कोरोनाले कसलाई दिएन र सास्ती ! विपन्नलाई छाक टार्नै मुश्किल | Khabarhub Khabarhub

कोरोनाले कसलाई दिएन र सास्ती ! विपन्नलाई छाक टार्नै मुश्किल


२० कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 8 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दिनेश विष्ट

कैलाली– कन्नुराम चौधरी पाँच जनाको परिवारसहित कैलालीको गोदावरी नगरपालिका–५ स्थित मुक्त कमैया शिविरमा बस्छन् । दैनिक मजदुरी गरेर परिवार पाल्ने कन्नुराम गत चैत १० गते बेलुका र भोलिपल्ट बिहानका लागि चामल र दाल बोकेर घर पुगे । बेलुका दालभातले सबैलाई मिठो निद्रा पर्‍यो ।

११ गते बिहान सधैँझैँ काममा जान तयार भए । बाहिर सुनसान छ । गाडी कतै चलेको छैन । आज के भएछ भनेर छिमेकीलाई सोध्दा पो थाहा भयो सरकारले कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन गरेछ ।

कन्नुरामलई आपत आइलाग्यो । न काम छ, न त घरमा खानका लागि केही । दुईचार दिन पुग्ने चामल किन्न पैसा थियो । त्यही पैसा बोकेर बजार गए तर कतै पसल खुलेका थिएनन् । उल्टै प्रहरीले लठ्ठी देखाउँदै भगायो ।

गोजीमा पैसा बोकेर पसल खोज्दै निकै टाढासम्म पुगे पनि केही किन्न नपाएपछि त्यस दिन बेलुका कन्नुरामको परिवार भोकै सुत्यो । अर्को दिन बिहान छिमेकीसँग पैँचो मागेर छाक टर्‍यो । त्यसपछिका दिन कहिले पैँचो माग्ने त कहिले भोकै सुत्ने गरेर बिते ।

लकडाउन भएको एक महिनापछि नगरपालिकाको वडा कार्यालयबाट १० किलो चामल पाए । भोक र ऋणले थिच्दै गरेका कन्नुरामजस्ता सुकुम्बासी बस्तीका सबैले १० किलो चामल र केही दाल पाउन पनि एक महिना कुर्नुपर्‍यो ।

कन्नुराम भन्छन्, ‘भोग्नुसम्मको लकडाउन भोगियो, हामी गरिबहरूलाई कसले वास्ता गर्छ र ! खाए नखाएको सोध्ने पनि कोही भएन । त्यसबेला रोगभन्दा बढी भोकको डर लागिरह्यो । भोकले परिवार मर्छन् कि भन्ने चिन्ता धेरै थियो ।’

कोरोना कहरले समस्यामा परेको मुक्त कमैया बस्ती

विपन्नको विचल्ली
नेपालमा कोरोना पुष्टि भएका दोस्रो व्यक्ति धनगढी उपमहानगरपालिका–५ का पुरुष थिए । दुबईबाट घर फर्किएका उनलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि सुदूरपश्चिममा कोरोना सङ्क्रमण फैलने अनुमान गरिएको थियो । एक जनालाई सङ्क्रमण भयो अरे भन्दा पूरै देश त्राहिमाम हुने त्यो बेला धनगढीमै एक जनामा सङ्क्रमण देखिएपछि कैलालीमा डर फैलनु स्वाभाविक थियो ।

कोभिड–१९ को महामारीको डर सबैलाई थियो । सङ्क्रमण रोक्न प्रहरी, प्रशासन र स्थानीयबासिन्दा समेत लागिपरेका थिए । भाइरसको डर एकातिर थियो, अर्कातिर न्यून आय भएका तथा मजदुरहरूलाई गाँस जुटाउनै समस्या भयो ।

तीन महिनासम्म बाहिर निस्किन नपाउने लकडाउनले मजदुरहरूलाई धेरै छाक भोकै बनायो । उनीहरूसँगै अपाङ्गता भएका व्यक्ति, खेलाडी लगायत धेरैलाई कोरोना महामारीले असर गर्‍यो ।

स्वतन्त्र यातायात मजदुर सङ्गठनका केन्द्रीय सचिव जितबहादुर मल्ल कोरोना नियन्त्रणका लागि भएको लकडाउनले यातायात क्षेत्रका धेरै मजदुरहरू अलपत्र परेको बताउँछन् । ‘होटल-पसल बन्द भएपछि मजदुरहरू भोकभोकै गाडीमा बस्न बाध्य भए,’ जितबहादुर भन्छन्, ‘तराईबाट पहाड चल्ने बसका चालक र सहचालक घर जान पाएनन् । होटल-पसल नखुल्दा उनीहरू अलपत्र परे । केही दिन भोकै बसेपछि सम्पर्कमा रहेका होटलहरूमा पुगेर केही छाक खाए पनि बेखर्ची बनेर बिचल्लीमा पर्नुपर्‍यो ।’

लकडाउनका समयमा गरिएको राहत वितरण

नाममात्रैको राहत
लकडाउन सुरु भएको झण्डै एक महिनापछि सरकारी तथा गैरसरकारी क्षेत्रबाट राहत वितरण सुरु भयो । त्यसबेलासम्म बिचल्लीमा परेकाहरू धेरैजसो भोकभोकै सयौँ किलोमिटर पैदल यात्रा गर्दै घर पुगेका थिए । त्यहीँ घर भएर पनि खानेकुरा नहुँदा भोकै परेकाहरू राहत लिन तँछाडमछाड गर्न थाले । वडाहरूले आफ्नो क्षेत्रका बासिन्दालाई राहत दिए भए पनि बाहिरबाट आएर अलपत्र परेकाहरूले पाएनन् । त्यस्ता मजदुरहरूलाई सङ्गठनले चन्दा मागेर खुवाए ।

खेलाडीहरू पनि लकडाउनको प्रभावमा परे । कुनै पनि खेल कार्यक्रम भएन । उनीहरूको आम्दानीको स्रोत गुम्यो । खेलेरै गुजरा चलाउने खेलाडीहरूलाई समस्या पर्‍यो । लामो समयदेखि खेल गतिविधि नहुँदा आर्थिक समस्यामा परेका कति खेलाडीहरूलाई त छाक टार्नै मुश्किल पर्‍यो । उनीहरू अहिले पनि बेरोजगार छन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कैलालीका अध्यक्ष प्रकाश चन्द भन्छन्, ‘खेलकुदका गतिविधि ठप्प हुँदा खेलाडीहरूको आम्दानी रोकिएको छ । धेरै समस्या भएको छ ।’

अहिले सुदूरपश्चिम प्रदेशमा ६ वटा पिसिआर मेसिन सञ्चालनमा छन् । स्वाब दिएको अर्को दिन नतिजा उपलब्ध हुन्छ । अहिले सबै स्थानीय तहले आइसोलेसनका लागि संरचना बनाएका छन् ।

अपाङ्गता भएका व्यक्तिहरू झनै समस्यामा परे । स्याहार गर्ने व्यक्तिकै रोजगारी गुमेपछि उनीहरूको जीवन कठिन भयो । अपाङ्गता भएका व्यक्तिहरू बढी जोखिममा परेको अपाङ्गता सहायता प्रतिष्ठान नेपालका अध्यक्ष भावानी ऐरको भनाइ छ । उनले भने ‘अपाङ्गता भएका व्यक्तिहरूले न त अपाङ्गतामैत्री क्वारेन्टिन पाए, न आइसोलेसन । उनीहरूका बारे न सरकारले सोच्यो न अरू कसैले ।’

अपाङ्गता भएका व्यक्तिहरूलाई लकडाउनले दैनिक गुजरा चलाउन मुश्किल भयो । क्वारेन्टिनमा बस्नु परेका वा अपाङ्गता भएका सङ्क्रमित व्यक्तिले झनै सास्ती भोग्नुपरेको ऐर बताउँछन् ।

केन्द्रमा सरकार राहतमा करोडौँ खर्चको विवरण देखाइरहेको थियो । पालिकाहरू लाखौँको राहत बाँडेको बताइरहेका थिए । न्यून आए भएका मजदुर, असहाय, र अपाङ्गता भएका व्यक्तिहरू भने राहतमा पाएको पाँचदश किलो चामल सकिएर भोको परेपछि हारगुहार गरेर पेट भर्ने कोशिस गरिरहेका थिए ।

उपचारको अवस्था

कोरोना संक्रमित दोस्रो व्यक्ति धनगढीमै भेटिएपछि यहाँका बासिन्दा र स्वास्थ्यकर्मी त्रस्त भए । कोरोना संक्रमितको उपचारका लागि धनगढीको सेती प्रादेशिक अस्पतालमा एउटा वार्ड बनाइएको थियो । सुरुमा ती संक्रमितलाई अस्पताल ल्याउन एम्बुलेन्स चालक जानै मानेनन् । बल्लतल्ल एम्बुलेन्स चालकले उनलाई कोरोना वार्डमा पुर्‍याए पनि चिकित्सक नजिक गइदिएनन् ।

बिस्तारै सुरक्षा सामग्री लगाएर चिकित्सकहरू कोरोना संक्रमितको नजिक पुग्न थाले । चैतमा एक जना संक्रमित भेटिएको सुदूरपश्चिममा अहिलेसम्म संक्रमितको संख्या १० हजार पुगेको छ ।

सुरुका केही संक्रमितले स्वास्थ्यकर्मीबाट राम्रै सेवा पाए । संक्रमितको संख्या बढ्दै गएपछि क्वारेन्टिनमा बस्नुपर्‍यो ।

भारतबाट आएकाहरूलाई क्वारेन्टिनमा राख्ने गरिएको थियो । सुदूरपश्चिममा पिसिआर मेसिन थिएन । यहाँबाट स्वाब संकलन गरेर काठमाडौँ पठाइन्थ्यो । यहाँका बासिन्दाले स्वाब परीक्षणको नतिजा पाउन एक महिनासम्म क्वारेन्टिनमै पर्खिनुपर्‍यो ।

अहिले सुदूरपश्चिम प्रदेशमा ६ वटा पिसिआर मेसिन सञ्चालनमा छन् । स्वाब दिएको अर्को दिन नतिजा उपलब्ध हुन्छ । अहिले सबै स्थानीय तहले आइसोलेसनका लागि संरचना बनाएका छन् ।

लक्षणबिनाका कोरोना संक्रमित होम आइसोलेसनमै बस्ने गरेको प्रदेश स्वास्थ्य निर्देशक गुणराज अवस्थीको भनाइ छ । प्रदेश सरकारले धनगढीमा ५० शय्याको छुट्टै कोभिड अस्पताल बनाएको छ । सामान्य लक्षण भएका कोरोना संक्रमितलाई स्थानीय तहहरूले आफ्नै आइसोलेसनमा राख्ने गरेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

अहिले सेती प्रादेशिक अस्पतालमा १३ वटा भेन्टिलेटर छन् । संक्रमितलाई बढी समस्या भए भेन्टिलेटरमा राखेर उपचार हुन्छ । बढी समस्या भएका संक्रमित बढ्दै गए भेन्टिलेटर अभाव हुने सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठको भनाइ छ ।

सामाजिक दुर्व्यवहारको पराकाष्ठा

कोरोना सङ्क्रमण भएकाहरूले रोगको भन्दा समाजबाट बढी सास्ती खेप्नुपरेको छ । धेरैजसो सङ्क्रमितहरू सजिलै निको भए पनि उनीहरूले लामो समयसम्म आफ्नै समाजमा अपहेलित हुनुपरेको छ ।

लकडाउनका कारण सरकारी बाहेक धरैजसोको रोजगारी गुम्यो । कसैले आधा मात्रै पारिश्रमिक पाए । कसैले लामो समय पारिश्रमिक नै पाएनन्, बेतलबी बिदा बस्नुपर्‍यो । सुदूरपश्चिमका निजी क्षेत्रमा कार्यरत झण्डै साढे एक लाख कामदारको रोजगारी गुम्यो । उनीहरूले तीन महिनासम्म आम्दानीको कुनै स्रोत भेटेनन् ।

कैलालीको लम्कीचुहा नगरपालिकाका विवेक विक भारतबाट फर्केका थिए । उनी १४ दिन क्वारेन्टिनमा बसेपछिको परीक्षणमा पोजेटिभ देखियो । दुई हप्ता अस्पतालमा बसेपछि निको भएर घर गए ।

घर पुग्दा समाजको त के कुरा परिवारमै पनि समस्या भयो । उनी भन्छन्, ‘महिनौँसम्म पनि मलाई गाउँमा कोरोना ल्याउने मान्छे भन्दै अपहेलना गरिरहे, बल्ल अहिले अवस्था सामान्य बन्न थालेको छ ।’
धनगढी उपमहानगरपालिका–७ का दिनेश चौधरी पनि कोरोना संक्रमित भए । उनमा कोरोनाको कुनै लक्षण देखिएन, घरमै बसे । उनीमाथि पनि समाजबाट अपहेलना र दुर्व्यवहार भयो । उनले कोरोना भाइरसको संक्रमण भएकै कारण अपराधीझैँ व्यवहार खेप्नुपरेको गुनासो गरे ।

खाली रिक्सा

चौपट व्यवसाय

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनले धेरैको व्यवसाय चौपट भयो । तीन महिने लकडाउन र विभिन्न चरणमा भएका निषेधाज्ञाले ब्यापारमा असर परेको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरको भनाइ छ ।

उनी भन्छन्, ‘धेरै व्यवसायीहरू पलायन भए, पहिलेको अवस्थामा फर्कने लामो कसरत गर्नुपर्ने भयो, केही व्यवसायी अत्यन्तै निराशामा छन् । व्यापार ठप्प भयो । घरभाडा र दैनिक खर्च जुटाउन समस्या भयो । बैंकको व्याज तिर्न सकिएन । हामी व्यवसायीहरू चर्को मारमा पर्‍यौँ ।’

सरकार एकोहोरो लकडाउन गरिरहने तर व्यवसायीको समस्याको ख्याल नगर्ने हुँदा धेरै सास्ती खेप्नुपरेको कुँवरको भनाइ छ ।

होटेल व्यवसायी संघ कैलालीका अध्यक्ष कमल बम ६ महिना होटेल ठप्प हुँदा व्यवसाय गर्नै नसक्ने अवस्थामा पुगेको बताउँछन् । ‘होटेल व्यवसाय मानिसको चहलपहलमा मात्रै चल्ने हो,’ उनले भने, ‘अहिले होटेल खुले पनि व्यवसाय शुन्य छ ।’

निजी तथा आवासीय विद्यालय एसोसिएशन (प्याब्सन) धनगढीका अध्यक्ष पदम साउद सात महिनादेखि विद्यालय बन्द हुँदा बैंक ब्याज तिर्नै धौ धौ भएको बताउँछन् । ‘शिक्षकलाई तलब दिन सकेका छैनौँ,’ उनले भने ‘अब त दैनिक गुजरा गर्नै धौ धौ हुन थालिसक्यो ।’

रोजगारी पनि चौपट

लकडाउनका कारण सरकारी बाहेक धरैजसोको रोजगारी गुम्यो । कसैले आधा मात्रै पारिश्रमिक पाए । कसैले लामो समय पारिश्रमिक नै पाएनन्, बेतलबी बिदा बस्नुपर्‍यो । सुदूरपश्चिमका निजी क्षेत्रमा कार्यरत झण्डै साढे एक लाख कामदारको रोजगारी गुम्यो । उनीहरूले तीन महिनासम्म आम्दानीको कुनै स्रोत भेटेनन् ।

भारतसँग लामो खुला सीमा भएको, धेरै नागरिक कामका लागि भारतमा रहेका र भारतमा कोरोना सङ्क्रमण तीव्र गतिमा फैलिएका कारण त्यहाँ कामविहीन भएर नेपालीहरू घर फर्किरहेको अवस्थामा सुदूरपश्चिम प्रदेशमा कोरोना महामारीको ठूलो जोखिम थियो ।

धनगढीको एक निजी फर्ममा कार्यरत वीरेन्द्र जोशी चार महिना बेतलबी बिदामा बस्नुपर्‍यो । लकडाउन खुकुलो भएपछि मात्रै उनी काममा बोलाइए । ‘एक्कासी लकडाउनको खबर आयो,’ उनले भने, ‘घर जान पनि समय पाइएन, खर्च पनि थिएन, गाडी पनि थिएनन् ।’ केही दिन साथीहरूसँग सापटी मागेर खर्च चलाएको उनले बताए ।

लकडाउनका कारण काम र कमाइ गुमाएकाहरू त्यो क्षण सम्झन चाहँदैनन् । जोशीले भने, ‘आँसु पिएर दिन बिताएको त्यो क्षण सम्झँदा पनि अत्यास लाग्छ ।’ लकडाउन सकिएपछि रोजगारी गुमाएकाहरूमध्ये धेरैले अझै काम पाएका छैनन् ।

बिस्तारै देखियो राज्य

लकडाउन जारी भएपछि (चैत ११ गते) कैलालीको त्रिनगर (गौरीफन्टा) नाकामा जम्मा भएको भिड

सरकारले लकडाउन सुरु गर्दा सुदूरपश्चिममा कोरोना फैलने डर धेरै थियो । कामका लागि भारत गएका हजारौँ सुदुरपश्चिमेलीहरू सीमा क्षेत्रमा रोकिएका थिए । उनीहरूसँगै गाउँगाउँसम्म कोरोना भाइरस पुग्ने डर थियो । भारतबाट घर फर्किएकाहरूमा सङ्क्रमण देखिन थालेपछि सरकारले परीक्षण र उपचारका लागि थप काम गर्न थाल्यो ।

लकडाउनसँगै सरकारले परीक्षणको दायरा बढायो । एउटा पनि पिसिआर मेसिन नभएको सुदूरपश्चिममा अहिले ६ वटा मेसिन सञ्चालनमा छन् । एउटा संघीय सरकारबाट प्राप्त, तीन वटा प्रदेश सरकारले, एउटा निजी क्षेत्रले र अन्य स्थानीय तहहरूले खरिद गरेका हुन् ।

सुदूरपश्चिममा पाँच वटामात्रै भेन्टिलेटर रहेकोमा अहिले १५ वटा छन् । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा १३ वटा छन् भने दुई वटा अन्य अस्पतालमा छन् । केही भेन्टिलेटर जडानको प्रक्रियामा रहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सरकारले कोरोना परीक्षणको दायरा बढाउनुका साथै राहत पनि वितरण गर्‍यो । सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा ४२ करोड रुपैयाँ भन्दा बढी खर्च गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । मन्त्रालयको तथ्यांकअनुसार अहिलेसम्म ४२ करोड ८८ लाख ३४ हजार ५५० रुपयाँ खर्च भएको छ ।

स्थानीय तहहरूले आआफ्नो कोषबाट पनि खर्च गरेका छन् । सुदूरपश्चिमका धेरै मानिसहरू सरकारले गरेको खर्चअनुसार राहत नपाएको गुनासो भने गरिरहेकै छन् ।

कोरोना कोषमा गरिएको सहयोग

सहयोग र सहकार्यले सजिलो

यसअघि नेपालमा भूकम्प, विभिन्न ठाउँको बाढी पहिरो तथा अरू विपद्का घटनाहरूमा जस्तो कोरोना महामारीमा पीडितलाई सहयोगका लागि गैरसरकारी क्षेत्रको पहल कम रह्यो । सबै क्षेत्र प्रभावित भएको र अन्तर्राष्ट्रिय क्षेत्रमा समेत कोरोनाको नराम्रो प्रभाव परेकाले पनि सहयोगहरू कम भएका हुन् ।

भारतबाट फर्किएकाहरूलाई क्वारेन्टिनमा राख्नुपर्ने र धेरै मानिस एकैपटक आउँदा स्थानीय तहलाई व्यवस्थापनमा हम्मेहम्मे भयो । आम्दानी रोकिनु, रोगको जोखिम हुनु, समाजबाट अपहेलना सहनुपर्नेजस्ता कारणले धेरैमा मानसिक समस्या र कतिपय आत्महत्याका घटनासमेत भए । अहिले विस्तारै अवस्था सामान्य हुँदैछ ।

थोरै भए पनि सहयोगका पहलहरू भने भए । डडेल्धुरा अस्पतालमा रहेको पिसिआर मेसिन निजी क्षेत्रले नै खरिद गरेको हो । ह्युमानिटी फाउण्डेशनको अगुवाइमा विभिन्न निजी तथा सरकारी सहयोगमा सो मेशिन स्थापना गरिएको हो ।

त्यस्तै कर्मचारी, उद्योग वाणिज्य संघ, बैंक लगायत संघ संस्थाहरूबाट सुदूरपश्चिम सरकारको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा ४ करोड ८७ लाख ३ हजार ८३३ रुपयाँ जम्मा भयो । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता तेजप्रकाश जोशी कोरोना रोकथाम तथा नियन्त्रणको काममा निजी क्षेत्र र संघसंस्थाले सहयोग गरेको बताउँछन् । सबैको सहकार्यबाट नै सम्भावित भयावह अवस्था सामान्य हुँदै गएको जोशीको भनाइ छ ।

भारतसँग लामो खुला सीमा भएको, धेरै नागरिक कामका लागि भारतमा रहेका र भारतमा कोरोना सङ्क्रमण तीव्र गतिमा फैलिएका कारण त्यहाँ कामविहीन भएर नेपालीहरू घर फर्किरहेको अवस्थामा सुदूरपश्चिम प्रदेशमा कोरोना महामारीको ठूलो जोखिम थियो ।

एकाएक सङ्क्रमितको संख्या बढिरहेको थियो । जाँचको लागि लकडाउनकै बीच स्वाब काठमाडौँ पठाउनुपर्ने बाध्यता तथा उपचारको लागि जनशक्ति र उपकरणको अभाव भएको बेला यहाँका बासिन्दाले रोगकको डरसँगै भोकसँगको लडाइँ गर्नु पर्‍यो ।

भारतबाट फर्किएकाहरूलाई क्वारेन्टिनमा राख्नुपर्ने र धेरै मानिस एकैपटक आउँदा स्थानीय तहलाई व्यवस्थापनमा हम्मेहम्मे भयो । आम्दानी रोकिनु, रोगको जोखिम हुनु, समाजबाट अपहेलना सहनुपर्नेजस्ता कारणले धेरैमा मानसिक समस्या र कतिपय आत्महत्याका घटनासमेत भए । अहिले विस्तारै अवस्था सामान्य हुँदैछ ।

सुदूरपश्चिम प्रदेशमा करिब १० हजार जनालाई कोरोना सङ्क्रमण भएको छ । कोरोना संक्रमणबाट हालसम्म ३२ जनाको ज्यान गएको छ । हालसम्म कोरोना संक्रमितमध्ये ७५ प्रतिशत निको भइसकेका छन् । लकडाउन हटेपछि जनजीवन सामान्य बनाउँदै कोरोनाबाट बच्न स्वास्थ्य सावधानी अपनाएर दिनचर्या चल्न थालेको छ । कोरोना संक्रमणको त्रास भने यथावत् छ ।

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार  ४ : ५५ बजे

पिसाब पोल्ने समस्या छ ? यी उपाय अपनाउनुस्

काठमाडौं– सामान्यतया कम पानी पिउने मानिसमा पिसाब पोल्ने समस्या बढी

भानुमा औद्योगिक ग्राम निर्माण गरिँदै

तनहुँ– तनहुँको भानु नगरपालिकामा औद्योगिक ग्राम निर्माणको प्रक्रिया सुरु भएको

तनहुँको पराशर मार्गमा कालोपत्र

तनहुँ– तनहुँको व्यास नगरपालिकाको गौरवको आयोजनामा रहेको पराशर मार्गमा पक्की

स्वरोजगार प्रवर्द्धन गर्न सिलाइ तालिम

गण्डकी– रोजगारीको खोजीमा युवा जमात विदेशिने क्रम बढिरहेका बेला पोखरा

कतारका अमिर र प्रधानमन्त्री दाहालबीच भेटवार्ता हुँदै, विभिन्न सम्झौतामा हस्ताक्षरको तयारी

काठमाडौं– नेपालको दुई दिने भ्रमणमा आएका कतारका अमिर शेख तमिम