मलेसियासहित खाडी मुलुकमा २ लाख ६० हजारमा कोरोना संक्रमण, के छ नेपालीको अवस्था ? | Khabarhub Khabarhub

मलेसियासहित खाडी मुलुकमा २ लाख ६० हजारमा कोरोना संक्रमण, के छ नेपालीको अवस्था ?


२३ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लाखौं नेपालीहरु कार्यरत खाडीका ६ मुलुक र मलेसियामा कोरोना भाइरसले करिव २ लाख ६० हजार संक्रमित भएका छन् ।

कोरोना भाइरस सम्बन्धिको तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डो मिटर्सले शुक्रबार विहान ११ बजेसम्म अद्यावधिक गरेको तथ्याङ्क अनुसार मलेसिया र खाडीका ६ मुलुक (साउदी, कतार, युएई, ओमान, बहराइन र कुवेत ) मा २ लाख ५९ हजार ६९६ जना संक्रमित भएका छन् ।

ती मुलुकहरूमा अहिलेसम्म कोरोनाकै संक्रमणले १३६८ जनाको मृत्यु भएको छ । ती मुलुकहरूमा संक्रमितमध्ये १ लाख ६२ हजार ९९६ जना संक्रमणमुक्त भएका छन् ।

मलेसियासहित खाडी मुलुकमा भएको संक्रमणको अवस्था कस्तो छ त हेर्नुहोस् संक्रमित नेपालीको तथ्यांकसमेत समेटिएको देशगत विवरण ।

मलेसिया

मलेसियामा कोरोना भाइरसको संक्रमणले ११५ जनाको मृत्यु भएको छ भने ८ हजारभन्दा बढी संक्रमित भएका छन् ।

बिहिबार थप २७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै त्यहाँ संक्रमित हुनेको संख्या ८ हजार २४७ पुगेको हो ।

संक्रमितमध्ये ६ हजार ५५९ जना संक्रमणमुक्त भएका छन् भने १ हजार ५७३ जनाको उपचार भइरहेको छ । उपचारारतमध्ये ६ जनाको अवस्था गम्भीर रहेको मेलेसियाका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।

मलेसियास्थित नेपाली दूतावासका अनुसार त्यहाँ बिहिबारसम्म ६७ जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यसमध्ये १३ जना निको भएका छन् भने ५४ जनाको उपचार भइरहेको छ ।

कोरोनाको संक्रमण फैलन नदिने मलेसियाले जारी लकडाउनलाई ९ जुनसम्म पुर्‍याएको छ । मे ४ देखि लकडाउन खुकुलो बनाएर आर्थिक गतिविधि पनि चलायमान बनाउँदै लगिएको मलेसियामा अप्ठ्यारो परेमा दूतावासमा वा दूतावासले अनलाईनमा उपलब्ध गराएको फारम भर्न नेपालीहरुलाई आह्वान गरिएको छ ।

साउदी अरब

खाडीका ६ राष्ट्रमध्ये साउदी अरवमा अहिलेसम्म सबैभन्दा धेरै ६११  जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ थप ३२ जनाको मृत्यु भएको छ । यस्तै एकै दिन १ हजार ९७५ जनामा संक्रमण पुष्टि हुँदा साउदीमा कोरोना संक्रमितको संख्या ९३ हजार १५७ पुगेको छ ।

संक्रमितमध्ये ६८ हजार ९६५ जना संक्रमणमुक्त भएका छन् भने २३ हजार ५८१ को उपचार भइरहेको छ ।

अहिलेसम्म त्यहाँ १ हजार ३६४ जना नेपाली संक्रमित भएका छन् भने १३ जनाको मृत्यु भएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ ।

कोरोना भाइरसको महामारी अन्त्य नहुने संकेत देखिएपछि साउदीले पनि क्रमिकरूपमा लकडाउनलाई खुकुलो बनाउँदै लैजाने योजना सार्वजनिक गरेको छ ।

झण्डै दुई महिनाको कर्फ्यू विभिन्न चरणमा विभाजन गरी २८ मेदेखि  खुकुलो बनाइएको छ ।

पहिलो चरणमा मे २८ देखि ३० मेसम्म मक्का बाहेकका क्षेत्र र प्रान्तहरुबीचको आवागमनलाई बिहान ६ बजेदेखि दिउँसो तीन बजेसम्म खुलाइएकोमा मे ३१ देखि मक्का बाहेकका क्षेत्र र प्रान्तहरुबीच बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म आउजाउ गर्न दिइन थालिएको छ । यो व्यवस्था जुन २० सम्म हुनेछ ।

यी दुवै चरणमा रेष्टुरेन्ट, फुड र बेभरेजहरु खुल्न दिइएको छ । अब तेस्रो चरण अर्थात जुन २१ पछि भने पार्लर, सैलुन, खेलकुद केन्द्रहरु, जिमहल लगायत खुला गर्ने तयारी गरिएको छ ।

युएई

मृतक संख्याका आधारमा खाडीका ६ मुलुकमा कोरोनाको चपेटामा पर्ने दोस्रो मुलुक हो युएई ।

युएईमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणले २७३ जनाको मृत्यु भएको छ ।

बुधबार थप ३ जनाको मृत्यु भएपछि युएईमा कोरोनाले ज्यान गुमाउनेको संख्या २७३ पुगेको हो ।

पछिल्लो २४ घण्टामा थप ६५९ जनामा संक्रमण पुष्टि भएपछि युएईमा कोरोना संक्रमितको संख्या ३७ हजार १८ पुगेको छ । त्यसमध्ये १९ हजार ५७२ जना संक्रमणमुक्त भएका छन् ।

युएईमा अहिलेसम्म ५ सय नेपालीमा संक्रमण पुष्टि भएकोमा १९ जनाको मृत्यु भएको गैह्रआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ ।

यूएईको दुबई सरकारले आर्थिक गतिविधि सुरु गर्ने घोषणा गरेसँगै दुबईमा जारी कर्फ्यूलाई राति ११ बजेदेखि बिहान ६ बजेसम्म मात्रै कायम गरेको छ ।

दुबईका बिभिन्न सिनेमा हल, खेलकुद क्षेत्र, जीम हाउस, तथा क्लबहरु, थोक तथा होलसेल पसलहरु खुला भएका छन् ।

कुवेत

कोरोना भाइरसको संक्रमणले कुवेतमा २३६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ भने नयाँ संक्रमितको संख्या ५६२ छ ।

संक्रमित थपिएसँगै कुवेतमा कोरोनाबाट संक्रमित हुनेको संख्या २९ हजार ९२१ जना पुगेको छ । संक्रमितमध्ये १७ हजार २२३ जना उपचारपछि निको भएका छन् ।

एनआरएनएका अनुसार कुवेतमा संक्रमित हुने नेपालीको संख्या ६५० छ भने २ जनाको कोरोना संक्रमणले मृत्यु भएको छ ।

कोरोना भाइरसको महामारीले अर्थतन्त्र संकटग्रस्त हुँदै गएपछि कुवेतले ३१ मे देखि कर्फ्यूलाई खुकुलो बनाउँदै लगेको छ । विभिन्न पाँच चरणमा कर्फ्यूलाई हटाउँदै लैजाने योजना बनाएको कुवेतले १३ सेप्टेम्बरदेखि भने जनजीवन सामान्य अवस्थामै फर्काउने गरिको कार्ययोजना बनाएको छ ।

ओमान

ओमानमा कोरोना भाइरसको संक्रमणले ६७ जनाको मृत्यु भएको छ भने १४ हजार ३१६ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा त्यहाँ ७७८ जनामा संक्रमण देखिएको छ । संक्रमितमध्ये ३ हजार ४५१ जना उपचारपछि निको भएका छन् भने १० हजार ७९८ जनाको उपचार जारी छ ।

ओमानमा संक्रमितको राष्ट्रियता नखुलाइएकाले कति नेपाली संक्रमित भएका छन् भन्नेबारे केही पनि खुलेको छैन ।

ओमानले पनि मस्कट क्षेत्रको लकडाउन मे २९ देखि हटाएको छ । लकडाउन हटाएसँगै जनजीवन सामान्यउन्मुख हुँदै गएको छ । तर कोरोना संक्रमित र मृतकको संख्या बढ्दै जाँदा त्रास भने कायमै छ ।

कतार

कोरोना भाइरसको संक्रमणले कतारमा ४५ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ६३ हजार नाघेको छ ।

एकै दिन त्यहाँ १ हजार ५८१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ६३ हजार ७४१ पुगेको छ ।

संक्रमितमध्ये ३९ हजार ४६८ जना निको भएका छन् भने २४ हजार २२८ जनाको उपचार भइरहेको छ ।

त्यहाँस्थित नेपाली दूतावासका अनुसार अहिलेसम्म कतारमा ६ हजार ९११ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ भने ४ जनाको मृत्यु भएको छ ।

सरकारले कोरोनाका कारण बन्द भएका कम्पनीले श्रमिकको खाने बस्ने सुविधा कटाउन नपाउने नियम ल्याएकाले कतारमा कार्यरत नेपालीलाई खासै अप्ठ्यारो नपरेको दूतावासले जनाएको छ ।

बहराइन

कोरोना भाइरसको संक्रमणले बहराइनमा २१ जनाको मृत्यु भएको छ । त्यहाँ १३ हजार २९६ जना संक्रमित भएका छन् ।

संक्रमितमध्ये ७ हजार ७२८ जना संक्रमणमुक्त भएका छन् भने ५ हजार ५४७ जनाको उपचार जारी छ ।

बहराइनमा अहिलेसम्म ३३१ जना नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ त्यसमध्ये ३ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसको संक्रमणपछि आफ्ना नागरिकलाई व्यवस्थापन गर्न भन्दै बहराइनले ७ अप्रिलदेखि लागू हुनेगरी सन् २०२० भरी नै अवैधानिक रुपमा बसेकालाई बहराइन छोड्ने अवसर दिएको छ ।कोरोनाको महामारीले त्यहाँ १८ मार्चदेखि नै उडान बन्द गरिएको छ ।

बैदेशिक रोजगारीमा रहेका लाखौं नेपालीहरु रहेका खाडी मुलुकमा संक्रमण बढ्दै जादा उनीहरु चिन्तित हुन थालेका छन् । यद्यपि नेपाली सरकारले आजै शुक्रबार (जुन ५) देखि विदेशमा रहेका नेपालीलाई पनि उद्धार सुरू गरेपछि नेपालीहरू स्वदेश फर्कन पाउने भएपछि उत्साहित भएका छन् ।

प्रकाशित मिति : २३ जेठ २०७७, शुक्रबार  १२ : ०४ बजे

राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सेतो मच्छिन्द्रनाथको दर्शन गर्नुभई

वनलाई हात्तीमैत्री बनाउनुपर्छ : राजेन्द्र लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वन क्षेत्रलाई

स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन

देशैभर पुग्यो पाठ्यपुस्तक

भक्तपुर – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुर्‍याएको

सुनिलको शानदार शतक, राजस्थानलाई विशाल लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले