यी प्रक्रिया पुरा गरेपछि पाइन्छ अमेरिकी कामदार भिसा | Khabarhub Khabarhub

यी प्रक्रिया पुरा गरेपछि पाइन्छ अमेरिकी कामदार भिसा


२० फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

अमेरिका जान चाहने दक्ष कामदारका लागि अमेरिकाले अनलाइन मार्फत आवेदन दिने व्यवस्था शुरु गरेको छ ।

दक्ष कामदारलाई दिइने ‘एच-वान बी भिसा’का लागि गत आइतबारबाटै अनलाइन आवेदन लिन थालिएको हो । अमेरिकाले भिसा प्रक्रियामा केही परिवर्तन गर्दै यो वर्षबाट अनलाइनमार्फत दर्ता प्रक्रिया शुरु गरेको हो ।

पछिल्लो समय खाडी मुलुक तथा मलेसियाले जुन तवरले नेपाली कामदार लैजान्छ सोही प्रक्रिया अनुरुप नै अमेरिकाले समेत कामदार लैजान लागेको विषयमा सामाजिक सञ्जालमा चर्चा समेत भएको पाइएको छ । अमेरिकाले नेपाली कामदारलाई लैजाने विषयका समाचारहरु बाहिरिए पछि नेपालीहरुमा पनि यो भिसा कसरी पाइन्छ ? भन्ने कौतुहलता उब्जिनु स्वभाविक हो । तर, वास्तविकता भने पृथक छ ।

कामदार स्वयंले यो भिसाका लागि आवेदन दिन भने सक्ने छैनन् । यसका लागि अमेरिकी रोजगारदाता कम्पनीहरुले उनीहरुलाई पहिले कामका लागि अफर गरेको हुनुपर्छ । तत्पश्चात मात्र उक्त कम्पनीले नै उसका लागि एच- वान बी भिसाको प्रक्रिया अघि बढाउने छ र आवेदन गर्नेछ ।

अमेरिकामा रहेका कुनै कम्पनीले कोही दक्ष कामदारलाई रोजगारको अफर गरेको छ भनेमात्र उक्त रोजगारदाता कम्पनी वा उसको प्रतिनिधि वा उसको कानून व्यवसायीलेमात्र अनलाइनमा सो भिसाका लागि आवेदन दिने सक्ने व्यवस्था गरिएको छ । अहिले विभिन्न अमेरिकी रोजगारदाता कम्पनीहरुले उक्त भिसाका लागि आवेदन दिइरहेको जनाइएको छ ।

विगतका वर्षहरुमा कागजीरुपमा प्रारम्भिक दर्ता गर्नुपर्ने भएपनि यो वर्षदेखि अनलाइन रजिस्ट्रेशन सुरु गरिएको हो । मार्च १ देखि सुरु भएको अनलाइन रजिस्ट्रेशन मार्च २० सम्म हुनेछ । मार्च ३१ सम्म लोटरी प्रकृयामार्फत आवेदन छनोट गरेर छनोट हुनेहरुलाई सूचित गरिनेछ ।

आखिर के हो एच-वान बी भिसा ?

एच- वान बी भिसा अमेरिकी श्रम बजारमा आवश्यक दक्ष कामदारलाई दिइने रोजगारीमा आधारित भिसा हो ।

सन् १९५२ मा अमेरिकी कंग्रेसले पारित गरेको ‘आप्रवासन एवं राष्ट्रियता ऐन’ मार्फत् यो भिसाको परिकल्पना गरिएको थियो । यद्यपि सन् १९९० पछि नर्सहरुका लागि एचवान ए र अन्यका लागि एचवान बी भनी एच- वान भिसाको वर्गिकरण गरिएको थियो । उच्च शिक्षा हासिल गरेका र अमेरिकी श्रम बजारमा धेरै माग रहेका दक्ष कामदारलाई यो भिसा दिइन्छ ।

यसअघिसम्म यो भिसा चाहनेका रोजगारदाताले अमेरिकाको नागरिकता एवं अध्यागमन सेवामा आवेदन दिनुपर्थ्यो। त्यसपछि मात्र अमेरिकाको नागरिकता एवं अध्यागमन सेवा युएससीआईएसले आवेदकहरुबाट छानेर निश्चित संख्याका आवेदकलाई मात्र भिसा उपलब्ध गराउँथ्यो ।

यसबाट युएससीआईएस र आवेदकलाई अनावश्यक कागजी झन्झट हुने गरेकोमा यसका लागि नयाँ प्रक्रिया थालनी गरिएको छ । यसअनुसार वर्ष २०२१ का लागि नयाँ प्रक्रियामार्फत रोजगारदाताले यो भिसाका लागि अनलाइनमार्फत् आवेदन दिनुपर्ने प्रक्रिया अघि बढाइएको हो ।

नयाँ प्रक्रियामा के छ ?

युएससीआईएसले गत फेब्रुअरी ६ का दिन सरोकारवाला सबैलाई सम्पर्क गरी वर्ष २०२१ मा एच- वान बी भिसाका लागि नयाँ प्रक्रिया ल्याइने जानकारी दिएको थियो । त्यसअघि गत डिसेम्बरमा युएससीआईएसले यसको सफल परीक्षण गरेको जनाएको थियो ।

नयाँ प्रक्रिया अनुसार आवेदन दिनका लागि रोजगारदाता कम्पनीले युएससीआईएसको आधिकारिक वेबसाइटमा गई विवरण भर्नुपर्ने छ । यसका लागि रोजगरादाताले आफूले नियुक्त गर्न चाहेका कामदारलाई नियुक्त गर्नु परेको कारण, त्यस कामका लागि अमेरिकी नागरिकलाई नियुक्त गर्न नसक्नुको कारण, कामदारका लागि आवश्यक शैक्षिक विवरण, योग्यता लगायतका विवरण समेत पेश गर्नुपर्ने छ ।

रोजगारदाताले आफ्नो संस्थानमा गर्ने कामका लागि निश्चित डिग्री भएको व्यक्तिले मात्र गर्नक्ने आधार पुष्टि गर्नुपर्छ । अथवा रोजगारदाताले संस्थाको कामका लागि न्यूनतम योग्यता निश्चित डिग्री रहेको आधार पुष्टि गर्नुपर्छ । संस्थाको अन्य कामका लागि डिग्री नचाहिए पनि आवेदन दिइएको कामका लागि डिग्री होल्डरको आवश्यकता छ भन्ने पुष्टि गर्नुपर्छ वा उक्त कामका लागि निश्चित शैक्षिक योग्यता पुष्टि गर्नुपर्छ । यसका अलावा विशेष पेशामा काम गर्नका लागि राज्यका तर्फबाट अनुमतिपत्र प्राप्त गरेको वा विज्ञता हासिल गरेको पुष्टि गर्नुपर्छ ।

रोजगारदाताले विदेशी कामदारको तर्फबाट युएससीआईएसको वेबसाइटमा गई एच- वान बी भिसाका लागि आवेदन दिन सक्नेछन्

रोजगारदाता स्वयं वा उसका आधिकारिक प्रतिनिधिले मात्र भिसा प्राप्त गर्ने आवेदकको तर्फबाट आवेदन दिन पाउनेछन् । आवेदन फाराम भर्दा १० डलर तिर्नुपर्नेछ । यदि छनोटमा नपरे उक्त रकम फिर्ता हुने छैन ।

विभिन्न कारणले गर्दा एच- वान बी भिसा आवेदन अस्वीकृत हुन सक्नेछ । तोकिएको मिति अगावै वा मिति कटिसकेपछि दर्ता गरिएको आवेदन सोझै अस्वीकृत हुनेछ । त्यस्तै, कुनै रोजगारदाता कम्पनीले एकै व्यक्तिका लागि दुई पटक एउटै आवेदन दिएको छ भने पनि त्यस्तो आवेदन अस्वीकृत हुनेछ ।

यद्यपि एउटा रोजगारदाता कम्पनीले एकभन्दा धेरै आवेदकका तर्फबाट भिसाको आवेदन दिन भने सक्नेछ । त्यस्तै, एक व्यक्तिका लागि एक भन्दा धेरै रोजगारदाताले पनि भिसाका लागि आवेदन दिन सक्नेछन् ।

भिसा प्राप्त गर्नका लागि चाहिने योग्यता

एच- वान बी भिसा प्राप्त गर्ने आवेदकका लागि वर्ष २०२१ मा युएससीआईएसले दुई श्रेणीमा वर्गिकरण गरेको छ । पहिलो वर्गमा आवेदन दिनका लागि आवेदकले कम्तीमा अमेरिकी स्नातक तह वा सोसरह उत्तीर्ण गरेको हुनुपर्नेछ ।

स्नातक तह उत्तीर्ण नगरेकाले यो प्रक्रियामा सामेल हुन पाउनेछैनन् । स्नातक उत्तीर्ण गरेकाहरुका लागि ६५ हजार भिसाको कोटा छुट्याइएको छ ।

त्यसैगरी अर्को वर्ग भने स्नातकोत्तर उत्तीर्ण गरेकाहरुका लागि छुट्याइएको छ । यसका लागि २० हजार जनाको कोटा छुट्याइएको छ । युएससीआईएसले स्नातकोत्तर उत्तीर्ण गरेकाहरुलाई ६५ हजारको कोटामा पनि समावेश गरेको छ ।

विश्वका जुनसुकै मुलुकका नागरिक पनि यो प्रक्रियामा सामेल हुन सक्नेछन् । यद्यपि अमेरिकासँगको खुला व्यापार सम्झौता अनुसार चिली र सिङ्गापुरका नागरिकका लागि एच- वान बी भिसाका लागि ६८०० जनाको कोटा छुट्याइएको छ ।

अमेरिकी कामदार भिसा कसरी पाउने ?

यो भिसा प्राप्त गर्नका लागि शुरुमा काम खोज्नु पर्ने हुन्छ । अनलाइनमा धेरै अमेरिकी श्रम कम्पनीहरुले एच- वान बी भिसा आवश्यक पर्ने कामको माग गरिरहेका हुन्छन् । यसका लागि “H-1b Visa Sponsors Database”  भनी अनलाइनमा खोज्न सकिन्छ ।

विभिन्न अमेरिकी श्रम कम्पनीहरुले अनलाइनमार्फत काम अफर गरेका हुन्छन् । उदाहरणका रुपमा करियरबिल्डर, मोन्स्टर, डाइसलगायतका अमेरिकी कम्पनीहरु ख्याति प्राप्त छन् । यस्ता कम्पनीहरुका अनलाइनमा आफ्नो व्यक्तिगत विवरण, शैक्षिक योग्यता र कामको अनुभव लगायतका वास्तविक विवरण भरी कामको आवेदन दिन सकिनेछ । अमेरिकामा गुगल, फेसबुक, अमेजनलगायतका प्राविधिक कम्पनीहरुमा एनवानबी भीसा प्राप्त कामदारहरु संख्या धेरै रहेको जनाइन्छ ।

रोजगारीको क्षेत्र 

कुनै खास विषयमा न्यूनतम स्नातक उत्तीर्ण गरेकाले एच- वान बीका लागि दिइने आवेदनको प्रक्रियामा सामेल हुन सक्नेछन् ।

अमेरिकामा पछिल्लो समय आर्किटेक्चर इन्जिनियरिङ, डेन्टिस्ट्री, कम्प्युटर साइन्स, अकाउन्टिङ, मेडिसिनलगायतका क्षेत्रमा दक्ष कामदारको माग धेरै रहेको बताइन्छ । यी क्षेत्रमा अमेरिकामा रोजगारीको राम्रो अवसर रहेको जनाइन्छ । यस्ता विषय अध्ययन गरेकाहरुका लागि एच- वान बी भिसा प्राप्त गर्न अन्य विषय अध्ययन गरेकाहरुका लागि भन्दा केही सहज हुनेछ । तर, रोजगारीका तीन क्षेत्रमा भने एच- वान बी भिसा उपलब्ध हुनेछैन ।

– उच्च शिक्षा अध्यापन गराइने शैक्षिक संस्था वा प्रतिष्ठानमा रोजगारी
– उच्च शिक्षा अध्यापन गराइने संस्थासँग आबद्ध कुनै गैर सरकारी संस्थामा रोजगारी
– सरकारी शोध केन्द्रहरुमा रोजगारी

यो भिसामार्फत विश्वका विभिन्न देशबाट आइटी लगायतका क्षेत्रमा विशेष ज्ञान भएका कामदारहरु अमेरिका भित्रिने गर्छन् । जसमध्ये भारतीयहरुको संख्या सबैभन्दा धेरै रहेको जनाइएको छ ।

ठगिनबाट कसरी जोगिने ?

नेपालमा विभिन्न कन्सल्टेन्सी कम्पनीहरुले अमेरिकामा रोजगार दिने भनी प्रचार गर्दै आएका छन् । तीमध्ये अधिकांशले शत प्रतिशत अमेरिकी भिसा उपलब्ध गराइदिने दाबी समेत गर्दै आएका छन् ।

अमेरिकाको भिसा शत प्रतिशत प्राप्त गर्ने कुनै ग्यारेन्टी हुँदैन । यस्ता कम्पनीहरुको दाबी पत्याएर यिनीहरुको लहैलहैमा लाग्दा ठगिने जोखिम बढी रहन्छ । यस्तो अवस्थामा स्वयं चनाखो भएर र सबै कुराहरु स्पष्ट बुझेर मात्र प्रक्रिया अघि बढाउनुपर्छ ।

नेपालस्थित अमेरिकी दूतावासको सुझाव

अमेरिकी दूतावास काठमाडौंले कामदार भिसा एच- वान बी भिसाका बारेसमा स्पष्ट हुन सुझाएको छ । दूतावासमा विभिन्न भिडिया तथा सामाजिक सञ्जालमा आएका केही समाचारहरु भ्रामक भएको समेत जनाएको छ ।

भिसामा नीतिगत परिवर्तनबारे आएका समाचार धेरै अर्थमा भ्रामक भएको दूतावासले जनाएको छ । कतिपय संचारमाध्यममा अमेरिकाले नेपालबाट खाडी र मलेसियामा जस्तै कामदार मागेका जस्ता समाचारहरु प्रकाशित भएका थिए । एच- वान बी भिसामा नीतिगत परिवर्तन नभए पनि प्रारम्भिक दर्ता प्रकृया भने यो वर्षदेखि परिवर्तन भएर अनलाइन रजिस्ट्रेशन बनाइएको स्पष्ट पारेको छ ।


दूतावासले भनेको छ– ‘हामी यहाँहरू सबैलाई कुनैपनि किसिमको अमेरिकी भिसा आवेदन गर्नु अघि त्यसका प्रकृयाको बारेमा प्रष्ट बुझ्न र यससम्बन्धी कुनैपनि दावीहरूमा विश्वास गर्नुपहिले राम्ररी त्यसबारे थाहा पाउन आग्रह गर्दछौं।’

एच- वान बी भीसा होल्डरका लागि ग्रिनकार्डको प्रक्रिया के ?

एच- वान बी भिसामार्फत् ग्रिनकार्डका लागि पनि आवेदन दिन सकिनेछ । अमेरिकामा प्रायः रोजगारदाताले मात्र आवेदकको तर्फबाट ग्रिनकार्डका लागि प्रक्रिया अघि बढाउनुपर्ने प्रावधान छ ।

यसका लागि ग्रिनकार्डको अपेक्षा गर्ने एच- वान बी भिसाप्राप्त व्यक्ति रोजगारदाता कम्पनीको कुन पदमा कार्यरत छ, कम्पनीमा उसको जिम्मेवारी के छ भन्ने खुलाउनुपर्छ । ईबीवानबी वा इबीटू कस्तो किसिमको ग्रीनकार्डका लागि आवेदन दिँदा यो प्राप्त गर्ने सम्भावना रहन्छ भन्ने विषयमा ग्रिनकार्डको अपेक्षा गर्नेले आप्रवासन क्षेत्रमा कार्यरत कानून व्यवसायीसँग परामर्श गर्न सक्नेछ ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  ७ : ४४ बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही