५७ औं वर्षमा पुगेको कान्ति अस्पताल अझै ‘बामे’ सर्दै ! | Khabarhub Khabarhub

५७ औं वर्षमा पुगेको कान्ति अस्पताल अझै ‘बामे’ सर्दै !


२२ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महाराजगञ्जमा रहेको कान्ति बाल अस्पतालको आज ५७ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवका अवसरमा अस्पतालको ओपीडीतर्फ जाने बाटो तर्फको प्राङगण सजिएको थियो ।

प्राङ्गणको मञ्चतर्फ स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, स्वास्थ्य सचिव खगराज बराल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका उपकुलपति डा डीएन साह लगायत थिए । यस्तै प्राङ्गणतर्फ अस्पतालका पूर्व निर्देशकदेखि अन्य चिकित्सक, कर्मचारी तथा अस्पतालमा सेवा लिन आएका बिरामीका कुरुवाहरु थिए ।

कार्यक्रम शुरु भएसँगै अस्पतालका निर्देशक डाक्टर आरपी बिच्छाले आफू अस्पतालको निर्देशक भएपछि अस्पतालमा भएका कार्य प्रगति र समस्याबारे सुनाउन थाले । डा विच्छाले अस्पतालमा कर्मचारी र बजेट अभाव भएको गुनासो गरे ।

‘आईसीयु अभावका कारण यहाँ आएका बिरामी अन्त प्राइभेटमा जानुपर्ने बाध्यता वर्षौदेखि भोगिरहेका छौं, त्यसको समाधानका लागि विज्ञहरुसँग भनेर हामीले ८ वेडको इन्टर मेडियट केयर (पीआइसीयु)को स्थापना गर्‍यौं,’ डा विच्छाले खुशीका साथ भने, ‘यो सेवाको विस्तारले रेफर गर्नुपर्ने ६० देखि ७० प्रतिशत बिरामीलाई हामीले व्यावस्थापन गर्न पाएका छौं ।’

डा विच्छाले आकस्मिक कक्षमा उपचारका लागि आउने दैनिक ५ जना बिरामी रेफर गर्नुपर्ने बाध्यता रहेको बताए । उनले कान्ति बाल अस्पतालबाट बिरामी रेफर गर्नुपर्ने बाध्यताको अन्त्यका लागि थप २० वटा पीआइसीयु वेड र एमआइसीयुका वेड थप गर्न मन्त्रालयमा योजना पठाइएको बताए ।

उनले नेपाल रेडक्रस र राउण्ड टेबलको सहयोगमा ब्लड बैंक २४ सै घण्टा सुचारु भएको सुनाए ।

उनले कान्ति अस्पतालमा उपचारत बिरामी बालबालिका मध्ये दैनिक १० जना बालबालिकालाई रगत दिनुपर्ने अवस्था रहेको सुनाए ।
बिरामी बालबालिका लिएर आउने अभिभावकका लागि ५० परिवारसम्मका लागि कुरुवा घरको एक वर्षसम्ममा व्यवस्थापन हुने अस्पतालका निर्देशक डा विच्छाले बताए ।

वार्षिक ७२ लाखको अक्सिजन किन्दै आएको अस्पतालले अब काठमाडौं महानगरपालिकाको सहयोगमा आफ्नै अक्सिजन प्लान्ट बनाउन लागेको डा विच्छाको भनाइ छ । उनले अस्पतालको बिग्रिएको सिटी स्क्यान र अल्टासाउन्ड समेत मर्मत गरेर सुचारु गरिएको सुनाए ।

अस्पतालका निर्देशक डा विच्छाले आफूले गरेको प्रगतिबारे सुनाउँदै मन्त्री ढकालसामु अस्पतालमा देखिएका समस्याबारे समेत जानकारी गराएका थिए । अस्पतालमा मेडिकल अफिसर र नर्सिङ जनशक्ति नहुँदा अस्पतालमा जडान भएको ५१ शय्याको आईसीयु चलाउन नसकिएको निर्देशक डा विच्छाले बताए । अस्पतालका लागि सरकारले छुट्याएको बजेट कर्मचारीकै तलबमा सकिने गरेको उनले जानकारी दिएका थिए ।

‘हाम्रो मुख्य समस्या अर्थ हो, अहिलेको बजेटले कर्मचारीलाई तलब खुवाउँनै मुस्किल छ, अर्को समस्या हो कर्मचारी अभाव, मैले पहिला पनि निवेदन गरेको थिएँ, कम्तिमा २० जना मेडिकल अफिसर र ३० जना स्टाफ नर्स अहिलेकै सेवा दिइरहेकै अवस्थामा अपुग छ,’ डा विच्छाले भने, ‘मन्त्रीज्यूलाई म आग्रह गर्न चाहन्छु, त्यति मेडिकल अफिसर र नर्स नहुँदा हामीले दैनिक समस्या भोगिरहेका छौं । त्यसको व्यवस्थापना तत्काल गरिदिनुपर्छ ।’

डा विच्छाले सरकारी अस्पताल भएपनि न्याम्स अस्पतालमा जस्तो सेवा सुविधा नहुँदा डाक्टर तथा नर्सको रोजाइमा कान्ति अस्पताल नपरेको गुनासो गरे ।

‘कान्ति बाल अस्पतालमा न्याम्सकै प्रोफेसर भएपनि किन बीर अस्पतालमा जस्तो सेवा सुविधा र भत्ताको व्यवस्था छैन ?,’ डा विच्छाले प्रश्न गरे, ‘हामी न्याम्स अन्तर्गतका हौं कि होइनौं ? यदि हो भने हामीले किन कुनैपनि पदको प्रतिस्पर्धा हुँदा बाहिरको भनिन्छ, न्याम्सको एकेडेमिक कार्यक्रम सञ्चालन बीरमा चाहीँ भत्ता दिने तर कान्तिमा किन नदिने ? यसले गर्दा कान्ति बाल अस्पताल चिकित्सक तथा नर्सको रोजाइमा पर्दैन ।’

अस्पतालका निर्देशक डा विच्छाले सुनाएका यी समस्याहरु अघिल्लो वार्षिकोत्सवमा पनि सुनिएका थिए । तर हरेक वर्ष हुने वार्षिक कार्यक्रममा नयाँ निर्देशकहरुको पुरानै समस्या मात्र सुनिने गरेको छ । ५७ औं वर्षमा पुगेको कान्ति अस्पताल आफ्नै समस्याहरुबाट अझै बामे सर्दै गरेको देखिन्छ ।

अस्पतालका निर्देशक डा विच्छाको भाषणपछि काठमाडौं महानगरपालिका–३ का वडा अध्यक्ष दीपक केसीले अस्पतालमा देखिएको विकृतिबारे बोले ।

‘हाम्रो यस अस्पतालमा सबैभन्दा ठूलो समस्या भनेको अस्पतालको व्यवस्थापन पक्ष हो, यस अस्पतालमा सबैलाई बाहिर प्राक्टिस गर्न नपाउने व्यवस्था गर्नुपर्छ, नभए कम्तिमा पनि बाहिर प्राक्टिस नगर्ने निर्देशक राखौं,’ वडा अध्यक्ष केसीले मन्त्री ढकालसामु भने, ‘१० बजेसम्म क्लिनिक चलाएर आएर वार्ड, ओपीडीमा गयो, अनि साँढे दुई बज्न पाएको छैन फेरि बिरामी आए भनेर दौडादौड । हुम्ला, डोल्पामा सुत्केरीले हेलिकप्टर नपाएर मृत्यु हुँद मन्त्रीको राजिनामा माग्नेले आफ्नै अस्पतालको हितको लागि दिन सक्ने समय नदिने ?’

वडा अध्यक्ष केसीले काठमाडौं महानगरले कान्ति बाल अस्पतालको सुधारका लागि ब्लड बैंकको स्थापनाका लागि एक करोड व्यवस्था गर्न लागेको र अक्सिजन प्लान्टको लागि पनि सहयोग गर्ने बताए ।

कार्यक्रममा न्याम्सका उपकुलपति डा डीएन साहले बालबालिकाको उपचार गर्ने एकमात्र सरकारी अस्पताल कान्ति अस्पताल मात्र भएकाले यसले बिरामीको चाप थेग्न नसक्ने बताए । उनले कान्ति बाल अस्पतालका शाखाहरु देशका अन्य क्षेत्रमा पनि खुल्नुपर्ने आवश्यकता रहेको बताए ।

नाचगानप्रति मन्त्री ढकालको असन्तुष्टि

कान्ति बाल अस्पतालको वार्षिकोत्सवको कार्यक्रमा अस्पतालका निर्देशक डा विच्छाको सम्बोधन पछि अस्पतालका कर्मचारीको नृत्य प्रस्तुत गरियो ।

अस्पतालको प्राङ्गणमा गीत घन्कियो, गीत बज्न थालेपनि अस्पताल वरपर रहेका बिरामीका आफन्तहरु नाच देखाइएको स्थानतर्फ अघि बढे । मञ्चको अघिल्लोतर्फ नृत्य प्रस्तुत हुँदैगर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल अस्पतालको वार्षिकोत्सवको स्मारिका पढेर बस्दै थिए ।

उनले आफ्नो मन्तव्यको सुरुवातमै अस्पतालमा गरिएको नृत्य प्रस्तुतीको आलोचना गरे ।

‘कलाकार बहिनीहरुले धेरै राम्रो प्रस्तुति प्रस्तुत गर्नुभएको छ, उहाँहरुको कलाकारिताको विकासका लागि म शुभकामना दिन चाहन्छु,’ मन्त्री ढकालले व्यांग्यात्मक तरिकाले आलोचना गरे, ‘तर व्यवस्थापकहरुले अस्पतालको हातभित्र सांस्कृतिक कार्यक्रम गर्नु कतिको उपयुक्त हुन्छ कि हुँदैन ? भनेर पुनः मुल्याङ्कन गर्न र सोच्न पनि म हार्दिक अनुरोध गर्दछु ।’

मन्त्री ढकालको मन्तव्यले प्राङ्गण सुनसान भयो । ‘आकस्मिक कक्षमा बिरामीले आइसीयु नपाएर छटपटाइरहेका छन् यहाँ नाँचगाँन हुँदैछ, मन्त्रीले ठिकै त भने ।’,एकव्यक्तिले मन्त्री ढकालको कुरामा सहमति जनाए ।

उनको कुरालाई पुष्टि हुने कुरा केही समय अघि अस्पतालका निर्देशक विच्छाले भनेका थिए, ‘वेड नपाएर रेफर गर्ने विषयमा ६० देखि ७० प्रतिशत कम भएको छ, तर अहिले पनि दिनहुँ ४,५ जना बच्चा वेड नपाएर बाहिर पठाउनुपर्ने बाध्यता छ ।’

एकछिनको उपचारले सन्तुष्टि दिँदैन

मन्त्री ढकालले बिरामीहरु शुरुको अवस्थामा सरकारी अस्पतालमा आएर रेफर हुने गरेको र पुनः अन्तिम अवस्था पुगेपछि सरकारी अस्पतालमै आइपुग्ने गरेको बताए ।

‘अघिकांश सरकारी अस्पतालमा बिरामीहरु शुरुमा सरकारी मै आउनुहुन्छ, बीचको अवधि काजमा बाहिर जानुहुन्छ अन्तिममा सरकारीमै आउनुहुन्छ भन्ने सुन्ने गरेको छु । यसमा अस्पतालको जिम्मेवारी लिनेदेखि एम्बुलेन्स, ट्याक्सी ड्राइभरसम्मको मिलेमतो हुन्छ,’ मन्त्री ढकालले भने, ‘सरकारी अस्पतालबाट बिरामी अर्कोठाउँमा पुर्‍याइदिएबापत कमिसन प्राप्त हुन्छ, निजी अस्पतालमा बिरामी थला पर्छ र अन्तिममा पार नलागेपछि फेरि निजीबाट त्यो बिरामी काज फिर्ता भएर सरकारी अस्पतालमै आउँछ भन्ने सुनेको छु, यस्तो खालको रोगले अस्पताललाई ग्रसित गर्‍यो भने एकछिनको उपचारले बिरामीलाई सन्तुष्टि दिन सकिँदैन ।’

मन्त्री ढकालले कान्ति अस्पतालका चिकित्सक तथा नर्सको भत्ताको विषयमा समस्या समाधान गर्ने बताए ।

वार्षिक १ लाखले लिए ओपीडी सेवा

कान्ति बाल अस्पतालमा आर्थिक वर्ष २०७५/७६ मा १ लाख ५४ हजार ८ सय २३ जना बालबालिकाले ओपीडी सेवा पाएका छन् । यस्तै ५५ हजार ५ सय १४ जनाले आकस्मिक सेवा पाएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २२ पुस २०७६, मंगलबार  ६ : ११ बजे

रविलाई पूर्वडीआइजीको सुझाव : भागेर हुँदैन

काठमाडौं- नवराज सिलवालको पहिचान नेपाल प्रहरीको पूर्वडीआईजी भन्दा फराकिलो भएको

नेसपाले बझाङ उपनिर्वाचनमा ‘राइट टू नो भोट’को नीति अपनाउने

काठमाडौं– डा. बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादी पार्टीले बझाङको उपनिर्वाचनमा

सबै कम्युनिष्ट एकतावद्ध हुनुपर्छ : नेता खनाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सबै कम्युनिष्ट

कोशीका मुख्यमन्त्रीले वैशाख २५ भित्र विश्वासको मत लिनुपर्ने

काठमाडौं– कोशी प्रदेशसभामा संकल्प प्रस्ताव पारित भएसंगै मुख्यमन्त्री केदार कार्कीले

एमालेको प्रतिनिधि परिषद् बैठकमा २ हजार ४५४ जना सहभागी हुने

काठमाडौं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा २ हजार