टेकु अस्पतालमा कोरोना परीक्षण गराउनेको भीड, सामाजिक दूरी त कुरामात्रै | Khabarhub Khabarhub

टेकु अस्पतालमा कोरोना परीक्षण गराउनेको भीड, सामाजिक दूरी त कुरामात्रै


२१ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षण नभएका व्यक्तिहरुको कोरोना परीक्षण गर्न नपर्ने बताउँदै आएको छ ।

असार ९ गतेको नियमित लाइभ अपडेटमार्फत मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बाहिरी जिल्लाबाट काठमाडौं उपत्यका आउनेहरुसँग कोरोना परीक्षणको रिपोर्ट नखोज्न घरभेटीहरुलाई आग्रह गरेका थिए ।

काठमाडौंका घरभेटीहरुले कोरोना परीक्षणको रिपोर्ट मागेको गुनासो आएको भन्दै डा गौतमले उपत्यका भित्रिने बित्तिकै कोरोना परीक्षण गर्न नपर्ने बताएका थिए ।

उनले उपत्यका बाहिरबाट काठमाडौं आउनेलाई कोरोना परीक्षणको दवाब नदिन पनि अपिल गरेका थिए । तर काठमाडौं बाहिरबाट आउनेहरुलाई १४ दिन होम क्वारेन्टाइनमा बस्न डा. गौतमले सुझाएका थिए ।

सरकारले अहिले लकडाउन खुकुलो बनाएको छ । सडकमा निजी तथा रिजर्भ गरिएका सवारी साधन चल्न थालेका छन् ।

काठमाडौंका पसल, होटल तथा व्यवसाय र कार्यालय पनि खुल्न थालेका छन् । काठमाडौंमा अहिले चहलपहल निकै बढेको छ । लकडाउन अघि र लकडाउनको समयमा बल्लतल्ल गाउँ पुगेकाहरु शहर फर्कन थालेका छन् ।

उपत्यका बाहिरबाट अहिले काठमाडौं भित्रिनेको संख्या बढ्दै गएको छ । बाहिरी जिल्लाबाट आउनेलाई काठमाडौंका घरभेटीहरुले कोरोना परीक्षण रिपोर्ट माग्न छाडेका छैनन् । अहिले घरभेटीहरुले मात्र होइन लामो समय बिदामा बसेर काममा फर्किदा कतिपय कार्यालयहरुले समेत कोरोना परीक्षणको रिपोर्ट माग्ने गरेका छन् । जसका कारण शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना परीक्षण गराउनेको भिड बढ्न थालेको छ ।

आइतबार पनि उपत्यका बाहिरबाट आएर कोरोना परीक्षण गराउनेको लामो लाइन शुक्रराज अस्पतालको गेट बाहिरसम्म थियो ।

अस्पतालका सरुवा रोग विशेषज्ञ डाक्टर अनुप बास्तोलाका अनुसार लकडाउन खुकुलो भएसँगै कोरोना परीक्षण गर्न दैनिक ५ सयदेखि एक हजारसम्म मानिसहरु टेकु अस्पतालमा आउन थालेका छन् ।

‘अहिले हाम्रो अस्पतालमा कोरोना परीक्षण गराउन आउनेको भीड छ । यी सबै काठमाडौं उपत्यका बाहिरबाट आएका व्यक्तिहरु हुन्,’ डा. बास्तोलाले खबरहबसँग भने, ‘बाहिर जिल्लाबाट आएकालाई घरभेटीले कोरोना जाँच गराएर आउनू भनेर पठाएका हुन् । दैनिक ५ सयदेखि एक हजारसम्म मानिसहरु कोरोना परीक्षण गराउनु पर्‍यो भन्दै आउन थालेका छन् ।’

डा बास्तोलाका अनुसार शुक्रराज अस्पतालमा आउने बिरामीलाई सामाजिक दुरी कायम गर्न २ मिटरको फरकमा गोलो घेरा बनाइएको छ । तर कोरोना परीक्षण गराउनेको चाप बढेपछि अस्पताल प्रशासनलाई सामाजिक दूरी कायम गराउन पनि मुस्किल परेको छ ।

‘हामीले गोलो घेरा बनाएर दूरी कायम गरी लाइन बस्ने व्यवस्थापन गर्न खोजेका थियौं,’ डा बास्तोलाले भने, ‘तर यति धेरै मान्छे आउँदा दूरी कायम गराउन सकिँदो रहेनछ ।’

काठमाडौं उपत्यकाका वीर, त्रिवि शिक्षण र पाटन अस्पतालमा पनि कोरोना परीक्षण हुन्छ । यी अस्पतालमा विदेश जानुपर्ने वा कोरोना परीक्षणको रिपोर्ट अनिवार्य चाहिनेलाई शुल्क तिरेर परीक्षणको व्यवस्था गराइएको छ । वीर, टिचिङ र पाटन अस्पतालमा परीक्षण गर्दा ५ हजार ५ सय शुल्क तिर्नुपर्ने भएकाले पनि उपत्यका भित्र आउने सर्वसाधारण शुक्रराज अस्पतालमै आउने गरेका छन् ।

‘काठमाडौंमा अन्य अस्पतालमा पनि कोरोना परीक्षण हुन्छ । तर सबैजना यही आएका छन्,’ डा बास्तोलाले भने, ‘दूरी कायम गरी व्यवस्थापन गर्ने हो भने आज त त्रिपुरेश्वरसम्म लाइन पुग्छ होला ।’

डा बास्तोलाका अनुसार अस्पतालमा कोरोना परीक्षण गर्न सबैको पीसीआर परीक्षण भने भएको छैन । अस्पतालले कोरोना संक्रमित धेरै भेटिएका जिल्लाबाट आएका, कोरोनाको लक्षण देखिएका व्यक्तिको मात्र पीसीआर परीक्षण गर्ने गरेको छ ।

यस्तै लक्षण नदेखिएका व्यक्तिहरुलाई होम क्वारेन्टाइनमा बस्न निर्देशन दिएर घर पठाउने गरेको डा बास्तोलाले बताए ।

‘आवश्यक परेका, रोगग्रस्त क्षेत्रबाट आएका, शंकास्पद लक्षण देखिएका व्यक्तिहरुको मात्र पीसीआर परीक्षण गर्ने गरेका छौं,’ डा बास्तोलाले भने, ‘अन्य व्यक्तिहरु जो रोग नै नफैलिएको ठाउँबाट आएका छन्, कुनै लक्षण नै नभएका व्यक्तिहरुलाई ओपीडीको टिकटमा १४ दिनहोम क्वारेन्टाइन अनिवार्य भनेर एउटा डकुमेन्ट बनाएर पठाउने गरेका छौं ।’

डा बास्तोलाका अनुसार शुक्रराज अस्पतालमा हाल २९ जना कोरोना संक्रमितहरु आइसोलेसनमा उपचारत छन् ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ३ : ३५ बजे

लागूऔषध ब्राउन सुगरसहित एक पक्राउ

भद्रपुर– प्रहरीले लागूऔषध ब्राउन सुगरसहित २० वर्षीय विनोद तामाङलाई पक्राउ

आयोजनाको ठेक्का अवधि सकियो, प्रगति निराशाजनक

गण्डकी– पर्यटकीय राजधानी पोखरामा विद्युत् वितरण प्रणालीलाई भूमिगत गर्ने आयोजनाको

बझाङमा एमाले उम्मेदवार भण्डारीलाई पितृशाेक

बझाङ प्रदेश सभा क्षेत्र नं. १ काे उपनिर्वाचनमा नेकपा (एमाले)का

मलेसियाली नौसेनाका दुई हेलिकप्टर आपसमा ठोक्किँदा १० जनाको मृत्यु

काठमाडौं- सैनिक अभ्यासका क्रममा मलेसियाली नौसेनाका दुईवटा हेलिकप्टर आपसमा ठोक्किँदा

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था कडा

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल