फुटबलर रबिन : जीते चोटको पीडा, हारेनन् राष्ट्र जिताउने अभिलाषा | Khabarhub Khabarhub

फुटबलर रबिन : जीते चोटको पीडा, हारेनन् राष्ट्र जिताउने अभिलाषा



काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीको तेस्रो ब्याचका खेलाडी हुन्, डिफेन्डर रबिन श्रेष्ठ । महोत्तरी घर भएका उनको व्यवसायिक फुटबलको सुरुवात भने, संकटा क्लबबाट भयो ।

एन्फाबाट मोफसलका प्रतियोगितामा यु–१७ को टोलीबाट खेल्दै नेपाली फुटबलमा संघर्ष गरिरहेका रबिनले सहिद स्मारक ए डिभिजन फुटबल लिगमा संकटाबाट डेब्यु गरेका थिए ।

२०६३ सालमा एन्फाले ए डिभिजन लिगका क्लबहरुबीच नकआउट प्रतियोगिता आयोजना गरेको थियो । उक्त प्रतियोगितामा संकटाबाट खेलेका रबिनले राम्रो प्रदर्शन गरेपछि उनी लिगमा डेब्यु गर्न सफल भए ।

नेपाल पुलिस क्लबका रबिनले त्यही एक सिजनमात्रै संकटाबाट खेले । त्यसको अर्को वर्ष नै उनी नेपाल पुलिस क्लबमा आवद्ध भए । त्यसपछि अहिलेसम्म उनी पुलिस क्लबमै छन् ।

त्यसोत, रबिन आवद्ध हुँदा पुलिस क्लब लिगको ‘उचाई’ मा थियो । त्यहाँबाट खेल्न खेलाडीहरु लालायित हुन्थे । तत्कालिन अवस्थामा राष्ट्रिय टोलीका अधिकाशं खेलाडी विभागीय क्लब पुलिसबाट हुन्थे । राष्ट्रिय टोलीका खेलाडीको वर्चश्व भएपछि अधिकाशं खेल उसले जित्ने नै भयो । ए डिभिजन लिगमा पनि २०६३, २०६६–६७ र २०६८ गरि लगातार तीन पटक पुलिसले उपाधी जित्दै ह्याट्रिकक गरेको थियो ।

रबिन २०६४ मा विभागीय टोली पुलिसमा आवद्ध भए । तर, त्यहिँ वर्ष ए डिभिजन लिग फुटबलको आयोजना नै भएन । क्लब र एन्फाबीचको द्वन्द्वका कारण रबिनले विभागीय टोलीबाट ए डिभिजन लिगमा डेब्यु गर्न २ वर्ष कुर्नुपर्यो ।

२०६६–६७ र २०६८ को सिजनमा लगातार ए डिभिजन लिगको उपाधी पुलिसले उचाल्दा रबिनले भने खेलको कौशल देखाउँ पाएनन् ।
स्टार खेलाडीहरुको जमघट रहेको क्लबको प्लेइङ सेटमा पर्न नै रबिनले लामो समय संघर्ष गर्नुको विकल्प भएन ।

फुटबल खेल्ने गरेपनि व्यवसायीक फुटबल यात्रा भने रबिनको पुलिस क्लबाट नै भएको थियो । यसलाई उनी गर्वको रुपमा लिन्छन् । ‘म पुलिस क्लबमा आवद्ध हुन पाउनु नै गर्वको कुरा थियो । राष्ट्रिय टोलीका स्टार खेलाडीहरुको जमघट रहेको क्लबमा आउनु नै गर्वको कुरा थियो,’ रबिनले भने,‘भर्खरको खेलाडी थिएँ । प्लेइङ सेटमा पर्छुकी पर्दिन्न भन्ने थियो ।’

हरि खड्का, अनन्त थापा, पर्वत पाण्डे, भोला सिलवाल, सुमन सुवेदी लगायतका स्टार खेलाडीहरु टोलीमा थिए । स्टार खेलाडीहरुको जमघट भएको क्लवमा आफू करियर सोचेर गएको उनी बताउँछन् ।

‘राम्रा र सिनियर खेलाडीसँग खेल्न पाए फुटबल करियरमा अगाडि बढ्न सकिन्छ भन्ने लक्ष्यसहित आएको थिए’ उनले भने ।

२००७ मा पुलिसले पाकिस्तानमा एएफसी प्रेसिडेन्ट कप खेलेको थियो । त्यसमा नियमित ‘लेफ्ट ब्याक’ सुमन सुवेदी टोलीमा नहुँदा प्रशिक्षकले रबिनलाई मैदान उतारेका थिए । त्यसमा राम्रो खेले पनि रबिन त्यसपछिका खेलमा भने पहिलो रोजाइमा पर्न सकेनन् ।

प्रेसिडेन्ट कपको दोस्रो चरणमा पनि खेल्न पाएका उनलाई पछि मात्रै प्रशिक्षकले विश्वास गरेको बताउँछन् ।

ठूला खेलाडीहरुसँग खेल्दै आफ्नो खेलमा सुधार गरेका रबिनले नेपाली फुटबलको राष्ट्रिय जर्सी भने पहिलो पटक २००८ मा उत्तर कोरियाविरुद्धको खेलबाट लगाएका थिए । त्यसयता, राष्ट्रिय टोलीमा आफूलाई जमाउन सफल रबिन २०१३ मा काठमाडौंमै भएको साफ च्याम्पियनसिपमा उत्कृष्ट खेलाडी बनेका थिए । तर, नेपाल भने सेमिफाइनलमा अफगानीस्तानसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

२०१६ मा नेपालले बंगलादेशको बंगबन्धु गोल्डकप जित्दा रबिन नेपाली टोलीका महत्वपूर्ण सदस्यका रुपमा टोलीमा थिए ।
अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता नजितेको २३ वर्ष भइसकेको थियो । तर, विराज महर्जनको कप्तानीमा रहेको टोलीले लामो समयको उपाधी खडेरी अन्त्य गरेको थियो ।

अहिले पनि रबिन उक्त ट्रफी आफ्नो जीवनको सबैभन्दा महत्वपूर्ण उपलव्धि भएको बताउँछन् । व्यक्तिगत रुपमा उनले काठमाडौंमा भएको साफ च्याम्पियनसिपमा उत्कृष्ट खेलाडी बन्दै बाइक पाएका थिए ।

‘देशका लागि खेल्नु पर्दा व्यक्तिगत भन्दा पनि राष्ट्रका लागि आएको उपाधी ठूलो हुँदो रहेछ । त्यसैले मलाई २३ वर्षपछि नेपालले जितेको बंगबन्धु कपको उपाधी नै प्यारो लाग्छ,’ श्रेष्ठले भने ।

आफ्नो करियरमा निकै धेरै उतारचढाव आएको बताएका रबिनले नेपालका लागि २०१६ मै भएको एएफसी सोलिडारीटि कप जिताउन भूमिका खेलेका थिए । त्यसपछि भने रबिनको फुटबल करियरमा समस्या आउन थाल्यो ।

बंगलादेशमा भएको सोलिडारीटि कप विजेताका हैसियतले नेपालले एसियन कप २०१९ को छनोट खेल्ने अवसर पाएको थियो । उक्त छनोट अन्तरगत फिलिपिन्सविरुद्धको २०१७ मार्च २८ को खेलमा उनको खुट्टामा चोट लाग्न पुग्यो ।

खेलमा मात्रै ४ मिनेटबाँकी रहँदा रबिन मैदानबाट बाहिरिए । पछि उनले ग्राण्डी अस्पताल, धापासीमा एसीएल शल्यक्रिया गराएका थिए ।

२ वर्षमा २ चोट

क्लबदेखि राष्ट्रिय टोलीसम्म पहिलो रोजाईमा खेलिरहेका रबिन चोट बोक्न पुगे । २०१७ मार्च महिनामा दाहिने खुट्टाको एसीएल अप्रेसन भएको थियो । अप्रेसन गरेर अस्पतालमा बसिरहँदा खुबै चिन्ता लागेको रबिन बताउँछन् ।

‘करियर अगाडि बढीरहेकै थियो । त्यहिँबेला चोट खप्नु पर्दा डर लागेको थियो,’ रबिनले भने ।

त्यसको ठिक ९ महिनापछि रबिन मैदानमा उत्रिए । नयाँ जोश र जाँगरका साथ । चोटमुक्त भएर आएपछि पनि उनी एसियाली खेलकुद २०१८ र साफ च्याम्पियनसिप २०१८ को तयारीमा रहेको यु–२३ र सिनियर टिमका खेलाडी मिश्रीत टोली भएर मैत्रिपूर्ण खेलका लागि बैंकक गए ।

नेपालले बैंककमा हुँदा टेरो एफसी र थाइल्यान्डको यु–२३ टोलीसँग मैत्रिपूर्ण खल खेल्दै थियो । पहिलो खेल टेरो एफसीसँग नेपाल १–० गोलले पराजित भयो । दोस्रो खेलमा नेपाल थाइल्याण्डसँग खेल्दै थियो । रबिन पनि टोलीमा थिए । मैदान उत्रिए । तर, खेलको २० औं मिनेटमा उनी मैदानमै लडे ।

कारण थियो, उनले पुरानै ठाउँमा पुन चोट बोकेका थिए । उनलाई मैदानबाट बेहोसी अवस्थामै बाहिर ल्याइयो । रबिनको पहिला अप्रेसन गरेकै ठाउँमा फेरि चोट लागेको रहेछ । उक्त खेलमा नेपाल थाइल्यान्डसँग ४–० गोलले पराजित भएको थियो ।

पहिला लागेकै ठाउँमा चोट लागेपछि रबिनले फुटबल र करियरबारे सोचे, डराए । मिडफिल्डर रोहित चन्द पनि त्यही खालको चोटपछि पुन खेलमा फर्किएको कुराले रबिनमा आत्मविश्वास पलायो ।

‘पहिलो पटक चोट लाग्दा धेरै डर लागेको थियो । पुनरागमन हुँदैन कि भन्ने लागेको थियो । तर, रोहितले पनि यो चोटपछि पनि राम्रो कमब्याक गरेको देखेको थिए,’ रबिनले भने,‘त्यसले पनि मलाई कमब्याक गर्न सहज बनायो । रोहितलाई प्रेरणाका रुपमा लिएँ ।’

जनवरी २९ २०१९ मा एसीएलको अप्रेशन कतारको दोहा अस्पतालमा भयो । त्यहाँ उनले लामो समय ‘रिहाब’ पनि गरे । अप्रेसन र रिहाबमा रहँदा क्रममा एन्फा र पुलिस क्लबले राम्रो साथ दिएको उनी बताउँछन् ।

दुई–दुई पटक चोट खेप्दा पनि नथाकेका रबिन श्रेष्ठ अझै केही गर्ने अपेक्षासहित मैदान उत्रिएका छन् । अब उनको एक मात्रै ध्येय छ, क्लबलाई लक्ष्य अनुसार अगाडि बढाउने ।

जनवरीमा एसीएलको अप्रेसन गरेका रबिन पुन २७ डिसेम्बर २०१९ मा मैदान उत्रिए । लयमा फर्किएका उनी खेलाडीका रुपमा होइन, कप्तानकै ‘आम बेल्ट’ सहित मैदान फर्किए ।

सरस्वती युथ क्लबविरुद्ध लिगमा पुनरागमन गरेका रबिनले टोलीलाई पहिलो जित दिलाए । अहिलेको आफ्नो लक्ष्य क्लबलाई लक्ष्य अनुसारको नतिजा दिलाउनु रहेको उनी बताउँछन् ।

‘अहिलेका लागि मेरो लक्ष्य क्लबलाई लिगमा जतिसक्दो राम्रो स्थान दिलाउनु हुनेछ । लिगमा क्लबले जति राम्रो नतिजा हात पार्यो । जति राम्रो प्रदर्शन आफूले गर्न सक्यो त्यहिँ अनुसार भोलिका दिनमा राष्ट्रिय टोलीमा बोलाउने हो,’ राष्ट्रिय टोलीमा फर्किने योजनामा रहेका उनले भने,‘म हिजो जस्तै राम्रो लय समात्दै राष्ट्रिय टोलीमा पर्न चाहन्छु ।’

२००८ देखि लगातार खेल्दै आएका रबिन दोस्रो पटक चोट खेपिरहँदा पनि राष्ट्रिय टोलीमा फर्किने रहर बाँकी नै छ । उनी पहिलेकै जस्तो उत्कृष्ट लयमा राष्ट्रिय टोलीको जर्सीमा मैदान प्रवेश गर्न चाहन्छन् । र, बताउन चाहन्छन्,‘म खेल्छु, देशका लागि जित्छु ।’

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  १० : ३५ बजे

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत पूर्वाधार

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम