कता गए नेकपाका ती जुझारु कार्यकर्ता ? | Khabarhub Khabarhub

कता गए नेकपाका ती जुझारु कार्यकर्ता ?


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरोना भाइरसका कारण यतिवेला विश्व त्रस्त छ । सत्ता, शक्ति र सामर्थ्य का आधारमा विश्वमा प्रभुत्व जमाएका देशहरूको अवस्था पनि अहिले कमजोर देखिएको छ । कोरोना भाइरस विरुद्धको लडाइँमा सम्पन्न र शक्तिशाली भनिएका देशहरू पनि शक्तिहीन देखिएका छन् ।

चीनबाट शुरु भएको कोरोना भाइरसको ताण्डव नृत्यबाट नेपाल र समग्र दक्षिण एशिया अछुतो रहने कल्पना कसैले गरेको थिएन ।

उत्तर र दक्षिणतिरका दुई शक्तिशाली राष्ट्रका बीचमा रहेको नेपालमा भाइरसको संक्रमण फैलिएमा ठूलै क्षति हुने अनुमान विश्व स्वास्थ्य संगठनले नगरेको पनि होइन । पशुपतिनाथको कृपाले अहिलेसम्म छिमेकी मुलुकमा जस्तो भयावह अवस्था बनेको छैन ।

कोरोना भाइरसको औषधि पत्ता लगाउन वैज्ञानिकहरूले सफलता पाउन सकेका छैनन् । मास्क, पीपीई र अन्य मेडिकल सामग्रीको अभाव नेपालमा हुनु स्वाभाविक नै हो । किनकि, नेपालमा औषधि उत्पादन र मेडिकल शिक्षामा सरकारी लगानी नगन्य छ ।

हरेक वस्तुमा विदेशमा भर परेको नेपालमा यस्तो महामारी थेग्न पनि सबै सामग्री आयात गर्नुपर्नेछ । धन्न, अहिलेसम्म नेपालमा महामारीले त्यो उग्र रूप लिएको छैन ।

सरकारले मेडिकल सामान, पीपीई लगायत अत्यावश्यक सामग्री केही दिनअघि चीनबाट खरिद गरेको छ । उक्त खरिदमा आधाभन्दा बढी रकम भ्रष्टाचार भएको भन्ने समाचार सार्वजनिक भएको छ । ती सामानको मूल्य सूची हेर्दा सामान्य मानिसले पनि भ्रष्टाचार भएको ठहर गर्न सक्छ ।

मृत्यु सम्मुख हुँदा पनि भ्रष्टाचारमा लिप्त हुने नेपाली राजनीतिको परम्पराजस्तै बनेको छ । यसअघि विनाशकारी भूकम्पका समयमा पनि जस्तापाता र त्रिपाल खरिदमा भ्रष्टाचार भएको समाचार आएको थियो ।

कोरोना भाइरस नियन्त्रण तथा रोकथाम समितिको नेतृत्व गरिरहेका उपप्रधानमन्त्री एवं रक्षामन्त्री तथा नेकपाका सचिवालय सदस्य ईश्वर पोखरेलमाथि केही वर्ष पहिला पनि भ्रष्टाचारको आरोप नलागेको होइन ।

केही नेताहरूमाथि भ्रष्टाचारको कुरा उठेपछि तत्कालीन नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका जुझारु नेता कार्यकर्ताले आफ्नै पार्टीका नेतामाथि खबरदारी गरेका थिए, पार्टीमा विरोध जनाएका थिए ।

त्यतिबेला भ्रष्टाचारको विरोध गर्दै अनेरास्ववियुका नेता तथा कार्यकर्ताहरूले र आमविद्यार्थीको साथमा आफूलाई उभ्याएका थिए । सहीलाई सही र गलतलाई गलत भन्दै हाम्रालाई होइन राम्रालाई साथ दिएका कारण अनेरास्ववियुलाई सबैभन्दा ठूलो संगठनको रूपमा विद्यार्थीहरूले स्थापित गरिदिए ।

आन्दोलन जोगाउन सक्ने, गलतलाई गलत र सहीलाई सही भन्न सक्ने अनि सधैँ देश र जनताको पक्षमा निरन्तर खबरदारी गर्ने निष्ठावान कार्यकर्ताले मात्र हो । अन्धभक्ति र अवसरवादले जन्माउने विखण्डन र विसर्जन मात्र हो ।

विद्यार्थी संगठनमात्र होइन तत्कालीन एमालेका नेता कार्यकर्ता सहीलाई सही र गलतलाई गलत भन्ने सामार्थ्य राख्थे ।

२०६२/६३ को जनआन्दोलनपछि नेपाली राजनीतिमा देखिएका सकारात्मक परिवर्तनसगै मौलाएको आर्थिक अराजकता र नेपालको अन्तरिम संविधानलाई हातमा लिएर राष्ट्रिय निकायहरूमाथि धावा बोल्दै गरिएका विभिन्न हत्कण्डाका विरुद्ध युवा संघले त्यसको प्रतिवाद गरेको थियो । आफूलाई जिम्मेवार र सशक्तरूपमा उभ्याएको थियो । लाखौं युवाहरू त्यस अभियानमा सामेल भए । महेश बस्नेतको नेतृत्वमा युवा संघ सबैभन्दा शक्तिशाली संगठन भयो र लाखौं युवाहरूको मनमा बस्न सफल भयो ।

तर, आजको नेकपामा के भइरहेको छ ?

कृपया, भ्रष्टाचारको विरुद्धमा बोल्न सक्ने र नेतृत्वले गलत कर्म गर्दा प्रश्न उठाउन सक्ने कार्यकर्ता उत्पादन गरिदेऊ । भ्रष्टाचारले मुखै देखाउन नहुने हुँदासम्म पनि प्रतिरक्षामा उत्रिने भन्दा आलोचनात्मक चेत भएका कार्यकर्ता उत्पादन गर । गुटका लागि भन्दा देश, समाज, जनताका लागि सोच्ने नेता कार्यकर्ताको उत्पादन गरिदेऊ ।

डिक बेठिक छुट्याएर बोल्न नसक्ने र मुकदर्शक भएर हेरिरहने कार्यकर्ता उत्पादन गर्दै जाँदा माओवादी आन्दोलन इतिहास बन्न पुगेको यथार्थ हामी सबै सामु छर्लङ्ग छ । अब त्यस्तो छुट अहिलेको नेकपालाई छैन ।

मदन भण्डारीले संसारको कम्युनिष्ट आन्दोलनमा देखापरेको संकटबाट बचाउँदै तत्कालीन नेकपा एमालेलाई नयाँ उचाइ दिएको सत्य स्वीकार गर्दै यही विचारको धरातलमा एउटै झन्डाभित्र पनि ठिक र बेठिकका बहसहरू चलेका हुन् । कति त यो गलत हो भन्दै फरक मतमा विभाजित समेत भए । आज एमाले र माओवादी मिलेर बनेको नेकपाले लिएको जनताको बहुदलीय जनवाद (जबज) को सिद्धान्त संसारको कम्युनिष्ट आन्दोलनको मेरुदण्ड बनेको छ ।

यो आन्दोलन जोगाउने जिम्मेवारी आज आमनेकपा कार्यकर्ताको काधमा छ । यो आन्दोलन जोगाउन सक्ने, गलतलाई गलत र सहीलाई सही भन्न सक्ने अनि सधैँ देश र जनताको पक्षमा निरन्तर खबरदारी गर्ने निष्ठावान कार्यकर्ताले मात्र हो । अन्धभक्ति र अवसरवादले जन्माउने विखण्डन र विसर्जन मात्र हो ।

जबजको विचार र सिद्धान्त नेपालको लागि मात्र नभएर संसारभरका उत्पीडित जाति र वर्गको जीवन उत्थानका लागि हो । अहिले तपाईं हामीले जबज जोगाउनु पर्नेछ । आज आमसञ्चार माध्यमलाई पत्याउने हो भने भ्रष्टाचारको डङ्गुरमा जवज गनाउने हो कि भन्ने चिन्ता मजस्ता आमसमर्थक र शुभचिन्तकहरूमा देखिन थालेको छ । हिजोकै विरासतमा रुमलिएर आजको कम्युनिष्ट सरकार पनि जनताको नजरबाट गिर्ने परिस्थिति कदापि स्वीकार्य छैन ।

यो सरकार इतिहासमा जनताले सबैभन्दा धेरै आशा र भरोसा गरेको सरकार बन्नुपर्छ भन्ने मान्यताबाट अझै आमकार्यकर्ता विचलित भएका छैनन् । तथापि, दिन प्रतिदिन सरकारको रबैयाले कतै निष्ठावान कार्यकर्ताको स्वाभिमानमा चोट पर्दै गयो भने त्यसको सम्पूर्ण जिम्मेवारी वर्तमान नेतृत्वले लिनुपर्छ ।

त्यसो हुन सकेन भने जबजलाई आदर्श मानेर आफ्नो जीवन समर्पित गरेर लागेका लाखौँ कार्यकर्ताको बीचबाट कुनै समय यस्तो मानिस जन्मने छ जसले संसारको साम्राज्यवादी ज्यादतीविरुद्ध वैज्ञानिक समाजवादको बिगुल फुक्दै साम्यवादसम्मको यात्रा सुनिश्चित गर्नेछ ।

त्यतिबेला संसारले भन्नेछ, नेपाल यस्तो देश हो जहाँबाट विश्व साम्राज्यवादलाई धुलो चटाउने विचार उत्पादन भएको छ । अनि संसारले नेपालीहरूलाई भन्नेछ, संसारलाई साम्राज्यवादको पञ्जाबाट छुटकारा दिलाउने महामानवहरू हुन् भनेर ।

(लेखक तत्कालीन एमालेनिकटको युवा संघका नेता हुन् ।)

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ७ : ५५ बजे

बागलुङका ३८ वनमा आगलागी

बागलुङ– बागलुङमा गत फागुनदेखि अहिलेसम्म ३८ वटा सामुदायिक वनमा आगलागी

बुद्ध जयन्तीमा नेपालदेखि भारत हुँदै श्रीलंकासम्म ‘बाइक राइड’

श्रीलंका, भारत र नेपालको संयुक्त आयोजनामा बुद्ध जयन्तीका दिनबाट ‘हार्टफुलनेस

सुनचाँदीको मूल्य घट्यो, कतिमा कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

डीएसपी भण्डारी र इन्सपेक्टर लिम्बू चैत महिनाका सर्वोत्कृष्ट प्रहरी

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) नवीनकृष्ण भण्डारी

इलामको चिया समस्याबारे प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्व प्रधानमन्त्री झलनाथ खनालबीच भेटवार्ता