नारी अस्तित्वमाथि पुरुष रजाइँ « Khabarhub
Logo
९ आश्विन २०७७, शुक्रबार

नारी अस्तित्वमाथि पुरुष रजाइँ



संसारका सबै नरनारी मानसिक र शारीरिकरूपले अधिकाधिक समान छन् । लोभ, क्रोध, मोह, घृणा, अहङ्कार, माया, प्रेम, करुणा, सहअस्तित्व, परोपकार, हौसला, उत्प्रेरणा, सुखदुःखका अनुभूतिजस्ता मानवीय संवेगहरू समानरूपले विद्यमान छन् ।

‘सर्वे भवन्तु सुखिनः सर्वेसन्तु निरामय’ को भाव पनि जगतका समस्त मानिसमा करिब समानरूपले विद्यमान छ । यस्तो भावना गोरो र कालो छालामा अलग–अलग, चुच्चो नाक हुने र थेप्चो नाक हुनेमा अलग–अलग, स्त्री र पुरुषमा अलग–अलग हुँदैन । जगतका सबै मानिस आपसमा कुनै न कुनै रूपले रक्तसम्बन्धित हुन्, सबैको रगत रातोमात्र भएर होइन उद्विकासको हिसबले पनि समान छ ।

भौगोलिक परिस्थितिसित सामञ्जस्य बनाउने क्रममा वा उत्पति र विकासका क्रममा मानिसमा विकसित केही थोरै बाहिरी भिन्नताले मात्रै मानवीय संवेग र संवेदनामा ठूलो फरक पार्दैन । हामीमा हुने मानसिक र शारीरिक विकासको क्रम एकै छ । चाहनाका स्वरूपमा पनि कुनै फरक छैन, जुनसुकै भौगोलिक अवस्थामा रहेका किन नहोऔँ । आफ्ना इच्छाहरू परिपूर्ति गर्नु सबै मानिसको साझा उद्देश्य हो, बरु अर्काको इच्छामा आघात नै किन नहोस् ।

अनन्त इच्छा र आकाङ्क्षाका अतृप्त भावनाहरू हरेक मानिसमा आआफ्ना हिसाबमा विद्यमान छन् । यस आधारमा हेर्ने हो भने संसारका मानिसहरू कुनै पनि अर्थमा आपसमा भिन्न छैनन् तर, हामी सबै उस्तै प्रवृत्तिमा आबद्ध छौँ भन्ने कुरा कोही पनि स्वीकार गर्न तयार छैन । यो अस्वीकारोक्ति पनि संसारभर उस्तै प्रकारले प्रकट हुन्छ ।

अलिकति चेतनाको स्तरमा मानव स्वभाव हेर्ने हो म राम्रो, मेरो वंश राम्रो, मेरो जात उच्च, मेरो छाला राम्रो, म बुद्धिमान इत्यादि विभेदबाट आनन्द लिने प्रवृत्ति छ । जातमा हुने विभेद मानव सभ्यताको कलङ्क हो । यस्तो कलङ्क जरैदेखि निर्मूल हुनुपर्छ ।

गोरो छालावालाले कालो वा गहुँगोरो छालावालालाई गरेको अत्याचार विकराल छ । तै पनि संसारका सबै मानिसलाई गोरो छालाप्रति अत्यधिक मोह छ । गोरो छाला हुनेहरू काला वा गहुँगोरो छाला भएकालाई कमजोर ठान्छन्, हेप्छन् । यो हैकमी परम्परा शताब्दीऔँ पुरानो हो ।

गोरा र गोराबीच पनि कुनै उच्च र कुनै निच भन्ने होडबाजी भयो होला । शायद त्यही कलह विस्तार हुँदै औपनिवेशिक रूपमा गोरोको दबदबा विस्तार भएको हुनुपर्छ । गोरो छालावालाले म शक्तिशाली हुँ भन्ने देखाउने क्रममा निरीह मानिसहरू उपनिवेशका शिकार बनेका हुन सक्छन् ।

कालान्तरमा प्रत्यक्ष नियन्त्रण गर्ने उपनिवेश समाप्त भयो तर भित्री उपनिवेश आज पनि उस्तै छ । खालि तरिकामात्र फेरिएको हो । उपनिवेशबाट पीडित राष्ट्र आज पनि छन् । जुन राष्ट्रहरू उपनिवेशबाट जोगिएका थिए, ती पनि अप्रत्यक्षरूपमा गोरो छालावालाबाट दमित छन् । गोरो छालावालालाई सर्वगुण सम्पन्न ठान्ने, मानप्रतिष्ठाको स्रोत ठान्ने र उसको विचारलाई पनि महान ठान्ने प्रवृत्ति गोरा इतरमा विद्यमान छ । यसो हुनु मानसपटलले औपनिवेशिक संस्कार स्वीकार गर्नु हो । यस प्रवृत्तिले हामीलाई सक्षम बनाउनको साटो परामुखापेक्षी बनाउन मद्दत गरेको छ ।

छालाको रङले यति विभेद सिर्जना गरेको छ भने विभेदका अन्य आयामहरू त झन कडा हुने भइहाले ।

नारीलाई दुर्बल बनाउने र उपभोग्य वस्तु ठान्ने डरलाग्दो विभेदकारी संस्कारबाट संसारको कुनै पनि ठाउँ अछुतो छैन । समाजले छोरी जन्मिनेबित्तिकै ऊमाथि विभेदपूर्ण व्यवहार सुरु गर्छ, जानेर–नजानेर वा चाहेर—नचाहेर । यसरी हुने विभेदका अनेक रूप छन् ।

नारी आफैँले त्यो विभेद थाहा पाउँदैनन् र स्वतः स्वीकार गर्छन् वा उनीहरू यसमा अभ्यस्त छन् । उनीहरू अवला र कमजोर हुने अनि कोमल हृदयी, सहयोगी र सुन्दरी देखिनुपर्ने बाध्यता चेतना खुलेदेखि मृत्युपर्यन्त रहेकै हुन्छ । गज्जबको कुरा के छ भने नारीलाई समाजले अत्यन्त संवेदनशील अवस्थामा राखेको छ, जो पुरुषको इच्छाअनुकूल चल्नुपर्ने बाध्यता छ ।

नारी शरीरको विज्ञापन नभएको कुनै देश छैन । नारीलाई सजाउने पात्रको रूपमा तयार नगर्ने र सेविका नबनाउने समाज नै छैन । संसारभरि नारीमाथि उपयोगिताको सिद्धान्तका आधारमा व्यवहार भएको छ । नारी शरीर ठूला व्यवसाय वृद्धिका माध्यम भएका छन् ।

किशोरावस्थादेखि नारीमाथिका बन्धनहरू कसिला हुँदै जान्छन् । पुरुषले नारीको अस्तित्वलाई उपभोग्य वस्तु मान्ने परम्परा तोडिन सकेको छैन । विश्वव्यापीरूपमा विद्यमान छ, ठाउँअनुसार मात्रात्मक फरक मात्रै हो । विश्वभरि नै नारी शरीरको मोलतोल भइराखेको छ । हाम्रा छोरी एक्लै हिँड्न सक्ने अवस्था संसारमै सृजना भएको छैन । यसो हुनुमा पुरुष र नारी दुवै जिम्मेवार छन् ।

बडो गजबको छ यो सौन्दर्यको विभेदकारी मानसिकता । छोरी राम्री बन्नुपर्छ, छोरी सभ्य बन्नुपर्छ, काम छोरीले नै सिक्नुपर्छ । छोरालाई छुट छ । संसारभरका घरघरमा यस्तै छ । समाजले अदृश्य, अव्यक्त र परोक्षरूपमा नारी शरीरलाई उपभोगको वस्तुजस्तो बनाइदिएको छ । नगन्यबाहेक जानी वा नजानी नारीहरू यसमै रमाएका छन् र अभ्यस्त छन् ।

वास्तवमा पुरुष मानसिकताकै कारण नारीहरू असुरक्षित छन् । युगौँदेखि यो विकृत परम्परा कायम छ, जुनसुकै भूगोलमा किन नहोस् । पुरुष वासनाबाट घाइते नभएका नारीहरू विरलै होलान् । सिङ्गो विश्वको कथा एउटै हो, आफूलाई विकसित भन्ने पश्चिमाहरूमै किन नहोस् ।

नारी शरीरको विज्ञापन नभएको कुनै देश छैन । नारीलाई सजाउने पात्रको रूपमा तयार नगर्ने र सेविका नबनाउने समाज नै छैन । संसारभरि नारीमाथि उपयोगिताको सिद्धान्तका आधारमा व्यवहार भएको छ । नारी शरीर ठूला व्यवसाय वृद्धिका माध्यम भएका छन् ।

प्रश्न उठ्छ– नारी सौन्दर्य कसका लागि ? आफ्नो सौन्दर्य महिमाबारे नारीहरूले नै भन्न सक्लान् । पुरुषले खोजेको नारी सौन्दर्य चाहिँ आफ्नै लागि हो । अनि पुरुषकै लागि नारीहरूले पितृसत्तात्मक सामाजिक परम्परालाई पोषण दिइरहेका छन् । सौन्दर्य संसाधनहरू नारीकै लागि उत्पादित छन् ।

यो आलेखको उद्देश्य सौन्दर्य संसाधनको विरोध गर्नु होइन, असमानता उजागर गर्नु हो । ती संसाधन नारी शक्तिलाई कमजोर राख्ने पितृसत्तात्मक परम्पराको एउटा बलियो पाटो हो । पितृसत्तात्मक समाजमा नारीको सामाजिक, सांस्कृतिक र धार्मिक, अपहेलनाको त हिसाब नै छैन ।

हिन्दुशास्त्रले नारीहरूलाई देवी मानेर पुजेको छ । व्यवहार भने ठिक उल्टो छ । नामकरण संस्कारको उदाहरण हेरौँ— नौ महिना गर्भमा राखेर सन्तान जन्माउने आमाको नमकरण संस्कारमा कुनै भूमिका छैन । आमा केवल उत्पादनको साधन हुन्छिन् । गर्भ सुरक्षा र प्रसव वेदनामा पुरुषको कुनै सहभागिता हुँदैन तर नाम संस्कारमा आमा भूमिकाविहीन हुन्छिन् ।

विवाह पद्धतिमा पनि विभेद छ । विवाहका प्रायः सबै विधान पुरुषप्रधान छन् । सनातन परम्परामा कन्यादान मुख्य संस्कार मानिन्छ । हामी गर्वका साथ कन्यादान भनिराखेका हुन्छौँ । छोरी कुनै वस्तु त होइन दान गर्नलाई । आफ्नो स्वाभिमानको अधिकारी छोरी आफैँ हो । दान त त्यो वस्तुको हुन्छ जसमा दाताको हक होस् । विवाह भनेको हक हस्तान्तरण होइन ।

बाबुआमा छोरीको अस्तित्वको र उसको स्वाभिमानको हकदार होइनन् । यी सबैको हकदार छोरी आफैँ हो । नारीलाई उपयोगी वस्तुसित तुलना गरेको यो नै एउटा सादृश उदाहरण हो । अनि दान थाप्न हामी पुरुषपात्र मौजुद छँदै छौँ । जीवनका अनेक आयामहरूमा, दुःखसुखमा साथ दिने, वंश परम्परा कायम गर्ने, भावनाहरू साटासाट गर्ने, सँगै मर्ने सँगै बाँच्ने वाचा गरेर पनि नरले दानमै लिइरहेको छ ।

एउटा डरलाग्दो सत्य के हो भने पुरुषप्रधान, पितृसत्तात्मक समाजले नारीलाई विभिन्न प्रकारले उपभोग्याका रूपमै हेरेको छ । संसारमा सबैभन्दा बढी सामाजिक विसङ्गतिको सिकार हुने नै नारी हो, यसमा उमेरको भेद छैन । यसो नहुँदो हो त संसारमा बलात्कारको घटना हुने नै थिएन ।

पुरुषप्रधान समाजले नारीलाई उपभोग्य सामग्रीका रूपमा लिएको तितो सत्य जगजाहेर छ । नारीको सम्मान यस परम्परामा कहाँनेर छ ! लेनदेन त वस्तुमा हुन्छ, लेनदेन त व्यापार हो । यसमा त व्यापार पक्षसमेत हाबी छ ।

हामी कस्तो संस्कारबाट सञ्चालित छौँ र कस्तो व्यवहार गर्दछौँ ! यस लेखको उद्देश्य न सौन्दर्य पक्षको नकारात्मकता खोतल्नु हो, न त संस्कार र संस्कृतिको विरूप पक्षको पटापक्ष मात्रै गर्नु । सत्य देख्नुपर्छ, लेख्नुपर्छ र त्यसको बारेमा समाजलाई जानकारी गराउनु पर्छ भन्ने उद्देश्य हो ।

हाम्रा प्रचलनहरूमा समयानुकूल परिवर्तन जरुरी छ । समाजमा जति पनि कुसंस्कारहरू अद्यापि छन्, ती सबै ठालुको हैकम कायम राख्न बनाइएका हुन् । ठालुहरूले गोरो छाला र धनबलयुक्त अनि आफूलाई अलिक बढी बुज्रुक ठान्नेहरूले आफ्नो स्वार्थ र अभिष्ट पूरा गर्न प्रयोग गरेका अस्त्र हुन् । ती अस्त्रले निमुखालाई दबाएर आफ्नो हैकम बलियो बनाउँछन् । ती अस्त्रहरू जरैदेखि नष्ट गर्न आवश्यक छ ।

सामाजिक परिवर्तन गर्न पहिले आफूलाई नै परिवर्तन गर्नुपर्छ । समाजमा अस्तित्व भएका तर सामान्य आँखाले नदेखिने उत्पीडनका कुसंस्कारहरू अनेक छन् । केही प्रतिनिधि उदाहरणहरू माथि उल्लेख गरिए । यस्ता उदाहरणहरू पाइला पाइलाका रहनसहनमा विद्यमान छन् र अविवेकी छन् । यस्तो अविवेकी व्यवहार कुनै एक देश, एक क्षेत्र र एक संस्कृतिमा सीमित छैन । कुनै न कुनै रूपमा विश्वव्यापी छ । समाज, परिवार र राष्ट्रका लागि जतिसुकै योगदान भए पनि नारीलाई कमजोर बनाइराख्न पुरुष मानसिकता युगौँयुगदेखि तल्लीन छ । यस्तो भेदभाव र असमानताविरुद्ध संसारभर विचारविमर्श पनि कम छैन । यी विषयमा छलफल र गोष्ठी भए, कति लेख छापिए, कति अनुसन्धान भए त्यसको हिसाबकिताब छैन ।

नारी समानता र अधिकारका नाममा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा निकै ठूला  व्यवसाय पनि चलेकै छन् । वास्तविकतामा भने जन्मदेखि मृत्युपर्यन्त भेदभाव उस्तै छ, स्वरूप परिवर्तन होला । साँच्चै व्यवहारमा रूपान्तरण हुने योजना त बनेकै छैन । केही सकारात्मक परिवर्तन भएको छ भने पनि कालक्रमले स्वतः ल्याएको हो ।

नारीमा विभेदले सिर्जना गरेका शारीरिक र मानसिक पीडाको लेखाजोखा छैन । जो भएको छ, त्यो नगन्य छ । शैशवावस्थाबाट बाल्या, किशोरा, यौवना र वृद्धा हुँदै जाँदा एउटी नारीले भोग्ने पीडाका आयामहरू एउटा पुरुषका लागि कल्पनातीत हुन सक्छ । एउटा डरलाग्दो सत्य के हो भने पुरुषप्रधान, पितृसत्तात्मक समाजले नारीलाई विभिन्न प्रकारले उपभोग्याका रूपमै हेरेको छ । संसारमा सबैभन्दा बढी सामाजिक विसङ्गतिको सिकार हुने नै नारी हो, यसमा उमेरको भेद छैन । यसो नहुँदो हो त संसारमा बलात्कारको घटना हुने नै थिएन ।

मानिसले संसारमा आफूलाई नै सर्वश्रेष्ठ, विवेकी, ज्ञानी र संवेदनशील प्राणी मानेको छ । यसमा पनि पुरुषले नारीमाथि विभेद गरेको छ । नारीलाई तृप्तिको साधन ठानेको छ । उपभोगको वस्तु मानेको छ । यस प्रकारको सामाजिक विकृतिको जिम्मेवार हाम्रो कथित परम्परा हो, कथित संस्कृति हो, धर्मका नाममा हुने विभेद हो ।

यस्ता विसङ्गति र विभेद निरुत्साहित गर्दै समाप्त गर्ने जिम्मेवारी पनि सामाजिक संयन्त्रहरूकै हो । संस्कार, संस्कृति अनि धर्मका नाममा विद्यमान विसङ्गतिहरू तोड्न सजिलो छैन, तर सच्चा सामाजिक अभियन्ता विद्वतवर्ग, राजनीतिज्ञ कूटनीतिज्ञ, दर्शनशास्त्री, धर्मगुरु सबैको संयुक्त प्रयास भए असम्भव पनि छैन ।

मानवताको आदर्श स्थापित गर्न हामीमा एउटा संकल्प र जागरण आवश्यक छ । ‘वसुधैव कुटुम्बकम्’ को वास्तविक सार ‘आफू बाँचौँ र अरूलाई पनि ससम्मान बाँच्न दिऊँ’ आत्मसात गर्न सके सामाजिक विभेदहरू अवश्य उन्मूलन हुनेछन् ।

शुभम् !

(लेखक अमेरिकाको अकामाई युनिभर्सिटी र युक्रेनको समी स्टेट युनिभर्सिर्टीमा पढाउँछन् ।)

 

 

 


भर्खर

0