रामराज्य : यथार्थ कि कोरा कल्पना ! « Khabarhub
Live on

RADIO CANDID

Your Voice, Your Power

0%

रामराज्य : यथार्थ कि कोरा कल्पना !



जहाँ ज्ञान छ, त्यहाँ शान्ति छ । जहाँ शान्ति हुन्छ, त्यहाँबाट विश्रान्तिको खोजी यात्रा सुरू हुन्छ । संसारमा पूर्ण कुशलतापूर्वक व्यवहार सम्पन्न गर्न सक्ने समाजमा सबैको बराबर सम्मान हुन्छ । सबैले एक अर्कालाई सहयोग गर्छन् ।
त्यसको प्रभाव वैयक्तिक पनि हुन्छ । हरेक परिवारमा एक प्रकारको शान्ति हुन्छ, जीवन गुजारा जस्तोसुकै किन नहोस् ।
समाजका सबै सदस्यहरू एक अर्कामा फरक हुन्छन् । हरेक व्यक्तिको जन्मजात पहिचान हुन्छ । सामाजिक पृष्ठभूमिले उसको वैयक्तिक विकास गर्छ ।

कसैले जीवनयापन सरल र सहज बनाउन सक्छ त कसैको कठिन हुन सक्छ । एउटै सामाजिक परिवेशमा मात्र होइन, एकै आमाबाबुका छोराछोरीको पनि जीवन एकै स्तरको हुँदैन । उनीहरूको जीन ९९.९९ प्रतिशत मिल्न सक्छ तर तर व्यक्तित्व त्यति नै फरक हुन सक्छ । यस्तो भिन्नताले नै सामाजिक सन्तुलन बनाएको हुन्छ ।

शान्तिउन्मुख समाजमा भिन्नताको कदर हुन्छ । भिन्नताभित्र एकात्मकताको सम्बन्ध हुन्छ । यसबाट सैद्धान्तिक हिसाबमा राज्यविहीनता अथवा राज्य संयन्त्रले नियन्त्रण नगरीकन नै स्वतः समाजमा अमनचैनको अवस्था हुन सक्छ । पूर्वीय दर्शनमा यस्तो अवस्थालाई रामराज्य भनिएको छ ।

स्वतः अमनचैनयुक्त रामराज्यमा पनि सबै मानिस बराबर हुने होइन तर सबैले आआफ्नो काम कुशलतापूर्वक निर्वाह गर्न सक्ने अवस्था हो । इतिहासमा समाज कहिल्यै पनि यस्तो राज्यविहीनताको अवस्थामा पुगेको पाइएको छैन ।

यो असम्भव परिकल्पना पनि होइन । कार्लमाक्र्सको राज्यविहीनताको सिद्धान्त होस् वा पूर्वीय दर्शनको रामराज्यको परिकल्पना, यी दुवै सम्भव छन् । प्रकृतिसित तादात्म्य राखेर बाँचेको समाजमा बाहिरी नियन्त्रणको आवश्यकता थिए ।

स्वनियन्त्रित परिवेशको सिर्जना तबमात्र सम्भव छ, जब हरेक परिवार र समाजमा एकअर्काको अस्तित्वको सम्मान हुन्छ, अनि वसुधैव कुटुम्बकम्को भावना हुन्छ । आफू बाँचौँ र अरूलाई पनि बाँच्न दिऊँ भन्ने भावना व्यावहारिक रूपमा नै फलिभूत भएको हुनुपर्छ ।

मानव हुनुको भनको चेतना र विवेक हुनु हो । जब विवेक र चेतनाको जागरूकता हुन्छ तबमात्र मानिस सरल हुन्छ र मानव समाजमा व्याप्त रोग पनि निर्मूल हुँदै जान्छ । राज्यविहीनता अथवा रामराज्यको परिकल्पना भनेको घातक सामाजिक रोगविहीन समाजको सिर्जना हो र सम्भव कुरा हो ।

झ्वाट्ट हेर्दा यसो हुन असम्भव जस्तो लाग्न सक्छ तर यो असम्भव अवधारणा होइन । अप्रत्यक्षरूपमा विश्वमा शान्तिपूर्वक राज्यव्यवस्था स्वतः चलेका मुलुकहरू यसका उदाहरण हुन् । हामीले संसारमा भएका शान्तिप्रिय राष्ट्रहरूले अलवम्बन गरेका नीतिहरू र त्यहाँका समाजले पालना गरेको अनुशासन केलाउँदा ती राष्ट्रको विकास हुनु र सामाजिक अमनचैन हुनुको तथ्य प्राप्त हुन सक्छ ।

वास्तवमा संसारमा जति पनि अशान्तिका घटनाहरू छन्, ती सबै सीमित वर्गले सहअस्तित्व अस्वीकार गरेर आफ्नो स्वार्थ सिद्ध गर्दाका परिणामहरू हुन् । वर्गहरू सिर्जना गर्ने र ती वर्गहरूमै विभेद सिर्जना गर्ने मानसिक रोगको शिकार भएको छ यो विश्व । यसमा व्यक्ति वा समूहको अत्याचार चलेको छ ।

संसारभरिका सामान्य नागरिकहरू शान्तिप्रिय छन् । स्वभावतः सरल र शान्त समाजमा बाँच्न चाहन्छन् र शान्तिका साथ संसारबाट विदा हुन चाहन्छन् । द्वेष, वैमनस्य, शत्रुता, अपराध, युद्धजस्ता नकारात्मक पक्ष मानवका गुण हुँदै होइनन् । संसारको कुनै पनि मानिस खराब बन्न चाहँदैन ।

तैपनि, संसार किन यिनै दुर्गुणहरूले ग्रस्त छ ! किनकि मुठ्ठीभर स्वार्थलोलुप मानिसमा परपीडाबाट आनन्द प्राप्त गर्ने, शक्ति सञ्चय गर्ने र निमुखालाई बजाउने, भँजाउने, कज्याउने र उनीहरूको शोषण गर्ने महारोग व्याप्त छ ।

यस्तो महारोग अहिलेको कोरोना महामारीजस्तै सरुवा र घातक छ । यो रोगको अस्तित्वको इतिहास पनि मानव सभ्यताको इतिहास जत्तिकै पुरानो छ । यही महारोगले मानवको जन्मसिद्ध शान्तिप्रिय स्वभावमाथि घात भएको छ, समाजलाई वास्तविक मूल प्रवृत्तिबाट विमुख बनाएको छ । यो महारोगबाट छुटकाराको एउटैमात्र उपाय हो— मानिसले आफ्नो मूलस्वरूप पहिचान गर्नु र तदनुसार व्यवहार गर्नु ।

कुनै पनि भौतिक विज्ञानले विनाशकारी हतियार निर्माण र विनाशको निर्देश गर्दैन । कुनै पनि विज्ञानले मानव र प्रकृतिबीचको सम्बन्ध खण्डित गर्न सिकाउँदैन ।

मानव हुनुको भनको चेतना र विवेक हुनु हो । जब विवेक र चेतनाको जागरूकता हुन्छ तबमात्र मानिस सरल हुन्छ र मानव समाजमा व्याप्त रोग पनि निर्मूल हुँदै जान्छ । राज्यविहीनता अथवा रामराज्यको परिकल्पना भनेको घातक सामाजिक रोगविहीन समाजको सिर्जना हो र सम्भव कुरा हो ।

कसरी सम्भव छ त विभेदरहित, स्वतः सञ्चालित समाज ? विभेदरहित समाजको परिकल्पनामा र सबैले समान अवसर प्राप्त गर्ने कुराको सेरोफेरोमा नै राजनीतिशास्त्रका वादविवादहरू केन्द्रित छन् । कुनै पनि राजनीतिक सिद्धान्तले शासन प्रणालीको उद्देश्य जनताको शोषण हो भन्दैन ।

एउटा राष्ट्रले अर्को राष्ट्रको अस्मितामाथि धावा बोल्ने कुरा कुनै पनि अन्तर्राष्ट्रिय सिद्धान्तले स्वीकार गरेको छैन । कुनै पनि ज्ञानविज्ञान मानवताको विरुद्धमा छैन । सबै वाद, सिद्धान्त र ज्ञानविज्ञानको साझा उद्देश्य ‘सर्वजन हिताय, सर्वजन सुखाय’ हो । सबैको हित र शान्तिप्रिय राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक र धार्मिक समुन्नति नै ‘सर्वजन हिताय, सर्वजन सुखाय’ हो ।

जसरी मूल स्वरूपमा मानिस शान्तिप्रिय प्राणी हो, त्यसैगरी शान्तिप्रिय मानिसले प्रतिपादन गरेका सिद्धान्तहरू पनि शान्तिकै लागि हुन् । सबै विज्ञानहरूको उद्देश्य पनि मानवताको संरक्षण हो । कुनै पनि भौतिक विज्ञानले विनाशकारी हतियार निर्माण र विनाशको निर्देश गर्दैन । कुनै पनि विज्ञानले मानव र प्रकृतिबीचको सम्बन्ध खण्डित गर्न सिकाउँदैन ।

अब एउटा शंखनाद आवश्यक भएको छ । अर्थात, मानवीयताको पुनरसञ्चार जरुरी भएको छ । हरेक मानिसमा रहेको जन्मसिद्ध मानवताअनुसार परोपकारी भावना आवश्यक छ । वैयक्तिक स्वार्थ लोलुपताका कारण सत्यमाथि घमण्ड, क्रोध, तामस र शत्रुताको ग्रहण लागेको छ । यस्तो अवस्थाले मानवमूल्य चकानचुर भएको छ । चरम अमानवीय प्रतिद्वन्द्विताको विकास भएको छ । आज संसारमा भइरहेका युद्धहरू यस्तै अमानवीय प्रतिद्वन्द्विताको परिणाम हुन् ।

स्वतः सिद्ध छ कि जहाँ ज्ञान छ त्यहाँ शान्तिको प्रकाश बढ्न थाल्छ । यसको लागि अलिकति दृढता र प्रयत्न अवश्यक पर्छ । निर्विकार समाजमा ज्ञानको प्राधान्य हुन्छ, ज्ञानले शान्ति पछ्याउँछ ।

के यस्तो चरम अमानवीय अवस्था अन्त्य गर्न सम्भव छ ? अवश्य छ । यसका लागि एउटा नयाँ सभ्यता सिर्जना हुनुपर्छ । सत्यले असत्यसित दृश्य तथा अदृश्य युद्ध लड्नुपर्ने हुनसक्छ । हरेक मानवले आफ्नो वास्तविक स्वरूपको पहिचान गरी मानव समाजमा व्याप्त स्वार्थ, घमण्ड, क्रोध, अहंकार, घृणा आदि महारोगलाई ‘वसुधैव कुटुम्बकम् र सर्वजन हिताय सर्वजन सुखाय’ ले परास्त गर्नुपर्छ । अरूमाथिको घात आफ्नो पनि घात हो भन्ने कुरा हृदयङ्गम गर्नुपर्छ ।

उल्लिखित महारोग मानवता क्षय गर्ने धेरै पुरानो रोग भए पनि वास्तविक मानवीय स्वरूप अझै पनि बलवान छ । संसारमा वास्तविक स्वार्थी र खराब आचरण साह्रै थोरैमा छ तर त्यसको प्रभाव व्यापक छ । त्यसैले त मानवता महासंकटमा छ । हामीले आआफ्नो ठाउँबाट विश्व शान्तिको बिगुल बजाउन थाल्नुपर्छ । मानवताको चेतन अस्त्रले अमानवियताको महारोग जरैदेखि उखेलेर फाल्ने महाअभियान चलाउनु पर्छ ता कि त्यो विषवृक्ष मासियोस् र फेरि पलाउन नसकोस् ।

प्रश्न उठ्छ, यो महाअभियानको नेतृत्व कसले गर्ने ? हामी सबैले आआफ्नो ठाउँबाट मानवताको शंखनाद गरेर सुरु गर्ने, आफ्नो नेतृत्व आफैँ गर्ने । त्यहीँबाट सर्वसम्मत सामूहिक नेतृत्व विकास हुन्छ । फगत हामीमा तत्व पगाल्ने अलिकति ज्ञान र कला आवश्यक छ । संसारका घटनाहरू मानवताको पक्षबाट दृष्टिगत गर्ने क्षमता पनि आवश्यक छ । आफूरहित भएर समाजलाई मूल्यांकन गर्नु तटस्थता र बन्धनमुक्ति हो ।

स्वतः सिद्ध छ कि जहाँ ज्ञान छ त्यहाँ शान्तिको प्रकाश बढ्न थाल्छ । यसको लागि अलिकति दृढता र प्रयत्न अवश्यक पर्छ । निर्विकार समाजमा ज्ञानको प्राधान्य हुन्छ, ज्ञानले शान्ति पछ्याउँछ । अनि समाजमा राज्यविहीनता अथवा रामराज्य हुन्छ । रामराज्य केवल परिकल्पना होइन, यथार्थमै सम्भव छ । ।। शुभम् ।।
(लेखक अमेरिकाको अकमाइ युनिभर्सिटीमा पढाउँछन् ।)


0