चिकित्सकको चेतावनी : संक्रमण तेस्रो चरणमा गए इटलीभन्दा भयावह हुन्छ | Khabarhub Khabarhub

चिकित्सकको चेतावनी : संक्रमण तेस्रो चरणमा गए इटलीभन्दा भयावह हुन्छ


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार नेपालमा पहिलोपटक कोरोना संक्रमण एक व्यक्तिबाट अर्कोमा सरेको पुष्टि गर्‍यो ।

कैलालीमा ३४ वर्षीया महिलामा विदेशबाट फर्किएका परिवारका सदस्यबाट कोरोना भाइरस सरेको पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार यो घटनापछि नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको छ ।

नेपालमा दोस्रो चरणको संक्रमणमात्र खतराको संकेत होइन । सुदूरपश्चिममा एकै दिन ३ जना नयाँ संक्रमित पनि भेटिए । भारतबाट आएका दुुई जनामा संक्रमण देखिनुले पनि नेपालमा फैलिन सक्ने संकेत देखिएको छ ।

उपचारमा खटिने चिकित्सक तथा जनस्वास्थ्य विज्ञहरू भने संक्रमण फैलन नदिन अझै केही समय सजग हुनुपर्ने बताउँछन् ।

कोरोना संक्रमण दोस्रो चरणमा प्रवेश गरेपछि अब संक्रमण फैलिने सम्भावना कति छ ? कस्तो तयारी हुनुपर्छ ? यस विषयमा हामीले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना संक्रमितको उपचारमा खटिएका डाक्टर अनुप बास्तोला र जनस्वास्थ्य विज्ञ डाक्टर रवीन्द्र पाण्डेसँग कुराकानी गरेका छौँ ।

डा. अनुप बास्तोला (सरुवा रोग विशेषज्ञ)

नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको भनिएको छ । यो भनेको जस्तै, ‘म विदेशबाट संक्रमित भएर आएको थिएँ र म नजिकै भएका व्यक्तिलाई मैले कोरोना सारेँ’ अर्थात नेपाल बाहिर यात्रा नगरेको व्यक्तिमा पनि कोरोना संक्रमण देखियो भन्ने हो । यो नै दोस्रो चरण हो ।

यस्तै, तेस्रो चरण भनेको तपाई कहीँ पनि जानुुभएको थिएन तर तपाईंलाई रोग देखियो भने त्यो तेस्रो चरणको संक्रमण हो । महामारीको रूपमा जतातजै फैलियो भने त्यो चौथो चरणको संक्रमण हुन्छ ।

अहिले सरकारले कन्ट्याक्ट ट्रेसिङ गरिरहेको छ । समस्या के छ भने भारतबाट बिरामी आए । स्थलमार्गबाट आएकाहरूबाट जोखिम अलि बढी देखिन्छ । त्यसैले अब क्वारेन्टाइन र आइसोलेसनको व्यवस्थापन राम्रो हुनुपर्छ । सीमा नाकाबाट नेपाल प्रवेश गर्नेहरूलाई क्वारेन्टाइनमा राख्न र कोरोना परीक्षण गर्न प्राथमिकता दिनुपर्छ ।

अहिले हामीले आशंका गरिएकालाई परीक्षण गर्ने र पोजेटिभ देखिएका बिरामीलाई आइसोलेट गर्ने काम गरेका छौँ । कोरोना देखिएका व्यक्तिलाई अनिवार्य क्वारेन्टाइनमा राख्नुपर्छ । छिमेकी भारतमा संक्रमण बढ्दै गएको छ । त्यहाँबाट मानिसहरू आइरहेका छन् ।

डा. अनुप बास्तोला (सरुवा रोग विशेषज्ञ)

रोगग्रस्त क्षेत्रबाट आएका व्यक्तिलाई क्वारेन्टाइनमा राख्नुपर्छ, शंकास्पद व्यक्तिलाई परीक्षण गर्नुपर्छ । सरकारले यो काम गरिरहेको छ तर स्थलमार्गबाट आएकाहरूको संख्या धेरै ठूलो छ । उनीहरूको पनि परीक्षण गर्नुपर्छ । रोग छ कि छैन, पत्ता लगाएर उनीहरूलाई कडाइका साथ क्वारेन्टाइनमा राख्नुपर्छ ।

सबैभन्दा ठूलो कुरा, सरकारले गरेको लकडाउन जनताले पालना गर्न जरुरी छ । काठमाडौंमै पनि मानिसहरू साँझ ५ बजेपछि बाहिर निस्केका देखिन्छन् । विदेशबाट आउनेहरू पनि भेला भएको भन्ने सुनिन्छ । घरबाहिर निस्किँदा भेटमा हामीले प्रत्येक व्यक्तिलाई ऊ संक्रमित छ कि भनेर शंका गर्नुपर्छ र सोसल डिस्ट्यान्स (सामाजिक दूरी) कायम गर्नुपर्छ ।

नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरे पनि महामारी हुन नदिने उपायहरू छन् । सबैको साथ भए, सबैले नियम पालना गरे महामारी फैलिनबाट रोक्न सकिन्छ ।

बाहिरबाट आएका व्यक्ति कोरोना परीक्षणमा नेगेटिभ आए पनि १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नैपर्छ । उनीहरूमा १४ दिनभित्रमा कोरोना हुन पनि सक्छ ।

सरकारले लकडाउन गरेको कुरा जनताले अझै बुुझेका छैनन् । साँझ ५ बजेपछि बाहिर निस्किँदा पनि कोरोना सर्ने जोखिम उत्तिकै हुन्छ ।

हामी टेकु अस्पतालमा कोरोना संक्रमित बिरामीको उपचार गरिरहेका छौँ । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार हामीले पर्सनल प्रोटेक्टिभ इक्युपमन्ट प्रयोग गरेर बिरामी हेरिरहेका छौँ । हामी टिममा काम गर्छौं, मैले त्यो टिमको नेतृत्व गरेको छुु ।

पिपिई लगाएर उपचारमा खटिँदा कोरोना सर्दैन भन्ने हामीलाई थाहा छ तर पनि जोखिम नहोस् भनेर परिवारका सदस्यसँग दूरी कायम गरेका छौँ । म घरमै बस्छुु तर छुट्टै बस्ने गरेको छु । सोसल डिस्ट्यान्सको कुरा मेरो घरमा पनि लागु भएको छ ।

बिरामीसँग राम्रोसँग कुराकानी हुन्छ, स्वास्थ्य अवस्था पनि अपडेट गराइरहेका हुन्छौँ । आइसोलेसनमा बस्दा दिक्क लाग्ला भनेर बिरामीलाई इन्टरनेटको सुविधा दिएका छौँ ।

डा. रवीन्द्र समिर (जनस्वास्थ्य विज्ञ)

कोरोना संक्रमण देखिने र फैलिने ४ वटा चरण हुन्छ । नेपालमा ६ वटा केस कोरोना पोजेटिभ देखिँदासम्म हामी पहिलो चरणमा थियौँ । हामी अहिले दोस्रो चरणमा छौँ ।

विदेशबाट आएका कोरोना संक्रमित धेरै भएमा दोस्रो चरणको संक्रमण बढ्ने सम्भावना धेरै हुन्छ । नेपालमा धेरै परीक्षण भएको छैन । भेटिएका संक्रमितलाई आइसोलेट गरिएको छ ।

तेस्रो चरणको कोरोना संक्रमणमा कसले कसलाई सारेको थियो भन्ने नै थाहा हुँदैन । समुुदायमा कोरोना परीक्षण गर्दा संक्रमण देखियो तर कोबाट सर्‍यो भन्ने जानकारी भएन भने त्यो समुदायमै फैलिने सम्भावना बढी हुन्छ किनकि कसले सार्छ भन्ने नै जानकारी हुँदैन ।

चौथो चरणको संक्रमण भनेको समुदायभरि फैलिएको अवस्था हो ।

नेपालमा पहिलो चरणको संक्रमणमै घरमै बस्नुहोस्, विदेशबाट आएकासँग प्रत्यक्ष सम्पर्कमा नबस्नुहोस् भनेका थियौँ । तैपनि दोस्रो चरणको संक्रमण देखियो ।

अहिले सरकारले डबल लकडाउन गरेको छ । एउटा स्थानीय तहबाट अर्को स्थानीय तहमा पनि आउजाउ गर्न नपाउने भनेको छ । यो नियम प्रभावकारीरूपमा लागु भयो भने कोरोना संक्रमण फैलिने सम्भावना कम हुन्छ ।

डा. रवीन्द्र समिर (जनस्वास्थ्य विज्ञ)

दोस्रो चरणको संक्रमण समयमै नियन्त्रणमा लिन सकेमा कोरोना फैलनबाट रोकिन सक्छ । तेस्रो चरणको संक्रमण देखियो भने फैलनबाट रोक्न सक्ने क्षमता बाँकी रहँदैन ।

सरकारले अहिले बाहिरबाट आएकाहरूको रेकर्ड राख्ने, उनीहरूलाई क्वारेन्टाइनमा राख्ने र सचेत बनाउने काम गरिरहेको छ । घरमै क्वारेन्टाइनमा बस्नु भनेर छाडिँदिदा भने समस्या देखियो । घरमा छुट्टै शौचालय, छुट्टै भान्सा नहुन सक्छ । त्यसैले, विदेशबाट आएकालाई छुट्टै क्वारेन्टाइनमा राख्नुपर्छ र उनीहरूको कोरोना परीक्षण गर्नुपर्छ ।

विदेशबाट आएकालाई दुुई साता क्वारेन्टाइनमा राख्दा उनीहरूमा कोरोना रहेछ भने लक्षण देखिन्छ । यसो हुँदा समयमै उपचार गर्न र फैलनबाट रोक्न सकिन्छ ।

शनिबार भारतबाट आएका दुुई जनामा कोरोना देखियो । उनीहरू केही दिनअघि सीमा नाकामा हजारौँको भिडमा थिए भन्ने कुरा आएको छ । उनीहरूले दिनभर हजारौँको भिडमा नाराबाजी गरे । सबै जनाले सँगै खाना खाए, एकै ठाउँमा सुते ।

त्यसैले, उनीहरूलाई अरूबाट सरेको थियो कि उनीहरूबाट अरूलाई सरेको छ कि, केही थाहा छैन । सीमा नाकाबाट आउनेहरूमा कोरोना संक्रमण भएको हुनसक्छ । उनीहरूलाई अनिवार्यरूपमा क्वारेन्टाइनमा राख्ने र परीक्षण गर्ने गर्नुपर्छ ।

नेपालमा दोस्रो चरणको संक्रमण देखिएको छ । अब तेस्रो चरणको संक्रमण हुन नदिन सचेत हुनुपर्छ । अहिले तेस्रो चरणको संक्रमण देखिन सक्ने उच्च जोखिममा सुुदूरपश्चिम प्रदेश छ । त्यहाँ भारतबाट आउनेहरू धेरै छन् । त्यहाँ महामारी फैलिने डर धेरै छ ।

सरकारले सुुदूरपश्चिम प्रदेशमा डबल लकडाउन प्रभावकारी बनाउनुपर्छ । भारतबाट आएका व्यक्तिहरूलाई गाउँगाउँमा खोजी गरेर क्वारेन्टाइनमा राख्नुपर्छ । नेपालमा तेस्रो चरणको संक्रमण देखियो भने भयावह अवस्था आउँछ ।

इटलीले पहिलो र दोस्रो चरणको संक्रमणलाई ख्याल नगर्दा त्यहाँ कोरोनाले महामारीको रूप लियो । इटली कोरोना संक्रमण तेस्रो चरणमा पुुगेपछि मात्र सजग भयो तर महामारी रोकिएन ।

नेपालमा कोरोनाको महामारी हुन नदिन सरकार, प्रत्येक व्यक्ति, सबै निकाय र सबै राजनीतिक पार्टीहरू मिलेर विदेशबाट आएका सबैलाई क्वारेन्टाइनमा राख्नुपर्छ ।

भारतमा कोरोना संक्रमण बढ्दा नेपालको सीमा नाकामा पनि प्रभाव पर्छ । सीमामा रहेका नेपालीलाई उद्धार गरेर क्वारेन्टाइनमा राख्नुपर्छ, भारतीय नागरिकलाई प्रवेशमा रोक लगाउनुपर्छ । यसो गर्न सकेमात्र महामारीबाट बच्न सक्छौँ ।

नेपालमा कोरोना संक्रमणको तेस्रो चरण देखियो भने संक्रमण फैलिन बेर लाग्दैन । तेस्रो चरणको संक्रमण हुनबाट रोक्न सकिएन भने नेपालमा इटलीको भन्दा भयावह अवस्था आउन सक्छ ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  १२ : ०३ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द