प्रदेश २ मा महिलामाथि हिंसाका अनेक रूप, कतै मिल्दैन न्याय « Khabarhub
Logo
१७ मंसिर २०७७, बुधबार

प्रदेश २ मा महिलामाथि हिंसाका अनेक रूप, कतै मिल्दैन न्याय



जनकपुरधाम–  देशभर लैङ्गिक विभेदका घटना बढ्न थालेका छन् । त्यसमा पनि महिला हिंसाका घटना तुलनात्मक रुपमा प्रदेश–२ मा धेरै घट्ने गरेको पाइएको छ ।

हिंसा पीडित महिलाले न्याय पाएका छैनन् । उनीहरु अब प्रदेश सरकारले न्याय दिने झिने आशमा छन् ।

घटना १ : बोक्सी भनेर आमाको हत्या

दशैँअघि सिराहाको कर्जन्हा नगरपालिका–३ का रामऔतार साहकी श्रीमती मनिषाको खुट्टामा घाउ भयो । गाउँकै स्थानीय स्वास्थ्य चौकीमा समान्य उपचार गराए । निको भएन् ।

रामऔतारकी आमा, मनिषाकी सासु ७५ वर्षीय सुदामादेवी साह झाँक्री (धामी) छिन् । कात्तिक १४ गते रामऔतार श्रीमतीको खुट्टामा घाउ झारफुक गरिदिन आमासँग आग्रह गरे । सुदामाले झारफुक गर्न अस्वीकार गरिन् । छोराले कहिल्यै माया नगरेको भनेर आमा दु:खी थिइन् ।

गाउँका केही व्यक्ति र मनिषाकी आमाले सुदामा बोक्सी हुन् भन्ने आरोप लगाएर रामऔतारलाई उक्साउन थाले । रामऔतारले झारफुक गरिदिन फेरि आमालाई आग्रह गरे । फेरि पनि सुदामाले मानिन् ।

आवेशमा आएर रामऔतारले आमालाई कुटपिट गरे । छोराले कुटेर घाइते भएकी सुदामा स्थानीय स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि प्रादेशिक अस्पताल जनकपुर ल्याउने क्रममा कात्तिक १५ गते उनको मृत्यु भयो । सुदामाका दुई छोरा र दुई छोरी गरी गरी चार सन्तान छन् । छोरीको बिहे भइसकेको छ । श्रीमान् बितिसकेका छन् । सुदामा पाँच वर्षदेखि एक्लै बसेकी थिइन् ।

रामऔतारलाई घटनाकै दिन प्रहरीले नियन्त्रणमा लिएको छ । ‘छोरा रामऔतार पक्राउ परेका छन् । उनीमाथि कारबाही प्रक्रिया अघि बढेको छ,’ सिरहाका प्रहरी उपरीक्षक उमाशंकर प्रसाद पजियारले भने, ‘घटनाको विषयमा थप अनुसन्धान अघि बढाएका छौँ ।’

घटना २ : बलि दिन मानव तस्करी

गत असोज १४ गते सप्तरीको दौलतपुर–३ की दुई युवती प्रहरीले सीमा नाकाबाट उद्धार गर्‍यो । भारतमा बलि चढाउन मानव तस्कर गिरोहले युवतीलाई सुनसरीको भन्टाबारी हुँदै सीमा कटाउन लाग्दा प्रहरीले बचाए । १९ र २२ वर्षका ती युवतीलाई आर्थिक प्रलोभनमा पारेर भारत लैजाँदै गर्दा युवतीका आफन्तसहित दुई जना पक्राउ परे ।

प्रहरीले गोप्य सूचनाको अधारमा सप्तरी कृष्ण सवरन गाउँपालिका–४ बनौलीका २९ वर्षीय महम्मद साहिल मन्सुरी र सिरहा लाहान नगरपालिका–१९ कटाहका २९ वर्षीय जीवछकुमार साहलाई नियन्त्रण लियो ।

घटना ३ : दाइजोका सामु निरीह प्रेम

लहान नगरपालिका–२२ सिसवनी बर्छवाका २१ वर्षीय रामबाबु मण्डल गाउँकै २१ वर्षीया एक युवतीको प्रेममा परे । अभिभावकले गत भदौ ३ गते अबेर राति उनीहरूलाई समाते । गाउँमा पञ्चायती बस्यो । पञ्चले उनीहरूको बिहे गराउने प्रयास गरे । युवकका बाबुले दाइजो मागे । युवतीका बाबुले दाइजो दिन नसक्ने बताए । दुई पक्षको कुरा बिग्रियो ।

भदौ २२ गते पञ्चले प्रहरी–प्रशासनमा पठाउने निर्णय गरे । सोही आधारमा युवती पक्षले भदौ २४ गते इलाका प्रहरी कार्यालय लहानमा जबरजस्ती करणीमा जाहेरी दिए । दाइजो सामु निरीह बनेका प्रेमी युवक गाउँ छाडेर फरार भएका छन् ।

घटना ४ : गर्भवती प्रेमिका छाडेर फरार

महोत्तरीको जलेश्वरकी २० वर्षीय एक युवती २०७३ सालमा गाउँकै विद्यालयबाट एसइइ उत्तीर्ण गरिन् । ब्याच्लर इन होटेल म्यानेजमेन्ट (बीएचएम) पढ्न काठमाडौँस्थित नासा इन्टरनेसनल कलेजमा भर्ना भइन् । पहिलो वर्ष अभिभावकको अपेक्षा अनुसार अंक ल्याउन सकिनन् । अर्को वर्ष उनी परिवारकै सहमतिमा जनकपुरस्थित राजर्षि जनक क्याम्पसमा भर्ना भइन् ।

काठमाडौँमा सँगै कोठामा बस्ने साथीले धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरका शिवराजसँग चिनजान गराइदिइन् । दुवै जनाबीच सामान्य कुराकानी हुँदाहुँदै फेसबुकमा साथी बने । फेसबुक हुँदै फोनमा कुराकानी गर्दागर्दै दुवै जना प्रेममा परे ।

कहिलेकाहीँको भेट र फेसबुकको च्याटले माया प्रगाढ हुँदै गयो । २०७६ मंसिरमा विवाहपञ्चीको दिन उनीहरूबीच पहिलोपटक यौन सम्फर्क भयो । जनकपुरमा कोठा नपाएको बहाना बनाएर शिवराजको घरमा एक महिना बसेको युवतीको भनाइ छ । त्यति बेला दुबै जनाको इच्छाअनुसार पटकपटक यौन सम्पर्क भएको पनि युवतीको भनाइ छ ।

पुसमा युवतीले आफू गर्भवती भएको थाहा पाइन् । उनले आफू गर्भवती भएको कुरा प्रेमी शिवराजलाई फोन गरेर सुनाइन् । शिवराजले गर्भ पनत गर्न सहल्ला दिए तर युवतीले अस्वीकार गरिन् । प्रेमको पहिलो निशानी भनेर बच्चा जन्माउने अडान लिइन् ।

त्यस बेलादेखि शिवराज सम्पर्क बिहीन छन् । भदौ ५ गते परोपकारी संस्थाको रेखदेखमा युवतीले छोरा जन्म दिइन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले प्रहरीमा उजुरी दर्ता भएको बताए । केटो भारत गएर लुकीछिपी बसेको र उसको खोजी जारी रहेको प्रहरीको भनाइ छ ।

प्रदेश-२ सरकारले कार्यक्रम अन्तर्गत १४ हजार छोरीलाई साइकल वितरण गरेको छ । अभियान सुरु भएदेखि हालसम्म प्रदेश २ का आठवटै जिल्लामा कक्षा ८ मा पढ्ने १४ हजार छात्रालाई साइकल वितरण गरिएको हो । सबभन्दा बढी सर्लाहीमा २ हजार ४५७ र सबभन्दा कम रौतहटमा १ हजार ४८ वटा साइकल वितरण गरेको मुख्यमन्त्री कार्यालयको तथ्यांक छ ।

घटना : ५ छोरी जन्मिँदा निरन्तर यातना

आठ वर्षअघि सप्तकोसी नगरपालिका–४ बलारदहका नारायण झा र २८ वर्षीया रञ्जनदेवीको बिहे भयो । बिहेको डेढ वर्षपछि रञ्जनाले छोरी जन्माइन् । रञ्जनाले परिवारका लागि छोरो जन्माउने आशामा तीन छोरी जन्माइन् । छोरीमात्रै जन्माएकै कारण श्रीमान् नारायण र सासु विदोतमादेवीले उनलाई यातना दिन थाले ।

गत असोज १९ गते श्रीमानले निर्घात कुटपिट गरेपछि रञ्जनादेवी न्याय खोज्दै जिल्ला प्रहरी कार्यालय पुगेकी पुगिन् । प्रहरी कार्यालयमा उनले विलाप गरिन्, आँखाबाट आँसु बगाइरहिन् तर सुन्ने कोही भएन। प्रहरीले कोरोनाको बहाना बनाएर रञ्जना रित्तै फर्काइदियो ।

रञ्जनको पहिलो गर्भ खेर गएको थियो। गर्भमा छोरी रहेको थाहा भएपछि श्रीमानले धकेल्दा लडेर गर्भ तुहिएको उनले बताइन्। त्यसपछि उनले लगातार ३ छोरीलाई जन्मे । अहिले उनीहरू ६, साढे ४ र २ वर्षका छन् । ‘मेरो गर्भबाट छोरी नै जन्मिए, यसमा मेरो के दोष ?,’ रञ्जना भनिन्छन्, ‘तेस्रो छोरी जन्मिँदा बन्चरोले हानेर पति र सासुले मार्ने प्रयास गरे।’

असोज २२ गते रञ्जनाले सप्तरी जिल्ला अदालतमा निवेदन दर्ता गराइन्। रञ्जनालाई भने अदालतबाट पनि न्याय पाउने विश्वास छैन, किनभने त्यहाँ पनि चलखेल हुनसक्छ ।

घटना ६ : अन्धविश्वासमा जनप्रतिनिधि

गत असोज ३ गते सिराहाको नवराजपुर गाउँपालिका–५ कुर्सन्डीस्थित शिव मन्दिरमा गाउँका अगुवाले पञ्चायत डाके । स्थानीय धर्मनाथ यादवकी छोरी बिरामी भएकी हुँदा दोषीलाई सजाय दिन पञ्चायत डाकिएको थियो । त्यसअघि सीमावर्ती भारतीय गाउँ तोरियाहीबाट आएका एक झाँक्रीले स्थानीय एक महिला मूर्तिदेवीलाई बोक्सी ठहर गरेका थिए। उनलाई सजाय दिन र गाउँमा ‘सुख र शान्ति’ स्थापना गर्न पञ्चायती डाकिएको थियो।

मूर्तिदेवीका पति रामनारायण यादवलाई गाउँका दुईजना आएर पञ्चायतीमा लगे । उनलाई मूर्तिदेवी बोक्सी हुन भन्ने बयान दिन भनिएको थियो । उनले मानेनन्।

त्यहाँ मूर्तिदेवीमाथि कुटपपिट भयो । बोतलमा घोलेर ठिक्क पारिएको मलमूत्र अचेतजस्तै भएकी मूर्तिदेवीलाई खुवाइयो। उनलाई कुटपिट गर्ने र मानव मलमूत्र खुवाउने पञ्चायतीमा स्थानीय जनप्रतिनिधि पनि थिए। नवराजपुर–५ का वडासदस्य रामउद्गार यादव पनि सो भिडमा सहभागी रहेको मूर्तिदेवीका परिवारजनको भनाइ छ ।

वडाध्यक्षकै सहभागितामा महिलामाथि हिंसा भए पनि वडाध्यक्ष नि:शब्द भएर पीडकको समर्थन गरेको पीडित परिवारको आरोप छ ।

धनुषाको कमला नगरपालिका–७ हथमुण्डाकी ७० वर्षीया देवकीदेवी सहनी । उनलाई बोक्सीको आरोप लगाइ कुटपिट गरी घाइते बनाइएको छ । तस्वीर सौजन्य : इन्सेक

घटना ७ : प्रहरीले लिँदैन उजुरी

धनुषाको कमला नगरपालिका–७ हथमुण्डा बस्ने ७० वर्षीया देवकीदेवी सहनीलाई गत ३० भदौमा सातजना छिमेकीले बोक्सी भन्दै कुटपिट गरे । स्थानीय बिर्जु सहनीका बुबा शनिचर सहनी ब्लड क्यान्सरबाट पीडित थिए।

शनिचरलाई देवकीले बोक्सी लगाएको भन्दै बिर्जुसहित ५५ वर्षीया मनटुटियादेवी सहनी, ३५ वर्षीय प्रवेश सहनी, २५ वर्षीय प्रदीप सहनी, १८ वर्षीया रिना सहनी, १८ वर्षीया अञ्जिला सहनी र प्रदीपकी २५ वर्षीया पत्नीले कुटपिट गरे।

उनीहरूले आफूलाई गोबर खुवाउने प्रयास गरेको देवकीको भनाइ छ । पीडित महिलाको उजुरी प्रहरी दर्ता गरेको छैन । धनुषाका प्रहरी नायव उपरीक्षक (डिएसपी) मकेन्द्रकुमार मिश्रले पनि उजुरी दर्ता नभएको बताए । पीडित पारिवारका अनुसार जिल्ला प्रहरी कार्यालय धनुषाले इलाका प्रहरी कार्यालयमा छलफल गर्न भनेको थियो । पीडित परिवार इलाका प्रहरीमा गएको छैन किनभने त्यहाँ पञ्चायतले हस्तक्षेप गर्न भन्ने उनीहरूलाई लागेको छ ।

घटना ८ : दोषी उम्काउँदै प्रहरी

गत जेठ १० गते धनुषाकै मिथिला नगरपालिका–३, हरिहरपुर टोलकी ४० वर्षीया सिर्जनादेवी महतोलाई स्थानीय विजय महतो र सवितादेवी महतोले बोक्सीको आरोपमा कुटपिट गरे। तिघ्रा र ढाडमा चोट लागेकी सिर्जना त्यही दिन इलाका प्रहरी कार्यालय ढल्केबरमा उजुरी दिन गइन्। प्रहरीले कोरोना महामारीको समय भएको भन्दै उजुरी दर्ता नगरेको महिला अधिकारकर्मी विना कडारीको भनाइ छ ।

उनका अनुसार कुटपिटबाट घाइते सिर्जनाले ढल्केबरस्थित भोगेन्द्र महतोको क्लिनिकमा उपचार गराइन् । इलाका प्रहरी कार्यालय ढल्केबरका इन्स्पेक्टर तीर्थराज कार्कीले पीडित उजुरी दिन आएको तर आफ्नो इलाकामा नपर्ने भएकाले फिर्ता पठाएको बताए ।

पीडितको उजुरी दर्ता नगरेर प्रहरीले दोषी उम्काउँछ ।

स्थानीय तहमा कार्यकर्तामुखी निर्णय

नेपालको संविधानको भाग १७ र १८ मा स्थानीय कार्यपालिका, स्थानीय व्यवस्थापिका तथा न्यायिक समिति रहने प्रावधान छ । सोहीअनुरूप देशैभरि कुल ७५३ स्थानीय तहमा निर्वाचन भएर स्थानीय कार्यपालिका, स्थानीय व्यवस्थापिका र न्यायिक समिति गठन भए ।

जनकपुर उपगरपालिकाकी उपप्रमुख रिताकुमारी मिश्रको संयोजकत्वमा वडा नम्बर २२ का वडाध्यक्ष शिवरत्न पाण्डे र कार्यपालिका सदस्य दिगम्बर साह सदस्य रहेको तीन सदस्यीय न्यायिक समिति छ । २०७५ साल वैशाख ९ गते विधिवतरूपमा न्यायिक समिति गठन गरेर काम सुरु भयो ।

गत आर्थिक वर्षमा न्यायिक समितिमा १४० वटा मुद्दा परे । शतप्रतिशत मुद्दा फछ्यौट भए तर कार्यकर्तामुखी निर्णय भएको भन्दै उजुरीकर्तामध्ये ३० प्रतिशितले प्रहरी र अदातलको बाटो रोजेको स्रोतको भनाइ छ ।

संविधानको व्यवस्थाअनुसार जनकपुर उपमहानगरमा न्यायिक समिति गठन गरेर काम भइरहेको उपप्रमुख मिश्र बताउँछिन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४६ बमोजिम गठित समितिले काम गरिरहेको उनको भनाइ छ ।

दक्ष जनशक्तिको अभाव, सरोकारवालामा सहकार्य र समन्वय अभावले गर्दा फैसला कार्यान्वयन प्रभावकारी हुन नसकेको संयोजक मिश्र स्वीकार गर्छिन् । लकडाउनमा उजुरी दर्ता नै नगरेको मिश्रले जानकारी दिइन् । ‘अदालतको आदेश अनुसार न्यायिक समिति सञ्चालन हुन्छ,’ उनले भनिन्, ‘जिल्ला प्रशासन कार्यालयले पनि भिडभाड जम्मा नगर्न भनेको थियो । त्यसकारण हामीले लकडाउनमा उजुरी दार्ता गरेनौँ ।’

प्रदेश सरकारको आशमा महिला

२०७५ माघमा प्रदेश २ सरकारले महिलामाथिको हिंसा अन्त्य गर्ने उद्देश्यले ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियान सुरु गर्‍यो । अभियान अन्तर्गत अध्ययरत छात्रालाई साइकल वितरण, छोरी बिमा र हिंसाबाट जोगाउन आत्मरक्षा तालिमजस्ता कार्यक्रम समावेश छन् ।

नेपालमा महिला हिंसा, बलात्कारजस्ता जघन्य अपराधको तथ्यांकले भयावह स्थिति देखाएको छ । प्रदेश २ को अवस्था अन्य प्रदेशको भन्दा नाजुक देखिन्छ । प्रदेश प्रहरीको तथ्यांकअनुसार लकडाउन अवधिमा मात्रै महिला हिंसाका करिब तीन सय घटना भएका छन् ।

मुख्यमन्त्री लालबाबु राउतले महिलालाई सशक्त बनाउन सरकारले कार्यक्रम ल्याएको बताए । अभियनले छोरीलाई शिक्षा नदिने, बालविवाह गर्ने र घरेलु हिंसा गर्नेजस्ता प्रवृत्ति निर्मूल पार्ने उनको भनाइ छ । ‘प्रदेश २ का छोरीहरूले अब जन्मने बित्तिकै तीन लाख रुपैयाँ पाउने छन्,’ उनले भने, ‘छोरी बोझ होइनन्, शिक्षा र राम्रो व्यवहार गरे छोरासरह नै काबिल बनाउन सकिन्छ ।’

सरकारले कार्यक्रम अन्तर्गत १४ हजार छोरीलाई साइकल वितरण गरेको छ । अभियान सुरु भएदेखि हालसम्म प्रदेश २ का आठवटै जिल्लामा कक्षा ८ मा पढ्ने १४ हजार छात्रालाई साइकल वितरण गरिएको हो । सबभन्दा बढी सर्लाहीमा २ हजार ४५७ र सबभन्दा कम रौतहटमा १ हजार ४८ वटा साइकल वितरण गरेको मुख्यमन्त्री कार्यालयको तथ्यांक छ ।

साइकल वितरण कार्यक्रमअन्तर्गत सप्तरी जिल्लाका २९ विद्यालयका एक हजार ५३५, सिरहाका २५ विद्यालयका एक हजार ६१६, धनुषाका ३२ विद्यालयका एक हजार ७८५ र महोत्तरीका ३१ विद्यालयका एक हजार ८७० छात्रालाई साइकल वितरण गरिएको छ ।

त्यसैगरी सर्लाहीमा ४२ विद्यालयका दुई हजार ४५७, रौतहटका २८ विद्यालयका एक हजार ४०८, बाराका २६ विद्यालयका एक हजार ६७५ र पर्साका २७ विद्यालयका एक हजार ६५४ छात्रालाई प्रदेश सरकारले साइकल वितरण गरेको छ ।

‘बेटी बचाऊ, बेटी पढाऊ’ कार्यक्रम अन्तर्गत साइकल वितरण तथा छोरी शिक्षा बिमा सबैभन्दा बढी उपलब्धिमूलक रहेको कार्यक्रमकी संयोजक प्रियंका यादवको भनाइ छ । यस कार्यक्रम अन्तर्गत करिब १७ हजार छोरीको बिमा पनि भएको छ ।

कानुनको फिलतो कार्यान्वयन

प्रदेश २ का प्रमुख न्यायाधिवक्ता दीपेन्द्र झा महिला हिंसा न्यूनीकरणका लागि घरेलु हिंसा (कसुर र सजाय) ऐन, २०६६ अनुसार पीडकलाई सजाय नहुँदा अपराध बढेको बताउँछन् । हिंसाका घटनामा प्रहरी कार्यालयमा निवेदन लिए पनि अधिकांश घटनामा छलफल गराएर पीडकले उन्मुक्ति पाउँदा अपराध झन मौलाएको उनको भनाइ छ ।

‘हिंसाका पीडित अदालत गए पनि पीडकलाई जेल सजाय नगरी जरिवाना गरेर छाड्ने आदेश गर्ने गरिएको छ,’ उनले भने, ‘यसले गर्दा हिंसा प्रभावितले न्याय प्राप्त गर्ने वातावरण सुनिश्चित हुन सकेको छैन । पीडितले न्याय नपाएपछि उनको मनोबल घट्ने र थप पीडामा पर्ने हुन्छन् भने पीडकको मनोबल बढ्ने थप हिंसा गर्न उद्यत हुने गर्छ ।’

अनौपचारिक सेवा केन्द्र (इन्सेक) प्रदेश २ का संयोजक राजु पासवान समाजको डर, भविष्यको चिन्ता र सहजै न्याय पाउने विश्वास नहुँदा हिंसाको ग्राफ उकालो लागेको बताउँछन् । हिंसामा गरिब, विपन्न र दलित मात्रै पर्ने गरेको र हिंसा न्यूनीकरण गर्न कडा कानुन आवश्यक रहेको उनको भनाइ छ ।

लकडाउनमा तीन सय घटना

नेपालमा महिला हिंसा, बलात्कारजस्ता जघन्य अपराधको तथ्यांकले भयावह स्थिति देखाएको छ । प्रदेश २ को अवस्था अन्य प्रदेशको भन्दा नाजुक देखिन्छ । प्रदेश प्रहरीको तथ्यांकअनुसार लकडाउन अवधिमा मात्रै महिला हिंसाका करिब तीन सय घटना भएका छन् ।

सबैभन्दा बढी जबरजस्तीकरणीको १९७, जबरजस्ती करणी उद्योग ४८, बालविवाह ४ र बोक्सी आरोपका १३ घटना भएको देखिएको छ । यसमा अधिकांश घटना प्रहरीमा नपुग्दै र पुगेर पनि धेरै घटना डर, प्रलोभन र तथाकथित सामाजिक प्रतिष्ठा जोगाउने नाममा गुपचुप मिलाइएका हुन सक्छन् ।

वर्षौंदेखि जकडिएको सामाजिक विभेद र सार्वजनिक सेवामा लक्षित वर्गको सहभागिता र पहुँच प्रभावकारी हुन नसक्दा लैङ्गिक हिंसाका अपराध हुने गरेको पाइएको छ । 

घरेलु हिंसालाई प्रहरी र समाजले सामान्य घटनाका रूपमा हेर्ने गरेको छ। घरेलु हिंसा बढ्दै जाँदा आत्महत्या र जघन्य अपराधको स्थिति आउने गरेको छ। प्रदेश २ का प्रहरी नायब महानिरीक्षक (डिआइजी) धिरजप्रताप सिंहले अपराधमध्ये ९५ प्रतिशतभन्दा बढीमा पुरुष पीडक रहेको बताए ।

यस्ता कुसंस्कार तोड्न पर्याप्त ध्यान नि नसकेको र आफ्नो मान्छेको बचाउ गर्दा समस्या उत्पन्न हुने गरेको भएको राजनीतिक दबाब अर्को ठूलो समस्या भएको उनको भनाइ छ ।

घरेलु हिंसाका घटनामा स्थानीय कचहरी बसेर मिलापत्र गर्ने प्रवृत्तिले पनि ठाउँठाउँमा निरन्तरता पाउँदा पीडितले न्याय नपाएको उनको भनाइ छ ।

प्रदेश २ का धेरै ठाउँमा महिला हिंसाका घटना गुपचुपमा मिलाउन स्थानीयले पञ्चायती राख्ने गरेका छन् । घटना सार्वजनिक भएपछि प्रहरीले पञ्चायती राख्नेलाई पनि पक्राउ गर्ने गरेको छ । प्रदेश र स्थानीय तहले महिला हिंसा न्युनीकरणका कार्यक्रम ल्याए पनि कार्यान्वयन प्रभावकारी हुन सकेको छैन।

साझा रणनीति आवश्यक

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले वर्षौंदेखि जकडिएको सामाजिक विभेद र सार्वजनिक सेवामा लक्षित वर्गको सहभागिता र पहुँच प्रभावकारी हुन नसक्दा लैङ्गिक हिंसाका अपराध हुने गरेको बताए।

वर्षौंदेखिको सामाजिक विभेद र कुसंस्कार एकैपटक हटाउन नसके पनि केही नीतिगत निर्णय गरेर आधार खडा गर्ने क्रममा रहेको उनको भनाइ छ ।

‘महिलालाई सरकारी सेवामा ५० प्रतिशत आरक्षणको व्यवस्था गर्ने गरी कानुन बन्ने क्रममा छ। गत वर्षबाटै सुरक्षित बेटी अभियान, बेटी पढाऊ–बेटी बचाऊ लगायतका कार्यक्रम पनि ल्याएका छौँ,’ उनले भने, ‘यसको सकारात्मक नतिजा केही वर्षभित्रै देखापर्ने विश्वास छ।’

मन्त्री यादवले सबै प्रदेश र स्थानीय सरकारहरू हिंसाका अपराधविरुद्ध साझा रणनीति बनाएर अघि बढ्न सकिने उनको भनाइ छ । हिंसाका अपराधमा राजनीतिक संरक्षण हुन नहुनेमा उनले जोड दिए।

उनका अनुसार विकास, रोजगारी, अवसर र राजनीतिक तथा उत्पादनमूलक क्षेत्रमा महिला सहभागिता नबढेसम्म सामाजिक विभेद र गलत संस्कारको अन्त्य गर्न कठिन हुन्छ ।


भर्खर

0