जनप्रतिनिधिहरुले जनादेशको कदर किन गर्न सक्दैनन् ? « Khabarhub
Logo
१७ मंसिर २०७७, बुधबार

जनप्रतिनिधिहरुले जनादेशको कदर किन गर्न सक्दैनन् ?

नेपालमा ‘उत्कृष्टहरु’को प्रदर्शन हरेक क्षेत्रमा कमजोर 



नेपालको शिक्षा सेवा आयोगले लिने परीक्षामा हजारौं शिक्षित व्यक्तिहरुले प्रतिस्पर्धामा भाग लिन्छन् । हजारौं प्रतिस्पर्धी मध्येबाट केही सय मात्र पास हुन्छन् । जो उत्तीर्ण हुन्छन्, उनीहरु अन्य भन्दा बढी योग्य भएको कारणले उत्तीर्ण भएका हुन्छन् । उनीहरुले सरकारी तलब र सुबिधा पाउँछन् । उनीहरु स्थायी हुन्छन् ।

तर, बिडम्बना ! नेपालको सरकारी विद्यालयका विद्यार्थीकोे गुणस्तर अत्यन्त कमजोर छ । हजारौं प्रतिस्पर्धीलाई उछिनेर अत्यन्त योग्य ठहरिएका शिक्षक र शिक्षिकाहरुले अध्यापन गराउने सरकारी विद्यालयमा शिक्षाको गुणस्तर किन कमजोर हुन्छ ?

हजारौं विद्यार्थीहरुलाई प्रतिस्पर्धामा उछिनेर सरकारी इन्जिनियरिङ्ग र मेडिकल कलेजमा भर्ना पाइन्छ । अन्य क्याम्पसको भन्दा सरकारी प्राविधिक क्याम्पसको पढाई पनि राम्रो हुन्छ । यहाँको शुल्क पनि नीजि क्याम्पसको तुलनामा अत्यन्त कम हुन्छ ।

यहाँबाट उत्तीर्ण भएका विद्यार्थीहरुले आ–आफ्नो क्षेत्रको रोजगारीमा हुने सबै प्रतिस्पर्धामा हजारौंलाई उछिनेर योग्य भई रोजगार पनि पाउँछन् । तर, बिडम्बना ! सरकारी अस्पतालहरुको गुणस्तर किन कमजोर छ ? सरकारी इन्जिनियरहरुले परीक्षण गरेर पास गरेका सडकहरुको गुणस्तर किन यति धेरै कमजोर छ ? कतिपय पक्की सडकहरु एक महिना पनि पुग्न नपाउँदै नै घाउँको पाप्रा उप्किए झैं किन उप्किन्छन् ?

सबै क्षेत्रहरुको प्रतिस्पर्धाहरुमा उत्तीर्ण भएर अब्बल ठहरिएकाहरुको बोली, ब्यवहार र कार्यशैली पनि अझ बढी बिनम्र, असल र अब्बल हुनु पर्दछ भन्ने समाजको सदैव अपेक्षा रहेको हुन्छ । मानिस जति सुकै विद्वान भएपनि वा जतिसुकै ठूलो ओहोदामा पुगे पनि ऊ समाजको एउटा अंग हो र समाज भन्दा पर रहन सक्दैन ।

बहुलवादमा आधारित बहुदलीय लोकतन्त्रमा आवधिक निर्वाचनको व्यवस्था गरिएको हुन्छ । सबै देशको आ–आफ्नै निर्वाचन प्रणाली रहेको हुन्छ । नेपालमा स्थानीय तह, प्रदेश तह र संघीय तहमा फस्ट पास्ट द पोस्ट सिस्टमको निर्वाचन प्रणाली रहेको छ । यो निर्वाचन प्रणालीमा निकटम प्रतिस्पर्धी भन्दा एक मत बढी ल्याउने व्यक्ति नै बिजय हुन्छ ।

नेपालको संविधानमा व्यवस्था भए अनुसार एक व्यक्ति एक मतको आधारमा १८ वर्ष पुगेका बालिग मतदाताहरुलाई मताधिकारको व्यवस्था रहेको छ । निर्वाचन आयोगले प्रकाशित गरेको मतदाता नामाबलिमा नाम भएको मतदाताहरुले मतदानमा सहभागि भएर मतदान गर्न सक्दछन् ।

निर्वाचनमा आफ्नो प्रतिस्पर्धी उम्मेदवारहरु भन्दा बढी मत ल्याएको उम्मेदवार नै विजयी हुन्छ ।

बहुदलीय लोकतन्त्रिक प्रणालीमा जन अभिमतको सबैभन्दा ठुलो महत्व हुन्छ । निर्वाचनमा जुन उम्मेदवारले सबैभन्दा बढी मत ल्याउँछ, उही विजयी हुन्छ र सो निर्वाचनमा आफ्ना प्रतिस्पर्धिहरु भन्दा बढी मत ल्याएकोमा उसलाई नै लोकप्रिय र अब्बल मानिन्छ । आवधिक निर्वाचन प्रणालीको सिद्धान्त अनुसार विजयी उम्मेदवारलाई लोकप्रिय र अब्बल उसको पदावधी सम्मको लागि मात्र मानिन्छ, सधैको लागि होइन ।

आवधिक निर्वाचन प्रणालीले मतदाताले एक पटक जुन उम्मेदवारलाई मतदान गर्दछ, उसले सो उम्मेदवारलाई सधैको लागि छनौट गरेको हुँदैन । मतदाताको मनस्थिति र मनोविज्ञान उसले मतदान गरेको उम्मेदवार वा सो दलको गतिबिधि र कार्यशैलीलाई लिएर परिवर्तन पनि हुन सक्दछ भन्ने मान्यताले आवाधिक निर्वाचन प्रणालीको व्यवस्था गरिएको हुन्छ, बहुलवादमा आधारित बहुदलीय निर्वाचन प्रणालीमा ।

देशको संविधान र संस्थाको बिधानले अबधि तय गरेको हुन्छ । यसैले लोकतान्त्रिक राज्य व्यवस्थामा कुनै पनि जन प्रतिनिधि राज्य सत्ताको स्थायी हकदार हुँदैन, जनअभिमतको आधारमा परिवर्तन हुने संभावना सदैव जिवित नै रहेको हुन्छ ।

नेपालको बिभिन्न तहको निर्वाचनमा आफ्ना प्रतिस्पर्धी भन्दा बढी मत ल्याएर विजयी भएका जनप्रतिनिधिहरुले पनि आम सर्वसाधारण जनतालाई दिने सेवा र गर्ने ब्यवहार पनि उनीहरुका प्रतिस्पर्धी भन्दा उत्कृष्ट, असल, विनम्र, सर्वश्रेष्ठ र सबैले सधै प्रशंसा गर्न लायकको हुनु पर्दछ

बहुलवादमा आधारित बहुदलीय लोकतन्त्रको सुन्दर गहना एक व्यक्ति एक मतको व्यवस्था र आवधिक निर्वाचन प्रणाली पनि हो ।

लोकतान्त्रिक प्रणालीमा जुन अभिमतको आधारमा मतदानको प्रक्रिया मार्फत राज्य सत्ता परिवर्तन हुन्छ । यो व्यवस्थालाई विधिको शासनले निर्देशित र नियन्त्रित गरेको हुन्छ । कुनै पनि निर्वाचित जनप्रतिनिधिको काम, कर्तब्य र अधिकारको व्यवस्था देशको संविधान र कानुनमा व्यवस्था भएको हुन्छ ।

नेपालका बिभिन्न सेवा आयोगहरुबाट आफ्ना हजारौं प्रतिस्पर्धीहरुलाई प्रतिस्पर्धामा उछिनेर उत्तीर्ण भएका अब्बल व्यक्तिहरुबाट आम सर्बसाधारण जनतालाई उनीहरुले दिने सेवा र गर्ने ब्यवहार पनि उनीहरुका लाखौं प्रतिस्पर्धीहरु भन्दा सर्बश्रैष्ठ र सबैले सधै प्रशंसा गर्न लायक हुनु पर्दछ भन्ने जन अपेक्षा सदैव रहेको हुन्छ ।

त्यसैगरि नेपालको बिभिन्न तहको निर्वाचनमा आफ्ना प्रतिस्पर्धी  भन्दा बढी मत ल्याएर विजयी भएका जन प्रतिनिधिहरुले पनि आम सर्बसाधारण जनतालाई दिने सेवा र गर्ने ब्यवहार पनि उनीहरुका प्रतिस्पर्धी भन्दा उत्कृष्ट, असल, बिनम्र, सर्बश्रेष्ठ र सबैले सधै प्रशंसा गर्न लायकको हुनु पर्दछ भन्ने जन अपेक्षा सदैव रहेको हुन्छ । त्यसका साथै निर्वाचित जन प्रतिनिधिले निर्वाचनको समयमा आम जनताको बिचमा गरेका बिकास निर्माणका प्रतिबद्धता पनि समयमा नै पुरा गरेको हुनु पर्दछ भन्ने जन चाहना सदैव रहन्छ ।

आम नेपालीले आज स्थानिय तह, प्रदेश तह र संघीय तहका आफ्ना निर्वाचित जन प्रतिनिधिहरुसंग सुशासनको अपेक्षा गरेका छन्, विधिको शासनको चाहना राखेका छन्, मूल्य बृद्धि तत्काल नियन्त्रण होस् र बजारको नियमित अनुगमन भएर मनलाग्दो तरिकाले कसैले पनि कुनै पनि बस्तुको मूल्य बृद्धि गर्न नपाओस् अनि साथसाथै खाद्य पदार्थमा मिसावट गर्न नपओस् भन्ने चाहेका छन् ।

आय भन्दा व्यय धेरै भइरहेकोले आम नेपालीहरु दिनदिनै झन गरीब हुँदै गइरहेका छन् । हेर्दा हातमा हिजोको भन्दा बढी पैसा देखिन्छ तर मुद्रा स्फिति  कारणले ती पैसाको वास्तविक मूल्य हिजोको तुलनामा कमजोर भईसकेको छ । धनी र गरीब बीचको आय असमानता दिन दिनै फराकिलो हुँदैछ ।

औषधिको गुणस्तर कायम हुनु पर्दछ, खाद्य पदार्थको गुणस्तर कायम हुनु पर्दछ, पेट्रोलियम पदार्थको गुणस्तर कायम हुनु पर्दछ र सरकारको आधिकारिक निकायकोरुपमा रहेको गुणस्तर तथा नाप तौल विभाग अहिले भन्दा अझ धेरै नै नियमितरुपमा देश भरी नै सक्रिय हुनु पर्दछ । यदि यो विभागमा जनशक्तिको कमी छ भने नेपाल सरकारले आवश्यक जनशक्तिको व्यवस्था गरिदिनु पर्दछ ।

शिक्षा महंगो छ र यसको गुणस्तर खस्किँदो छ, स्वास्थ्य सेवा अझ धेरै महंगो छ र यसको पनि गुणस्तर सन्तोषजनक छैन । सेवा क्षेत्रहरुमा पनि महंगीले आकाश छोएको छ । आम जनताको आय बृद्धि हुने कुनै नयाँ कलकारखानाहरु खुलेका छैनन् ।

आय भन्दा व्यय धेरै भइरहेकोले आम नेपालीहरु दिनदिनै झन गरीब हुँदै गइरहेका छन् । हेर्दा हातमा हिजोको भन्दा बढी पैसा देखिन्छ तर मुद्रा स्फिति  कारणले ती पैसाको वास्तविक मूल्य हिजोको तुलनामा कमजोर भईसकेको छ । धनी र गरीब बीचको आय असमानता दिन दिनै फराकिलो हुँदैछ ।

नेपालको अर्थतन्त्र केही हदसम्म रेमिट्यान्सले धानेको छ । तर यो कहिले सम्मको भन्ने यकिन छैन । रेमिट्यान्सले मानिसको पर निर्भरता पनि बढाएको छ । देशको ब्यापार घाटा दिनप्रतिदिन कहालिलाग्दो रुपमा अझ बढी फराकिलो हुँदै गई रहेको छ ।

पर्यावरणको दुष्प्रभावबाट नेपाल पनि बच्न सक्दैन । चुरे पहाडको दोहन भएर तराई दिनप्रतिदिन मरुभूमि हुने खतरा बढेर गई रहेको छ । आज पनि तराईको उत्तरी क्षेत्रमा चैत्र र वैशाख महिनामा खानेपानीको हाहाकार हुन्छ ।

तराईको उत्तरी क्षेत्रमा लगभग ३५० देखि ४०० फिट तल पानीको लेयर छ । तराईमा हरेक वर्ष ७ देखि १० फिटको दरले पानीको लेयर घटी रहेको छ । यस्तै अबस्था रहि रह्यो भने बीस वर्ष पछि तराईमा पानीको लेयर ६०० देखि ७०० फिट तल पुग्छ । पानीको लेयर ६०० देखि ७०० फिट तल भएको जमिनमा कुनै पनि अन्न बालीको उब्जाऊ हुँदैन । अनि तराई मरुभूमि हुन्छ किन हुँदैन ।

तराईमा हिजोको दिनमा मानिसको बस्ती भन्दा खोलाको सतह तल थियो तर अहिले बस्तिको सतह बराबर खोलाको सतह पुग्न लागि सक्यो । कतिपय स्थानमा बस्तीको सतह भन्दा खोलाको सतह माथि छ ।

चुरेको विनासको कारणले वर्षाको समयमा बाढी आउदा बस्तीमा पस्छ, बस्ती डुबान हुने समस्या हुन्छ अनि बाढीसंगै बगेर आएको बालुवा र ढुङ्गाले खेतबारी पुरिन्छ । खेतमा लगाएको सबै अन्नहरु सखाप मात्र हुँदैनन्, मलिलो माटो भएको खेतबारी बाढीसँगै आएको ढुङ्गा र बालुवाले क्षणभर मै अन्नबाली उब्जाऊ नहुने बन्जर जमिनमा परिणत गरिदिन्छ । खेत मरुभूमी हुन्छ । यसरी तराई बिस्तरै मरुभूमीमा परिणत हुँदैछ ।

तराई मरुभूमी भयो भने भावर र भित्रि मधेश पनि मरुभूमीमा परिणत हुन समय लाग्दैन । भावर र भित्रि मधेशमा पानीको मुहान सुक्यो र मरुभूमी भयो भने महाभारत पनि मरुभूमी हुन समय लाग्दैन ।

महाभारतमा पनि पानीको मुहान सुक्यो भने नेपालको तापक्रम अत्यधिकरुपले बढनेछ । यसको प्रभावले नेपालको हिमालयमा पर्नेछ । हिमालमा भएका हिउँ पनि अत्यधिक तापक्रमको कारणले चाँडै नै पग्लिनेछन् र नेपालको हिमालमा हिउँ देखिने छैन । बिस्तारै बिस्तारै बढदो तापक्रमको कारणले केहि शताब्दि पछि नेपाल पनि पानीको अभाव हुने देशमा रुपान्तरण हुने संभावना रहन सक्छ । यसैले अहिले देखि नै पर्यावरणको संरक्षण गर्नु आबश्यक मात्र होईन, अपरिहार्य पनि छ ।

अहिले देखि बातावरणलाई प्रदुषण गर्ने धेरै कालो धुँवा फ्याक्ने उद्योगहरु र गाडीहरुलाई कडा कानून बनाएर प्रदुषण कम गर्ने वैज्ञानिक उपायहरु अपनाउन नीतिहरु बनाउनु पर्दछ । हिमाल, महाभारत र चुरे क्षेत्रको संरक्षण गर्नु पर्दछ । तराईका नदीहरुमा तटबन्ध गर्नु पर्दछ । नदी र खोलाहरुलाई सफा र पानी बग्ने बनाउनु पर्दछ ।

आज तराईको धेरै नदीहरुमा जसमा मानिसहरु केहि समय अघिसम्म पौडी खेल्दथे, आज ति नदीहरुमा पानी देखिन्दैन । नदी, खोला, जलाशय क्षेत्र, सीमसार क्षेत्र, बन जंगल र भावरको जंगलको संरक्षण अनिवार्यरुपमा गर्न अहिले देखि नै कानून र कार्य योजना बनाएर गरे मात्र पर्यावरणको संरक्षण हुन सक्छ, नत्र पछि धेरै ढीलो हुन सक्ला ।

यी र यस्ता धेरै समस्याहरु छन्, जसमा नेपाल सरकारको साथै आम नेपाली जनताको गम्भिर ध्यान जान जरुरी छ । आफ्नो बारेमा मात्र होइन, भावी सन्ततीको बारेमा पनि सोचेर हामीले हाम्रो व्यवहार र, संस्कार र नीतिहहरुको छनौट गर्नु पर्दछ ।

आज स्थानीय, प्रदेश र संघीय तहका सबै निर्वाचित प्रतिनिधिहरुले आम जनताको अपेक्षा अनुसार शासन सत्ता सञ्चालन गर्नु पर्ने, उनीहरुको समस्याहरुलाई सामाधान गर्नु पर्ने र आम जनताको नजरमा चोखो देखिनु पर्ने आवश्यकता छ

बिभिन्न सेवा आयोगहरुको परीक्षामा अब्बल भएर उत्तीर्ण हुन गम्भिरताका साथ मिहनेत गरे झै देशको सुन्दर भविष्य निर्माण गर्न र पर्यावरण जोगाउन त्यस भन्दाबढी मिहनेत गर्ने र नयाँ पुस्तालाई पनि पर्यावरण जोगाउनेबारे सुचित र सचेत गराईरहनु पर्दछ ।

निर्वाचन जित्नु अत्यन्त महत्वपूर्ण हुन्छ तर त्यो भन्दा पनि महत्वपूर्ण पर्यावरण जोगाउन आवश्यक छ । बैज्ञानिकहरु भन्छन् कि कतिपय समुन्द्रहरुको पानीमा अक्सिजनको मात्रा तीन प्रतिशत जति घटेको छ । यसले बढी अक्सिजन चाहिने टुना माछा र सार्क माछाको अस्तित्वलाई नै संकटमा पार्न सक्दछ भनि बैज्ञानिकहरुले चेतावनी दिएका छन् ।

पर्यावरण जोगियो भने मानिसले हासिल गरेको शिक्षा, स्वास्थ्य, सम्पत्ति र सत्ता काम लाग्ला । पर्यावरणको बिनास भयो भने केहि शताब्दीपछि मानव सभ्यताको नै संरक्षण गर्नु पर्ने दिन पनि आउन सक्ला ।

आज स्थानीय, प्रदेश र संघीय तहका सबै निर्वाचित प्रतिनिधिहरुले आम जनताको अपेक्षा अनुसार शासन सत्ता सञ्चालन गर्नु पर्ने, उनीहरुको समस्याहरुलाई सामाधान गर्नु पर्ने र आम जनताको नजरमा चोखो देखिनु पर्ने आवश्यकता छ । लोकतन्त्रमा जनप्रतिनिधिहरुले जनादेशको कदर गर्नु पर्दछ । बहुदलीय लोकतन्त्रमा कुनै पनि जनप्रतिनिधिहरु स्थायी हुँदैनन् । आवधिक निर्वाचनको माध्यमबाट जनप्रतिनिधिहरु परिवर्तन हुने सम्भावना रहिरहन्छ ।


भर्खर

0