एन्फामा कर्मा छिरिङ नेतृत्वको दुई वर्ष | Khabarhub Khabarhub

एन्फामा कर्मा छिरिङ नेतृत्वको दुई वर्ष

अन्तरिक द्वन्द्वको चेपुवामा नेपाली फुटबल


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैशाख २२ अर्थात् अखिल नेपाल फुटबल संघ (एन्फा) दिवस । दुई वर्षअघि आजकै दिन वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पासहितको टोली एन्फाको नेतृत्वमा चुनिएको थियो ।

‘समृद्ध नेपाली फूटबल र सामूहिक नेतृत्व’ जस्ता नारासहित तत्कालीन एन्फा अध्यक्ष गणेश थापाविरुद्ध संघर्ष गरेका अध्यक्ष कर्मा छिरिङ शेर्पाले आफ्नो नारा दुई वर्ष पूरा भइसक्दा पनि सार्थक बनाउन सकेका छैनन् ।

तत्कालीन अवस्थामा एन्फा अध्यक्ष थापाविरुद्ध संगठितरूपमा एक भएर आन्दोलनमा लागेको टोली नै अहिले टुटफुट संघारमा छ ।

एन्फा अध्यक्ष शेर्पाले सामूहिक नेतृत्व बिर्सेको र आफ्ना प्रतिबद्धता भुलेको लगायतका आरोप लगाउँदै उनका सहकर्मीहरू अहिले उनको विकल्पको खोजीमा छन् ।

सामूहिक नेतृत्वलाई नारा बनाएका शेर्पाले आफ्ना सहकर्मीहरूलाई सन्तुष्ट पार्न सकेनन् । यो दुई वर्षमा शेर्पा नेतृत्वको एन्फ चार–पाँच वर्षदेखि रोकिएको शहीद स्मारक ए डिभिजन लिग, बी र सी डिभिजन लिग सञ्चालन गर्न भने सफल भएको छ । अन्तर्राष्ट्रिय स्तरमा राष्ट्रिय महिला टोलीको सहभागिता यसअघिको भन्दा झण्डै दोब्बर भएको छ ।

प्रशिक्षकहरूका लागि तालिम, ग्रासरूट कार्यक्रम सञ्चालन, आर्थिक नियमावली लगायतका काम शेर्पा नेतृत्वमा भएका छन् ।

अध्यक्ष शेर्पाकै क्लबका व्यवस्थापक र उपाध्यक्षको क्लबका कप्तानलाई शहीद स्मारक ए डिभिजन लिगमा म्याचफिक्सिङको प्रयास गरेको भन्दै कारबाही भयो । राष्ट्रिय टोलीका चार जना खेलाडीमाथि अनुशासन समितिले प्रतिबन्ध लगाउने काम नेपाली फुटबलका पहिलो पटक भएको हो । यी सकारात्मक काम हुन् ।

पुरुष फुटबल टिमले भने खासै राम्रो नतिजा दिन सकेको छैन । सिनियर मात्रै होइन उमेर समूहमा पनि पछिल्लो दुई वर्षमा नेपालले राम्रो गर्न सकेको छैन ।

एन्फा अध्यक्ष शेर्पाले एक्लो निर्णय गर्ने गरेको आरोप लागिरहँदा वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङका छोरा यु–१६ टिममा सोझै पर्नु र त्यसपछि फूटबलमा उपस्थिति नहुनुले यो नेतृत्वले परिवारवाद त्याग्न नसकेको देखिन्छ ।

एन्फामा गणेश थापापछि छोटो समयमा लागि अध्यक्ष भएका नरेन्द्र श्रेष्ठले निर्वाचन गराएर कर्मा छिरिङलाई पद हस्तान्तरण गरेका थिए । पूर्व अध्यक्ष श्रेष्ठ पनि अहिलेको कार्य समितिले अपेक्षाअनुसार काम गर्न नसकेको हो कि भन्ने महसुस भएको बताउँछन् ।

‘अहिले नै राम्रो वा नराम्रो भनेर मूल्यांकन गरिहाल्ने समय भएको छैन, यद्यपि दुई वर्षको समय हेर्दा जुन अपेक्षा गरिएको थियो, त्यसमा उहाँहरु तल नै हुनुहुन्छ,’ उनले भने, ‘विवादका कुरा बाहिर आइरहेका छन्, त्यसले चिन्तित बनाएको छ ।’

तत्कालीन एन्फा अध्यक्ष थापाविरुद्धको विद्रोहमा शेर्पासँगै काँध मिलाएर हिँडेका नवीन पाँडे अहिले एन्फाबाट बाहिएका छन् भने वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले एन्फाका पछिल्ला निर्णयमा सार्वजनिक विरोध जनाउने गरेका छन् ।

कुनै समय एन्फा अध्यक्षका निकट रहेर काम गरेका पाँडे अहिलेको नेतृत्वले नेपाली फूटबलको विकासमा ध्यान दिन नसकेको, चुनावमा गरेका प्रतिबद्धता पूरा गर्न नसकेको आरोप लगाउँछन् । शेर्पा नेर्तत्वको टोलीले नेपाली फूटबललाई ३० वर्ष पछाडि धकेलेको उनको आरोप छ ।

‘यो नेतृत्व पूर्णरूपमा असफल भएको छ । यसले नेपाली फूटबललाई ३० वर्ष पछाडि धकेलेको छ,’ पाँडेले भने, ‘नेपाली फूटबल टोली भूटानसँग पराजित हुन पुगेको छ । जुन गतिमा नेपाल अगाडि बढ्नु पथ्र्यो, त्यो हुन सकेको छैन ।’

पाँडे अहिलेको ४० प्रतिशत बजेटमात्रै सदुपयोग गर्न सके नेपाली फूटबल धेरै अगाडि बढ्ने बताउँछन् ।

उनले भने, ‘गणेश थापा र नरेन्द्र श्रेष्ठहरूको पालामा भन्दा निकै ठूलो बजेट आउँछ । त्यसमा ४० प्रतिशत मात्रै काममा लगाउन सके नेपाली फूटबलमा धेरै ठूलो सफलता हात पार्न सकिन्छ ।’

अध्यक्ष शेर्पा भने यी आरोपहरूलाई निराधार भन्छन् । उनी वर्तमान कार्यसमितिलाई असफल बनाउन गुट नै लागेको बताउँछन् ।

‘कार्य समितिलाई असफल पार्न एउटा गुट लागेको छ । नीतिगत वहस गरौँ न । नेपाली फूटबल कसरी विकास गर्न सकिन्छ यसमा छलफल गरौँ,’ अध्यक्ष शेर्पाले भने, ‘झिना–मसिना कुरामा लागेर आरोप लगाउनुको अर्थ छैन ।’

एन्फाले फिफा र एएफसीको गाइडलाइन्समा काम गर्नुपर्ने उनको भनाइ छ ।

‘हामीले काम गरिरहेका छौँ, के केमा सामूहिक निर्णय भएन तोकेर भन्नुभयो भने हामी जवाफ दिन तयार छौँ,’ अध्यक्षले शेर्पाले भने ।

यता, एन्फाका महासचिव इन्द्रमान तुलाधरले लिग लगातार दुई वर्ष गरेको, राष्ट्रिय टोलीका खेल भइरहेको, महिला फूटबल टिमको सहभागिता र अन्य कामले उत्साह जगाएको बताए । चुनावमा घोषणा गरिएका सबै प्रतिबद्धता पूरा गर्न नसकेको उनले स्वीकार गरेका छन् ।

‘रंगशाला नहुँदा चुनावताका लगाएका नारा पूरा गर्न गाह्रो नै थियो,‘ महासचिव तुलाधरले भने ।

पूर्वअध्यक्ष श्रेष्ठ कामको जिम्मेवारी बाँडफाँड राम्रो नभएको बताउँछन् । उनले भने, ‘संस्थामा टिमवर्क हुनुपर्छ । अहिले त्यसो नभएको हो कि जस्तो लाग्छ । कामको जिम्मेवारी बाँडफाँडमा पनि व्यक्ति छनोट राम्रो नभएजस्तो पनि देखिन्छ ।’

गत वर्ष आजको दिन एन्फाले तामझामसहित खेलाडी सम्मान तथा एन्फा दिवस कार्यक्रम गरेको थियो । यो वर्ष नोबेल कोरोना भाइरस (कोभिड–१९) का कारणले कार्यक्रम आयोजना गर्न नसकिएको तर लकडाउन खुलेपछि खेलाडी सम्मानको कार्यक्रम तय हुने महासचिव तुलाधरले बताए ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ३ : ५६ बजे

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन

पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा गिरावट

इस्लामावाद – पाकिस्तानको स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी)ले बिहीबार आफ्नो

वैदेशिक रोजगारमा जानेलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न आग्रह

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको