प्रकृतिको बढ्दो विनाश र महामारी | Khabarhub Khabarhub

प्रकृतिको बढ्दो विनाश र महामारी



आज विश्व कोभिड–१९ जीवाणु र त्यसले निम्त्याएको महाव्याधिले आक्रान्त छ । करिब ६६ लाख मानिस यस महाव्याधीको संक्रमणबाट ग्रसित भएका छन् भने ज्यान गुमाउनेको संख्या ३ लाख ९० हजार पुग्नै लागेको छ ।

सिङ्गो मानव जाति भोक र शोकले आहत बनेको छ । हिजोसम्म ज्ञान, विज्ञान र प्रविधिमा उच्चतम स्थान ओगटेका समृद्ध राष्ट्र आज निरीह जस्तै बनेका छन् । गरिब र अविकसित मुलुकहरू मात्र होइन, प्रविधि र विकासमा घमण्ड गर्ने ती देशहरू एउटा अदृश्य भाइरसबाट त्रसित बन्नु परेको छ ।

समग्रमा आज मानव प्रजाति आफ्नो अस्तित्वको गम्भीर चिन्तामा डुबेको छ । प्राकृतिक सन्तुलन भत्काउँदै ज्ञान, विज्ञान र प्रविधिको दुरुपयोग गरी भौतिक विकासको घमण्डले पुरिएको मानव समुदाय आज त्यसको दुस्परिणाम भोग्न विवश छ ।

पृथ्वीको तापमान दिन प्रतिदिन बढ्दै जाँदा हिमालय पर्वतमा हिउँ पग्लिने क्रमले समुन्द्रतटका थुप्रै देशहरूको अस्तित्व नै समाप्त हुने अवस्था छ ।

मानिसले भौतिकरूपमा गरेको जस्तोसुकै प्रगति पनि आज उसैका लागि मृत्युको घण्टी बनेको छ । प्रगतिको नाममा पृथ्वीको ७५ प्रतिशत भूभागलाई मानिसले आफ्नो अनुकूल परिवर्तन गरेका कारण पृथ्वीको जैविक विविधता एवं पारिस्थितिक प्रणालीमा ठूलो असन्तुलन उत्पन्न भएको कुरा गत वर्ष सार्वजनिक एक वैज्ञानिक प्रतिवेदनले उल्लेख गरेको छ ।

पृथ्वीको तापमान दिन प्रतिदिन बढ्दै जाँदा हिमालय पर्वतमा हिउँ पग्लिने क्रमले समुन्द्रतटका थुप्रै देशहरूको अस्तित्व नै समाप्त हुने अवस्था छ । प्रतिवेदनले पृथ्वीको जलमण्डलको ६६ प्रतिशत जलाशयमा मानवले अतिक्रमण गरी प्रदूषित गरिसकेको, ८५ प्रतिशत सिमसार क्षेत्रहरू विनाश भइसकेको र जीवमण्डलबाट १० लाख जीव प्रजाति (पशुपक्षी, जीव वनस्पति) लोप हुने खतरामा रहेको बताएको छ ।

यही गतिमा विनाश हुँदै गए आगामी एक दशकभित्रै जलवायु परिवर्तनले अनेक जीवका प्रजाति लोप हुने खतरामा पुग्ने आकलन गरिएको छ । आखिर यी सबै जटिल अवस्थाको कारक भनेको मानिस र उसले पृथ्वीमाथि गरेको अपराध नै हो ।

मानिसले पृथ्वीको कतिसम्म दोहन गरेको रहेछ भन्ने कुरा त यो बन्दाबन्दीको समयमा प्रकृतिमा पुनः आएको स्वच्छताले पुष्टि गरेको छ । थोरै समयका लागि मानवीय क्रियाकलापहरू रोकिँदा वायुमण्डल स्वच्छ भएको छ । हरितगृह ग्यासको उत्सर्जनमा कमी आएको छ । मानिसले नै वातावरणको प्रदूषण बढाएको तथ्य दुई–तीन महिनाको अवधिमा कोरोना संक्रमणका कारण लकडाउन हुँदा विश्वव्यापी रुपमै भएको वातावरणीय स्वच्छताले प्रष्ट भएको छ ।

यस अवधिमा कार्बन उत्सर्जन १७ प्रतिशतले घटेको तथ्यांक सार्वजनिक भएको छ । वायुमण्डलमा कार्वनडाइअक्साइड, नाइट्रोजन डाइअक्साइडजस्त हानिकारक ग्यासको परिणाम ह्वात्तै घटेको छ । जसले पाप (अपराध) गर्छ, उसैले सजाय भोग्नुपर्छ भनेजस्तै कोरोनाको असर मानिसलाई मात्रै देखिएको छ । जङ्गली जनावर, पशुपंक्षी तथा जलचर प्राणी कसैलाई कोरोना भाइरसले सताएको छैन । उनीहरू निर्धक्क विचरण गर्न पाएका छन् ।

सन् २०१६ मा संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमले सार्वजनिक गरेको प्रतिवेदनमा जनसंख्या वृद्धि, पारिस्थितिकीय असन्तुलन र जैविक विविधतामा आएको ह्रासका कारण विश्वमा विभिन्न संक्रमणहरू जनावरबाट मानिसमा सर्ने उल्लेख गरेको थियो । प्रतिवेदनले हरेक चार महिनामा एक संक्रामक रोग मानिसमा देखिनेछ भनेअनुसार विश्वमा नयाँनयाँ रोगको महामारी फैलिएको देखिन्छ ।

विश्व वन्यजन्तु कोष (डब्ल्युडब्ल्युएफ) ले सार्वजनिक गरेको एक प्रतिवेदनमा ‘प्रकृतिको क्षय र महाव्याधीको उद्भव’ निष्कर्ष निकाल्दै भनेको छ– आर्थिक गतिविधि र विकासले पुर्‍याएको पर्यावरणीय क्षति, वन्यजन्तुको चोरीसिकारी र अवैध व्यापारले वन्यजन्तु र मान्छेको सम्पर्क बढ्न गई कोरोना भाइरसको संक्रमण फैलिएको हुनसक्दछ ।

डब्ल्युडब्ल्युएफद्वारा सन् २०१८ मा प्रकाशित ‘लिभिङ प्लानेट’ नामक अर्को प्रतिवेदनअनुसार ४० वर्षमा करिब ६०५ स्तनधारी, चरा, माछा र उभयचर प्रजाति पृथ्वीबाट लोप भएका छन् । प्रकृतिको यसरी विनाश हुँदाको अवस्थामा यसको असरबाट मानवजाति पनि बच्न सक्दैन ।

पृथ्वी तातिँदै जाँदा समुद्री किनारका थुप्रै देशहरू डुब्ने सम्भावना भएको र कृत्रिम बौद्धिकताले (आर्टिफिसियल इन्टेलिजेन्स) निम्त्याउने जोखिमले मानव अस्तित्व जोखिममा रहने हकिन्सको निस्कर्ष छ ।

मानवले पृथ्वीलाई आफ्नो स्वार्थअनुकूल उपयोग गर्दा वन्यजन्तुको प्राकृतिक संख्यामा ह्रास आएकाले त्यसले पारिस्थितिक प्रणालीहरूमा असर गरेको छ । पारिस्थितिक प्रणालीहरू कमजोर हुँदा वन्यजन्तुबाट विभिन्न किसिमका रोगहरू मानिसमा र मानिसबाट वन्यजन्तुमा सर्ने क्रम बढ्न थालेको छ ।

कोभिड­१९ को उत्पत्ति पनि वन्यजन्तुबाट भएको वैज्ञानिकहरूले पुष्टि गरेका छन् । यसअघिका सार्स, मर्सजस्ता रोगहरूको उत्पत्ति वन्यजन्तुबाट भएको वैज्ञानिक पुष्टि भइसकेको छ । प्राकृतिक वातावरणमा खलल पुग्दै जाँदा नयाँ नयाँ जीवहरू उत्पत्ति हुन सक्छन् र तिनले मानव समुदायमा अनेक महामारी फैलाउँछन् । ।

वायुमण्डलमा अत्यधिक मात्रामा उत्सर्जन भएका हरितगृह ग्यासहरूका कारणले जलवायु परिवर्तन हुने क्रममा तीव्रता आएसँगै वातावरणीय क्षति बढेको छ । प्राकृतिक स्रोत उत्पादन क्षमता र मान्छेले निष्कासन गरेका फोहोर व्यवस्थापन गर्ने प्रकृतिको क्षमता भन्दा बढी जैविक इन्धन, वन पैदावार, अन्न, जलचरको दोहन र शहरीकरण भएको छ, ।

यस स्थितिले विभिन्न प्राकृतिक विपद्हरू निम्त्याउने गरेको छ । मानिसले गरेको दोहनबाट भोलिको ०.७५ पृथ्वी सिध्याउँदैछ । प्रसिद्ध भौतिकशास्त्री हकिन्सले सन् २०१७ मा एक भविष्यवाणी गर्दै अबको ६०० वर्षभित्र पृथ्वी बस्नयोग्य रहँदैन भनेका छन् ।

जनसंख्याको तीव्र वृद्धिदरले पृथ्वीमा स्थान अभाव हुँदै गएको, पृथ्वी तातिँदै जाँदा समुद्री किनारका थुप्रै देशहरू डुब्ने सम्भावना भएको र कृत्रिम बौद्धिकताले (आर्टिफिसियल इन्टेलिजेन्स) निम्त्याउने जोखिमले मानव अस्तित्व जोखिममा रहने हकिन्सको निस्कर्ष छ ।

आफ्ना आवश्यकताहरू परिपूर्ति गर्ने क्रममा मानिसले प्राकृतिक प्रणालीहरूको विनाश गरेको छ । मानिसलाई आवश्यक पर्ने प्राकृतिक स्रोतहरू र मानवजन्य फोहोरहरू व्यवस्थापन गर्न अहिले नै झन्डै यो पृथ्वीको १.७५ पृथ्वी आवश्यक पर्ने अध्ययनले देखाएको छ । उपभोगको वृद्धिदर यथावत रहे सन् २०३० सम्म सन्तुलित ढङ्गमा मानवीय आवश्यकता आपूर्ति गर्न दुईवटा यस्ता पृथ्वी आवश्यक पर्नेछ । हामीसँग एउटामात्र पृथ्वी छ ।

यसरी नै दोहन हुँदै जाने हो भने सन् २०३० सम्म सग्लो पृथ्वीको अस्तित्व समाप्त भइसक्ने वैज्ञानिकहरूले जनाएका छन् । पृथ्वीको आधा जमिन र जलाशयलाई प्राकृतिक अवस्थामै छाड्न सकेको अवस्थामा मात्रै जैविक विविधताको संरक्षण हुन सक्दछ । यो तथ्य मनन गरी संयुक्त राष्ट्रसंघले सन् २०२० को दशकलाई पर्यावरण पुनरुत्थानको दशकका रूपमा मनाउने घोषणा गरेको छ । यसतर्फ कसैको ध्यान गएको छैन ।

वातावरण दिवसको सान्दर्भिकता

भौतिक विकास र वातावरण संरक्षणबीचको अन्योन्याश्रित सम्बन्धले मात्रै दिगो विकास सम्भव हुन्छ । वातावरण स्वस्थ भएन भने सारा पारिस्थितिक प्रणालीहरूमा असन्तुलन पैदा हुन जान्छ । वातावरण स्वस्थ भयो भने मात्र प्राकृतिक सन्तुलन कायम राख्न सकिन्छ ।

विश्वलाई जीवन्त र जिउनयोग्य बनाइराख्न यहाँको जैविक विविधताको संरक्षण अपरिहार्य छ । यस तथ्यलाई आज विश्वका अधिकांश मुलुकहरूले आत्मसात गरी आवश्यक नीतिगत व्यवस्था, संरचनागत प्रणाली र स्रोत साधनको प्रबन्ध गरेका छन् ।

मानव, जनावर र वातावरणबीचको सम्बन्ध सन्तुलित राख्न सके कोरानाजस्त महामारी फैलनबाट रोक्न सकिन्छ । त्यसैले, प्राकृतिक विपद र महामारीको दिगो समाधान जैविक विविधताको सन्तुलनभित्रै रहेको छ ।

प्रत्येक वर्ष मे २२ मा मनाइने जैविक विविधता दिवस वा जुन ५ मा मनाइने वातावरण दिवस तथा अन्य विभिन्न दिवसहरूको महत्वलाई केवल एक दिनको रूपमा नहेरी वर्षभरि नै सम्झन सकेको अवस्थामा पृथ्वीको अतित्व भावी पुस्तालाई सुरक्षित हस्तान्तरण गर्न सकिनेछ ।

कोरोना संक्रमणबाट भयभित अवस्थामा आज विश्व वातावरण दिवस मनाइरहँदा यसको कारण, प्रभाव र त्यसबाट मुक्ति पाउन मानव जातिले गर्नुपर्ने प्रयास सम्झन आवश्यक छ । यस वर्षको वातावरण दिवसको नारा ‘सुरक्षित जीवनका लागि जैविक विविधता’ भन्ने विषय निकै सान्दर्भिक छ ।

मानव, जनावर र वातावरणबीचको सम्बन्ध सन्तुलित राख्न सके कोरानाजस्त महामारी फैलनबाट रोक्न सकिन्छ । त्यसैले, प्राकृतिक विपद र महामारीको दिगो समाधान जैविक विविधताको सन्तुलनभित्रै रहेको छ । केही दिनअघि मनाइएको जैविक विविधता दिवसको नाराले पनि हाम्रा समाधानका उपाय प्रकृतिभित्रै खोज्नुपर्छ भनेको थियो ।

मानिस आफ्नो जीवन र जीविकोपार्जनको लागि पारिस्थितिक प्रणाली र त्यहाँको जैविक विविधतामाथि निर्भर रहन्छ । त्यसैले मानवीय क्रियाकलाप र पारिस्थितिक प्रणालीबीचको सन्तुलनले नै प्रकृति र प्राणीको भविष्य सुनिश्चित गर्ने हुँदा यस्ता दिवसहरूलाई औपचारिकतामा नभई सोच र व्यवहारमा रूपान्तरण गरी अगाडि बढ्न सके भावी सन्ततिको जीवन सुरक्षित हुन सक्दछ ।

पर्यावरणीय सन्तुलनविना जैविक विविधता संरक्षण गर्न सकिँदैन । यसको लागि मानवीय क्रियाकलापहरू वातावरणमैत्री हुनुपर्दछ । वातावरण स्वच्छ र स्वस्थ राख्न मानवीय क्रियाकलापहरू वातावरणमैत्री बनाउँदै जानु पर्दछ ।

जैविक विविधता विनाशका कारण उत्पन्न जलवायु परिवर्तनको असर गम्भीर देखिन थालेकोले यसबाट सुरक्षित रहन विश्वका सबै मुलुकहरूबीच साझा दृष्टिकोण बन्नु आवश्यक छ । भौतिक विकास एवं आधुनिकीकरणको नाउँमा गरिने गतिविधिले प्राकृतिक वातावरणमा हुने ह्रासले प्रकृतिले अनेकौँ विपत् तथा कोरोनाजस्ता महामारी सिर्जना गर्दै आएको छ ।

अझै पनि मानिसको चेत खुल्न सकेन भने पृथ्वीको अस्तित्व समाप्त गरेको दोष वर्तमान पुस्तामा जानेछ । विश्वव्यापी रुपमा फैलिएको वर्तमान महामारीले विश्व समुदायलाई राम्रो पाठ सिकाएको छ । यसलाई शिक्षाको रूपमा लिई यस्तै प्रकारका अन्य महामारीबाट बच्न पारिस्थितिक प्रणाली सन्तुलिन राख्न सहयोग गर्ने दिगो योजना तथा यसको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनु पर्दछ ।

प्रकाशित मिति : २३ जेठ २०७७, शुक्रबार  ८ : ५१ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

आज २०८० साल चैत १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको