भूसको आगो जस्तै फैलिँदो नेटवर्किङ धन्दा « Khabarhub
Logo
११ माघ २०७७, आइतबार

भूसको आगो जस्तै फैलिँदो नेटवर्किङ धन्दा

जान्ने बुझ्ने ठानिएका प्रतिष्ठित व्यक्ति नै संलग्न



काठमाडौँ- नेपालको कानूनले नेपालमा पिरामिड शैलीको नेटवर्किङ व्यवसाय गर्न रोक लगाएको छ । यस्तो नेटवर्किङबाट धेरै नेपाली ठगिने क्रम बढेपछि सर्वोच्च अदालतले २०६८ सालमा गरेको निर्णयअनुसार पिरामिड शैलीको नेटवर्क व्यवसायमा रोक लागेको हो ।

त्यसयता नेटवर्किङ व्यवसायमा संलग्न थुप्रै कम्पनी र व्यक्ति कानूनी दायरामा आइसकेका छन् । तै पनि, नेटवर्किङको ठगी धन्दा भने भित्रभित्रै फस्टाएको पाइएको छ । पहिले खुलारूपमा हुने हुन्थ्यो, अहिले लुकीछिपी हुन्छ । यो धन्दामा अन्तर्राष्ट्रिय गिरोहको संलग्नता पाइएको छ ।

यही असोज १३ गते वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले नेटवर्किङ व्यवसायबाट ठगी गर्ने व्यक्तिलाई पक्राउ गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) लाई पत्र लेखेको छ । विभागले यस्ता २५ वटा कम्पनी र ५० भन्दा बढी व्यक्तिको नाम र सम्पर्क नम्बर प्रहरीलाई बुझाएको छ ।

विभागको वैदेशिक व्यापार नियमन शाखाका निर्देशक शिवराज सेढाईंका अनुसार नेपालमा प्रतिबन्धित नेटवर्किङ व्यवसाय सञ्चालन भइरहेको गुनासोका आधारमा विभागले गरेको अध्ययनका क्रममा २५ कम्पनीले ठगी गरेको खुलेको थियो ।
उनका अनुसार वस्तुको प्रत्यक्ष बिक्री नियमन तथा व्यवस्थापन गर्ने ऐन २०७४ र नियमावली २०७६ ले गरेको व्यवस्थाअनुसार नेटवर्किङ व्यवसायीलाई पक्राउ गर्न प्रहरीलाई भनिएको हो ।

निर्देशक सेढाईंका अनुसार सदस्य बनाएर रकम उठाउने, कम्पनीका वस्तु बिक्री गरेबापत शर्तहरू राख्ने लगायतका कानूनले बर्जित गरेको पिरामिड शैलीका सञ्जालमा काम गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

उनले भने, ‘विभागमा आएका गुनासो र उजुरीको अध्ययन गर्दा २५ वटा कम्पनीले ठगी गरेको देखिएको छ, तिनमा ५० जनाभन्दा धेरै संलग्न भएको पाइएको छ ।’

विभागले कम्पनी रजिष्ट्रारको कार्यालयमा समेत पत्र पठाउँदै २५ कम्पनीका सञ्चालकको नामावली मागेको छ । विभागका अनुसार सबैभन्दा धेरै गुनासो भारतीय कम्पनीबारे आउने गरेको छ । अनुसन्धानकै क्रममा रहेकाले अहिले कम्पनीको र व्यक्तिको नाम गोप्य राखिएको छ । यसअघि पनि विभिन्न समयमा नेटवर्किङ धन्दा गर्ने थुप्रै कम्पनी र व्यक्ति कारबाहीमा परिसकेका छन् ।

नेटवर्किङ ठगीको शृंङ्खला

भारतीय साइन ग्रुप : २०७६ वैशाखमा प्रहरी र राजस्व अनुसन्धानको टोलीले काठमाडौँको दरबारमार्गस्थित याक एण्ड यती होटलमा छापा मारेर १२ जना भारतीय नागरिकलाई पक्राउ गर्‍यो ।

आइबोस ग्लोबल मार्केटिङ : २०७५ जेठमा आइबोस नेटवर्किङ व्यवसायबाट पनि करोडौँ रकम ठगी भएको रहस्य खुलेको थियो ।

क्यूनेट नेटवर्क : २०७४ असारमा प्रहरीले क्यूनेट नामक नेटवर्किङ व्यवसायबाट करोडौँ रकम ठगी भएको ठहर गर्दै १०२ जनालाई पक्राउ गर्‍यो । त्यसमध्ये १४ जनामाथि मुद्दा चलायो । यसमा चिकित्सक, इन्जिनियर र चार्टर्ड एकाउन्टेन्ट समेत सक्रिय थिए ।

हर्बो इन्टरनेसनल : हर्बो इन्टरनेसनल नेटवर्कले पनि हर्बल सामग्री व्यापारको आवरणमा ठगी गरेको खुल्यो । प्रहरीको छापापछि हर्बो इन्टरनेसनल बन्द भयो ।

युनिटी लाइफ : २०६० सालमा युनिटी लाइफ एस्योरेन्सको नाममा उही शैलीको ठगी धन्दा सुरु भयो । युनिटीले बिमा, स्वास्थ्यलगायतको प्रलोभनमा पारेर ३ लाख ५० हजार सदस्यबाट पाँच अर्बभन्दा बढी रकम उठाएर ठगी गरेको रहस्य खुल्यो ।

गोल्डक्वेस्ट : २०६० सालको सुरुतिरै ३५ हजार रुपैयाँ तिरेर सदस्य बने वापत सुनको सिक्का पाउने र धेरै नाफा कमाउने लोभमा नेपालमा गोल्डक्वेस्ट नामको ठगी धन्दा सुरु भयो । भारतीय नागरिकहरूको प्रत्यक्ष संलग्नतामा नेपालमा १० हजार जनाभन्दा बढी ठगिएको खुलेपछि स्थापनाको एक वर्षपछि त्यसमा प्रतिबन्ध लाग्यो ।

विडब्लु विएल, डिएक्सएन लगायत थुप्रै सानातिना नेटवर्किङ गिरोहहरू पनि देखिएका थिए ।

पूर्वप्रहरी र डाक्टरदेखि सिएसम्म संलग्न

नेटवर्किङ व्यवसायमा पूर्वप्रहरीदेखि पूर्व महान्यायाधिवक्तासम्मको संलग्नता रहेको पाइएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागबाट गत असार १७ मा इजाजतपत्र पाएको नेचर हर्ब्स इन्टरनेसनलमा नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआइजी) छवि जोशी उपाध्यक्ष छन् ।

पूर्वडीआइजीसँगै नेचर हर्ब्समा पूर्वमहान्यायाधिवक्ता तथा गण्डकी प्रदेशका पूर्वप्रमुख बाबुराम कुँवर पनि आबद्ध छन् । असार १९ मा इजाजत पाएको नयु विवेक इन्टरप्राइजेज प्रालि (डिएक्सएन नेपाल) का सञ्चालक राप्रपाका केन्द्रीय सदस्य भीमसेन गुरुङ हुन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीको जिम्मेवारी सम्हालिसकेका नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्ल नेटवर्किङ व्यवसायमा प्रतिष्ठित व्यक्तिहरूको संलग्नता हुने गरेको बताउँछन् । उनी भन्छन्, ‘प्रहरीले छापा मारेर पक्राउ गरेका घटना हेर्दा यस्तो धन्दामा चिकित्सक, इन्जिनियर, पूर्वप्रहरी अधिकारीहरू, चार्टर्ड एकाउन्टेन्टलगायत थुप्रै प्रतिष्ठित व्यक्तिहरूको संलग्नता भेटिएको छ ।’

मल्लका अनुसार नेटवर्किङ धन्दामा भारत र मलेसियालगायत अन्तर्राष्ट्रिय गिरोहको समेत संलग्नता देखिएको छ ।

प्रहरीले शृङ्खलाबद्ध उजागर गरेका घटना हेर्दा नेपालमा अझै पनि नेटवर्किङ व्यवसाय गुपचुप चलिरहेको छ । पूर्वएआइजी देवेन्द्र सुवेदी भन्छन्, ‘पटकपटक प्रहरीले पक्राउ गरेको उदाहरण हेर्दा नेटवर्किङ व्यवसाय रोकिएको छैन । अहिले पनि कतिपय समूहले भित्रभित्रै व्यवसाय चलाइरहेका छन् ।’

वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन, २०७४ को दफा ३ मा इजाजतपत्र प्राप्त नगरी वस्तुको बिक्री वा वितरणसम्बन्धी कार्य गर्न नहुने तथा दफा ११ दफामा पिरामिडमा आधारित सञ्जालयुक्त (नेटवर्किङ) व्यवसाय गर्न नपाउने प्रावधान छ ।

यसरी हुन्छ नेटवर्कबाट ठगी

कुनै समूहले कुनै नाममा नेटवर्किङ व्यवसायको योजना बनाएर काम सुरु गर्छ । आफन्त चिनेजानेका व्यक्तिलाई ग्राहक (सदस्य) बनाउँछ । अनि गोप्यरूपमा सञ्जाल फैलिँदै जान्छ । प्रलोभनमा पर्ने व्यक्तिहरू तोकिएको शुल्क तिरेर सदस्य बन्छन् । ती सदस्यले पनि नयाँ सदस्य बनाउँछन् ।

यसरी पिरामिडको तल्लो भागमा सदस्य संख्या बढ्दै जाँदा माथिकालाई कमिसन आउँछ । पिरामिडमा जति माथि पुग्यो, उति नै कमिसन बढ्दै जान्छ । जति बढी सदस्य, उति बढी फाइदा हुन्छ । कमसिन पाउन पिरामिडको निश्चित तहमा पुग्नुपर्छ ।

पूर्वएआइजी सुवेदीका अनुसार, यसरी सदस्य बनाउँदै जाँदा माथिल्लो तहबाट तल्लो तह ठगिँदै जान्छ । यसबाट सीमित व्यक्ति मालामाल हुन्छन् । पिरामिडमा तल्लो तहका धेरैजसो व्यक्ति ठगिन्छन् । नेपालीहरू छोटो समयमा धेरै आर्जन हुने प्रलोभनमा परेर नेटवर्किङमा फस्ने गरेका छन् ।


भर्खर

0