नेपालको खाना संस्कृति र पर्यटन « Khabarhub
Logo
३० असार २०७७, मंगलबार

नेपालको खाना संस्कृति र पर्यटन



कुनै एक ठाउँबाट अर्को ठाउँमा घुमफिर वा मनोरञ्जन गर्ने उद्देश्यले वा शैक्षिक प्रयोजनका लागि गरिने गतिविधि अर्थात् घुमफिरलाई सामान्य अर्थमा पर्यटन भनिन्छ ।

पर्यटन शब्द ल्याटिन भाषाको ‘टोरोस’ बाट उत्पत्ति भएको हो । जसको अर्थ वृत्त बुझाउने उपकरण भन्ने बुझिन्छ । पर्यटन एक सामाजिक, सांस्कृतिक र आर्थिक विषय हो ।

जसले कुनै एक देश, क्षेत्र वा भूगोलका मानिसलाई तिनीहरुको नियमित वातावरणबाट बाहिर पुर्‍याउँछ । कुनै ठाउँको भ्रमण गर्न वा व्यापार व्यवसाय र मनोरञ्जनका लागि पुर्‍याउँछ ।

पर्यटनले मानिसमा एकैसाथ शारीरिक, मानसिक, शैक्षिक सांस्कृतिक शितलता प्रदान गर्दछ । पर्यटन आज विश्वको ठूलो र तीव्र रुपमा विकसित आर्थिक क्षेत्र हो । प्राकृतिक रुपले नै मानिसले घुमफिरमा बढी रुचि राख्ने गरेको देखिन्छ ।

मानव विकासको ऐतिहासिक विकासक्रम हेर्दा पनि मानिस एक ठाउँबाट अर्को ठाउँमा घुम्ने फिर्ने गरेको भेटिन्छ ।

विश्वमा व्यवसायिक रुपमा पर्यटन क्षेत्रको विकास सन् १९५० पछि भएको पाइन्छ । हुन त त्यसभन्दा अगाडि पनि पर्यटन गतिविधि भइरहेकै थिए । तर तीव्र र व्यवस्थित रुपमा सन् १९५० को दशकको थालनीपछि भएको हो ।

आजको समयमा भन्नुपर्दा पर्यटन आर्थिक सुदृढिकरणका लागि सबैभन्दा सहज र सम्भावनायुक्त क्षेत्र भएको छ । यो क्षेत्रको विकासमा यथेष्ट काम गरेका राष्ट्रले मनग्गे रकम र नाम हरेक वर्ष भित्र्याइरहेका छन् ।

फ्रान्स, बेलायत, अमेरिका, स्पेन, चीन, भारत, जर्मनी, जापान लगायतका देशले पर्यटन उद्योगको माध्यमबाट आप्mनो राष्ट्रिय अर्थतन्त्रमा सशक्त योगदा पुर्‍याइरहेका छन् । पर्यटन विश्वको बृहत र निरन्तर रुपमा विकसित हुँदै गएको आर्थिक क्षेत्र हो ।

त्यस्तै गरेर पर्यटन क्षेत्र एउटा मात्र यस्तो क्षेत्र हो जसले प्रकृति र पर्यावरणमा ठूलो नोक्सानी बिना आर्थिक गतिविधि सञ्चालन गर्दछ । अहिलेको समयमा भन्नुपर्दा पर्यटनले अन्तर्राष्ट्रिय समझदारी बृद्धि गर्न र गरीबी निवारणमा महत्वपूर्ण सहयोगी भूमिका निर्वाह गरिरहेको छ ।

वि.सं. २००७ साल पछि मात्र नेपाललाई विदेशी पर्यटकहरुका लागि खुला र सुलभ गरिएको हो । साढे ६ दशकको अवधिमा नेपालको पर्यटन क्षेत्रमा धेरै परिवर्तन आइसकेको छ । नेपालको पर्यटन क्षेत्र विदेशी मुद्रा आर्जन र रोजगारी प्रवद्र्धनका हिसाबले महत्वपूर्ण मानिन्छ ।

यसरी हेर्दा नेपालको राष्ट्रिय अर्थतन्त्रमा पर्यटनको महत्वपूर्ण भूमिका रहेको छ । नेपालको विकास लक्ष्य हाँसिल गर्न र नेपाली जनताको दिगो एवं सामाजिक र आथिक उन्नतिका लागि पर्यटनले नै महत्वपूर्ण योगदान दिन सक्ने कुरामा कसैको पनि असहमति देखिँदैन ।

यसो हुँदा हुँदै पनि नेपालको पर्यटनले अपेक्षा गरे अनुरुप विकास गर्न नसकेको मानिन्छ । यसो हुनुमा हामीले पर्यटनको परम्परागत मोडल नै समाएर बसेकाले होला । आजको समयमा पर्यटनको विविधिकरण जरुरी भइसकेको छ ।

नेपालका विभिन्न जातजातीहरुका आ–आफ्नै प्रकारका खाना र परिकारहरु भएको पाइन्छ । यी परिकारहरु भित्र भौगोलिक विविधताका साथै सामाजिक/सांस्कृतिक विषय पनि पर्ने गरेका छन् । त्यस्तै गरेर प्रदेशगत रुपलाई छुटाएर हेर्दा पनि नेपाल खाना र यसको विविधतामा निकै धनी देखिन्छ ।

पर्यटनका लागि खाना संस्कृतिको पनि निकै महत्व छ । विशेष परिकार वा खानाहरुका लागि पनि विश्वका धेरै देश चर्चित छन् । विश्वमा खाना र तिनका स्वादले पर्यटक आकर्षण गर्न निकै महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ ।

अहिले खाना परिकारहरुको र तिनका स्वादहरु प्रवद्र्धनका लागि विश्वव्यापी प्रतियोगिता नै हुने गरेको छ । खाना र तिनमा रहने विशेष स्वाद र त्यससँग जोडिएको संस्कतिले पर्यटकमा एक किसिमको झंकार उत्पन्न हुने मानिन्छ । खाना प्रत्यक्ष रुपमा रितरिवाज, प्रकृति, जनजीवन, भूगोल चाडवाड एवम् हावापानीसँग पनि जोडिएको हुन्छ । खाना मार्फत् पनि मानिसले स्थानीय जनजीवन, परम्परा र मूल्य मान्यता बुझ्न सक्दछ ।

देश चिनाउन कला, सस्कृति र भाषाको जत्ति महत्व हुन्छ त्यतिकै विशेष भूमिका खानाको पनि रहेको हुन्छ । खनाले दुई भूगोल मात्र नभई विभिन्न तरिकाले फरक–फरक मानिसहरुलाई पनि जोड्ने काम गर्दछ । हामी हाम्रो भाषा, संस्कृति जस्तै हाम्रो खानालाई पनि त्यति नै माया गर्छौं ।

विश्वमा खाना र तिनको स्वादको कुरा आउँदा इटालियन खाना, जापनीज खाना, अमेरिकी खाना, चाइनिज खाना, इन्डियन खाना आदिको चर्चा विश्वभरी नै हुन्छ । खाना र तिनको महिमा बुझ्न पनि पर्यटकहरु विभिन्न देशमा पुग्ने गरेका छन् ।

त्यस्तै आफ्नो खाना विश्वव्यापी बनोस् भन्ने सोच राखेर पनि देशहरुले काम गर्दछन् । जस्तै भारतका पूर्व पर्यटन मन्त्री करण सिंहले सन् १९६० मा भारतीय खानालाई प्रवद्र्धन गर्ने उद्देश्यले जेट विमानमा खाना राखी यूरोप, अमेरिका लगेर प्रचार गराएका थिए । भनिन्छ यसपछि भारतीय खानाका बारे विश्वव्यापी चर्चा शुरु भएको थियो ।

नेपालमा पनि खानाले संस्कृति, तिनका विशेषता र महत्व बोकेको भेटिन्छ । जस्तो चाड विशेषका लागि विशेष खाना बनाएर खाने संस्कृति हामीसँग छ । अक्षय तृतीयमा जौको सातु, तिहारमा सेलरोटी, असार पन्ध्रमा दही चिउरा, साउन पन्ध्रमा खीर, तीजमा दर, छठमा ठकुवा र कसार खाने चलन छ ।

नेपाल धेरै जातजातीको सुन्दर फूलबारी हो । धेरै जातजातीका परम्परागत रीतिरिवाजका साथै विविध खानपानका विधिहरुले पनि आफ्नै महत्व राखेका हुन्छन् । खानपानको सन्दर्भमा कुरा गर्दा कुन कुरा पनि महत्वपूर्ण छ भने सामान्य दैनिक रुपमा खाने गरेका सामग्री र विशेष चाडपवाड र जात्राहरुमा बनाइने परिकारहरुको आफ्नै महत्व रहेको हुन्छ ।

केही समय अगाडि नेपाल पर्यटन बोर्डको सक्रियतामा नेपाली खाना र तिनलाई कसरी अन्तर्राष्ट्रिय रुपमा प्रवद्र्धन गर्न सकिन्छ र कुन कुन परिकारहरुलाई विश्व बजारमा लग्न सकिन्छ भनी एक अध्ययन गरिएको छ । सो अध्ययनले संक्षेपमा नेपाली खानालाई यसरी वर्गीकरण गरेको थियो ।

(१) तराई मधेशको खाना-मैथली, भोजपुरी र अवधि खानाका परिकारहरु
(२) मध्य पहाडका जनजातीका खानाका परिकारहरु
(३) काठमाडौं उपन्यकाका नेवारी खानाका परिकारहरु
(४) थकाली तथा अन्य हिमाली जातीका खाना परिकारहरु
(५) उच्च हिमाली भेगमा रहेका जातीका खानाका परिकारहरु

नेपाल धेरै जातजातीको एउटा सुन्दर फूलबारी हो । धेरै जातजातीका परम्परागत रितिरिवाजका साथै विविध खानपानका विधिहरुको पनि आफ्नै महत्व राखेका छन् । ऐतिहासिक दृष्टि दिने हो भने लिच्छवीकालदेखि खाना र परिकार सम्बन्धी उल्लेख गरेको पाइन्छ ।

चिनियाँ यात्री वाङ हुयेन से को विवरणमा नेपालका बासिन्दा चम्चा वा सिन्काको प्रयोग नगरिकन हातले खान्छन्, उनीहरुका भाडा कुडाहरु तामाका हुन्छन् भनी लिच्छवीकालको सामाजिक झलक पनि प्रस्तुत भएको छ ।

त्यस्तै शिवदेव द्वितीयको ६९५ ई. को लगनटोल अभिलेखमा भिक्षुहरुको भोजनका लागि सदावर्तको बन्दोवस्त गरेको उल्लेख पाइन्छ । त्यसबेला भोजनका परिकारहरुमा अधिक मात्रामा भात, रोटी र ढिंडोको प्रयोग हुन्थ्यो भनी उल्लेख छ ।

नेपालका विभिन्न जातजातीहरुका आ–आफ्नै प्रकारका खाना र परिकारहरु भएको पाइन्छ । यी परिकारहरु भित्र भौगोलिक विविधताका साथै सामाजिक/सांस्कृतिक विषय पनि पर्ने गरेका छन् । त्यस्तै गरेर प्रदेशगत रुपलाई छुटाएर हेर्दा पनि नेपाल खाना र यसको विविधतामा निकै धनी देखिन्छ ।

नेपालको पर्यटन क्षेत्रले यो पक्षमा काम गर्नु जरुरी छ ।


भर्खर

0