१२ वर्षपछि रूप फेर्दै लुम्बिनी | Khabarhub Khabarhub

१२ वर्षपछि रूप फेर्दै लुम्बिनी


२२ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- बुद्ध जन्मस्थल लुम्बिनीमा विश्वसम्पदा सूचीमा सूचीकृत क्षेत्रको आवधिक मर्मतसम्भार शुरु गरिएको छ । मायादेवी मन्दिर परिसरमा रहेको शाक्य पुष्करिणी, विहारका भग्नावशेष क्षेत्र तथा स्तूप र बोधिवृक्ष परिसरमा आवधिक संरक्षण तथा सरसफाइको काम भइरहेको लुम्बिनी विकास कोषले जनाएको छ । मायादेवी मन्दिरदेखि दक्षिणतर्फ रहेको पुष्करिणीमा बालक सिद्धार्थलाई जन्म दिनुअघि मायादेवीले नुहाएकी थिइन ।

लकडाउनको समय सदुपयोग गर्र्दै झण्डै १२ वर्षपछि यस क्षेत्रमा मर्मतसम्भारको काम भइरहेको विकास कोषका पुरातत्व अधिकृत हिमाल उप्रेतीले जानकारी दिए । उनले भने, ‘आवधिक संरक्षण गर्ने समय भइसकेको थियो तर गर्न सकिएको थिएन, अहिले लकडाउनमा पर्यटक नभएको मौका पारेर काम गरिएको हो ।’

अहिले पुष्करिणीभित्रको सिँढी तथा वरिपरिको भाग, विहारका भग्नावशेष क्षेत्र र बोधिवृक्ष परिसरको भाग मर्मत गर्ने काम भइरहेको अधिकृत उप्रेतीले बताए ।

लामो समयदेखि सरसफाइ र संरक्षणको काम नहुँदा पुष्करिणी फोहोर हुनाका साथै वरिपरिको भाग भत्किएको र पोखरीपूर्वमा रहेका विहारका भग्नावशेष तथा स्तूपका इँटा निस्कन थालेका कारण संरक्षणको काम गरिएको पुरातत्व अधिकृत उप्रेतीको भनाइ छ ।

‘स्तूपका मौलिक विशेषता लुप्त हुन नदिन विशेष निगरानी गरेका छौँ’, उनले भने, ‘भत्किएका स्तूपलाई पहिलेकै स्वरुपमा सामान्य मर्मत गर्छौँ ।’

मायादेवी मन्दिरको दक्षिणतर्फ तेस्रो शताब्दी इसापूर्वदेखि चौथो शताब्दीसम्म बनेका विहारका अवशेष छन् । यस्तै मायादेवी मन्दिर परिसरमै रहेको झण्डै सय वर्ष पुरानो बोधिवृक्षको फेदमा माटो भर्ने काम गरिएको छ । बोधिवृक्ष बचाउनका लागि फेदमा माटो भरी दुबो लगाउने काम गरिने कोष पुरातत्व शाखाले जनाएको छ ।

विकास कोषका अनुसार लुम्बिनी सन् १९९७ मा विश्वसम्पदा सूचीमा सूचीकृत भएको हो । यो अहिले आध्यात्मिक, धार्मिक मात्रै होइन पुरातात्विक र सांस्कृतिक हिसाबले समेत त्यत्तिकै महत्वपूर्ण आकर्षण बनेको छ । यहाँ संसारका विभिन्न मुलुकबाट शान्ति तथा आध्यात्मिक उपलब्धि हासिल गर्न लाखौं लाख पर्यटक आउने गरेका छन् ।

कोषका कामु सदस्य सचिव ज्ञानिन राईले पुरातत्व विभाग, विकास कोष र युनेस्कोको आपसी सहमतिमा सरसफाइको काम भएको जानकारी दिए । उनका अनुसार इसापूर्वको तेस्रो शताब्दीमा मौर्य सम्राट अशोकले यस स्थलको तीर्थाटन गर्नुभएको थियो ।

उनले मायादेवी मन्दिर परिसरमा अशोकस्तम्भ स्थापना गरी अभिलेख पनि कुँदाइएको थियो । यो कुराको जानकारी इसाको पाँचौं शताब्दीमा आएका चिनियाँ यात्री फाहियान र सातौंँ शताब्दीमा आएका अर्का चिनियाँ यात्री ह्युएन साङले आफ्नो यात्रा विवरणमा उल्लेख गरे ।

सन् १८९६ मा पुरातात्विक अन्वेषणका क्रममा सम्राट् अशोकद्वारा ‘लुंमिनीगाम’मा राखिएको अशोकस्तम्भ र त्यसमा रहेको अभिलेख भेटिएको हो । सन् १८९६ डिसेम्बर १ तारिखका दिन जर्मन पुरातत्वविद् डा एलोसिस फ्युहरर र खड्गशम्शेरले सिद्धार्थ गौतमको जन्मस्थान र अशोकस्तम्भ पत्ता लगाएका थिए ।

उक्त अभिलेखमा यो ठाउँको नाम लुंमिनीगाम भनेर उल्लेख गरिएको पाइन्छ । सो अभिलेखको प्राप्तिले गौतम बुद्धको जन्मस्थल लुम्बिनीको पहिचान भएको हो । त्यसबेलादेखि विश्वभर शाक्यमुनि बुद्धको जन्मस्थल लुम्बिनी नेपालको प्रदेश नं ५ स्थित रूपन्देही जिल्लामा पर्ने कुरा स्थापित भएको हो ।

लुम्बिनी बौद्ध धर्मालम्बीको विशेष ऐतिहासिक तीर्थस्थलको नामले विश्वमै चर्चित भएका कारण युनेस्कोले मायादेवी मन्दिर र यस वरपरको क्षेत्रलाई विश्वसम्पदा क्षेत्रमा सूचीकृत गरेको हो । विकास कोषका कामु सदस्य सचिव राईका अनुसार गौतम बुद्धको पवित्र जन्मस्थानमा निर्माण भएको मायादेवी मन्दिर इसापूर्व तेस्रो शताब्दीदेखि विभिन्न समयमा जीर्णोद्धार हुँदै आएको थियो ।

पछि लुुम्बिनीमा सन् १८९९ मा भारतीय पुरातत्वविद् पूर्णचन्द्र मुखर्जीले उत्खनन गर्नुभएको थियो । वरिष्ठ पुरातत्वविद् वसन्त बिंडारीका अनुसार सन् १९३३ देखि १९३९ सम्म केशरशम्शेर जबराको नेतृत्वमा मायादेवी मन्दिर परिसरमा उत्खननन गर्ने क्रममा पुष्करिणीलाई चारैतिर इँटाले घेर्ने काम गरी संरक्षण गरिएको ।

‘आवधिक संरक्षण यही समयमै गर्ने भन्ने हुँदैन, आवश्यकताअनुसार जहिले गर्दा पनि हुन्छ । यहाँका सम्पदामा अहिलेसम्म नराम्रो असर देखिएको छैन’, पुरातत्वविद् बिंडारीले भने, ‘मानिस हिँड्ने, बस्ने तथा जथाभावी धुपबत्ती बाल्ने हो भने सम्पदामा असर पर्छ, यी कुरालाई रोक्यौँ भने मात्रै पनि सम्पदाको सुरक्षा प्रकृतिले नै गर्छ ।’

सन् १९६२ मा भारतका पुरातत्वविद् देवला मित्रले उत्खनन् गरिएको थियो । सन् १९७२ देखि १९८५ सम्ममा पुरातत्व विभागले लुम्बिनीको पुरातत्विक उत्खनन, अन्वेषण र संरक्षणको काम गर्दै आएको पाइन्छ ।

मायादेवी मन्दिरमा सन् १९९२ देखि १९९५ सम्ममा विभाग, जापान बुद्धिष्ट फेडरेशन र विकास कोषको संयुक्त तत्वावधानमा उत्खनन भएको थियो । सन् १९९६ मा उत्खनन् गर्दा भने यहाँ दुई इनार फेला परेका थिए ।

मन्दिर उत्खननका क्रममा बुद्धले पहिलो पटक पाइला टेकेको पवित्र स्थानमा रहेको ‘शिला’ रहेको कुरा उत्खननमा संलग्न विकास कोष, बुद्धिष्ट फेडरेशन र विभागको अध्ययन र अनुसन्धानबाट प्रमाणित भएकाले सरकारले २०५२ सालमा ‘मार्कर स्टोन’ पत्ता लागेको घोषणा गरेको विकास कोषका सूचना अधिकृत राजन बस्नेतले जानकारी दिए । लकडाउनका कारण अहिले लुम्बिनी सुनसान छ ।

प्रकाशित मिति : २२ जेठ २०७७, बिहीबार  ३ : ५५ बजे

भारतीय अर्थमन्त्री सीतारमण भन्छिन्- चुनाव लड्ने पैसा छैन

काठमाडौं– भारतको केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले लोकसभा चुनावमा भाग

उत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु

अमेरिका– संयुक्तराज्य अमेरिकाको उत्तरी इलेनोइसमा एक व्यक्तिले जथाभावी छुरा प्रहार

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द

काठमाडौं– नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द भएको छ

नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन

काठमाडौं– नोबेल पुरस्कार विजेता डानियल कान्हेम्यानको ९० वर्षको उमेरमा निधन

वीरगञ्ज भन्सारबाट एक अर्ब राजस्व संकलन 

वीरगञ्ज– मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक