३८ वर्षपछि पेशा फेरेका श्रेष्ठ कालिज पाल्दै « Khabarhub
Logo
१५ मंसिर २०७७, सोमबार

३८ वर्षपछि पेशा फेरेका श्रेष्ठ कालिज पाल्दै



नवलपरासी– नवलपरासीपूर्व कावासोतीका ७३ वर्षीय मित्रलाल श्रेष्ठले पाडाको मासु काट्न छाडेको झण्डै ६ महिना भयो ।

कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै सरकारले लकडाउन गरेपछि श्रेष्ठले पाडा काटेर बेच्ने पेशा छाडे ।

‘३८ वर्ष भन्दा बढी मैले पाडा काटेर बेचेँ’, श्रेष्ठले भने, ‘हिजोआज पाडा काट्ने व्यवसायबाट राम्रो आम्दानी छैन । श्रेष्ठका ३ छोरा छन् । तीन छोरामध्ये कान्छो अर्जुनकुमार श्रेष्ठ बैदेशिक रोजगारको शिलशिलामा लामो समय विदेश बसे ।

माइलो छोरा सशस्त्र प्रहरीमा छन् । जेठो छोरोले अहिले पनि मासु व्यवसाय गरिरहेका छन् ।

मित्रलाल श्रेष्ठ

पाडाको मासु बिक्रीबाट उबेला राम्रो कमाइ हुने गरेको उनी बताउँछन् । मासुको मूल्य त पर्ने नै भयो, त्यो सँगै छाला र हाडखोरको छुट्टै मूल्य । ‘तर हिजोआज न त छालाको मूल्य छ, न त हाडखोरको ?’ उनले भने । पहिले पहिले एउटै राँगाको छालालाई १६ सय रुपैयाँसम्म बिक्री गरे श्रेष्ठले । उनले हाडखोरलाई प्रतिकिलो १७ रुपैयाका दरले बिक्री गर्ने गर्थे । तर छाला उद्योग बन्द भएकाले बिक्री हुन छाडेको उनले बताए ।

हिजोआज हाड छालाको मूल्य नपर्ने हुँदा मासु मात्रै बेचेर कमाइ हुन छाड्यो । ३८ वर्षसम्म मासु काटेर बेच्दा उनलाई सन्तोष मिलेकै थियो । जिउँदो पाडा हेरेरै उनले यतिकिलो मासु हुन्छ भन्ने अड्कल लगाउन सक्छन् । अहिले उनी उमेरले पनि बृद्ध हुँदै गए । त्यसैले यो पेशाप्रति मन मर्दै गएको थियो ।

सात आठ वर्ष विदेश बसेर फर्किएपछि हालै उनको कान्छो छोरा अर्जुनले कृषि फर्म सञ्चालन गर्ने सोंचे । कावासोतीकै अर्का युवा दीपेशकुमार अर्यालसँग मिलेर ‘एकीकृत कृषि तथा पशुपंक्षी केन्द्र’ दर्ता गरे ।

आफ्नो घरबाट झण्डै १२ किलोमिटर उत्तर हुप्सेकोट गाउँपालिका ४ झाँतेमा २ विगाहा भन्दा बढी क्षेत्रफलको जग्गामा जंगली पंक्षी कालिज पाल्न थाले । २५ लाख भन्दा बढी लगानीमा सञ्चालन गरिएको फर्ममा हालसालै कालिजका डेढ सय चल्ला हाले । दुई चार वटा बाहेक अरु राम्रैसँग हुर्किए ।

कालिज अब बिक्री गर्ने तयारीको अवस्थामा पुग्न लागेको छ । पोथी कालिजबाट अण्डा कोरलेर बच्चा उत्पादन गर्ने सोंच उनीहरुको छ । प्रारम्भिक चरणमा भएकाले आम्दानी हुने गरी उत्पादन हुन थालेका छ्रैनन् । अण्डा कोरलेर बच्चा उत्पादन गरेपछि आम्दानी बढाउँदै लैजान सकिन्छ भन्नेमा उनीहरु ढुक्क छन् । तीनै छोराहरुको साथमा मित्रलाल कालिजसँगै रमाउन थालेका छन् ।

यो पंक्षीका बारेमा छोराहरुले गुगल, यूट्यूब हेरेर अध्ययन गर्ने गरेका छन् । तर मित्रलाल भने कालिजकाबारेमा धेरै कुरा बताउने भइसकेका छन् ।

नेपालमा रिङ्नेक, पोक्रास, लुईंचे, मुनाल, चिलिमे, डाँफे, चिर, मयुर जस्ता विभिन्न प्रजातिका कालिज पाइन्छन् । त्यसमध्ये एक हो, रिङनेक प्रजातिको कालिज । त्यहि कालिजको रेखदेख, दाना दिने काममा रमाइरहेका छन्, मित्रलाल । सिकाइकै प्रक्रियामा हो, तर गर्दै जाँदा यसबाट राम्रो हुन्छ भन्ने लागेको छ, मित्रलालले भने ।

हावापानी र प्राकृतिक बासस्थान भएकाले पनि यो ठाउँ कालिजका लागि उपयुक्त रहेको उनीहरुको ठम्याई छ । पहाडको खोँच, जंगलको छेउ । फर्मसँगै कहिल्यै पानी नसुक्ने झरनाखोलाको पानी । मित्रलालकाअनुसार यहाँ ब्यवसायिक रुपमा हाँसपालन पनि गर्न सकिने अवस्था छ ।

चार महिनाअघि पोखराबाट ल्याएको चल्ला बिक्री हुने अवस्थामा पुगेका छन् । बिक्री हुने अवस्थाको कालिज २ किलोसम्म हुन्छ । कालिज बिक्रीयोग्य भएपछि प्रतिगोटा ३ हजारदेखि ३५ सय रुपैयाँका दरले स्थानीय बजारमा नै खपत हुने गर्दछ । कालिज अहिले सबैभन्दा बढी रुचाइएको मासुमा पर्ने गरेको छ ।


भर्खर

0