नेपाली कांग्रेसमा सभापतिको गरिमा | Khabarhub Khabarhub

नेपाली कांग्रेसमा सभापतिको गरिमा



१३औँ महाधिवेशनको पूर्वसन्ध्यामा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि एउटा प्रस्ताव लिएर सभापति पदका उम्मेदवार रामचन्द्र पौडल समक्ष पुगे । उनको प्रस्ताव थियो– यसपटक शेरबहादुरजीलाई छाडिदिनोस्, तपाईंलाई प्रधानमन्त्री बनाउने जिम्मा उहाँको हुनेछ । लिखित प्रतिबद्धता चाहिन्छ भने पनि उपलव्ध गराउन तयार छु । पार्टी सभापति बन्ने भनेको पनि प्रधानमन्त्री हुनकै लागि हो, सिधै प्रधानमन्त्री बन्नोस् ।

निधिको यो प्रस्ताव पौडेलले ठाडै अस्वीकार गरे । उनले जवाफ दिए– प्रधानमन्त्रीको कुर्सीभन्दा नेपाली कांग्रेसको सभापतिको कुर्सीको गरिमा माथि छ ।

पौडेललाई मनाउन निधि असफल भएपछि देउवा आफैँले प्रयास गरे । देउवाले पौडेललाई भेटेर भने– म तीनपटक प्रधानमन्त्री भइसकेँ । मलाई अब प्रधानमन्त्रीको रहर छैन । अब तपाईं प्रधानमन्त्री भएको देख्ने चाहना छ । म एकपटक त पार्टी सभापति हुनै पर्‍यो ।

नेपाली कांग्रेसका सबै सभापतिहरू राजनीतिक युग परिवर्तनको संवाहक बनेका छन् । प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला संस्थापक सभापति हुन् । उनकै मार्गदर्शनमा यतिबेला मुलुकका प्रायः सबै हिँडेका छन् ।

देउवाको प्रयास पनि असफल भयो । पौडेलले भने– मलाई प्रधानमन्त्री पदभन्दा सभापति पद नै महत्वपूर्ण छ । बरु तपाईं नै प्रधानमन्त्री बन्नोस् । सभापतिमा मलाई छाडिदिनोस् ।

तीनपटक प्रधानमन्त्री भइसकेका देउवाका लागि पार्टी सभापति पद जीवनमरणको प्रश्न थियो । एकपटक पनि सभापति पदमा नपुगी राजनीतिक जीवन सिद्धिने हो कि भन्ने त्रासका कारण पनि देउवाले १३औँ महाधिवेशनमा धेरै ठूलो ताकत प्रयोग गरे । जोसँग जे सम्झौता गर्दा आफूलाई मत प्राप्त हुन्छ, त्यही त्यही गरे । चुनाव जितेपछि सम्झौता कार्यान्वयन गर्न सम्भव हुन्छ कि हुँदैन भन्ने प्रश्न थाती राखे । आखिर चुनाव पनि जिते ।

पदबहालीका क्रममा मिडियासँग कुरा गर्दै देउवाले भने– यति ठूलो गौरव र जिम्मेवारी बोध प्रधानमन्त्री पद बहाली गर्दासमेत मलाई भएको थिएन । बीपी कोइराला, सुवर्णशमशेर, किसुनजी, गिरिजाबाबु बसेको कुर्सीमा बस्ने अवसर पाएको छु । मुलुकमा प्रधानमन्त्री त कति बने बने तर कांग्रेसको सभापतिको जिम्मेवारी लिनेहरू अमर छन् ।

हुन पनि नेपाली कांग्रेसका सबै सभापतिहरू राजनीतिक युग परिवर्तनको संवाहक बनेका छन् । प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला संस्थापक सभापति हुन् । उनकै मार्गदर्शनमा यतिबेला मुलुकका प्रायः सबै हिँडेका छन् ।

मातृकाप्रसाद कोइराला सभापति हुँदा २००७ सालको जनक्रान्ति सम्पन्न भयो । नेपाल एकीकरणपछि २००७ सालको जनक्रान्तिले १०४ वर्षको राणा शासन अन्त्य गरेर राजनीतिक युग परिवर्तन गरेको थियो ।

सुवर्णशमशेर राणा २००७ सालको परिवर्तनका महासेनानी थिए । उनकै नेतृत्वमा नेपाली कांग्रेसले समाजवादको सिद्धान्त अङ्गीकार गरेको हो । कृष्णप्रसाद भट्टराईको कार्यकालमा पञ्चायती व्यवस्था समाप्त भई संसदीय प्रजातन्त्र पुनर्वाहाली भयो । २०४६ सालको परिवर्तन पनि नयाँ युगको सुरुवात थियो ।

शेरबहादुर देउवा सभापतिको कुर्सीमा पुगेयता मुलुकको राजनीतिमा नेपाली कांग्रेसको भूमिका दिन गनेर कमजोर हुँदै गएको छ । यतिसम्म कि संसदको अधिवेशन बोलाउन आवेदन दिनसक्ने हैसियत समेत विपक्षी दल कांग्रेसमा छैन ।

गिरिजाप्रसाद कोइरालाको कार्यकालमा मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भई २४० वर्ष पुरानो राजतन्त्र समाप्त भयो । उनकै नेतृत्वमा जनआन्दोलन २०६२/६३ को परिवर्तनले मुलुकमा नयाँ युग ल्यायो । यो परिवर्तन संस्थागत गर्ने काम सुशील कोइरालाको पालामा भयो ।

पहिलो संविधानसभा असफल हुनु र दोस्रो संविधानसभाको निर्वाचनपछि जब सुशील कोइराला प्रधानमन्त्री बने दुई वर्षभित्रै संविधान जारी हुनु संयोग मात्रै थिएन ।

कांग्रेसका अहिलेसम्मका सभापतिहरूले निर्वाह गरेको ऐतिहासिक भूमिका र उनीहरूले छाडेको बिरासतलाई देउवाले निरन्तरता देलान् कि, टुटाउलान् भन्ने प्रश्नको सेरोफेरोमा १३औँ महाधिवेशन सम्पन्न भएलगत्तै धेरै बहस भएको थियो ।

कांग्रेसका अहिलेसम्मका सभापतिहरूको इतिहास प्रष्ट छ । फलानो सभापति हुँदा मुलुकले यो यो उपलव्धि हासिल गर्‍यो भन्ने कुरा बीपीदेखि सुशीलको पालासम्म स्वर्ण अक्षरले लेखिएको छ ।

सुशीलसम्मका सबै सभापतिहरूले ऐतिहासिक काममात्रै गरेनन्, कांग्रेसलाई मुलुकको सबैभन्दा ठूलो हैसियत भएको पार्टी पनि बनाए । कांग्रेसलाई मुलुकको राजनीतिक मियो बनाए । अरू पार्टीलाई कांग्रेस वरिपरि फनफनी घुमाए ।

शेरबहादुर देउवा सभापतिको कुर्सीमा पुगेयता मुलुकको राजनीतिमा नेपाली कांग्रेसको भूमिका दिन गनेर कमजोर हुँदै गएको छ । यतिसम्म कि संसदको अधिवेशन बोलाउन आवेदन दिनसक्ने हैसियत समेत विपक्षी दल कांग्रेसमा छैन ।

सभापतिका रूपमा देउवाको नियमित कार्यकाल सकिएको एक वर्ष पुग्नै लागेको छ । महाधिवेशन गराउने प्रयोजनका लागि थपिएको एक वर्षको कार्यकाल गुज्रिनै लागेको छ । कांग्रेसको बिरासत देउवाको यो कार्यकलमा भङ्ग भएको छ ।

यतिबेला देउवाको मुख्य चिन्ता एउटै विषयमा छ । त्यो के हो भने, नेपाली कांग्रेसको सबैभन्दा नालायक सभापतिको इतिहास बनाएर बिदा लिने कि फेरि एकपटक सभापति बनेर आफ्ना पूर्वजहरूको बिरासत बचाउने । तर, दोहोरिएर सभापति भए भने उनले कांग्रेसलाई आफ्ना अग्रजहरूले जस्तै मुलुकको मियो पार्टी बनाउन सक्लान् ॽ अग्रजहरूले झैँ आफ्नो नाम इतिहासको पानामा स्वर्ण अक्षरले लेखाउन सक्लान् ॽ

देउवाले कार्यकर्ताहरूका उपर्युक्त जिज्ञासाहरूमा विश्वास दिलाउन सक्नुपर्छ । अवसरकै कुरा गर्ने हो भने देउवाले जति अवसर कांग्रेसमा अहिलेसम्मका कुनै पनि नेताले पाएन । २०५२ देखि २०७४ सालसम्म २२ वर्षको अवधिमा देउवा चारपटक प्रधानमन्त्री बने ।

यति लामो अवसर कांग्रेसका कुनै सभापतिले पाएनन् । बीपी कोइरालाले एकपटक, त्यो पनि १८ महिना मात्रै अवसर पाए । सुवर्णशमशेरले एक वर्षमात्रै अवसर पाए । कृष्णप्रसाद भट्टराईले दुईपटक गरी डेढ वर्ष अवसर पाए । सुशील कोइरालाले पनि पुगनपुग दुई वर्षमात्रै अवसर पाए । अलिक लामोमा गिरिजाप्रसादले पनि २०४८ देखि २०६४ अर्थात करिब १६ वर्षमात्रै अवसर पाए । देउवाले त २२ वर्ष पाए !

प्रधानमन्त्रीका रूपमा देउवाका चारवटै कार्यकालमा उपलव्धिभन्दा कलंकको भारी बढी भयो । पहिलोपटक २०५२ भदौदेखि २०५३ फागुनसम्म १८ महिना प्रधानमन्त्री हुँदा देउवाले आफ्नो पद जोगाउन अवलम्बन गरेका उपायहरूले कांग्रेसको साख कतिसम्म घटाएको थियो भन्ने कुरा २०५४ सालको स्थानीय निर्वाचनको परिणामले देखाइदियो ।

संसदीय व्यवस्था बद्नाम भएको यसै बेलादेखि हो । सांसदहरूलाई प्राडो र पजेरो सुविधा दिएर भ्रष्ट बनाएको र मन्त्रीहरूलाई सामूहिकरूपमा बैंकक पठाउएको लगायतका आरोप प्रधानमन्त्री देउवामाथि लाग्यो । त्यतिबेला भारतसँग गरिएको महाकाली सन्धि अर्को कलंकका रूपमा खडा छ । दोस्रोपटक २०५८ साउनदेखि २०५९ असोजसम्म प्रधानमन्त्री हुँदा देउवाले आफ्नो पद लम्ब्याउन संसदीय व्यवस्था नै समाप्त गरिदिए । आफ्नो पद धरापमा पर्न लागेपछि प्रतिनिधिसभा नै विघटन गराइदिए । प्रतिनिधिसभाको अर्को निर्वाचन गराउन सकेनन् ।

संसदीय व्यवस्थालाई नै साध्य मान्ने पार्टी नेपाली कांग्रेसको प्रधानमन्त्रीले भएको संसद पनि विघटन गरी मुलुकलाई संसदविहीनताको अवस्थामा राख्ने कदम चाल्नु सामान्य घटना थिएन । तेस्रोपटक त उनी राजाको मनोनित प्रधानमन्त्री बन्न पुगे, जुन प्रावधान छँदै संविधानमा थिएन । २०१७ सालको कदमपछि तुल्सी गिरिले जे गरेका थिए, देउवाले लगभग त्यही गरे ।

जतिपटक प्रधानमन्त्री भयो त्यति नै पटक लोकतन्त्रको हुर्मत लिएको नेतालाई फेरि प्रधानमन्त्री बनाउने गरी नेपाली कांग्रेसलाई भोट हाल्न नयाँ पुस्ता तयार होला ?

चौथोपटक प्रधानमन्त्री बन्न देउवाले माओवादीसँग न्यायपालिका नै समाप्त गर्ने सम्झौता गरे । अवकाश हुन एक महिनामात्रै बाँकी रहेकी प्रधानन्यायधीश सुशीला कार्कीमाथि महाअभियोगको प्रस्ताव दर्ता गराए । त्यो पनि आफ्ना नातेदारलाई कानून विपरीत प्रहरी महानिरीक्षक बनाउन नपाएको झोँकमा । कानुन मिच्न नपाएकै कारण प्रधानन्यायाधीशलाई अपदस्थ गर्ने काम त विश्वका मै हुँ भन्ने तानाशाहहरूले पनि कमैले मात्रै गरेका छन् ।

यस्तो पृष्ठभूमि भएका देउवालाई कांग्रेसका कार्यकर्ताहरूले फेरि सभापति बनाउने आँट गर्लान् ॽ आँट गरिहाले भने देउवालाई पाँचौँपटक प्रधानमन्त्री बनाउन जनताले कांग्रेसलाई मतदान गर्लान् ॽ अनेक यक्ष प्रश्न खडा छन् ।

स्थानीय चुनाव आउन डेढ वर्ष पनि बाँकी छैन । आमचुनाव आउन दुई वर्ष जति बाँकी छ । अब कांग्रेसमा जो सभापति बन्छ उसैको मुख हेरेर जनताले मतदान गर्ने हुन् । देउवा पहिलोपटक प्रधानमन्त्री हुँदा जन्मेकाहरू आगामी आम निर्वाचनमा प्रधानमन्त्री बन्न उमेरले योग्य भइसकेका हुनेछन् । आफू जन्मनुअघिदेखि नै प्रधानमन्त्री हुँदै आएको र जतिपटक प्रधानमन्त्री भयो त्यति नै पटक लोकतन्त्रको हुर्मत लिएको नेतालाई फेरि प्रधानमन्त्री बनाउने गरी नेपाली कांग्रेसलाई भोट हाल्न नयाँ पुस्ता तयार होला ?

यस्ता प्रश्नको विश्लेषण गरेर मात्रै देउवाले फेरि सभापति पदको उम्मेदवार हुने कि नहुने भन्ने निर्णय गर्नु उचित हुनेछ ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  ८ : ३४ बजे

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक

१६ औं योजना : महिला तथा बालबालिका कति प्राथमिकतामा ?

काठमाडौं – राष्ट्रिय योजना आयोग १६औं आवधिक योजना सार्वजनिक गर्ने