शंकास्पद सुन प्रकरण : प्रहरी नै तस्करका मतियार ! | Khabarhub Khabarhub

शंकास्पद सुन प्रकरण : प्रहरी नै तस्करका मतियार !

अपार्टमेन्ट भाडामा लिएर तस्करी धन्दा



काठमाडौं । नेपालमा सुन तस्करीको जालो विचित्रको छ । सुन तस्करीकै विषयमा वर्षौं अघिदेखि ठूल्ठूला घटना भइरहेका छन् । सुन प्रकरणसँगै जोडिएर प्रहरीका उच्च अधिकृतदेखि जवानसम्म हिरासत पुगिसकेका छन् ।

प्रतिष्ठित व्यापारी, नेता, उच्च घराना समेत विभिन्न घटनामा मुछिएका छन् । सुन तस्करीको चर्चा सडकदेखि सदनसम्मै हुने गर्छ ।

सुन तस्करीसँग जोडिएर आउने घटनाको शृंखला भने रोकिएको छैन । यही साउन गत १३ गते मंगलबार प्रहरीले बरामद गरेको साढे १४ किलो चाँदी र आधा किलो सुन अपरेशन अहिले विवादको घेरामा छ । तस्करी प्रकरणमा प्रहरीकै भूमिका शंकास्पद देखिएपछि अहिले यो विषयमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) नेतृत्वको समितिले अनुसन्धान गरिरहेको छ ।

महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआइजी विश्वराज पोखरेल भन्छन्, ‘सुन बरामद प्रकरणमा अपरेसनमा संलग्न प्रहरीकै भूमिका शंकास्पद देखिएपछि अहिले एसएसपीको नेतृत्वमा छानविन समिति गठन गरेर अनुसन्धान गरिरहेका छौँ । प्रहरीको कमजोरी भेटिएको छ । अनुसन्धान सकिएपछि सत्य तथ्य बाहिर आउँछ ।’

प्रहरीले नै भगाए तस्कर

गत १३ गते बरामद सुन प्रकरणमा घटनाको अपरेसनमा संलग्न प्रहरीकै भूमिका शंकास्पद देखिएको छ । छानविन समितिले गरेको अनुसन्धानमा एकपछि अर्को गर्दै नयाँ पाटो खुल्दै जाँदा प्रहरीकै भूमिकामाथि प्रश्न उठेको हो ।

छानविन समितिका एक सदस्यका अनुसार सुनचाँदी तस्करी समूहका व्यक्ति भगाउन प्रहरीकै हात रहेको खुलेको छ ।

ती सदस्यले भने, ‘महानगरीय प्रहरी वृत्त, दरबारमार्गका प्रहरी जवान बहादुरसिंह कडायत र प्रशन्न श्रेष्ठ अभियुक्त समात्न भन्दा भगाउन लागेको अनुसन्धानबाट पुष्टि भएको छ ।’ उनका अनुसार उनीहरूले नै सामान बोकेको बा६च ५५१९ नम्बरको स्कोर्पियोलाई काठमाडौंको कमलादीबाट पिछा गर्दै सुन्धारामा पुगेर सामान लिए र स्कोर्पियोमा रहेका व्यक्तिलाई भगाए ।

छानविन समितिकै अर्का सदस्य भन्छन्, ‘प्रहरीले नै सामान लिएर भगाएको देखिन्छ । प्रहरीले नै लुकाउन लगाएको एक किलो सुन पनि भेटिएको छ । यसबाट प्रहरीको भूमिका शंकास्पद भएको पुष्टि हुन्छ ।’

घटनामा तस्करहरूले प्रहरीको दुरुपयोग गरेको पूर्वप्रहरी अधिकारीको विश्लेषण छ ।

नेपाल प्रहरीको विशेष ब्यूरोको कमाण्ड सम्हालिसकेका पूर्वडीआइजी हेमन्त मल्ल भन्छन्, ‘यो घटनामा संलग्नहरू बीचमै झगडाको अवस्था देखिन्छ, उनीहरूले नै एकले अर्कोलाई फसाउन प्रहरीको दुरुपयोग गरेको देखिन्छ ।’ घटना सुन र चाँदीसँग मात्र सम्बन्धित नभएर जाली नोट, हतियारलगायतमा पनि सम्बन्धित देखिएको छ ।

मल्लले भन्छन्, ‘यो समूह सुनचाँदीबाहेक जाली नोटको कारोबार र हतियारसँग पनि सम्बन्धित छ । घटना यतिमा मात्र सीमित नभएर योभन्दा माथि अरू गिरोह पनि संलग्न हुनसक्छन्, यसतर्फ पनि प्रहरी अनुसन्धान हुनुपर्छ ।’

अहिले यो प्रकरणमा दुई प्रहरी जवानलाई ‘संगठित अपराध’ मुद्दामा अनुसन्धान थालिएको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले दरबारमार्ग वृत्तमा कार्यरत प्रहरी जवान बहादुर सिंह कठायत र प्रशन्न श्रेष्ठलाई संगठित सुन तस्करी मुद्दामा म्याद थप गरी अनुसन्धान थालिएको बताए ।

उनले भने, ‘अदालतबाट संगठित अपराध मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेका छौँ, अपराधमा जोडिएका अरूलाई पनि त्यही मुद्दामा अनुसन्धान हुन्छ ।’ उनीहरूले सुराकीसँग मिलेर कारोबारीलाई भगाएको आरोप छ ।

यही प्रकरणमा देवान पटेल, विजय पटेल, निलेश पटेल, कौशल पठेल, उमेश श्रेष्ठ, मनिष मल्लिक र सन्दीप गुरुङ नै पक्राउ परिसकेका थिए । घटनापछि महानगरीय प्रहरी वृत्त, दरबारमार्गका डीएसपी रञ्जन दाहाल पनि प्रहरी प्रशिक्षण प्रतिष्ठानमा तानिएका छन् ।

मुख्य अभियुक्त फरार

सुन्धाराबाट गायब भएको बा६च ५५१९ स्कोर्पियो गाडी दुई दिनपछि ललितपुरको नखिपोटमा बरामद भएको छ । गाडी धनी भनिएका बाराका इल्ताफ हुसेन अन्सारी फरार छन् । छानविन समितिको प्रारम्भिक निष्कर्ष अनुसार सुन प्रकरणका मुख्य नाइके इल्ताफ हुसेन अन्सारी नै हुन् । संलग्न अन्य व्यक्ति भने पक्राउ परेका छन् ।

इल्ताफ यसअघि नक्कली भारतीय नोट कारोबारमा जेल परेका व्यक्ति हुन् । प्रहरी अनुसन्धान अनुसार उनी नक्कली नोट कारोबार गिरोहका नाइके भनिएका युनिस अन्सारी समूहका सदस्य पनि हुन् । उनलाई २०६७ जेठ २६ गते ललितपुर जिल्ला अदालतले नक्कली भारु कारोबारमा दोषी ठहर गर्दै कैद र जरिवाना सुनाएको थियो ।

उनी जेलबाट छुटेपछि सुन तस्करीलगायत अवैध धन्दामा लागेको प्रहरीको निष्कर्ष छ । उनी भारतीय प्रहरीको पनि ‘मोस्ट वान्डेट’ सूचीमा छन् ।

भारतीय सञ्चारमाध्यममा बेला बेलामा आउने गरेको समाचारअनुसार भारतको राजस्थानमा नक्कली दिएर ठगी गर्ने प्रवृत्ति बढ्दै गएको छ । सोही अनुरूप नक्कली सुन बनाई भारततर्फ लैजाने तयारी रहेको प्रहरी अधिकारीहरू बताउँछन् ।

तस्करी गर्न अपार्टमेन्ट नै भाडामा

छानविन समितिका एक सदस्यका अनुसार इल्ताफ हुसेन अन्सारीको समूहले तस्करी गर्न ६ महिनायता काठमाडौंको कमलपोखरीमा एउटा अपर्टमेन्ट नै भाडामा लिएको खुलेको छ ।

ती अधिकारी भन्छन्, ‘ठग समूहले कमलपोखरी अपार्टमेन्ट–२ बी, मासिक १ लाख रुपैयाँ भाडा तिर्ने गरी लिएको अनुसन्धानबाट देखिएको छ ।’ उनका अनुसार, अपार्टमेन्टको भाडा भारतीय सुन कारोबारी निलेश सखियाले ६० प्रतिशत र सञ्जयले ४० प्रतिशत तिर्दै आएका । ठग भारतीय समूह सुनको घटना बाहिरिनुभन्दा ठीक १२ दिनअघि मात्र नेपाल आएका थिए ।

जलपको ज्याला नपाउँदा बाहिरियो घटना

सुरुमा भारतीय ठग समूहले काठमाडौंको न्यूरोडमा सुन चाँदी व्यवसाय गर्ने देवान पटेलसँग ५६ लाख रुपैयाँमा साढे १४ किलो चाँदी किने । त्यसमा सुनको जलप लगाउन लगाए । भारतीय नागरिक नै रहेका देवानले पनि उनीहरूले भनेबमोजिम चाँदीमा सुनको जलप लगाएर ठ्याक्कै सुन जस्तै बनाइदिए ।

सुन प्रकरण छानविन समितिका एक सदस्यका अनुसार भारतको ठग समूहले देवानलाई जलप लगाएको पैसा दिएन । पैसा नपाएपछि देवान र उनका भाइ कैशल पटेलले, प्रहरी लगाएर त्यो सामान लुट्ने योजना बनाए ।

सोही योजना अनुरूप उनीहरूले चिनेजानेका प्रहरी जवान बहादुरसिंह कडायतलाई भेटेर र योजनाबारे जानकारी गराए ।

ती सदस्य भन्छन्, ‘प्रहरी जवान कडायत पनि उनीहरूको योजनामा राजी हुन्छन् र घुमुवा प्रहरी प्रशन्न श्रेष्ठ सँग कुरा गर्छन् ।’ उनीहरूको योजना अनुसार श्रेष्ठले नक्कली सुनका बारेमा महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रमुख डीएसपी रञ्जन दाहाललाई सूचना दिए । सूचनाअनुरूप दाहालले अपरेशन गरे तर विफल भयो ।

ठग समूहले काठमाडौंको डीएसपी दाहालको अपरेसन छलेर सामान कटाउन सफल भए पनि प्रशन्न र बहादुरसिंहलाई भने छल्न सकेन । अन्ततः त्यो समूहले सुन्धारामा पुगेर उनीहरूलाई झोलामा रहेको सामान दिन्छन् र उनीहरू फरार हुन्छन् ।

छानविन समितिका एक सदस्य भन्छन्, ‘भारतीय समूहहरू बीच नै चाँदी किन्ने र सुनको जलप लगाउने विषयमा रकमको कुरा नमिल्दा घटना बाहिरिएको हो ।’ उनका अनुसार, केही दिनमै अनुसन्धान पूरा भई घटनाको वास्तविकता बाहिरिने छ ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  १० : ०७ बजे

मानपुर-बुलिङटार सडक खण्डमा कालोपत्र गरिँदै

तनहुँ– तनहुँको मानपुर-डेडगाउँ-बुलिङटार सडक खण्डको ११ किलोमिटर कालोपत्र सुरु गरिएको

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

सुर्खेत– कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा गोपनीयताको

हामीले चुनाव जितिसक्यौँ, आयोगले घोषणा गर्न मात्रै बाँकी छ : स्वर्णीम वाग्ले

इलाम– राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले इलामको निर्वाचन आफूहरूले

विपिनको रिहाइबारे राष्ट्रपतिपछि प्रधानमन्त्रीले पनि कतारलाई गुहारे

काठमाडौं- अघिल्लो वर्ष अक्टोबर ७ मा विद्रोही समूह हमासले इजरायलमा

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्‍यो

क्यानबेरा– अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव छ प्रतिशतमा झरेको