‘आरक्षण र व्यापारीकरणले गर्दा राम्रा डाक्टर उत्पादन हुन सकेका छैनन्’ « Khabarhub
Logo
१२ मंसिर २०७७, शुक्रबार

‘आरक्षण र व्यापारीकरणले गर्दा राम्रा डाक्टर उत्पादन हुन सकेका छैनन्’

पहिला ‘होम ट्युसन’ पढाएर पनि डाक्टर पढ्न सकिन्थ्यो, अहिले निकै महँगो भयो : डा बराल



काठमाडौं– भनिन्छ ‘मनैदेखि चाहेको कुरा पूरा भएरै छोड्छ ।’ तर आफूले चाहेको कुरा पूरा हुन मानिसमा आँट, विश्वास र लगनशीलता चाहिन्छ । अनि मात्र जस्तोसुकै कठिन परिस्थितिमा पनि आफ्नो सपना पूरा गर्न सफल भइन्छ ।

यस्तै आँट, विस्वास र लगनशीलताले आर्थिक अभावको कठिन समस्या सामना गर्दै सफल भएका व्यक्ति हुन्, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर गेहनाथ बराल । उनले चिकित्सा क्षेत्रको सेवामा २५ वर्ष यात्रा पूरा गरिसकेका छन् ।

डा बराल पाठेघरको मुखको क्यान्सर भएका बिरामीको उपचार गर्ने सर्जनको रुपमा पनि परिचित छन् । सानै उमेरदेखि डाक्टर बन्ने अठोट, आत्मविश्वास र लगशीलताले उनी आज सफल डाक्टर बनेका छन् ।

झापामा जन्मिएका बरालले आफै र आफ्ना आफन्तहरु बिरामी हुँदा पाएको कष्ठ देखेर नै डाक्टर बन्ने अठोट गरे ।

‘सानोमा आफै बिरामी हुँदा, परिवारका सदस्यहरु बिरामी हुँदा अरुको भरमा बस्नुपर्ने धेरै दुःख पाइने, त्यो देखेर नै डाक्टर बन्नुपर्छ भन्ने लाग्यो,’डा बरालले भने, ‘डाक्टर बनेपछि अरुको सेवा गर्न पनि पाइने आफै बिरामी हुँदा वा परिवारमा बिरामी पर्दा पनि सजिलो हुन भनेर डाक्टर बन्नुपर्छ भन्ने लागेको थियो ।’

झापामा खेती किसानी गरेर जीविका चलाइरहेका गरीब किसानका छोरा थिए बराल । बाबुआमाले खेती किसानी गरेरै बराललाई सरकारी स्कुलमा एसएलसीसम्म पढाए । झापाको गौरादहमा रहेको जनता माध्यमिक विद्यालयबाट एसएलसी पास गरेका बरालले धरानबाट आइएसी पास गरे ।

आइएसी पास गरेका बराल डाक्टर बन्ने सपना बुनिरहेका थिए, भने घरमा बाबुआमा ‘छोराले आइसी पास गर्‍यो, अब त जागिर खाएर घरमा पैसा पठाउँला’ भन्ने सोचिरहेका थिए । ‘बाबुआमाको आसा र आफ्नो सपना’ कुन पुरा गर्ने ?’ उनी दोधारमा परे ।

परिवारको आर्थिक अवस्था कमजोर भएकै कारण उनले डाक्टर बन्ने सपना बाबुआमालाई सुनाएकै थिएनन् । छोराले पैसा कमाएर पठाउला भन्ने आसामा रहेका बाबुआमालाई उनी निराश बनाउन पनि चाहँदैन थिए  र, आफ्नो सपनालाई टुट्न दिने त कुरै भएन ।

यस्तो परिस्थितिमा उनी डराएनन् । विचलित नभइकन एमबीबीएस पनि पढ्ने र बाबुआमाको चाहना अनि आफ्नो सपना दुबैलाई पूरा गर्ने योजना बनाए ।

उनले आफैले निर्णय गरेर महाराजगञ्जको चिकित्सा शास्त्र अध्ययन संस्थानमा एमबीबीएसमा अध्ययन गर्न शुरु गरे ।

‘घरमा बुबाआमाले त छोराछोरीले पढेर ठूलो मान्छे भएपछि पैसा कमाएर पठाओस्, आफूहरुको राम्रोसँग हेरचाह गरोस् भन्ने चाहन्थे, त्यसैले के पढ्ने, के बन्ने भनेर म आफैले सोचेर निर्णय गर्थे, घरमा के पढिरहेको छु थाहा नै हुँदैन थियो,’ डा बरालले भने, ‘ घरमा एमबीबीएस पढ्छु भन्यो भने त खर्चको कुरा आउँछ, घरबाट पैसा निकाल्ने स्रोत थिएन, खर्च धेरै लाग्छ भनेर बुबाआमालाई किन तनाव दिनु भनेर एमबीबीएसको भर्ना गरिसकेपछि मात्र मैले बुबाआमालाई म एमबीबीएस पढ्दै छु भने ।’

होम ट्युसन पढाएर एमबीबीएस पढ्ने खर्च जुटाएका बरालको जिम्मेवारी घरमा पनि थियो । काठमाडौं बस्ने छोराले कमाएर पैसा पठाउला भन्ने आसामा गाउँमा बुबाआमा बसेका थिए

आइएसी पढ्दादेखि नै घरमा खर्च नमागेका बरालले एमबीबीएसको पढाइ खर्च होम ट्युसन पढाएर जुटाए । उनले होम ट्युसन पढाउदै आफू पनि एमबीबीएस पढ्दै केही रकम घरखर्चका लागि बाबुआमालाई पठाउनसमेत पुर्‍याउथे ।

‘मैलै काठमाडौंका स्कुले बालबालिकालाई होम ट्युसन पढाएर आफूले एमबीबीएस पढ्ने खर्च जुटाएको थिएँ,’ डा बरालले गर्व महशुस गर्दै भने, ‘एमबीबीएसको ५ बजे क्लास सकिएपछि काठमाडौंका घर–घरमा पुगेर बालबालिकाहरुलाई पढाएर राति १० बजे होस्टेल पुग्थें र १० बजेपछि लाइव्रेरीमा गएर दुईघण्टा आफ्नो बुक पढ्थें । ट्युसन पढाउन नपाएको भए त एमबीबीएस पढ्न पाउदिन थिएँ ।’

एमबीबीएसको किताब किन्न नसक्दा

होम ट्युसन पढाएर एमबीबीएस पढ्ने खर्च जुटाएका बरालको जिम्मेवारी घरमा पनि थियो । काठमाडौं बस्ने छोराले कमाएर पैसा पठाउला भन्ने आसामा गाउँमा बुबाआमा बसेका थिए । त्यसैले उनले आफ्नो खर्च जोगाएर कहिलेकाही घरमा पनि पैसा पठाउथे ।

अध्ययन खर्च, परिवारमा खर्चले गर्दा बरालसँग एमबीबीएसका महंगा पुस्तकहरु किन्न सक्ने पैसा पुग्दैन थियो । आफैसँग पुस्तक नभएपनि उनले कलेजको लाइव्रेरीका पुस्तककै भरमा एमबीबीएस पूरा गरे ।

‘मैले एमबीबीएसमा पुस्तक नै किनिन, लाइव्रेरीका पुस्तक पढेर नै एमबीबीएस पास गरें,’ बरालले भने, ‘पुस्तक किन्ने पैसा नै पुग्दैन थियो । त्यसैले मैले एकदुईवटा क्लीनिकल मेथड भन्ने बुक बाहेक कुनै पुस्तक किनिन ।’

संघर्षले सन् १९९१ मा एमबीबीएस पूरा गरेपछि डाक्टर बनेका बरालले पहिलो पटक धरानको कोशी अञ्चल अस्पतालमा बिरामी सेवा शुरु गरे । उनले त्यहाँ डेढ महिना मात्र काम गरे । त्यसपछि उनले पाटन अस्पतालमा मेडिकल डाक्टरको रुपमा १५ महिना काम गरे । त्यसपछि सन् १९९३ मा लोकसेवा पास गरेर सरकारी चिकित्सकको रुपमा धादिङको एक प्राथमिक स्वास्थ्य केन्द्रमा बिरामीको सेवा गरे ।

धादिङ हुँदा उनले एमडी पढ्ने तयारी पनि गरे । धादिङपछि उनको पोष्टिङ भरतपुरमा भयो ।

महिलाको उपचार गर्ने पुरुष डाक्टर भएकाले पनि होला डा बरालसँग बिरामीले रोग देखाउन र बताउन नै असहज मान्थे

छात्रवृत्तिबाट आएको पैसाले मोटरसाइकल

उनले सन् १९९५ मा गाइनोकोलोजी (प्रसुती तथा स्त्री रोग विशेषज्ञ) मा डिप्लोमा गरे ।

त्यतिबेला नेपालमा स्नातकोत्तरमा एमडीको कार्यक्रम खुलिसकेको थियो । तर आर्थिक भार धान्न नसकेपछि उनले अर्को वर्ष सरकारी कोटामा नाम निकालेर एमडी अध्ययन गरे । एमडी पढ्दैगर्दा कलेजको होस्टलमा बस्न पाइँदैन थियो । काठमाडौं बाहिर कोठा लिनुपर्ने भएपछि उनलाई कलेज आउनजान टाढा भयो ।

कलेज पुग्न टाढा भएपछि होम ट्युस्न पढाउन नभ्याउने भएपनिउनले छात्रवृत्तिको पैसाबाट मोटरसाइकल किने ।

‘एमडी पढ्दा होस्टलको व्यवस्था थिएन, काठमाडौंमा डेरामा बस्नुपर्ने हुन्थ्यो, नेपाल सरकारको कोटामा भएकाले महिनामा ३४ सय पैसा दिन्थ्यो, त्यही पैसा फाइनान्समा राखेर मैले बाइक किने,’ बरालले भने, ‘आर्थिक अभावका बीच विभिन्न सममस्या भोग्दै एमडी सक्काए ।’

महिलाहरु खुलेर रोगबारे बोल्दैनन्

स्त्री रोग विशेषज्ञ भएपछि डा बराल डा बराल बिभिन्न  अस्पतालहरूमा काम गर्न थाले । उनमा  केही बिदेशका अस्पतालहरूमा समेत  काम गरेकाे अनुभव  छ । डा बराल बिगत १० बर्ष अघि देखि थापाथलीको प्रसुती तथा स्त्री रोग अस्पतालमा रहेर सेवा दिन थाले।

डा बराल स्त्री तथा प्रसुती रोग विशेषज्ञ भएकाले उनले हेर्ने बिरामी महिला नै हुने भए । तर महिलाको उपचार गर्ने पुरुष डाक्टर भएकाले बरालसँग पहिलापहिला बिरामीले रोग देखाउन र बताउन नै असहज मान्थे । अहिले भने अवस्था केही फेरिएको छ ।

‘पहिला पहिला त महिलाहरु आफ्नो रोगबारे भन्न नै हिचकिचाउँथे, म पुरुष डाक्टर भएर पनि होला, बिरामीहरु महिला मेडिकल अफिसर देखेभने बरु उनीहरुसँग बोल्न चाहन्थे,’ डा बरालले भने, ‘अझै पनि महिलाहरु आफ्नो प्रजनन् तथा यौन स्वास्थ्यबारे खुलेर बोल्दैनन् ।’

डा बरालले कोरियामा गएर गाइनो अंकोलोजीमा फेलोसिप पनि गरे । त्यसपछि उनले सन् २००८ देखि थापाथलीको प्रसुती गृहमा पाठेघर सम्बन्धि क्यान्सर भएका महिलाहरुको शल्यिक्रिया तथा उपचार गर्न थाले ।

डा बरालकै योगदानबाट चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ( न्याम्स)मा महिलाको पाठेघरको क्यान्सर सम्बन्धि अध्ययन कार्यक्रम शुरु भयो । थापाथलीको प्रसुती गृहमा पाठेघरको मुखको क्यान्सरको उपचार डा बरालले नै शुरु गरेको बताउँछन् ।

‘मैले गाइनोअंकोलोजीमा फेलोसीप गरेपछि थापाथलिमा पाठेघरको मुखको क्यान्सर भएर आएका बिरामीहरुको शल्यक्रिया गर्न शुरु गरे,’ डा बरालले भने, ‘मैले मात्र जानेर हुँदैन नयाँ पुस्ताले पनि सिक्नुपर्छ भनेर न्याम्समा पाठेघरको क्यान्सर र त्यसको सर्जरीको विषयमा रिसर्चहरु गर्न लगाए ।’

बिरामीको ज्यान बचाउँदा मिल्ने खुसी

डा बरालले थापाथलीको प्रसुती तथा स्त्री रोग विशेषज्ञ भएर लामो सयमदेखि काम गरीरहेका छन् । उनले २५ वर्ष लामो चिकित्सा सेवाको यात्रामा धेरै सुत्केरी तथा स्त्री रोगबाट पीडित महिलाहरुको ज्यान बचाएका छन् । आकस्मिक रुपमा अस्पतालमा आइपुग्ने बिरामीलाई शल्यक्रिया गरेर बचाउँन पाउँदा डा बराल खुसी मान्छन् ।

‘तत्काल शल्यक्रिया गरेर बचाउनुपर्ने बिरामीको शल्यक्रिया गरेर बचाउन पाउँदा मलाई खुसी लाग्छ, कतिपय पाठेघर पुटेर आएका महिलाहरुको समयमा शल्यक्रिया गरेर ज्यान बचाउन सक्दा सबैभन्दा धेरै खुसी लाग्छ,’ डा बरालले भने, ‘आकस्मिक शल्यक्रिया गरेर मैले धेरै बिरामीलाई बचाएको छु ।’

लामो समयदेखि प्रसुती तथा स्त्री रोगसँग सम्बन्धित बिरामी हेरेका डा बरालको अनुभवमा पहिलाको तुलनामा महिलाहरु अहिले आफ्नो स्वास्थ्यप्रति सेचत बन्न थालेका छन् ।

‘पहिला– पहिला घरमा बच्चा जन्माउन नसकेर ज्यान नै जाने अवस्थामा पुगेपछि मात्र महिलाहरु अस्पतालमा ल्याइन्थ्यो, बिरामी भएर अन्तिम अवस्थामा पुगेपछि मात्र अस्पताल आउथे,’ डा बरालले भने, ‘अहिले महिलाहरु गर्भवती हुँदादेखि नै आफ्नो स्वास्थ्यप्रति सचेत हुन्छन् । स्वास्थ्यमा केही समस्या देखिएमा अस्पताल आइहाल्छन् । अहिले महिलाहरु आफ्नो स्वास्थ्यप्रति सचेत हुन थालेका छन् ।’

होम ट्युसन पढाएरै डाक्टर बनेका बराल अहिलेको मेडिकल शिक्षामा व्यापारीकरण भएको देख्छन्

मेडिकल शिक्षामा व्यापारीकरण भयो

डा बरालले एमबीबीएस पढ्दा एमबीबीएस र बीडिएस, विएसी लगायतको शूल्क बराबर नै थियो । तर अहिले एमबीबीएस पढ्न ४० लाख भन्दा माथि खर्च हुन्छ ।

होम ट्युसन पढाएरै डाक्टर बनेका बराल अहिलेको मेडिकल शिक्षामा व्यापारीकरण भएको देख्छन् ।

‘अहिलेको मेडिकल शिक्षामा व्यापारीकरण भयो, हामीजस्तो मान्छेले पहिला जसरी पढौं अहिले त्यसरी पढ्ने वातावरण छैन, त्यसैले धेरै उत्कृष्ठ विद्यार्थीले पनि पढ्न पाइरहेका छैनन्,’ डा बराल भन्छन्, ‘मेडिकल शिक्षालाई आरक्षणले पनि ग्रस्त भएको छ, आरक्षण र व्यापारीकरणले गर्दा गुणस्तरीय मेडिकल डाक्टर उत्पादन हुन सकेका छैनन् । व्यापारीकरण र आरक्षणले क्षमतावान् विद्यार्थी पछाडि परेका छन् ।’


भर्खर

0