राजनीतिको साङ्लोमा बेरिएको प्रेस स्वतन्त्रता « Khabarhub
Logo
१२ जेठ २०७७, सोमबार

राजनीतिको साङ्लोमा बेरिएको प्रेस स्वतन्त्रता



राजतन्त्र र गणतन्त्रका आ–आफ्नै मूल्यमान्यता छन् । युरोपका अधिकांश राजतन्त्रात्मक मुलुकहरू प्रेस स्वतन्त्रतामा निकै अगाडि छन् । एकपटक डेनमार्ककी महारानी मार्गरेट द्वितीयाले भनेकी थिइन्, ‘हामीलाई जति गाली गर्नुहुन्छ गर्नुहोस् तर तपाईंले आफ्नो प्रेस स्वतन्त्रता हनन् भएको अनुभव गर्न पाउनुहुने छैन ।’

मिडिया वा सामाजिक सञ्जाललाई डेनमार्कको दरबार र सरकारले कहिल्यै टिप्पणी गरेनन् । राजतन्त्रको अविचलित यात्रामा युरोपको सानो तर निकै विकसित मुलुक डेनमार्क प्रेस स्वतन्त्रतामा निकै अडिग रहँदै आएको छ । डेनमार्क लगायत युरोपका अधिकांश राजतन्त्रात्मक मुलुकहरूमा प्रेसमा कुनै बन्देज छैन । अहिले पनि करिब आधा युरोप राजतन्त्र व्यवस्थाबाट चलेको छ ।

हरेक देशको प्रेस स्वतन्त्रतासँगै मानव विकास सूचकांक हेर्नुपर्ने हुन्छ । संयुक्त राष्ट्रसंघको मानव विकास सूचकांकअनुसार नेपालको अवस्था निराशाजनक छ । नेपालको विकास पुछारको श्रेणीमा छ ।

विश्वका शासकीय अभ्यास हेर्दा जुन मुलुकमा उच्च सभ्यता छ, ती मुलुकमा अझै राजतन्त्र कायम छ । आकाशमा पक्षी उडे झैँ प्रेस स्वतन्त्रता विचरण गरिरहेको छ । जापान, बेलायत, हल्यान्ड, नर्वे, बेल्जियम, स्पेन, स्विडेन, ब्रुनाई, भुटान, कम्बोडिया, डेनमार्क, जोर्डन, कुबेत, कतार, लिच्टेन्स्टेन, लक्जेमबर्ग, साउदी अरेबिया, मलेसिया, मोनाको, ओमन, स्वाजिल्यान्ड, थाइल्यान्ड, टोंगा, यूएई आदि मुलुकमा राजतन्त्रको वाहवाही कायमै छ । यीमध्ये केही इस्लामिक मुलुकलाई छोडेर हेर्ने हो भने प्रेस स्वतन्त्रता कमजोर छैन ।

हरेक देशको प्रेस स्वतन्त्रतासँगै मानव विकास सूचकांक हेर्नुपर्ने हुन्छ । संयुक्त राष्ट्रसंघको मानव विकास सूचकांकअनुसार नेपालको अवस्था निराशाजनक छ । नेपालको विकास पुछारको श्रेणीमा छ ।

त्यस्तै, भ्रष्टाचारबारे अध्ययन गर्ने ट्रान्सपरेन्सी इन्टरनेसनल नामक संस्थाको प्रतिवेदनमा नेपाल भ्रष्टाचार धेरै हुने देशको सूचीमा छ । नेपालमा प्रहरी, कर्मचारी प्रशासन र न्यापालिकामा भ्रष्टाचार भएका भएका समाचार, विश्लेषण र टिप्पणीहरू आइरहन्छन् ।

नेपालका शासकले यी विकृतिलाई लुकाउन बेला प्रेस स्वतन्त्रतामाथि प्रहार गर्ने गरेका छन् ।

मानवअधिकार उल्लंघन, कानुनी र सामाजिक भेदभाव, राजनीतिक अस्थिरता, विश्वासयोग्य नेतृत्वको अभाव, आर्थिक मन्दी, पृथकतावादीको चलखेल, जातीय र क्षेत्रीय विग्रह, विदेशी हस्तक्षेप, बढ्दो बेरोजगार, आर्थिक असमानता, प्रजातान्त्रिक संस्थाहरूको असफलता, राष्ट्रिय हितका सवालमा चेतनशील वर्गमा बढ्ने मतभेद तथा राष्ट्रिय शक्तिहरूलाई समन्वय गर्ने केन्द्रीय शक्तिको अभावजस्ता कारणले धेरै राष्ट्र असफल भएका छन् ।

नेपाल आज यही पंक्तिमा उभिएको छ ।

अमेरिकाका छैटौँ राष्ट्रपति जोन क्विन्सी एडम्सले भनेका थिए, ‘तिमी नयाँ–नयाँ कुरा सिक्न प्रेरित गर्छौ, केही गरूँ र केही बनूँ भन्ने उत्प्रेरणा दिन्छौ भने मात्र तिमीलाई नेता भन्न सुहाउँछ । मार्गदर्शक हो राजनीतिक नेता । राष्ट्रलाई पतनको खाडलमा जाक्नेहरू नेता होइनन् ।’

गणतान्त्रिक शासन व्यवस्था रहेको अमेरिकाले प्रेस स्वतन्त्रतालाई विशेष महत्व दिएको छ । अमेरिकामा नेताको आलोचना गर्ने मिडियालाई दबाउन राज्यले कुनै शक्ति खर्च गर्देन । गणतन्त्र भएर पनि चीन लगायतका मुलुकहरूमा प्रेस संकुचनमा छ । चीनका धेरै नेता, कूटनीतिज्ञ र विवेचकहरूसँग साक्षात्कार गरेका पत्रकारहरू भन्ने गर्छन्,‘ चीनमा माओको उदयपछि नागरिकका अधिकार खोसिने क्रम सुरु भयो, त्यही जगमा अहिलेसम्म चीनको शासन चलिरहेको छ ।’

निरंकुश शासनको अन्त्य र लोकतन्त्र स्थापनाका नाममा धेरै देशहरू स्थायित्व, शान्ति र सम्मानबाट गृहयुद्धमा धकेलिएका छन् । सन् १९७४ सेप्टेम्बर १२ मा कम्युनिष्टहरूले इथियोपियामा राजा हटाएर सत्ता हातमा लिए । कम्युनिस्ट पद्धतिकै संविधान बन्यो तर राष्ट्र टुक्रियो । सन् १९९३ मा त्यहाँ इरिट्रिया नामको छुट्टै राष्ट्र जन्मियो । यी देशहरुमा प्रेस स्वतन्त्रता खोसियो । गृहयुद्ध दबाउन कम्युनिस्ट सरकारले लाखौँ जनता मारेका कुरा पढ्न पाइन्छ ।

सन् १९९३ मा गणतन्त्र फ्रान्सका संस्कृतिमन्त्री ज्याक लाङले घतलाग्दो विचार व्यक्त गरेका थिए, ‘संसारलाई फ्रान्सले देखाउने सभ्यता र संस्कृति राजतन्त्रकालकै हो ।’ युरोपमा आज पनि राजतन्त्र भएकै देश बढी प्रजातान्त्रिक छन् र उम्दा प्रेस स्वतन्त्रता छ ।

नेपालले भोगेको राजनीतिक पत्रकारिता

हाम्रो पत्रकारिता दलीय विचारमा विभक्त छ । कुनै पनि प्रजातान्त्रिक मुलुकले यस्तो पत्रकारितालाई प्रेस स्वतन्त्रताको पक्षमा गणना गर्दैन । अन्तर्राष्ट्रिय पत्रकार संघसंगठनहरूले नेपालको प्रेस स्वतन्त्रतालाई करिब पुछारमा राखिदिएका छन् । यहाँ पत्रकारिताको अभ्यास गर्दा आफ्नो राज्य, लगानीकर्ता, समाचार स्रोत, जनता, व्यावसायिक धर्म र व्यावसायिकता भन्दा पर राजनीतिको सेरोफेरोमा घुमिरहेको छ ।

नेपालमा भएका पछिल्ला आन्दोलनहरूले अभिव्यक्ति र प्रेस स्वतन्त्रताको अवस्थामा परिवर्तन त ल्याएको हो । कहिलेकाहीँ यी परिवर्तन नै प्रेस स्वतन्त्रताका लागि बाधक बन्ने गरेका छन् । यस्ता आन्दोलनमा पत्रकारहरू अनाहकमा मुछिएका छन् ।

राजनीतिक झुकाव, दक्ष पत्रकारको कमी, आर्थिक दुरवस्था, स्वार्थसमूहबाट प्ररित, आचारसंहितासम्बन्धी प्रशिक्षणको कमी, श्रमजीवी पत्रकारको हित रक्षामा कमी, पत्रकारहरुबीच विश्वास र परस्पर सहयोगको अभाव जस्ता कारणले प्रेस स्वतन्त्रता साँगुरो बन्दै गएको छ ।

पत्रकार आचारसंहिता, २०७३ ले मुलुकको बदलिँदो राजनीतिक परिवेश अनुसार सञ्चारकर्मीलाई जवाफदेही बनाउने प्रयास गरेको छ । यो आचारसंहित शक्तिकेन्द्रमा रहेका पत्रकारहरुले नै पालना गर्दैनन् । सभ्य समाज निर्माणमा पत्रकार तथा सञ्चारकर्मीको गहन भूमिका हुन्छ । प्राकृतिक विपद र राष्ट्रिय विपदका घटनामा सञ्चारमाध्यमले संयम अपनाउनुपर्ने आचार संहिताको प्रावधान राम्रो मान्न सकिन्छ । यस्ता विषयमा पनि हाम्रो पत्रकारिता राजनीति चल्ने गर्छ ।

नेपालमा भएका पछिल्ला आन्दोलनहरूले अभिव्यक्ति र प्रेस स्वतन्त्रताको अवस्थामा परिवर्तन त ल्याएको हो । कहिलेकाहीँ यी परिवर्तन नै प्रेस स्वतन्त्रताका लागि बाधक बन्ने गरेका छन् । यस्ता आन्दोलनमा पत्रकारहरू अनाहकमा मुछिएका छन् ।

विचार र अभिव्यक्तिको स्वतन्त्रताजस्तै प्रेस स्वतन्त्रता पनि आमजनताको लागि हो । प्रेसले आमजनताको प्रतिनिधिको रूपमा स्वतन्त्रता उपयोग गर्ने हुनाले प्रेसलाई विशेष हैसियत र अवसर प्राप्त भएको हो । सरकारबाट प्रेस स्वतन्त्रतामाथि खतरा भयो भने सञ्चारकेन्द्रहरूमा अपांगता हुन्छ ।

हाम्रा राज्यका नीति, निर्देशन र पत्रकारिताको गतिमा भारतबाट आउने छिटा पर्ने गरेको छ । भारतका पूर्व प्रधानन्यायाधीश पी.एन. भगवतीले ३१ डिसेम्बर १९९० मा भनेका थिए, ‘संविधानमा प्रेस स्वतन्त्रतालाई विशेषरूपमा उल्लेख गरिएको छ वा छैन भनेर स्थलगतरूपमा उभिएका पत्रकारको अनुहार हेरे थाहा भइहाल्छ ।’

नेपालमा सूचनाको हकको लागि सबैभन्दा पहिले पत्रकारिता क्षेत्रले आवाज उठाएको हो । पत्रकारितामा सूचनाको मेरुदण्ड हो । सूचना नै यसको साध्य हो । नेपालमा हालसम्मका सरकारहरूले सूचनाको स्वतन्त्रताका लागि कानुनको उपयोगमा ध्यान दिएका छैनन् । कति जनाले सूचना मागे भन्ने अभिलेख राख्दैनन् । सूचना दिन अटेर गर्छन् ।

प्रजातान्त्रिक मुलुकमा राजनीतिले पत्रकारिता निर्देशन गर्दैन । पार्टीगत पत्रकारिताले प्रेस स्वतन्त्रता खोस्छ । सन् १९२३ मा अमेरिकी अखबार सम्पादक समाजको आचारसंहिता सार्वजनिकीकरणसँगै विश्वमा पत्रकारका लागि प्रेस स्वतन्त्रताले मूर्तरूप पाउन थालेको हो ।

सूचना लिने र दिने काममा प्रेसभित्र दुई प्रकारका समस्या देखिन्छन् । एक खालको समस्या प्रेसको आफ्नै व्यवस्थापनसँग सम्बन्धित छ । अर्को समस्या विश्वसनीयताको हो । पहिलो समस्या प्रेसको स्वामित्वसँग छ । प्रेसले आफ्ना आवश्यकताहरू कसरी पूरा गर्छ भन्ने कुरामा कामलाई प्रभावित गर्छ । प्रेसको विश्वसनीयताको समस्यामा पहिलो समस्या र अन्य परिस्थितिले प्रभाव पार्छ । खासमा हाम्रो राजनीतिले यहीँबाट प्रेसलाई नियन्त्रित गरेको छ ।

प्रजातान्त्रिक मुलुकमा राजनीतिले पत्रकारिता निर्देशन गर्दैन । पार्टीगत पत्रकारिताले प्रेस स्वतन्त्रता खोस्छ । सन् १९२३ मा अमेरिकी अखबार सम्पादक समाजको आचारसंहिता सार्वजनिकीकरणसँगै विश्वमा पत्रकारका लागि प्रेस स्वतन्त्रताले मूर्तरूप पाउन थालेको हो ।

पश्चिमा मुलुकको तुलनामा दक्षिण एसियाली राष्ट्रमा धेरैपछि प्रेस स्वतन्त्रता भित्रियो । नेपालमा २०२३ सालमा नेपाल पत्रकार संघको पहिलो भेलाले औपचारिक रूपमा पत्रकारिताको २२ बुँदे आचारसंहितासहितको प्रेस स्वतन्त्रता बाहिर ल्याएको हो ।

यहाँसम्म आइपुग्दा सरकारनियन्त्रित प्रेसका संस्था राजनीतिबाट झनै बढी प्रभावित रहे । सत्तापक्षीय नभएसम्म प्रेस काउन्सिल वा अन्य सरकारी सञ्चारसंस्थामा सेवाका अवसरबाट पत्रकार बञ्चित छन् । नागरिक तहबाट अहिले यो नै सबैभन्दा बढी आलोचनाको केन्द्रमा छ ।

अझै पनि सरकारका प्रतिनिधिहरू प्रेसलाई कुनामा पार्न खोजिरहन्छन् । अझै हामी राजनीतिको साङ्लोमा बेरिएको पत्रकारिताकै कालखण्डमा अड्किरहेका छौँ ।

बहुदल आएपछि प्रेस स्वतन्त्रता केही फराकिलो बनाउने प्रयास थालिए पनि प्रेसभित्र यति धेरै राजनीति घुस्यो कि संचार संस्थाहरू कुनै दलको निकट नभई चल्न नसक्ने अवस्थामा पुगे । साप्ताहिक पत्रिकाहरू झन बढी दलहरूका मुखपत्र बन्दै गए ।

गणतन्त्र आएपछि नेपाली पत्रकारिताले स्वतन्त्र बन्ने प्रयास त गर्‍यो तर सञ्चारसंस्थामा अमूक शक्तिहरू भित्रिन थाले । यहाँसम्म आइपुग्दा विश्व सञ्चारजगतमा प्रविधिको हलचल आयो । यसले प्रेस स्वतन्त्रताका नयाँ आयाम फराकिलो बनाइदिएको छ । प्रविधिका अनेक नेटवर्कले अहिले प्रेस स्वतन्त्रताका फराकिलो भएको ।

अझै पनि सरकारका प्रतिनिधिहरू प्रेसलाई कुनामा पार्न खोजिरहन्छन् । अझै हामी राजनीतिको साङ्लोमा बेरिएको पत्रकारिताकै कालखण्डमा अड्किरहेका छौँ ।


(लेखक विजनेश प्लस टेलिभिजनका प्रधानसम्पादक हुन् ।)


भर्खर

0