टेबलटेनिसका राष्ट्रिय खेलाडी बज्राचार्य : सन्यास लिएर नयाँ खेलाडी उत्पादन गर्ने लक्ष्य « Khabarhub
Logo
१७ मंसिर २०७७, बुधबार

टेबलटेनिसका राष्ट्रिय खेलाडी बज्राचार्य : सन्यास लिएर नयाँ खेलाडी उत्पादन गर्ने लक्ष्य



काठमाडौं– ललितपुरको पाटन सुनधारा वरिपरि टोलमा २०५० सालतिर सिमेन्टका टेबलटेनिस बोर्ड निकै धेरै थिए । अझै त्यो क्षेत्रमा टेबलटेनिस बोर्ड भेटिन्छन् ।

त्यस क्षेत्रमा धेरै टेबलटेनिस बोर्ड भेटिनुको पनि कारण रहेको छ । उक्त टोलमा थिए, नेपालका त्यतिबेलाका शीर्ष टेबलटेनिस खेलाडी पन्नाकाजी शाक्य, राजेन्द्र कपाली, मिलन श्रेष्ठ ।

राष्ट्रिय खेलाडीहरु हुँदा र स्थानीय बालबालिका खेल्नका लागि भएपनि टोलमा बोर्डहरु बनाइएका हुन सक्ने त्यहीँ क्षेत्रमा जन्मिए, हुर्किएका नेपाली राष्ट्रिय टेबलटेनिस खेलाडी पुरुषोत्तम बज्राचार्य अनुमान लगाउँछन् ।

तिनै सिमेन्टका टेबलटेनिस बोर्डमा टेबलटेनिस सिक्दै हुर्किएका थिए, पुरुषोत्तम पनि । उनी त्यहाँ हुर्किँदै गर्दा राजेन्द्र कपालीहरु नेपाली टेबलटेनिसको चर्चामा थिए ।

आसपासका सबै टोलमा टेबलटेनिस बोर्ड प्रसस्तै थिए । जहाँ गयो त्यहीँ बोर्ड भएपछि सानै देखि पुरुषोत्तमले पनि टेबलटेनिस खेल्ने अवसर पाए । उनी सुरुवाती दिनमा व्यवसायिक खेलाडी बन्ने भन्दा पनि रमाइलोका लागि टेबलटेनिस खल्ने गर्थे ।

त्यसोत, उनी स्कुलमा हुँदा फुटबल पनि खेल्थे । तर, फुटबल भन्दा टोलमा खेल्न सजिलो टेबलटेनिस खेल्न भएकाले आफुले उक्त खेल रोजेको उनी बताउँछन् ।

फुटबलमा रुची भएपनि टिम नपुग्ने हुँदा समस्या भएको पुरुषोत्तम बताउँछन् । ‘म सानो हुँदा फुटबल पनि राम्रै खेल्थे । तर, टोलमा टिम पूरा गर्न कठिन पथ्र्यो । तर, टेबलटेनिसमा २ जना भए पुग्थ्यो,’ उनले भने,‘टेबलटेनिस खेल्दा खेल्दै यसमै अमल बस्यो ।’

टेबलटेनिस खेल्दा कति पटक त उनले घरमा गाली पनि खाएका थिए ।

उनलाई व्यवसायिक रुपमै टेबलटेनिस खेलाएको भने पुरुषोत्तमले विसं २०५६ सालमा हो । नेपालका तत्कालिन राष्ट्रिय टोलीका खेलाडी सुरेन्द्र सुवालले काठमाडौं खेलमण्डल (हालको त्रिपुरेश्वर चोकको दक्षिण पट्टीको भाग) मा टेबलटेनिस सिकाउँथे ।

त्यहिँ उनले पहिलो पटक प्रशिक्षकबाट प्रशिक्षण लिएका थिए । त्यसपछि उनी लगातार खेलको अभ्यासमा जुटे । विस्तारै आफूलाई खेलमा अभ्यस्त बनाउँदै गए ।

सुवालले आफ्नो व्यक्तिगत पहलमै काठमाडौं खेलमण्डलमा प्रशिक्षण दिन्थे । कोही राम्रो खेलाडी उनी लैनचौर टेट हलमा भर्ना हुन सुझाउँथे । पुरुषोत्तमलाई पनि उनले लैनचौरमा भर्ना हुन सुझाए ।

२०५६ सालमै पुरुषोत्तम लैनचौरमा भर्ना भए । त्यहाँ अभ्यास गराउने प्रशिक्षकहरुको टोलीले उनको मेहनत देखेर भन्थे,‘पुरुषोत्तम तिमीले राम्रो गर्न सक्छौं ।’

सुवालको सुझाव यदि खेललाई करियर बनाउने हो भने मान्नै पर्ने भयो । फसाद के आइलाग्यो भने उनले त्यहाँ भर्ना हुन पैसा जुटाउन गाह्रो भयो । भन्छन्,‘त्यतिबेला त्यहाँको भर्ना शुक्ल १५० रुपैयाँ लाग्थ्यो । तर, त्यति जुटाउन पनि हम्मेहम्मे परेको थियो ।’

सामान्य परिवारका पुरुषोत्तमलाई तत्कालीन अवस्थामा परिवारले पनि खेलमा लाग्न खुलेर सहयोग गर्ने माहोल नभएको उनी बताउँछन् ।

त्यसैबीच उनले पटक–पटक विभन्न काममा समेत हात हालेका थिए । तर, मन नलाग्दा ती काममा उनी सफल हुन नसकेको बताउँछन् ।

कक्षा र नौं मा पढ्दा पुरुषोत्तम मुर्ती बनाउने काम पनि सिक्न गएका थिए । तर, त्यसमा उनले आफूलाई फिजाउन सकेनन् ।

बरु टेबलटेनिस खेल्दै गर्दा उनले स्कुलतिर प्रशिक्षण गर्ने अवसर पाए । तर, त्यसका लागि उनले झण्डै ३ बर्ष मेहनत गर्नु पर्यो ।

२०५८ जेठ २० गतेबाट पाँचौ बृहत राष्ट्रिय खेलकुद हुँदै थियो । पुरुषोत्तम छनोट भएका थिए । तर, विडम्बना प्रतियागिता नै भएन । कारण, थियो, २०५८ जेठ १९ गते राजदरबार हत्याकाण्ड । जुन हत्याकाण्डमा राजा वीरेन्द्रको वंश नै नाश भयो ।

त्यसले खेलकुद रोकिएपछि उनको राष्ट्रिय खेल खेल्ने सपना तत्कालका लागि चकनाचुर भयो ।

तर, २०६० सालमा भएको ३० औं टेबलटेनिस राष्ट्रिय प्रतियोगिताबाट उनको राष्ट्रिय डेब्यु भयो । उनले मध्य पश्मिाञ्चलबाट खेलेका थिए । उनको टोलीले प्रतियोगितामा स्वर्ण पदक जितेको थियो ।

सिंगल्समा भने उनी क्वाटरफाइनल भन्दा माथि पुग्न सकेनन् ।

राष्ट्रिय प्रतियोगिता खेले पनि अन्तर्राष्ट्रिय खेलका लागि भने उनले अझै बढी संघर्ष गर्नु परेको थियो । त्यतिबेला रविन्द्र शाक्य, राजेन्द्र कपाली, सिवसुन्दर गोथे, गोपाल महर्जन, सुशिल पौडेलहरुको दबदबा थियो ।

उनीहरु कहिले कोही नम्बर एक हुन्थे भने कहिले अर्को हुन्थे । तर, नयाँलाई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न निकै कठिन भइरहँदा राष्ट्रिय टोलीमा स्थान बनाएका उनले २००२ मा भएको जुनियर अन्तर्राष्ट्रिय टेबलटेनिस च्याम्पियनसिप खेलेका थिए ।

त्यसपछि उनले पनि आफ्नो खेलमा सुधार गर्दै गए । पुराना खेलाडीहरु पनि बिस्तारै विस्थापीत हुँदै गए । पुरुषोत्तमले सिनियरबाट अन्तराष्ट्रिय प्रतियोगिता सन् २००७ मा इन्डिया ओपन खेलेका थिए ।

त्यसपछि पुरुषोत्तमले २०१० ढाका दक्षिण एसियाली खेलकुद (साग) मा पहिलो पटक साग खेल्ने अवसर पाएका थिए । जसमा उनी सम्मिलित टोलीले टिम इभेन्ट्समा कास्य पदक जितेको थियो । त्यतिमात्रै होइन, १२ औं भारतको गुवाहाटी र सिलोङमा भएको सागमा पनि उनी सम्मिलित टोलीले कास्य पदक नै जितेको थियो ।

केही समय अघि काठमाडौंमा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा भने नेपाली टेबलटेनिस खेलाडीहरुले एतिहासिक सफलता हात पारे । जसको साक्षी बन्ने अवसर पुरुषोत्तमले पनि पाए ।

सागमा पहिलो पटक टिम इभेन्टमा रजत पदक हात पार्दै इतिहास रचेका उनले व्यक्तिगत स्पर्धामा कास्य पदक जितेका थिए ।

१३ औं सागमा नेपाली पुरुषतर्फ २ जनाले कास्य जितेका थिए । तर, पहिलो पटक पुरुषोत्तम सेमिफाइनलमा पुग्दै किर्तिमानी बनेको छ । व्यक्तिगत स्पर्धामा स्यान्टु श्रेष्ठ पनि सेमिफाइनलसम्म पुगेका थिए । तर, केही मिनेटको तलमाथि भएको थियो ।

सागको टिम इभेन्टमा रजत जितेका पुरुषोत्तम अबको केही समयभित्रै अन्तर्राष्ट्रिय खेल जीवनबाट विश्राम लिने तयारीमा पुगेका छन् । उनी भन्छन्,‘मैले यो पटक सागमा राम्रो गर्ने योजना बनाएको थिए । त्यसमा केही हदसम्म सफल भएको छु ।’

सागमा रजत जितेको र पहिलो पटक सेमिफाइनल पुगेको किर्तिमानी बनाएका उनी आफ्नो खेल करियरमा यो भन्दा बढी गर्ने अपेक्षा नरहेको बताउँछन् ।

‘मैले आफुले खेलेर गर्न सने यतिनै हो । तर, अब अरुलाई सिकाएर टेबलटेनिसको विकासमा लाग्छु,’ उनले भने । अब प्रशिक्षणमा लाग्ने बताएका उनले स्कुलतिर अभ्यास गराउन थालेको १६–१७ बर्ष नै भइसक्यो ।

‘म बिहान आफू अभ्यास गर्न लैनचौर जान्थे । दिउँसो आएर जस्ताको त्यस्तै विद्यार्थीहरुलाई सिकाउँथे… हाँस्दै,’ प्रशिक्षणका सुरुवाती दिन सम्झँदै बज्राचार्यले भने ।

एम्स स्कुल ललितपुरबाट प्रशिक्षणको यात्रा सुरु गरेका उनले अहिलेसम्म आधा दर्जन जति स्कुलमा प्रशिक्षकको रुपमा काम गरिसकेका छन् । अहिले बज्राचार्य ललितपुरको आदर्श विद्या मन्दिरको (एभिएम) एभिएम क्लबमा प्रशिक्षकको भूमिका छन् ।

त्यहिँ उनले प्रशिक्षण दिएका सिक्का सुवाल, दिक्षा तामाङ र संयोग कपालीले मंसिरमा १५–२४ सम्म आयोजना भएको सागमा सँगै खेलेका थिए । आफुले सिकाएका खेलाडी आफुसँगै खेल्दा निकै आनन्द महसुस भएको उनी बताउँछन् ।

पुरुषोत्तमलाई आफ्नो समयमा अभ्यास गर्न क्लबहरु नभएको, मन लागेर पनि खेल्ने ठाउँ नभएको महशुस हुन्छ । तर, अहिलेका खेलाडीहरुका लागि खेल्न, सिक्न र जान्ने हो भने टेबलटेनिस खेल्न धेरै सजिलो भएको बताउँछन् ।

‘अहिले खेल्ने चाहाने हो भने क्लबहरु छन् । जहाँ खेल्छु भन्यो त्यहाँ टेबलटेनिस बोर्ड खोज्दा भेटिन्छन् । यदि अहिलेका खेलाडीहरुले मेहनत गर्न चहाए भने राम्रो गर्न सक्छन्,’ उनले भने,‘हाम्रो समयमा त सिक्छु भन्दा पनि ठाउँ थिएनन् । कता जाने के गर्ने भन्ने पनि जानकारी पाउन कठिन हुन्थ्यो ।’

पुरुषोत्तम सन् २००९ मा जापानको योकोहामामा भएको वल्ड च्याम्पियनसिप खेल्न गएका थिए । त्यहाँ उनी माथिल्लो स्तरसम्म त पुग्न सकेनन् । तर, उनले त्यहाँ टेबलटेनिसमा मान्छेहरुको भीड देखेर अचम्ममा परेका थिए ।

‘म जापान गएको थिए । त्यहाँको त्यो भीड म पहिलो पटक देख्दै थिए । त्यसलाई अहिले बर्णन गर्न पनि सकिँदैन मैले कस्तो महसुस गरेको थिए भन्ने,’ उनी भन्छन् ।


भर्खर

0