नेपाललाई भूजडित मूलुक बनाउने चिनियाँ घोषणा कागजमै सीमित ! (भिडियोसहित) « Khabarhub
Logo
९ आश्विन २०७८, शनिबार

नेपाललाई भूजडित मूलुक बनाउने चिनियाँ घोषणा कागजमै सीमित ! (भिडियोसहित)

कोभिडको निहुँमा नियन्त्रण, नेपालको निर्यात ठप्प



सिन्धुपाल्चोक- नेपालमा नयाँ संविधान जारी भएसँगै बनेको केपी ओली नेतृत्वको तत्कालीन सरकारले नेपालसँग सीमा जोडिएको उत्तरी नाका खोल्न विशेष पहल गर्‍यो । सोही अनुरूप नेपाल र चीन सरकारबीच चिनियाँ बन्दरगाह भएर तेस्रो मुलुकबाट समेत सामान आयात र निर्यात गर्न पाउने गरी पारवहन सम्झौता भयो ।

सम्झौतासँगै नेपाल भूपरिवेष्ठित मुलुकबाट भूजडित मुलुकमा रूपान्तरण भएको घोषणा समेत भयो । गत वर्ष नेपाल भ्रमणका चिनियाँ राष्ट्रपति सी चिनफिङले समेत नेपाललाई भूजडित मुलुक बनाउने घोषणा गरेका थिए । व्यवहारमा भने त्यस्तो देखिएन । तेस्रो मुलुकबाट सामान आउने कुरा त धेरै परको, नेपाललाई सीमावर्ती चिनियाँ बजारबाट समेत सामान ल्याउन सहज भएको छैन ।

नेपाल र चीनबीच सन् २०१६ मार्च २१ मा पारवहन ढुवानी सम्झौतामा हस्ताक्षर भएको थियो। उक्त सम्झौतासँगै चीनको भूमि हुँदै नेपालले पारवहन अधिकार उपयोग गर्न पाउने र नेपालको निर्यात बढाउँन मद्धत मिल्ने नेपालको अपेक्षा थियो। सम्झौता कर्यान्वयन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीको चीनको राजकीय भ्रमणका बेला सन् २०१९ अप्रिल २९ मा पारवहन सम्बन्धी प्रोटोकलमा हस्ताक्षर भएको थियो ।

प्रोटोकलको दफा १५ मा उल्लेख गरिए अनुसार कार्यान्वयनका लागि दुवै देशले एक अर्कालाई सूचना दिएको ठीक एकमहिना पछि प्रोटोकल कार्यान्वयन हुने व्यवस्था थियो । आन्तरिक तयारीको सूचना आदानप्रदान अनुसार चीनले केही ढिला गरी सूचना दिएपनि यही वर्ष जनवरी १ तारिखबाट प्रोटोकल कार्यान्वयनमा आउनुपर्ने भएपनि अहिलेसम्म नेपालले लाभ लिन पाएको छैन।

भिडियो हेर्नुहोस् 

प्रोटोकल अनुसार चीनले नेपाललाई चार खुला सामुद्रिक तथा तीन खुला सुख्खा बन्दरगाह प्रयोग गर्न स्वीकृति दिएको थियो। नेपालले स्वीकृत पाएका सामुद्रिक बन्दरगाहहरूमा सेन्जेन, तियान्जिन, झान्जियाङ्ग र लिआनयानग्याङ्ग छन् भने सुख्खा बन्दरगाहहरूमा ल्हासा, लान्जाउ र सिगात्से छन् । पारवहन ढुवानीका लागि नेपालले चीनका ६ वटा सीमा बन्दरगाहहरू प्रयोग गर्न पाइने व्यवस्था छ । नेपालले रसुवा–जिलोङ्, कोदारी–जाङ्मु, किमाथाङ्का–छेन्ताङ्, नेचुङ्–लिजी, यारी–पुलान तथा ओलाङ्चुङ्गोला–रिउ बन्दरगाहहरू प्रयोग गर्न पाउने भएपनि औपचारीक प्रयोगमा आएको छैन ।

रसुवा र तातोपानी नाकामार्फत मात्र आयात/निर्यात हुने गरेपनि यसमा समेत अवरोध पुर्‍याइएको छ। सम्झौताअनुसार नेपालमा दर्ता भएका सवारी साधनले चीनबाट समेत अनुमति लिई पारवहन ढुवानीका लागि सिगात्सेसम्म आवतजावत गर्न पाउने व्यवस्था छ। त्यस्तै नेपालले सडकबाहेक चीनको रेल्वे, बन्दरगाह, आन्तरिक जलमार्गलगायत अन्य ढुवानीका विधि समेत प्रयोग गर्न पाउने सम्झौतामा उल्लेख छ।

चीनसँगको मुख्य नाका तातोपानीको बेहाल

२०७२ सालको विनाशकारी भूकम्पअघिसम्म चीनसँगको मुख्य नाका सिन्धुपाल्चोक जिल्लाको तातोपानी नाकाको अवस्था अहिले बेहाल छ । औपचारीक रूपमा नाका खुलेको घोषणा भए पनि चीनबाट पर्याप्त सामान नआउँदा नाका ठप्प जस्तै छ ।

तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीका अनुसार चीनबाट फाटफुटमात्र सामान भत्रिने गरेको छ । खत्री भन्छन्, ‘अहिले दैनिक ४ देखि ८ वटा मात्र चिनियाँ गाडीहरू आइरहेका छ । केही दिनअघिसम्म दैनिक ३-४ वटा मात्र गाडी आउँथे । नाका खुला भनिए पनि सहज छैन ।’ उनका अनुसार नेपालतर्फका कामदार बेरोजगार जस्तै छन् ।

आफ्नोतर्फको तयारी पूरा नभएको भन्दै चिनियाँ पक्षले मानिस आउजाउ गर्न नदिएको अधिकारीहरूको भनाइ छ । नाकामा चिनियाँ पक्षले भनेका सबै सर्तहरू मान्दा पनि उताबाट सामान नआएको कार्यालय प्रमुख खत्री बताउँछन् । कोभिड संक्रमणको जोखिम न्युनीकरणका लागि नयाँ मापदण्ड तयार गरी तातोपानी नाका खोलिएको छ ।

नयाँ मापदण्डअनुसार काम गर्न नेपालतर्फको भन्सारमा २५ वटाभन्दा बढी चिनियाँ कन्टेनरबाट नेपाली कन्टेनरमा समान राख्न सक्ने तयारी गरिएको छ । एक चिनियाँ कन्टेनर सामानले नेपालतर्फका दुईदेखि तीन वटासम्म कन्टेनर भरिन्छन् । पूर्ण क्षमतामा सामान आयात हुने हो भने दैनिक ५० भन्दा बढी नेपाली कन्टेनर आउन सक्छन् । अहिले दैनिक ३ देखि ४ वटा मात्र कन्टेनर चीनतर्फबाट आएका छन् ।

तातोपानी नाका गत दशैँअघि नै पूर्णरूपमा सुचारु हुने भनिए पनि चिनियाँ पक्षले दैनिक दुई–चारवटा ट्रक मात्र नेपाल प्रवेशमा अनुमति दिने गरेको छ ।

भन्सारलगायत सम्बन्धित निकायबाट नाका सञ्चालनकको प्रयास गरिए तापनि चिनियाँ पक्षबाट कुनै ठोस जानकारी, कारण तथा सूचना छैन ।

चिनियाँ पक्षले पर्याप्त सामग्री नपठाँउदा नेपाली व्यवसायी भने मारमा परेका छन् । चिनियाँ पक्षले सुरक्षाको कारण देखाउँदै थोरै सामान पठाउँदा समयमा सनाग्री आउन नसकेको नेपाल-चीन वाणिज्य संघ, सिन्धुपाल्चोकका अध्यक्ष जाङ्बु शेर्पाको भनाइ छ ।

खबरहबसँग कुरा गर्दै शेर्पाले भने, ‘चिनियाँ पक्षले स्वास्थ्य सुरक्षाको कारण देखाउँदै थोरै सामग्री पठाउँदा व्यवसायीहरू मर्कामा परेका छन् ।’ हुन पनि स्याउलगायतका सामग्री कुहिन थालेका छन् ।

यता नेपाल-चीन हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष बच्चु पौडेल १० महिनादेखिको समस्याका कारण झण्डै २० अर्ब रुपैयाँ बराबरका सामग्री चीनतर्फ थन्किएको बताउँछन् । उनी भन्छन्, ‘दैनिक ३० देखि ४० वटा कन्टेनर आउनुपर्ने भए पनि अहिले चीनतर्फ रसुवा र तातोपानी नाकाबाट गरी ७-८ वटा मात्र कन्टेनर आएका छन् । अर्बौं मूल्यका हाम्रा सामान उतै रोकिएका छन् ।’

नेपाल-चीनबीचका दुईवटै नाका लामो समयदेखि पूर्णरूपमा चल्न नसक्दा व्यवसायी पलायन हुन थालेका छन् ।

तातोपानी भन्सार कार्यालयको तथ्याङ्कअनुसार २०७२ को भूकम्पपछि चार वर्ष बन्द भएर नाका खुलेयताको ११ महिनामा तातोपानी नाका भएर चीनबाट आठ अर्ब २० करोड रुपैयाँ मूल्यका सामग्री नेपाल आयात भएको देखिन्छ । भूकम्पअघि भन्सारले वार्षिक १५ अर्बको आयात र पाँच अर्बको निर्यात गरेर झण्डै चारदेखि पाँच अर्व रुपैयाँ राजस्व असुली गर्थ्यो।

चीनले सीमा बन्द गर्दा नेपालको चीनसँगको व्यापारमा २५ प्रतिशतले गिरावट आएको छ । चालु आर्थिक वर्ष २०७७÷७८ को पहिलो चार महिनाको अवधिमा नेपालको चीनसँगको व्यापार एक वर्षको अवधिलाई आधार मान्दा ठूलो गिरावट आएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

विभागको तथ्यांक अनुसार गत आर्थिक वर्षको पहिलो चार महिनामा व्यापारको तुलनामा २५ प्रतिशतले गिरेर ५०८ मिलियन अमेरिकी डलर पुगेको चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाको समाचारमा उल्लेख गरिएको छ । गत आर्थिक वर्षको पहिलो चार महिनामा नेपाल र चीनबीच ६८० मिलियन अमेरिकी डलरको व्यापार भएको थियो ।

नेपालको व्यापार सम्बन्ध रहेका १५६ भन्दा बढी देशहरुमध्ये अधिकांश देशहरुसँग नेपालको व्यापार घाटा छ। नेपालले आफ्नो कुल वैदेशिक व्यापारमध्ये चीनसँग करिब १४ प्रतिशतको हिस्सेदारी रहेपनि व्यापारको २१ प्रतिशत भन्दा कम मात्र नेपाल–चीन नाकामार्फत हुने गरेहको भन्सार विभागको तथ्याङले देखाउँछ। भन्सार विभागका सूचना अधिकारी शिशिर घिमिरे अहिले चीनसँगको व्यापारमा गिरावट आएको बताउँछन् । उनी भन्छन्, ‘सीमा समस्याका कारण नेपालको चीनसँगको व्यापारमा यो साल २५ प्रतिशतले घटेको देखिन्छ ।’

आत्महत्यासम्मको घटना

झन्डै एक वर्षदेखि तातोपानी र केरुङ नाका आंशिकरूपमा मात्रै चलिरहेका छन्। जसले गर्दा नेपाली व्यवसायीले झिकाएका सामग्री अलपत्र परेको नेपाल-चीन उद्योग वाणिज्य संघले जनाएको छ। नाका सुस्त हुँदा व्यापारी-व्यवसायीहरू टाट पल्टिन थालेको र मानसिक चिन्ताले आन्दोलित हुने अवस्थामा रहेको संघले जनाएको छ।

मालसामान समयमा नेपाल ल्याई बेच्न नसक्दा व्यवसाय नै धराशायी भई पलायन हुनुपर्ने अवस्था रहेको भन्दै संघले विज्ञप्ति नै जारी गरेको थियो । लामो समयसम्म सामान रोकिँदा व्यवसायीले आत्महत्यासम्म गरेको घटनासम्म बाहिर आएका छन् । काठमाडौंको पेप्सीकोला बस्ने एक व्यापारीले झुन्डिएर आत्महत्या गरे । चीनबाट आयात गरिएको सामान लामो समय बाटोमै अड्किएपछि व्यापार ठप्प हुँदा उनी आत्महत्या गर्नुपर्ने अवस्थामा पुगेको व्यापारीहरूको भनाइ ।

तातोपानी र रसुवागढी दुबै नाकाबाट सामान जाँचपास गराउन चिनियाँ एजेन्टले घुस माग्न थालेको गुनासो समेत भन्सार कार्यालयमा आउन थालेको छ । सहजरूपमा सामान आउन नसक्दा ढुवानी खर्चमा अस्वभाविक वृद्धि भएको छ । व्यापारिक कारोबार नभएपछि नाकासँग आबद्ध ५ हजारभन्दा बढी मजदुरको रोजीरोटी गुमेको छ ।

यस्तो छ तातोपानी नाकामा अवरोध शृङ्खला

चिनियाँ नाकाको अवरोध शृंखलाका कारण गत माघदेखि सरकारी अधिकारी, भन्सार प्रशासन र व्यवसायीहरू आजित छन् । यसबीचमा तातोपानी नाका पटकपटक बन्द हुने र खुल्ने क्रम चलिसकेको छ ।

भूकम्पपछि बन्द भएको तातोपानी नाका लामो कूटनीतिक प्रयासपछि २०७६ जेठ १५ गतेदेखि खुलेको थियो । माघ १३ गतेदेखि फेरि बन्द भयो र चैत २७ गतेदेखि एकतर्फीरूपमा खोलिएको थियो । चिनियाँ हिमताल फुटेर भोटेकोशी नदीमा बाढी आउनसक्ने भन्दै फेरि असार पहिलो साता नाका फेरि बन्द गरियो ।

त्यसपछि एकैपटक गत असोज ३० गते नाका खुला गरे पनि एकजना कामदारमा कोरोना पोजेटिभ देखिएपछि फेरि बन्द भयो । लामो प्रयासपछि कात्तिक १३ गतेदेखि नाका खुलेको छ । अहिले पनि दुईवटा नाकाबाट दैनिक ८ देखि १० वटाभन्दा बढी कन्टेनर नेपाल भित्रिन सकेको छैन ।

सीमा नाकामा अवरोध भइरहँदा परराष्ट्र मन्त्रालय भने मौन देखिएको छ । मन्त्रालयकी प्रवक्ता सेवा लम्साल भन्छिन्, ‘हामीले कूटनीतिक पहल गरेर चीनसँग सीमा जोडिएका तातोपानी र रसुवा नाका खुलाउने व्यवस्था मिलाएका हौँ । सोही अनुरुप नाकाबाट सामान आउन सुरु गरेको पनि हो तर कति सामान आयो, आएन कस्तो अवस्था छ भन्ने जानकारी छैन ।’

भूराजनीतिक विश्लेषक अरुणकुमार सुवेदीका अनुसर चीनले नेपालसँग रणनीतिक प्रयोग गर्नमात्र रसुवा र तातोपानी नाका खुला गरेको छ । सुवेदी भन्छन्, ‘चीनले नेपालसँगको नाका औपचारीकरूपमा खोल्ने घोषणा गरे पनि फाटफुटमात्र सामान पठाउनु भनेको उसले रणनीतिक रूपमा नेपाललाई प्रयोग गर्नमात्र आफू अनुकुल नाका खोलेको हो भन्ने बुझ्न सकिन्छ ।’

यसबाहेक सीमा क्षेत्रमा सहजरूपमा आउजाउका लागि पनि उसले नाकाको प्रयोग गरिरहेको सुवेदी बताउँछन् । अहिले सामान कम आउनुमा चाहिं अक्टुबर पछिको मौसम र त्यहाँको भूबनोटका कारण पनि भएको उनको तर्क छ ।

फाटफुट आयात भएपनि निर्यात ठप्प

चीनले झन्डै एक वर्षदेखि नेपालबाट स्थलमार्गमार्फत हुने निर्यात रोकेको छ। कोभिड–१९ लाई कारण देखाउँदै चीनले एकतर्फी नाका सञ्चालन गर्दा उत्तरी नाकाबाट हुने नेपालको निर्यात ठप्प भएको हो। तातोपानी नाकाबाट गत कात्तिकदेखि र रसुवा नाकाबाट गत माघदेखि निर्यात भएको छैन। आयात पनि आंशिक मात्रै हुँदै आएको छ।

गत आर्थिक वर्षको माघसम्ममा रसुवा नाका हुँदै नेपालले ५८ करोड २३ लाख रुपैयाँबराबरको वस्तु निर्यात गरेको थियो। त्यसयता रसुवाबाट निर्यात शून्य छ । त्यस्तै, गत आर्थिक वर्षको कात्तिकसम्ममा तातोपानी नाकाबाट नेपालले १३ करोड ७६ लाख रुपैयाँबराबरको वस्तु निर्यात गरेको थियो। त्यसपछि तातोपानी नाकाबाटसमेत निर्यात शून्य रहेको भन्सार विभागको तथ्यांक छ ।

नाका दुईतर्फी सञ्चालनका लागि नेपालले बारम्बार आग्रह गरे पनि कोरोना संक्रमणको जोखिम देखाउँदै चीनले अस्वीकार गर्दै आएको भन्सार विभागले बताएको छ ।

१ वर्षमा झण्डै २ अर्ब ब्यापार घाटा

भन्सार विभागको तथ्याङ्कअनुसार नेपालमा हुने कुल निर्यातमा चिनियाँ नाकाको हिस्सा ०.७४ प्रतिशत छ । चिनियाँ नाकाबाट हुने कुल आयातको हिस्सा भने ३.०१ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७६/७६ मा नेपालले चीनबाट कुल १ खर्ब ८१ अर्ब ९२ करोड रुपैयाँबराबरको सामग्री आयात गर्दा १ अर्ब १९ करोड ११ लाख रुपैयाँबराबरको निर्यात गरेको छ। यस अवधिमा नेपालले कुल १ खर्ब ८० करोड ७२ लाख रुपैयाँको व्यापार घाटा व्यहोरेको छ।

सोही आर्थिक वर्षमा चिनियाँ नाका हुँदै नेपालमा ३६ अर्ब १८ करोड ५७ लाख रुपैयाँबराबरको सामग्री भित्रिएको छ । यसमध्ये रसुवा नाकाबाट कुल २६ अर्ब ६४ करोड ८१ लाख रुपैयाँबराबरको सामग्री आयात भएको हो । त्यस्तै, तातोपानी नाकाबाट ९ अर्ब ५३ करोड ७६ लाख रुपैयाँ आयात भएको थियो ।


भर्खर

0