मानवतामाथि बर्बरताको सोती काण्ड « Khabarhub

मानवतामाथि बर्बरताको सोती काण्ड


२१ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : 7 मिनेट


27
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

किन हुन्छ र भेद र भाव
एउटै होइन र मानिस सब
मदनलाई सोध माया के हो
मुनालाई सोध त्याग के हो
मानिस ठूलो दिलले हुन्छ
पीडामा मन सबैको रुन्छ
फेरि किन यो दोष नि लै लै
जाऊँ माया सरर…
पीर मान्ने को छ र !
माया भन्दा ठूलो नै के छ र !
नि लै लै

नेपाली सिनेमा ‘प्रसाद’ मा यो गीतले जातीय भेदभाव र पीडामात्रै जागर गर्न खोजेको छैन, यसले मायाभन्दा ठूलो अरू केही कुरा छैन भन्ने सन्देश दिन खोजेको छ ।

यो सिनेमाले प्रेमले मानिसलाई जीवनमा कसरी कुन बाटोमा डो¥याउँछ भन्ने कुरा पाटा केलाएर कथामा प्रस्तुत गरेको छ । शायद, जाजारकोटका नवराज विक पनि आफ्नो मायाको सानो सुन्दर घर बसाउन चाहन्थे । उनी रुकुम पश्चिमकी सुष्मा मल्ललाई आफ्नो जीवनको प्रियपात्र बनाउन चाहन्थे । अनेक कठिनाइ र अवहेलनाका बीच पनि उनी बारम्बार सुष्मालाई भेट्थे, फोनमा प्रेमापाल गर्थे ।

प्रेममा नवराजलाई पूर्णरूपमा विश्वास थियो । प्रेमिका सुष्माले बोलेको हरेक कुरा उनी जीवनमा उतार्न खोज्थे । सानो घर बसाउन नवराज सपनामा सुष्मालाई नै लिएर हिँड्थे । माथिको गीतमा भनिएजस्तो न नवराजले सुष्मालाई मदनको जस्तो माया दिन पाए, न सुष्माबाट मुनाको जस्तो त्याग देख्न पाए । प्रेमकै कारण आफैँ विलीन भएर अस्ताए ।

मुना–मदनको प्रेम र त्यागलाई आत्मसात गर्दै ‘प्रसाद’ सिनेमाको कथाजस्तै सानो संसारमा रम्ने चाहना बोकेका नवराजलाई अन्ततः कथित दलित भन्ने जातले नै विलीन बनायो । थुप्रै गायकले प्रेमको परिभाषा दिएका छन् । छुवाछुत तथा जातीय भेदभाव कानुनले बर्जित गरेको छ तर उनी जातीय भेदभावकै सिकार बने ।

नवराज खेलकुदमा रुची राख्थे । उनी सुष्माको मायामा पागल थिए । सुष्माकै आग्रहमा दुलही लिन रुकुमपश्चिम पुगे । उनले त्यो दिन आफ्नो घरबाट सुष्माको घर नजिक आउँदा कति सपना बुने होला ! उनले बाटोमा साथीहरूसँग हिँडदै गर्दा कतिपटक सुष्मालाई मनको भित्तामा सजाए होला ! उनी कति खुशी थिए होला ! साथीहरूसँग हिँड्दा कतिपटक सुष्मालाई नै सम्झे होला ! आफ्ना र बाआमाका सपना बोकेर नवराज विलीन भए ।

एउटा दलितको सहादतबाट सुरु भएको जनयुद्धको फल आज कथित माथिल्लो जातले लिएका छन् । के उनीहरूले कहिल्यै दलितको रगतबाट अघि बढेको जनयुद्धको लाभमा आफूसरह दलितलाई सहभागी गराए ?

नवराज आफ्ना बाआमाको विलौना सुन्दै होलान् कि ! बाआमाले गरेको विलौना सुनेर उनी पापी दुनियाँलाई भन्दा पनि आफ्नै जातलाई धिक्कार्दै होलान् । उनी मानिस भएरै जन्मिएका थिए । सुष्मा जसरी नै हुर्किएका थिए । उनी पनि सुष्मा झैँ आमाको काखबाट ठूलो हुँदै चौरजहारीसम्म पुगेका थिए । सुष्मा कथित माथिल्लो जातकी भइन्, नवराज कथित तल्लो जातका ।

सुष्मा एसइइ दिने तयारीमा थिइन् । भर्खरै १७ टेकेकी उनी नवराजको नजरमा रानी थिइन् । भर्चुअल दुनियामा उनीहरूको सम्बन्ध प्रष्ट हुन्छ । फेसबुकका भित्ताभरि नवराजले सुष्माको प्रेममा थुप्रै शब्द खर्चेका छन् । सुष्मा पनि प्रेमका शब्दहरूबाट नवराजको मुटुमा बस्न खोजेकी छन् ।

सुष्माको उमेर पुगेको थिएन, नवराजले जबर्जस्ती बिहे गर्न दबाब दिएका थिए भन्न सकिएला । लकडाउनको वेला नवराज आफूसहित १९ जना किन गए भन्न पनि सकिएला ।

यस्ता प्रश्न उठाएर नवराजमाथि दोष थोपर्न सकिएला तर नवराज र सुष्माले एक अर्कालाई माया गरेको कुरा कतै लुकेको छैन । अझ, सुष्मा नवराजको घरमा गएर बास बसेको कुराले मायाको गहिराइ थप प्रष्ट हुन्छ ।

सुष्माले आफूलाई लिन आउनू भनेर नवराजसँग गरेका फेसबुक च्याट पनि सार्वजनिक गरिएका छन् । सुष्माले साथी लिएर आउनू भनेकी छन् । नवराजले एक्लै आउँछु भने पनि सुष्माले साथी लिएर आउन भनेकी छन् । यता नवराजले एक्लै आउने, सुष्माकी आमाले थाहा पाए पहिलेजस्तै हुने आशंका व्यक्त गरेका छन् । आफ्नो प्रेमलाई समाजले नै अस्वीकार गरेको भन्दै नवराजले आफू त्यहाँ पुगेको थाहा पाए आफू मारिन सक्ने शंका पनि प्रकट गरेका छन् । नभन्दै उनी दुनियामा रहेनन् ।

जातीय अहंकारले अन्तत नवराजलाई भगवानको प्यारो बनाइदियो । उनी यो दुनियामा छैनन् । उनका अन्य पाँच जना साथी पनि उनीसँगै विलीन भए । उनले गरेको प्रेम भने अमर रहनेछ ।

नेपाललाई २०६८ सालमा छुवाछुतमुक्त देश घोषणा गरिएको हो । रुकुमलाई पनि धुमधामका साथ छुवाछुतमुक्त जिल्ला घोषणा गरिएको थियो । सुष्माका बाआमाले समेत उक्त र्‍यालीमा सहभागी भएर नारा लगाए होला । छुवाछुतलाई अपराध मानिनेछ भन्दा ताली बजाए होला । रुकुममा माओवादीको प्रभाव राम्रो भएकाले त्यहाँ हुने साना कार्यक्रम पनि भव्य हुने गर्छन् ।

दश वर्ष पनि नबित्तै आफ्नी छोरीको प्रेमिका नै कथित दलित परेपछि ती भाषण, ताली सबै भुलेर उनीहरू आक्रमणमा उत्रिए ।

यतिबेला जाजारकोट–रुकुम शोकमग्न छन् । चौरजहारी नगरपालिका–८ सोतीमा भएको हत्याको घटनामा जाजारकोट–रुकुममा युवाहरू मारिएका छन् । ती युवाहरू देशको सीमा बचाउन या कुनै देशभक्त आन्दोलन लडाइँमा मारिएका हुन्थे भने आज उनीहरूका बाआमा छोराको बलिदानमा गर्व गर्ने होला ।

आज उनीहरू मानवतामाथिको अपराधमा पिल्सिएका छन् । कथित जातीय विभेद र छुवाछुतका कारण अकालमा ज्यान गुमाएका छन् । प्रेमप्राप्तिका खातिर ज्यान गुमाएका नवराजले प्रेमप्रतिको विश्वास झन प्रगाढ बनाएका छन् । प्रेमयुद्धमा नवराजले जसरी जातीय कारणले कसैले पनि ज्यान गुमाउनु नपरोस् ।

आज जातीय कारणले जाजरकोटका ६ जना आमाको कोख रित्तिएको छ । दिदीबहिनीले दाजुभाइ गुमाएका छन् । आमाबाबुमा सन्तान गुमाउनुको असह्य पीडा छ । अब प्रेमप्राप्तिमा कोही ‘नवराज’ बन्नु नपरोस् । नवराजका साथीहरूको नियति नदोहोरियोस् ।

प्रेम सम्बन्धकै कारण दलितको हत्या किन हुन्छ ? दलित चेलीहरूमाथि किन बलात्कार हुन्छ ?

नेपाल छुवाछुतमुक्त घोषणापछिका केही प्रतिनिधि घटनाले दलितमाथिको बर्बरताको उजागर गर्छन् । अन्तर्जातीय विवाहका कारण २०६९ सालमा सप्तरीका शिवशंकर दासले ज्यान गुमाए । सोही वर्ष दैलेखका सेते दमाई समेत अन्तर्जातीय विवाहका कारण मारिए । २०७० मा तनहुँकी संगीता परियार, २०७३ मा झापाकी अस्मिता सार्की, २०७३ मै काभ्रेका अजित मिजार अन्तर्जातीय विवाहका कारण मारिए ।

बलात्कार, छुवाछुत, बोक्सी आरोप र अन्य हत्या त बाँकी नै छन् ।

नवराजको हत्या भएकै दिन रूपन्देहीको देवदह–११ बड्की गुम्मीकी किशोरी अङ्गिरा पासीको पनि बलात्कारपछि हत्या भएको छ । उनी पनि दलित समुदायकी किशोरी हुन् ।

देशभर दलित समुदायमाथि बलात्कार हत्याका घटना बढेका छन् । यी किशोरीलाई समेत गाउँलेहरूले वीरेन्द्र भरले करणी गर्दै गरेको भेटाएपछि उनको जिम्मा लगाएका थिए । भरले उनलाई विवाह गरेको स्वीकार गर्दै घर लगेका थिए । भोलिपल्ट उनी रुखमा झुण्डिएको अवस्थामा फेला परिन् ।

यसरी नेपाली समाजमा दलितमाथि बर्बरता देखिन्छ । अजित मिजारको शव अझै त्रिवि शिक्षण अस्पतालमै छ । उनको परिवारले न्याय नपाउन्जेल शवको सत्गत् नगर्ने जनाएका छन् । उनको परिवारको विलौना कसैले सुनेको छैन ।

सोती काण्डले उब्जाएका प्रश्न

अहिलेको समाजमा विभेदको बारेमा यति धेरै सोच्नुपर्ने अवस्था सामान्य होइन । सोतीमा मारिने ६ जनामा दलित समुदायका मात्रै नभएर अन्य समुदायका युवा पनि छन् । उनीहरूले एउटा दलितलाई साथ दिएकै कारणले ज्यान गुमाउन प¥यो । अहिले कतिपयले दलितले मात्रै न्याय पाउनुपर्छ भन्ने कुरा उठको भन्दै घटना अन्तै मोड्ने प्रयत्न गरेका छन् । तर, हामीले यस घटनाका दोषीलाई कारबाही र मृतकका परिवारलाई न्यायको कुरा भुल्न हुँदैन ।

अझ रोचक त के छ भने, जो नेताहरू अहिले विभिन्न पदमा आसीन छन् तिनले जातीय र वर्गीय मुक्तिको कुरा गरेर आममानिसलाई क्रान्तिमा होमेका थिए । आज तिनै नेता मौन रहनु थप आश्चर्यजनक भएको छ । आज सत्तारुढ दलका प्रमुख नेताहरूले यो घटनाबारे मुख खोल्न चाहेका छैनन् ।

सर्वसाधारण मानिसहरू सोती घटनामा शीर्ष नेताको साथ र भरथेग खोजिरहेका छन् । मुक्तिको पक्षपोषण गर्ने नेताहरू जातीय विभेद र छुवाछुत जस्तो अपराध देखेर पनि नदेखे झै गर्छन् भने त्यो नेतृत्वबाट थप आशा नगर्दा बेस हुनेछ ।
यति ठूलो अपराध र अन्यायमा समेत हाम्रो नेतृत्व बोल्न चाहँदैन भने दलित समुदायले अझै किन यो नेतृत्व मानिरहनुपर्ने ? हाम्रो समुदायका मानिसहरू दिनरात गरेर जघन्य अपराधका शृङ्खलाबद्ध आक्रमणमा परिरहने हो भने हामीले अर्को क्रान्ति किन नगर्ने ? हाम्रा सीपले बनाएका औजारहरू किन प्रयोग नगर्ने ? अझै दमन शोषण सहेर बस्ने ?

अबका प्रश्न यिनै हुन् । अब दलित समुदाय आफूमाथिको दमन र भेदभाव सहेर बस्ने भने होइन । अब हामीले आफ्नो भाग्य आफैँले कोर्नुपर्छ । मानिस भएर बाँच्ने अवसर प्राप्त गर्नुपर्छ ।

नेपाली समाज र कथित दलित

नेपाली समाज रूपान्तरण भएको र समाजवादउन्मुख संविधान पाएको भनिरहँदा मानवतामाथि हुने यस्ता आक्रमणले कतै गिज्याइरहेको त छैन ! नेपालमा परिवर्तनका खातिर विभिन्न आन्दोलनमा दलित समुदायले गरेको योगदान अरू कसैको भन्दा कम छैन । सोही समुदायमाथि अत्यन्तै अमानवीय ढंगले हुने आक्रमणले हाम्रो समाज कता जाँदैछ भन्ने प्रश्न उठेको छ ।

रुकुमपश्चिममा भएको सामूहिक हत्याले यो कुरा थप टड्कारो बनाएको छ । सरकार र सत्ताले अब यो समुदायमाथि राजनीति गर्नेभन्दा साँच्चै अधिकारसम्पन्न बनाउने कि नबनाउने भन्ने निक्र्यौल गर्नै पर्छ ।

झण्डै ६० लाख दलितहरूले राज्यमाथिको गर्विलो विश्वास र भरोसा गरेकै कारण आज सामुदायिक हिंसा भड्किनबाट रोकिएको छ । सिङ्गो दलित समुदायले संयम अपनाउँदै अधिकारका लागि राज्यलाई दबाब दिएको छ ।

राज्यले आलटेल गरेर आमदलितको भावनामाथि खेलवाड गर्ने अवस्था आइपरे यहीँबाट विद्रोह सुरु हुनेछ । शासक क्रुर र एकतन्त्रीय बन्दा राणा र राजा पतन भए । त्यसरी नै नेपालमा अर्को क्रान्तिको सुत्रपात हुनेछ ।

दलित पनि अन्य मानिसजस्तै जन्म, विवाह र मृत्यु संस्कार मान्छ । ऊ पनि मानिस हो । समाजमा ऊमाथिको विभेदको अन्त्य सिङ्गो मानव जातिको रक्षा र सम्मान हो ।

२०६८ सालपछि कालिकोटको मनवीरे सुनारदेखि रुकुमपश्चिमको सोतीमा जातीय विभेदका आधारमा भएको बर्बर सामूहिक हत्याकाण्डसम्मका घटना र दलित समुदायमाथिको शृङ्खलाबद्ध ज्यादतीमा राज्य मुकदर्शक देखिन्छ । कानुन कार्यान्वयन किन हुँदैन ? रगत सबैको एउटै हो भन्ने मान्यतामा किन लात हानिन्छ ?

दलितका पक्षमा भनिएका घोषणाहरू कागजमा सीमित छन् । अनेक घोषणा र कानुनका बीच हामी आफैँ जिम्मेवार बनेर न्याय र समानताको आन्दोलन गर्न तयार हुनुपर्छ । बर्बर अमानवीय घटना रोक्न राष्ट्रिय संकल्प हुनै पर्छ ।

नेपालमा राजतन्त्रको अन्त्य गर्न माओवादी जनयुद्धको भूमिकामा सन्देह छैन । जनयुद्धको भक्तिगान गाएको भनौँ वा साँचो बोलेको भनौँ, जसले जुन अर्थ लगाए पनि, नेपालको शासनव्यवस्था र राज्यप्रणाली परिवर्तनमा जनयुद्ध (कसैको नजरमा सशस्त्र युद्ध) ले ठूलो योगदान गरेको हो । जनयुद्धको थालनीमा पहिलो सहादत प्राप्त गर्ने दलित नै थिए, दिलबहादुर रम्तेल ।

एउटा दलितको सहादतबाट सुरु भएको जनयुद्धको फल आज कथित माथिल्लो जातले लिएका छन् । के उनीहरूले कहिल्यै दलितको रगतबाट अघि बढेको जनयुद्धको लाभमा आफूसरह दलितलाई सहभागी गराए ?

मानवताकै उपहास हुने दुःखद घटनाका पीडितलाई न्याय दिन हामी सबै मानव बनौँ, न्यायिक बनौँ ।

सोती घटना जातीय विभेद र छुवाछुतकै परिणाम हो । अहिले केही मानिसहरू १७ वर्षीय किशोरीलाई अपहरणशैलीमा लिन गएको, लकडाउन उल्लंघन गरेको जस्ता आरोप लगाएर तथ्य मोड्न उद्यत छन् । यहाँ कसैमाथि हिलो छ्याप्ने खोजिएको होइन । हाम्रो समाजको चिन्तन दलितको भावना र मानवताविरुद्ध छ ।

यसको अर्थ सबै मानिस दलितविरोधी छन् भन्न खोजिएको होइन तर, जातीयताको रङ यसरी छ्याप्न खोजिँदैछ कि मानौँ नवराज आफ्नै कारणले मारिएका हुन्, घटनामा कथित माथिल्लो जातका मानिसहरूको गल्ती छैन ।

नवराज र सुष्माले जातीय पर्खाल भत्काउने मान्यता राखेर प्रेम गरे । त्यही प्रेमले नवराजको जीवन अहुति लियो । नवराज एक प्रतिनिधिपात्र हुन् । हरेक दिन दलित समुदायका मानिसहरू विभेद र छुवाछुतको सिकार बनेका छन् । दलित समुदायको पानीमात्रै होइन प्रेम पनि चलेन ।

अहिले प्रहरी अनुसन्धानमा रहेका चौरजहारी नगरपालिका–८ सोतीका वडाध्यक्ष डम्बरबहादुर मल्लसहितका व्यक्तिहरूको संग्लग्नता पुष्टि हुन्छ हुन्न त्यो तथ्य आउला नै । मुख्य सवाल यो हो कि वडाध्यक्ष घटनालाई उत्तेजित र अराजक बनाउन संगलग्न भएका हुन भने त यो अति गम्भीर बन्नेछ ।

वडा अध्यक्ष आफैँ वडाको सरकार प्रमुख हो । सोती हत्याकाण्डलाई देशभर भएका अन्य घटनाको शृङ्खलाको रूपमा मात्र लिन सकिन्न । यसलाई मानवतामाथिको जघन्य अपराध मान्नुपर्छ ।

सत्य नडग्दासम्म हत्यामा संग्लग्न दोषीहरू कोही पनि उम्कने छैनन् भन्ने विश्वास लिएको छु । मानवताकै उपहास हुने दुःखद घटनाका पीडितलाई न्याय दिन हामी सबै मानव बनौँ, न्यायिक बनौँ ।

अकल्पनीय घटना भयो । अब पीडित परिवारले न्याय पाउँछन्, पाउँदैनन् भन्ने कुरा घटनाको प्रहरी मुचुल्कामा समेत भर पर्नेछ । प्रहरीले कसैको प्रलोभनमा नपरी निष्पक्ष भएर मुचुल्का उठाएको छ भने दोषीहरू उम्किने छैनन् । यो घटनाले कस्तो रूप लिन्छ भन्ने कुरा पनि आम चासो बनेको छ । सत्यको जित हुन पनि इमानदारी जरुरी छ ।

सोती हत्यकाण्डजस्तो अपराध अब देशको कुनै पनि कुनामा नदोहोरियोस् भन्नेतर्फ राज्यको ध्यान पुग्नुपर्छ । घटनाका योजनाकार र संलग्न सबैले सजाय पाउनुपर्छ । सोती हत्याकाण्ड नै जातीय विभेदको अन्तिम घटना बन्नुपर्छ ।

(लेखक नेकपा ५ नम्बर प्रदेश कमिटी सदस्य हुन्)

प्रकाशित मिति : २१ जेठ २०७७, बुधबार  ९ : ०० बजे

बझाङका १२ वटै स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक

बझाङ– बझाङका १२ वटै स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको

टम क्रुजको फिल्मलाई कान्समा प्रशंसा 

काठमाडौँ– कोरोना महामारीको कारण अघिल्ला दुई वर्ष हुन नसकेको संसारकै

नेपाल भित्रिए अमेरिकाका दुई रियालिटी शो

काठमाडौँ– अमेरिकामा सफल दुई रियालिटी शो ‘मेरो भ्वाइस कप यूएसए’

५७० पालिकाको सकियो मतगणना, कुन दलले कति पालिका जिते ?

काठमाडौँ– देशका ७५३ पालिका मध्ये ५७० वटामा मतगणना सकिएको छ

कान्सको रेड कार्पेटमा नेपाली अभिनेत्री

काठमाडौँ– अन्तत नेपाली एक्ट्रेस विश्व प्रसिद्ध कान्स फिल्म फेस्टिभलको रेड