फिफा विश्वकप छनोट : घरेलु दर्शकमाझ सकारात्मक नतिजाको अपेक्षा ! | Khabarhub Khabarhub

फिफा विश्वकप छनोट : घरेलु दर्शकमाझ सकारात्मक नतिजाको अपेक्षा !



काठमाडौं – पहिलो पटक सिधै दोस्रो चरण खेल्न पाएको नेपाली फुटबल टोलीले कुनै तलमाथि नभए आजको २३ औं दिन अर्थात चैत १३ गते विश्वकप २०२२ तथा एएफसी कप २०२३ को संयुक्त छनोट अन्त्गत चाइनिज ताइपेइसँग दशरथ रंगशालामा खेल्नेछ ।

त्यसको ५ दिनपछि अर्को खेल अस्ट्रेलियासँग खेल्ने नेपालले आइतबारदेखि बन्द प्रशिक्षण शुरु गरिसकेको छ । तर, राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक योहान कालिनले बोलाएका सबै खेलाडी भने टोलीको क्याम्पमा उपस्थित हुन सकेका छैनन् । केही क्लबहरु मोफसलका प्रतियोगितामा व्यस्त रहँदा सबै खेलाडी उपलब्ध हुन नसकेको उनले बताएका छन् ।

सोमबार २३ जान खेलाडी सातदोबाटोस्थित एन्फा मैदानमा भएको अभ्यासमा सहभागी थिए । मुख्य प्रशिक्षक कालिनले घरेलु मैदानमा सकारात्मक नतिजाको अनुमान लगाउन सकिने बताएका छन् ।

मंसिर २८ देखि शुरु भएर फागुन ३ गते सकिएको शीर्ष डिभिजन लिगमा खेलाडीहरुको प्रदर्शनलाई नजिकबाट हेरेका उनले ३३ सदस्यीय प्रारम्भिक टोली बनाएर अभ्यासमा बोलाएका छन् ।

केही नयाँ खेलाडी र केही पुरानै अनुहार अभ्यासमा छन् । तर, नेपाली फुटबलमा चर्चाको नाम विमल घर्ती मगर, सन्तोष तामाङ, दिनेश राजवंशी लगायत खेलाडी भने टोलीमा छैनन् । उनीहरुमात्रै होइनन्, झण्डै दशक लामो समय नेपालबाट खेलिसकेका पूर्व कप्तान विराज महर्जन पनि टोलीमा छैनन् ।

यद्यपी प्रशिक्षक कालिनले आफ्नो अहिलेको टोली जे जस्तो बनेपनि राम्रो बनेको प्रतिक्रिया दिएका छन् । उनले नेपालमा उपलब्ध राम्रा खेलाडीलाई क्याम्पमा बोलाइएको बताए । घरेलु दर्शक समक्ष राम्रो नतिजाको अपेक्षासहित कालिनले बन्द प्रशिक्षण शुरु गरेका छन् ।

‘तयारीमा फर्किएका छौं । अभ्यास शुरु गरिरहँदा राम्रो भइरहेको छ । दुर्भाग्य सबै खेलाडी क्याम्पमा बोलाउन सकिएको छैन्,’ उनले भने, ‘हामीले योजना अनुसार टोलीको तयारी शुरु गर्न सकेनौं । तर, पनि अब यसलाई सदुपयोग गर्दै क्याम्प अगाडि बढाउँछौं ।’

प्रशिक्षक कालिन

नेपालमा प्रयाप्त खेलाडी नभएको कुरा स्वीकारेका उनले लिगबाट आएका केही खेलाडीले लिगमा राम्रो खेले पनि उनीहरुसँग अन्तर्राष्ट्रिय अनुभव कम रहेको बताए ।

उनले भने, ‘केही खेलाडी लिगमा राम्रो गरिरहेका छन् । उनीहरुको अन्तर्राष्ट्रिय स्तरको फुटबल खेलेका छैनन् । प्रोफेसनल खेलाडीका रुपमा अगाडि बढे राम्रो हुनेछ । केही राम्रो नाम पनि छन् ।’

यद्यपी उनले यसलाई अभ्यासका क्रममा केही सुधार गर्दै उपलब्ध खेलाडीबाट राम्रो गर्ने योजना रहेको बताएका छन् । ‘हाम्रो टोली समुहमा कमजोर छ । तर, हामी यसबाटै राम्रो गर्ने प्रयास गर्ने छौं,’ कालिनले भने ।

अहिले सबै खेलाडी अभ्यासमा नआएको भएपनि केही दिन भित्रै सबै खेलाडी क्याम्पमा समावेश हुने उनले बताएका छन् ।

दशरथ रंगशालामा हुने प्रतियोगितामा नेपालले पहिलो खेलमा चाइनिज ताइपेईसँग खेल्नेछ । यसअघि ‘अवे गेम’ मा ताइपेइलाई पराजित गरेको नेपालले घरेलु दर्शकको साथ पाउँदा राम्रो नतिजा निकाल्ने उनको अपेक्षा छ ।

कालिनले अस्ट्रेलियासँग उसैको मैदानमा नेपालले अंक नपाए पनि राम्रो खेलेको बताएका छन् । ‘अस्ट्रेलियन टोली समूहको सबैभन्दा बलियो हो । उसलाई रोक्न नसके पनि हामीले ‘अवे गेम’ मा राम्रो खेलेका थियौं । घरेलु मैदानमा पनि राम्रो खेल्ने प्रयास गर्ने छौं,’ मुख्य प्रशिक्षक कालिनले भने ।

अस्ट्रेलियाका खेलाडी माथिल्लो स्तारका रहेको बताएका उनले उसका खेलाडी पनि उच्च स्तरका रहेको बताए ।

‘अस्ट्रेलिया अन्य टोलीभन्दा माथिल्लो स्तरको टीम हो । मेरो विचारमा उनीहरुसँग धेरै राम्रा खेलाडी छन् । उनीहरुलाई यो समूहका अन्य टीमका खेलाडीसँग दाज्न मिल्दैन,’ कालिन भन्छन्, ‘उनीहरुसँग राम्रो खेल्ने कोशिस गर्नेछौं ।’

विदेशी लिगमा रहेका कप्तान किरण चेमजोङ र रोहित चन्द उनीहरुलाई क्लबले रिलिज दिने वित्तिकै नेपाल फर्किने उनले बताए । उनीहरु कहिले टोलीमा सहभागी हुन्छन् भन्ने यकिन नभएको कालिनले बताए ।

कालिनले विश्वकप छनोटका लागि यसअघि फागुन ५ गतेदेखि अभ्यासमा बोलाउने तयारी गरेका थिए । तर, मोफसलमा नकआउट प्रतियोगिता शुरु भए । क्याम्पमा बोलाइएका खेलाडी मोफसलमा खेल्न जाने भएपनि एन्फा र क्लबबीचको सहमतिमा क्याम्प झण्डै २ हप्ता ढिला शुरु गरिएको हो ।

अहिले क्याम्पमा धेरै नयाँ खेलाडी बोलाइएको र अस्ट्रेलिया, चाइनीज ताइपेइ जस्ता बलियो टोलीसँग खेल्नु पर्ने उल्लेख गर्दै राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक राजुकाजी शाक्यले टिम सेट हुन समय लाग्ने भएकाले लामो समयको बन्द प्रशिक्षण आवश्यक हुने बताउँछन् ।

‘तयारी राम्रो गर्नै पर्छ । अहिले नयाँ खेलाडी पनि आएका छन् । त्यसलाई टिम सेट गर्न समय लाग्छ,’ उनले भने, ‘हाम्रो जस्तो देशमा तयारी अलि लामो समय गर्नु पर्छ तर, पनि अहिलेको अवस्थामा खेलाडीहरु खेलिरहेको हुँदा यो समय पनि ठीकै हुन्छ ।’

दुई महिनाभन्दा लामो समय ए डिभिजन लिग चलेपनि खेलाडीले राम्रो अभ्यास गर्न नपाएको प्रशिक्षक कालिनले बताएका छन् । उनले लिगका खेल एक पछि अर्को भएकाले क्लबहरुले तयारीको समय नपाएको बताए ।

‘मैले कुनै प्रशिक्षक वा क्लबको आलोचना गर्न खोजेको होइन । तर, लिग भएपनि हाम्रा खेलाडीले राम्रो तयारी गर्न पाएका छैनन्,’ कालिनले भने, ‘यो सत्य कुरा हो । खेलाडीहरुले धेरै खेल खेले तर, अभ्यास राम्रो भएन । त्यसैले पनि खेलाडीहरुलाई तयारीको समय चाहिन्छ ।’

कुवेतसँगको ‘होम गेम’ का लागि भुटान जानु अघिल्लो रात विमल घर्ती मगर, अन्जन बिष्ट, सन्तोष तामाङ र दिनेश राजवंशी नाइट क्लब गएका थिए । पछि एन्फाको अनुसन्धान समितिले उनीहरुलाई दोषी ठहर गर्दै कारबाही समेत गरेको थियो ।

अन्जन र सन्तोषले ४५ दिनको प्रतिबन्ध खेपेका थिए भने विमल र दिनेशलाई ९० दिन फुटबलबाट प्रतिबन्ध लागेको थियो । तर, अहिले उनीहरुको प्रतिबन्ध सकिइसकेको छ । यसै विषयमा कालिनलाई खेलाडीका लागि अनुशासन कति आवश्यक हुन्छ भनेर गरिएको प्रश्नमा उनले भने, ‘खेलाडीका लागि अनुशासन महत्वपूर्ण कुरा हो । उनीहरुले मैदान भित्र र बाहिर अनुशासनमा रहनु जरुरी छ । अनुशासनले पनि फुटबल कति व्यवसायिक छ भन्ने देखाउँछ ।’

विश्वकप छनोटको समुह ‘बी’मा रहेको नेपालले अहिलेसम्म खेलेका ५ खेलमा १ मा जीत र ४ खेलमा हार बेहोरेको छ । एक खेलमा जीत हात पारेको नेपाल अंक तालिकाको चौथो स्थानमा छ ।

समुहमा ४ खेल खेलेको अस्ट्रेलिया शतप्रतिशत नतिजासहित शीर्ष स्थानमा छ भने ५–५ खेल खेल्दै समान तीन जीत हात पारेका कुवेत र जोर्डन क्रमश दोस्रो र तेस्रो स्थानमा छन् भने ५ वटै खेल गुमाएको चाइनीज ताइपेइले पुछारमा छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  ८ : ५३ बजे

नियम विपरीत राखिएका व्यक्तिगत सुरक्षाकर्मी फिर्ता गर्न गृहको निर्देशन

काठमाडौं – गृहमन्त्रालयले विशिष्ठ व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ र

पोखरा विमानस्थल निर्माणमा गडबडी – अनुसन्धानमा विष्णु पौडेलदेखि लोकेन्द्र विष्टसम्म तानिन सक्ने

काठमाडौं – हालसम्मकै ठूलो भ्रष्टाचार भएको भनिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक

मनहरी । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा छ

योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योजना कार्यान्वयनका लागि रचनात्मक

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि मोहम्मद अफताव आलमलाई जन्म कैदसम्म

मन्त्रिपरिषद् बैठक  सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु