भ्रमण वर्षको लक्ष्य पूरा गर्न पूर्वाधार चुनौती | Khabarhub Khabarhub

भ्रमण वर्षको लक्ष्य पूरा गर्न पूर्वाधार चुनौती



काठमाडौं–२० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यसहित ‘नेपाल भ्रमण वर्ष २०२०’ औपचारिक रुपमा शुरु भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बुधवार दशरथ रंगशालामा भव्य कार्यक्रमकाबीच भ्रमण वर्ष २०२० को शुभारम्भ गरिन् ।

तामझामका साथ अंग्रेजी नयाँ वर्षको उद्घाटन गरिएपनि २० लाख पर्यटक भित्र्याउन सरकारलाई ठूलो चुनौती छ । जुन अघिल्ला वर्षका पर्यटक आवगमनका संख्याले पनि जनाउँछ ।

पर्यटन विभागका अनुसार सन् २०१९ को नोभेम्बरसम्म १० लाख ९७ हजार ५ सय ७१ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । डिसेम्बरमा आउने पर्यटकको संख्या जोड्दा १२ लाख पुग्ने विभागको अनुमान छ । यसमा डिसेम्बरको संख्या सार्वजनिक गरिएको छैन ।

सन् २०१८ मा भने ११ लाख ७३ हजार ७३ हजार ७२ विदेशी पर्यटक नेपाल आएका थिए । त्यस्तै, सन् २०१७ मा ९ लाख ४० हजार २ सय १८ थियो भने सन् २०१६ मा ७ लाख १३ हजार २ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

विभागको तथ्याङ्क हेर्दा सरकारको लक्ष्य पुरा गर्न गत वर्षको पर्यटक आवागमन दरलाई बृद्धि गर्दै ८ लाख पर्यटक थप्नुपर्ने देखिन्छ । झट्ट हेर्दा यो ठूलो संख्या त होइन् । प्रत्येक वर्ष नेपाल भित्रने पर्यटकको वृद्धिदर हेर्दा सामान्य अवस्थामा पनि २०२० मा १५ लाख पर्यटक भित्रने अनुमान गर्न सकिन्छ ।

यस्तो आँकलनबाट ५ लाख थप पर्यटक भित्र्याउन सके सरकारको लक्ष्य पूरा हुन्छ । तर, ५ लाख पर्यटक भित्र्याउने अवस्था कस्तो छ भन्ने विषय चाँही गम्भीर हुन्छ ।

सुरक्षा, पूर्वाधारको विकासमा सोचेजस्तो सुधार नहुँदा लक्ष्य हासिल गर्न चुनौती देखिन्छ ।

प्रमुख पर्यटकीय गन्तव्यसम्म पुग्नका लागि पर्यटकले सास्ती खेप्नुपर्ने अवस्थामा सुधार आउन सकेको छैन । भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रि विमानस्थल, पोखरा स्थित क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल १ वर्षअघि नै सञ्चालन हुने भनिए पनि हालसम्म बन्न सकेका छैनन् । जसकारण नेपाल भित्रने पर्यटकले अहिले एउटै विमानस्थलमात्र प्रयोग गर्नुपर्ने बाध्यता छ ।

राजधानी नजिकैका पर्यटकीय स्थल नगरकोट, दोलखा, पोखरा, लुम्बिनी तथा चितवन जाने सडकमार्ग समेत बन्न सकेका छैनन् । जसले सडक यात्रा गर्दा पर्यटकले सास्ती खेप्नुपर्छ ।

सरकारले भ्रमण वर्ष घोषणा गरेपनि पूर्वाधारमा ध्यान नदिएको पूर्वाधारविज्ञहरु बताउँछन् । पर्यटकहरु नेपाल आउनुको प्रमुख कारण यहाँको कल्चर, नेचर र एडभेन्चर हुन् । यसमा सरकारले ध्यान दिन जरुरी छ ।

र्‍यालीबाट मात्रै आउँदैनन् पर्यटक : पूर्वाधारविज्ञ

पर्यटकहरु नेपाल घुम्नका लागि प्याकेजमा आउन चाहन्छन् । तर त्यसको व्यवस्था हुन नसकेको पूर्वाधारविज्ञ किशोर थापाले बताए ।

‘नेपाल घुम्न आउने पर्यटकको अपेक्षा भनेकै प्याकेजमा घुम्न पाइन्छ कि पाईदैन भन्ने हो पहिलो कुरा त्यसको विकास गर्नुपर्छ’ उनले भने, ‘टुरिजम व्यवसायीहरुले यो क्षेत्रमा लगानी गर्न आवश्यक देखिन्छ ।’

देशभरका पर्यटकीय गन्तव्यलाई प्याकेजमा राख्न सकेमा स्वदेशी र विदेशी पर्यटकको रुचि झनै बढ्ने देखिन्छ । र्‍याली निकालेर मात्र प्रवद्र्धन नहुने बताउँदै थापा भन्छन्, ‘विदेशमा भएका ट्राभल्स एजेन्सी र टुरिजमका क्षेत्रमा काम गर्ने निकायहरुलाई यहाँको उत्पादनको बारे जानकारी दिनुपर्‍यो ।’

उनका अनुसार विदेशीले नेपाल आउने सस्तो ऐयर रुट के हो बताउनुपर्‍यो । नेपाल ऐयरलाइन्सले पनि भ्रमण वर्षका लागि विशेष प्याकेज बनाउनु आवश्यक छ ।

‘यहाँका सम्भावनाबारे छलफल र तयारी थालिएको मात्र हो,’ खबरहबसँग कुराकानीमा उनले भने, ‘टुरिजम भनेको व्यापार हो, त्यहाँ सेवाको व्यवस्था हुन्छ त्यो उपलब्ध गराउने हो ।’

थापाका अनुसार पर्यटकहरु नेपाल आउनासाथ सबैभन्दा पहिला ट्याक्सीसँग इन्टरफेस हुन्छन् । २० लाख पर्यटक भित्र्याउनका लागि सुविधासम्पन्न ट्याक्सीहरुको व्यवस्था छैनन् ।

‘पर्यटनका क्षेत्रमा तीन कुराले महत्वपुर्ण भूमिका खेल्ने थापाले बताए । ‘पहिलो कुरा पहुँच हो पर्यटकले गन्तव्यस्थल सम्म कसरी पुग्ने ? दोस्रो कुरा आवास, त्यहाँ गएर कहाँ बस्ने ? र तेस्रो कुरा गतिविधि पुगेपछि के गर्ने ?’

खबरहबसँगको कुराकानीमा उनले भने, ‘अहिले त्यो कुनै सुविधा नै छैन जसकारण पर्यटकमैत्री वातावरणको सिर्जना गराउनु नै ठूलो चुनौतीको विषय बनेको छ ।’

पुनर्निर्माणका क्रममा रानीपोखरी

निर्माणधीन सम्पदाले प्रभाव पार्छ : पुरातत्वविद्

नेपाल प्रचुर मात्रामा पर्यटकीय सम्भावाना बोकेको देश हो । यहाँ घुम्न आउने अधिकांश पर्यटकको रोजाइमा पर्छन्–‘सांस्कृतिक महत्वका सम्पदा ।’

तर विनाशकारी भूकम्पले यहाँको सम्पदा तहसनहस बनाएका छन् । कतिपय सम्पदा निर्माणधीन चरणमै छन् त कतिपय सम्पदा ढलेकै अवस्थामा पनि छन् । यसले पर्यटीय आवगमनमा कतिको प्रभाव पार्ला त ?

परातत्वविद् सुर्दशनराज तिवारी भन्छन्, ‘यो वर्ष २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्यलाई भूकम्पले भत्काएका सांस्कृतिक महत्वका सम्पदाले पनि केही प्रभाव पार्ने देखिन्छ ।’

‘निर्माणधीन अवस्थामा रहेका सम्पदाबारे पर्यटकले थप जानकारी पनि लिन पाउँछन् । एक हिसाबले सकरात्मक पनि देखिन्छ’ तिवारीले भने, ‘तर कति स्थानमा चाहिँ सम्पदा पुननिर्माणको कार्य अझैपनि शुरु हुन सकेको छैन जस्तै बुङमतीस्थित रातो मछेन्द्रनाथ ।’

उनकाअनुसार पुनर्निर्माण नै हुन नसेकका सम्पदाबारे पर्यटकले जानकारी लिन नपाउने र रुची घट्ने हुँदा सांस्कृतिक सम्पदाका कारण पनि पर्यटकीय क्षेत्रमा केही प्रभाव पर्ने देखिन्छ ।

लक्ष्य पूरा हुन्छ : पर्यटन मन्त्रालय

यसअघि सरकारले सन् २०१९ मा १२ लाख पर्यटक नेपाल आउने अनुमान गरेको थियो । त्यही आधारमा पनि थप ८ लाख पर्यटकलाई नेपाल भित्र्याउनु पर्नेछ ।
संख्यात्मक हिसाबले २० लाख पर्यटक भित्र्याउन चुनौती नरहेको साँस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले जनाएको छ ।

भारत चीन लगायतका देशबाट बढी पर्यटक आउने हुँदा लक्ष्य पुरा गर्न कठिन नहुने र पर्यटक भित्र्एिसँगै नेपालीले रोजगारीको अवसर पाउने मन्त्रालयको अपेक्षा रहेको छ ।

सरकारसँगै निजी क्षेत्रहरुपनि पर्यटन प्रवद्र्धनका लागि अग्रसर रहेको र गुणात्मक पर्यटकको संख्या बढाउन खोजिरहेको मन्त्रालयका सुचना अधिकारी सुरेश आचार्यकाले जानकारी दिए ।

सरकारले भ्रमण वर्ष घोषणसँगै सन् २०२०–२०३० लाई पर्यटक दशकका रुपमा मनाउने घोषणा गर्ने पनि उनले जानकारी दिए ।

‘हामीले सन् २०२० लाई भ्रमण वर्षका रुपमा मनाउने भनेका हौं, यो वर्षभरि पर्यटन प्रवद्र्धनका लागि प्रचारप्रसार गर्ने काम हुनेछ’ आचार्यले खबरहबसँग भने, ‘अर्को वर्षबाट यसको जगमा टेकेर स्ट्राटेजी बनाएर १० वर्षे अभियान चलाउने तयारी गरिरहेका छौं ।’

सरकारले यसअघि पर्यटीय गन्तव्यका रुपमा देशभरका सय वटा स्थानलाई घोषणा गरिसकेको छ ।

आकर्षक गन्तव्य सरकारले छुटाइसकेको र पर्यटन प्रवद्र्धनका लागि प्रचारप्रसार गर्ने काम स्थानीय सरकारको रहेको उनले बताए ।

उद्घाटन कार्यक्रममा मात्र ५ करोड !

उद्घाटन समारोहका लागि सरकारले ५ करोड ३ लाख ८५ हजार रकम खर्च गरेको छ ।

भ्रमण वर्ष २०२० मुल आयोजक समितिले २ करोड रुपैया छुट्याएको थियो । सो बजेटले नपुग्ने भएपछि थप बजेटको व्यवस्था गर्दै ५ करोड ८५ लाख रुपैयाँ पुर्‍याइएको हो ।

सरकारले भ्रमण वर्षका लागि ६१ करोड ७४ लाख रुपैयाँ बजेट स्वीकृत गरिसकेको छ । पर्यटनलाई नेपालको अर्थतन्त्रको प्रमुख आधार मध्येको एक बनाउने सरकारको लक्ष्य छ ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  १० : ०५ बजे

दक्षिण कोरियाले गर्‍यो पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण

सोल– सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा

यस्तो छ १६ औँ योजनाको मस्यौदा (पूर्णपाठ)

सरकारले १६ औँ योजनाको मस्यौदा ल्याएको छ । उक्त योजनाको

राष्ट्रिय चलचित्र पुरस्कारका लागि बोर्डले माग्यो आवेदन

काठमाडौं– चलचित्र विकास बोर्डले २४औं वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा राष्ट्रिय

चुरेमा छवटा सिँचाइ योजनाको काम सुरु

गोदावरी– कैलालीको पहाडी भेगमा पर्ने चुरे गाउँपालिकामा छवटा सिँचाइ योजना

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं– त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण र