपर्ने अवस्था देखिन्छ उनको । तर, दुई छाक खानाका लागि सडकको धुलोको कुनै प्रवार्ह नगरी सागका मुठा बेचिरहेकी छिन्–‘८० वर्षीया हसिमा गुरुङ ।’

फुटपाथमा हिड्दा उनलाई देख्नेहरुले पनि भन्दै थिए– ‘आमा कति हो यो सागको ?’

‘मात्र ३० रुपैयाँ’ इशारा गर्दै भन्दै थिइन् उनी ।

घडीमा साँझको ६ बजिसकेको थियो । मानिसहरुको खचाखच उस्तै । बोल्नेहरु ‘साग लानुस्, साग !’ भन्दै चिच्याइरहेका थिए ।

तर ती आमा जो चिच्याउन सक्ने अवस्थामा थिइनन् । तर उनी साग किन्न आउनेहरुको प्रतिक्षामा थिइन् । देख्नेहरुले किनिहाल्थे नदेख्नेहरु खुरुखुरु हिडिरहेका थिए । साग किनेर लैजाँदा खुसीले गद्गद् हुन्थिन् उनी ।

साग बेच्न टुसुक्क बसेकी आमालाई देख्नेहरुले साग मात्र किनेनन् उनीहरुले चिया खानुस् है आमा भन्दै हातमा २० र ५० का नोट समेत थमाइरहेका थिए । आमा फुरुङ्ग हुन्थिन् ।

केही मानिसहरुले साग किन्थे । कति बाँकी रहेछ भन्दै उनी भुँइतिर हेर्न थाल्थिन् । हामी उनको छेउमै थियौं ।

‘नानी साग लैजाने हो ?’ आमाले सोधिन् ।

हामीलाई आमासँग कुरा गर्नका लागि ग्राहक नै बन्नुपर्ने थिएन तर पनि हामीले सोध्यौं ‘के को साग बेच्न राख्नुभएको ?’

‘मेथी र सीम साग’ भुँइमा राखेको सागका मुठा देखाउँदै उनले भनिन् ।

‘कति रुपैयाँ हो नि ?’ मैले पुनः प्रश्न गरिहाले ।

‘३० रुपैयाँ मात्र हो नानी ! ठूलो मुठा छ ।’ हतपत्त जवाफ दिइन् ।

रायो, चमसुर, तोरी, मेथी लगायतका साग बजारमा देखिरहेको थिएँ । आमाले बेच्न राखेको ‘सिम साग’ भने नौलो लागेको थियो । जिज्ञासा थियो मनमा कहाँ पाइने रहेछ यो साग ।

‘आमा ! कहाँबाट ल्याउनु भएको नि यो साग ?’ मेरो यो प्रश्नको जवाफ उनले सजिलै फर्काइनन् । बरु उल्टै आफूसँगै केही समय बस्न आग्रह गरिन् । साग बेचिसकेपछि कुरा गर्ने सर्तमा ।

‘यति साग बेचिसक्छु अनि नानीसँग कुरा गर्छु है’ उनले भनिन्, ‘गफ गर्न थालेँ भनेसाग बिक्री हुँदैन फिर्ता लैजानुपर्छ ।’

करिब ३० मिनेटको अन्तरालमा साग बेचिसकियो । २ घण्टा लगाएर साग बेचेको पैसा मिलाइन् र शरीरमा भिरेको पुरानो थैलीमा हालिन् र खुसी हुँदै कुरा कोट्यान तत्पर भइन् ।

धादिङमा जन्मिएकी बिहे गरेर पल्लो गाउँमा पुगेँ !

हसिमा वि.स. १९९६ सालमा धादिङ जिल्लाको गजुरेमा जन्मिइन् । तीन सन्तानमा उनी जेठी छोरी हुन् । त्यो बेलाको परिस्थिति नै त्यस्तै थियो । उनले अक्षर चिन्ने र बुझ्ने अवसर पाइनन् ।

‘त्यो बेला पढ्ने लेख्ने चलन थिएन’ बालकपनलाई सम्झिदै उनले भनिन्, ‘कपी कलम बोकेर स्कुल जाने उमेर कहिल्यै आएन ।’

आफूले जान्दादेखि उनी खेतीपाती कै काममा थिइन । बा–आमालाई सहयोग पनि हुन्थ्यो । १२ वर्षको उमेरमा उनी पहिलो पटक काठमाडौं आएकी थिइन् बुबाको साथमा ।

‘धादिङदेखि काठ बेच्न बुबा आउनुहुन्थ्यो’ उनले भनिन्, ‘काठ बेचुन्जेल खानाका लागि चामल पिठो बोकेर बासँगै हिड्थेँ ।’

‘काठ बेचेको पैसाले बुबाले चुरा धागो किन्दिथे त्यही आशले पनि काठमाडौं हेर्न आइरहन्थे नि नानी’ खुसी साट्दै उनी भन्छिन्, ‘जति रमाइलो त्यही उमेरमा भो ।’

आजभन्दा ६६ वर्षपहिले उनले धादिङमै बिवाह गरिन् । वैवाहिक जीवन उनका लागि निकै दुःखमय बन्यो ।

बिहे भएको केही समयमा उनी आमा पनि बनिन् । विस्तारै उनी तीन छोरीकी आमा बनिन् । आमा बन्दाको खुसी जति हसिमा थिइन् त्यति खुसी उनका श्रीमान थिएनन् ।

त्यसकारण उनले सन्तुष्ट र खुसीको जीवन जीउन पाइनन् । उनका अनुसार श्रीमानको चाहना थियो– छोरा जन्माउने । ‘उहाँलाई छोरा चाहिएको रे मैले छोरा जन्माउन सकिनाँ रे !’ आमा भावुक बनिन् ‘श्रीमानको रातदिनको टोकसो मेरा लागि असह्य बन्न पुग्यो ।’

‘मबाट छोरा नहुने भएपछि श्रीमान म माथि सौता ल्याउनुभयो’ उनले त्यो पीडादायी क्षणलाई स्मरण गरिन्, ‘घर छोड्ने बाहेक अरु केही विकल्प थिएन । त्यसैले घर छोडेर हिड्ने निर्णय लिएँ ।’

‘केही समय रोएँ.. कराएँ..’ गहँभरी आशु बनाउँदै उनले थपिन्, ‘तीन छोरीमाथि श्रीमानले अर्को बिहे गर्दा जति पीडा के होला र ?’

उनको मानसपटलमा त्यो पीडा त ताजै छ नै अनुहारमा छर्लङ्ग देखिन्थ्यो । पीडा सहन नसकेकै कारण उनले धादिङ छोडिन् ।

भाँडा माझेर जीवन धान्न काठमाडौं आएँ !

गाउँका एक ठकुरी थिए । उनको घर काठमाडौंको भुरुङखेलमा थियो । उनी उही ठकुरीकोमा बस्ने, भाडा माझेर पैसा कमाउने र छोरीहरुलाई लिन जाने सोचले काठमाडौं आएकी थिइन् ।

‘बस्नका लागि ठकुरीले बास दिए’ सुरुका दिनहरु सम्झिँदै उनले भनिन्, ‘त्यति मात्र होइन काम पनि खोजिदिए भाडा माझ्ने !’

त्यतिबेला भाडा माझेको मासिक २० रुपैयाँ दिन्थे । केही महिना ठकुरीकोमा बसेको र छोरीहरुलाई काठमाडौंमै ल्याएपछि डेरा सरेको उनले सुनाइन् ।

रात–बिहान भाडा माझ्ने, दिउसो फुटपाथमा मसला अनि साँझ साग बेच्ने

डेरा सरेपछि भाडा माझेर कमाएको पैसाले पुगेन उनलाई । त्यसमाथि छोरीहरु बढ्दै थिए । अरु केही काम थप्ने योजना बनाइन् ।

‘बिहान बेलुका अरुका घरमा भाडा माझ्थे’ उनी भन्छिन्, ‘दिउसो एक भारी मरमसला बोकेर बागबजारको फुटपाथमा बेच्न बस्थेँ त्यति मात्र होइन साँझ साग बेच्न पनि बस्थेँ।’

गरीबले गरेर खाना पनि नपाउने वातावरण सिर्जना भएको सुनाउछिन् उनी । ‘फुटपाथमा बस्दा काठमाडौं महानगरपालिकाले लखेट्थ्यो धेरै समय त भाग्दै पनि व्यापार गरेँ । तर सधै भाग्न नसकिने रहेछ ।’

उनले यसरी नै काम गरेर छोरीहरुलाई हुर्काइन् । आर्थिक संकटमा छोरीहरुलाई शिक्षा दिन नसकेपनि अहिले पढेको भन्दा कम छैनन् उनीहरु । राम्रै जागिर खाएका छन् बेला–बेला मलाइ भेट्न आइरहन्छन्’ खुसी हुँदै भन्छिन्, ‘नातिनातिनीहरु पनि आइरहन्छन् ।’

गोधावरीबाट साग ल्याएर बाङ्गेमुढामा बिक्री

पहिलेको तुलनामा अहिले उनलाई सन्तुष्ट मिलेको छ । सन्तुष्ट यसकारण कि, उनका छोरीहरु राम्रा ओहदामा छन् । उनी एक्लो जीवन मात्र जिइरहेकी छिन् ।

बाङ्गे मुढामा एक व्यक्तिले उनलाई कौशीको एक छेउमा बस्ने थलो बनाइदिएका छन् । त्यसबापत उनी परिवारले खाएका जुठा भाडा माझिदिन्छिन् भने आफ्ना लागि खाना आफैं जुटाउछिन् ।

उमेर हेर्दा वृद्धा अवस्थाकी उनी । जाँगर भने युवास्थाको जस्तै । उनी बिहान ५ बजे उठेर रत्नपार्कबाट साझा यातायात चढेर साग लिन गोधावरीसम्म पुग्छिन् ।

‘साझा यातायातबाट उत्रिएपछि मानेडाँडासम्म हिडेर जान्छु’ उनले सुनाईन, ‘दिनमा २० देखि २५ मुठासम्म सिमसार क्षेत्रमा पाइने ‘सीमको साग’ टिप्छु र पुनः साझामै फर्किन्छु ।’

बाङ्गे मुढाको एक छेउमा उनले व्यापारीक थलो बनाएकी छिन् । बिहान टिपेर ल्याएको साग बेलुकी त्यही बसेर बेच्छिन् । यी वृद्धा आमाकोमा साग किन्न आउनेहरु प्रायः सधै एकै ग्राहक हुन्छन् । कुनै कुनै बेलामात्र नयाँ थपिने गर्दछन् ।

साग बेचेरै उनले दैनिक ८ सय रुपैयाँसम्म कमाउँछिन् । यसरी साग बेच्न थालेको झण्डै ३५ वर्ष पुगेछ । अनि भन्छिन्, ‘हातखुट्टा चलुन्जेल पाखुरा बजारेरै खान्छु । अरुको भर पर्नुनपरोस् ।’

‘साग बेचेको पैसाले दुई छाक खाना र लगाउन आरामले पुगेको छ’ अन्तमा उनले भनिन्, ‘पाखुरा चलुन्जेल यसरी नै काम गर्छु र पेट पाल्छु।’


भर्खर

0