काठमाडौँमा किन बढ्यो कोरोना संक्रमण ? | Khabarhub Khabarhub

काठमाडौँमा किन बढ्यो कोरोना संक्रमण ?

स्वास्थ्य मन्त्रालय भन्छ– जनस्वास्थ्यको मापदण्ड पालना भएन


१९ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा कोरोना भाइरस संक्रमण बढ्दै गएको छ । संक्रमण नियन्त्रण गर्न गरिएको लकडाउन, निषेधाज्ञाका समयदेखि नै बढ्दै गएको संक्रमण अहिले अझै धेरै हुन थालेको छ ।

कोरोना संक्रमणकैबीच लकडाउन र निषेधाज्ञाले जनजीवन र आर्थिक गतिविधिमा असर पर्न थालेपछि सरकारले जनस्वास्थ्यको मापदण्ड लागु गर्दै कार्यालय, बजार तथा व्यवसाय सञ्चालन गर्न दिएको छ ।

शुरुमा विदेशी मुलुक तथा भारतबाट आउनेहरुमा कोरोना संक्रमण देखिन थालेपनि अहिले घरमै रहेका सर्वसाधारणदेखि सचेतना अपनाउन सुझाव दिने राजनीतिज्ञदेखि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, बैंकिङ क्षेत्र तथा अन्य कार्यालयहरुमा काम गर्ने कर्मचारीहरुमा समेत कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकका अनुसार सोमबार सम्ममा ८९ हजार २६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र २ हजार ४४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै काठमाडौँ उपत्यकामा मात्र १ हजार ५३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो तथ्यांकका अनुसार देशभरका संक्रमित मध्ये ६२ दशमलब ७४ प्रतिशत संक्रमित काठमाडौँ उपत्यकामा छन् ।

नेपालमा समुदाय स्तरमा कोरोना संक्रमण देखिन शुरु भएको चरणमा प्रदेश २, सुदूरपश्चिम प्रदेश, प्रदेश ५ लगायतका भारतसँग सीमा जोडिएका जिल्लाहरुमा संक्रमण दर बढी थियो । अहिले उच्च जनघनत्व रहेको काठमाडौँ, ललितपुर, भक्तपुर, चितवनलगायतका जिल्लाहरुमा बढी संक्रमित छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार हाल मोरङ, सुनसरी, सिरहा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन र रुपन्देहीमा ५ सयभन्दा बढी सक्रिय कोरोना संक्रमित रहेका छन् ।

यस्तै मनाङ, मुस्ताङ, रुकुमपूर्व र डोल्पाका सक्रिय कोरोना संक्रमितको संख्या शून्य अवस्थामा छ । यी चार जिल्ला बाहेक अन्य जिल्लाहरुमा भने सक्रिय कोरोना संक्रमित छन् ।

कोरोना संक्रमितको संख्या हरेक दिन २ हजार भन्दा बढी हुन थालेसँगै लक्षण सहितका संक्रमित तथा गम्भिर अवस्थामा पुगेका संक्रमितको संख्या पनि बढिरहेको छ ।

स्वास्थ्य मन्त्रालयको सोमबारको तथ्यांकका अनुसार विभिन्न अस्पतालहरुमा गम्भिर अवस्थाका २४४ जना संक्रमित आइसीयु र ४३ जना संक्रमित भेन्टिलेटरमा छन् ।

कोरोना संक्रमण बढ्दै गएपछि लकडाउन तथा निषेधाज्ञा खुकुलो भएपछि मानिसहरुको चहलपहल बढेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए ।

दशैँ तिहार लगायतका चाडपर्व नजिकिदै गर्दा मानिसहरु सामान्य अवस्थामा जस्तो बजार तथा पसलमा भिडभाड गर्दा कोरोना फैलिने जोखिम उच्च रहेको डा गौतम बताउछन् ।

‘कोरोना संक्रमण दिन प्रतिदिन वृद्दि भइरहेको छ, तर शहरबजारमा मानिसहरुको चहलपहल समान्यिकरण जस्तै देखिन्छ,’ डा गौतमले भने, ‘नेपालको राष्ट्रिय चाडपर्व नजिकिए सँगै बजारमा किनमेल गर्नेहरुको घुइचो र चहलपहल पनि बढेको पाइन्छ ।’

चाडपर्वमा जमघट, भेटघाट गर्ने प्रचलन रहिआए पनि यसवर्षको चाडपर्वमा यस्तो गर्नु कोरोना संक्रमणको जोखिम बढाउने माध्ययम हुने डा गौतमले बताए । उनले हरेक कार्यमा सामाजिक दुरीको ख्याल गर्नुपर्ने पनि बताए ।

डा गौतमलले मास्क सही रुपमा प्रयोग गर्नुपर्ने र नियमित रुपमा साबुनपानीले हात धुनुपर्ने बताए ।

डा गौतमले चैत महिनामा १ हजार ३६८ वटा आइसोलेसन भएको बताए । उनले नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि हाल २० हजार ७६५ वटा आइसोलेसन वेड तयार गरिएको बताए ।

यस्तै चैत महिनामा १ हजार ५५१ वटा आइसीयु वेड रहेकोमा हाल आइसीयु वेडक्षतमता बढाएर २ हजार ६०० पुर्‍याइएको पनि जानकारी दिए ।

यस्तै चैत महिनामा ७ सय ७० वटा मात्र भेन्टिलेटर रहेकोमा हाल ९ सय भेन्टिलेटर रहेको उनले बताए । यस्तै ११० वटा भेन्टिलेटर पनि थप गर्न लागिएको डा गौतमले जानकारी दिए ।

डा गौतमले चैत महिनामा कोरोना परीक्षणका लागि एउटा पनि प्रयोगशाला नभएको अवस्थामा हाल सरकारी तथा निजी प्रयोगशाला गरी वटा कोरोना परीक्षण गर्ने प्रयोगशाला रहेको जानकारी दिए । हाल दैनिक २२ हजार जनाको कोरोना परीक्षण गर्ने क्षमता रहेको र सरदरमा १२ हजार स्वाब परीक्षण भइरहेको डा गौतमले बताए ।

डा गौतमले काठमाडौँमा कोरोना संक्रमण बढ्दै गइरहेको समयमा स्वास्थ्य मन्त्रालयले कन्ट्याक ट्रेसिङ, परीक्षण, कोरोना संक्रमितलाई सम्भव भए होम आइसोलेसन र सम्भव नभए आइसोलेसन सेन्टरमा राखिएको बताए । यस्तै अस्पताल आवश्यक पर्ने कोरोना संक्रमितलाई अस्पतालमा भर्ना गरिएको र सरकारी र निजी अस्पतालहरुमा कोरोना संक्रमितको निशूल्क उपचार गराइएको डा गौतमले दावी गरे ।

उनले कोरोना संक्रमण रोकथाम र उपचारमा सरकारले काम गरीरहेको दावी गरे । उनले कोरोनाको खोप नआउदा सम्म मास्कको प्रयोग गर्ने, सामाजिक र भौतिक दुरी कायम गर्ने र साबुनपानीले राम्रोसँग हात धुने वा स्यानिटाइजर प्रयोग गर्नु नै कोरोनाबाट बच्ने उत्तम उपाय भएको बताए ।

डा गौतमले सरकारले काम नगरेर नभइ सर्वसाधारणले जनस्वास्थ्यको मापदण्ड पालना नगर्दा काठमाडौँमा कोरोना संक्रमण बढेको पनि बताए ।

‘तपाई हामीले जनस्वास्थ्यको मापदण्ड फलो नगरेको कारणले कोरोना संक्रमण बढिरहेको छ, एउटा कारण हामीले भिड धेरै गर्‍यौं, जुलुस धेरै गर्‍यौं, सभा, गोष्टि, सेमिनार जनस्वास्थ्यको मापदण्ड विना भिडभाड गर्‍यौं त्यसको नतिजा आज हामीले देखिरहेका छौं,’ डा गौतमले भने, ‘अहिले पनि हामीले जनस्वास्थ्यको मापदण्ड फलो गरेनौं भने यो अझै बढ्ने वाला छ । दोस्रो कारण नेपाल भारत सिमा खुल्ला छ, मान्छेहरु सिधै काठमाडौँ आए, काठमाडौँमा आएपछि हामीले २४ दिन क्वारेन्टिमा बस्न अनुरोध गर्‍यौं, त्यो पनि फलो गरिएन, आज केस धेरै भयो भनेर चिन्ता गर्नुभन्दा संक्रमण बढ्न नदिन के गर्नुपर्ला भनेर समयमै सोचौं ।’

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ६ : १२ बजे

त्रिविले नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रश्नपत्र बनाउने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अङ्ग्रेजी र नेपाली दुवै भाषामा

राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज अनुगमन तथा मूल्याङ्कन व्यवस्था

खुमबहादुर खड्कालाई झुठ्ठो मुद्दामा फसाइएको देउवाको दाबी

दाङ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेता खुमबहादुर

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद टेकबहादुर गुरुङको

मन्त्री फेरिँदैमा सरकारको नीति परिवर्तन हुँदैन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतको