जनै पूर्णिमा र रक्षाबन्धन : बेजोड मिश्रित संस्कृति « Khabarhub
Logo
१ आश्विन २०७७, बिहीबार

जनै पूर्णिमा र रक्षाबन्धन : बेजोड मिश्रित संस्कृति



यज्ञोपवितं परमं पवित्रं प्रजापतेर्यत् सहजं पुरस्तात् । 

आयुष्यमग्य्रंप्रतिमुञ्च शुभ्रं यज्ञोपवीतं बलमस्तुतेजः ।।

चान्द्रमानअनुसार श्रावण शुक्लपूर्णिमालाई जनै पूर्णिमा अर्थात् श्रावणीपूर्णिमा भनिन्छ । पूर्वीय दर्शनका यजुर्वेदीहरूका लागि यो वर्षभरिको महान पर्व हो । मानव शरीरमा शुद्ध र स्वाध्याय गरिरहनुपर्ने हुँदा यस दिनलाई शरीरशुद्धि र विशेष स्वाध्याय गर्ने दिनका रूपमा पनि मानिन्छ । विशेष स्नान गरी यज्ञोपवीत अर्थात् जनै वा ब्रह्मसूत्र धारण गर्ने दिन वा उपाकर्म गर्ने दिनको रूपमा पनि यस दिनलाई मानिन्छ ।

यजुर्वेदीहरूका लागि वेद अध्ययन आरम्भ गर्ने दिन, श्रवण नक्षत्रयुक्त भएकाले यसलाई श्रावणी भन्ने गरिएको हो । सामवेदीहरू भाद्रशुक्ल पूर्णिमामा र अथर्ववेदीहरूले श्रावण या भाद्र पूर्णिमाका दिन उपाक्रम गर्ने गर्छन् ।

तागाधारीहरूले यस दिन बिहानै विशेष चोखो माटो, खरानी, गोबर, जौ, तिल, कुश प्रयोग गरी स्नान गर्छन् । सप्तऋषिहरूको पूजा गरी वेदमन्त्रले नयाँ जनै मन्त्रेर रुद्राभिषेकसहित नयाँ जनै प्रयोग गरी पुरानो जनै झिक्ने गर्छन् ।

वर्गपिच्छे जनै बनाउने वस्तु र विधि फरक भए पनि सबैजसोले कपासद्वारा बनाइएको जनै नै प्रयोग गर्ने गर्छन् । जनै प्रयोग गर्नुअघि विधि विधानले जनैलाई संस्कार गरेको हुनुपर्छ । चूडाकर्म, उपनयन, व्रतबन्ध आदि कर्म भइसकेका लागि यस दिन जनै नवीकरण गर्ने दिन सम्झी मन्त्रिएको नयाँ जनै लगाई पुरानो जनैलाई आफ्ना स्थानमा जाऊ भनी प्रार्थना गरी फुकालिन्छ ।

प्रजापति देवता सँगसँगै यज्ञोपवीत ‘जनै’ को उदय भएकाले नयाँ जनै प्रयोग गर्दा अत्यन्त पवित्र प्रजापतिरूपका जनैले मेरो शरीर बनाई ब्रह्मतेज प्राप्ति र शरीरको रक्षाकवचको रूपमा रहन भगवदीय प्रार्थना समेत गरी जनै लगाउने गरिन्छ । विधिपूर्वक मन्त्रणा गरिएको जनैले मानिसको शरीरमा तेज, पुष्टि, कृति, बुद्धि, धर्म वृद्धिको साथै आयु र आरोग्य समेत प्राप्त हुन्छ ।

जनैको बनौटदेखि नै यसमा विशेष ख्याल गरिएको हुन्छ । शतं सम्बत्सरं जीवेत् भन्ने वैदिक चिन्तन मानिसको पूर्ण आयु सय वर्षको र ९६ सूत, ९ गुणा, ३ डोरा र त्यसमा प्रयोग भएका ग्रन्थीहरूले मानिसको जीवन पूर्णायुको संकेत गर्छ ।

व्रतबन्धादि संस्कार गर्दा केही जीवन समय व्यतित भइसकेको भए पनि झण्डै बाँकी ९६ वर्ष, ९६ सुतली बाँकी जीवनको पूर्णता र प्रत्येक वर्षको उपाक्रमले यसको नवीकरण र शुद्धीकरणको संकेत गर्छ । शरीरमा भएका ९ द्वारबाटै अन्त्यमा प्राण विसर्जन भई देहलीला समाप्त हुने हुँदा मुख्य ९ द्वारयुक्त शरीरको भरणपोषणको अनि रक्षाको संकेत ९ गुण जनैले दिन्छ ।

अर्को कुरा, जनैमा भएका ३ डोराले जन्मदै ३ ऋण बोकेर आउने र ती तीन ऋण देवऋण, पितृऋण, ऋषिऋण जीवनमा गरिने पुण्यकर्मले तिर्दै जाने संकेत पनि यसबाट प्राप्त हुन्छ । सदैव देवउपासनाबाट देवऋण, तपद्वारा ऋषिऋण र असल संस्कारबाट असल सन्तान उत्पादन र संस्कारले तदनुकूल व्यवहार गर्नु पितृऋण चुक्ता गर्ने उपायहरू हुन् ।

जनैमा भएका ५ ग्रन्थीले भने मानव जीवनले गर्नुपर्ने ५ मुख्य कर्मको संकेत गर्छ । सदैव स्वाध्यायमा रहने, होमादि कार्यबाट देवता लगायत सम्पूर्ण जीवात्मालाई आहुतिमार्फत् खुसी गराउने, गृहस्थ धर्म निर्वाहका लागि अतिथि सत्कार गर्ने, सदैव जल तर्पण आदिले पितृयज्ञ गर्ने, सदैव प्राणीहरूलाई जल, अन्न दिएर भूतयज्ञ गर्ने यी ५ प्रमुख यज्ञहरू मानिसले दिनदिनै गर्नुपर्ने हुन्छ ।

सक्नले यी कार्य सधैँ गर्छन् । नसक्नेले जनै पूर्णिमाका दिन यज्ञोपवीत संस्कार गर्दा तिनबाट हुन नसकेका दोषमुक्तिका लागि सम्पूर्ण ब्रह्माण्डमा रहेका स्थावरदेखि जीवात्मासम्म श्रद्धाभाव व्यक्त गर्दै महासंकल्पका साथ उपाक्रम कर्म गर्छन् ।

ब्रह्माण्डभित्रका सम्पूर्ण लोकालोक अतल, वितल, सुतल, भूतल, रसातल, तलातल, पातालदेखि धर्तीमा रहेका सम्पूर्ण नदी, जलाशय, सागर, महासागर र अन्तरिक्षका भूत, पिशाच, प्रेतगणदेखि आकाशसम्मका ब्रह्मलोक, विष्णुलोक, शिवलोकसम्म र सृष्टिदेखि आजपर्यन्त रहेका, आफू सम्बन्धित तमाम वायुमण्डल र समस्त भूगोल, खगोल, आकाशीय पिण्डहरूलाई समेत स्मरण गरी तृप्त पार्ने प्रयास गरी प्रार्थना गर्नुपर्ने वैधिक विधान छ ।

आपूmबाट आशा गरिएका समस्त जीव, जीवात्मालाई वर्षभरि नै तुष्टि, पुष्टि गर्न नसकेकोमा क्षमाप्रार्थी हुँदै प्रायश्चित्त गर्दै जलादि तर्पण दान गरी नयाँ जनै लगाउने क्रममा ब्रह्माण्डीय पिण्डको सम्पूर्ण सकारात्मक ऊर्जा आफ्नो शरीरमा संरक्षित होस् भन्ने प्रार्थना गर्दै स्नान र पूजाका लागि यस दिन आफैँले वा ब्राह्मणद्वारा महासंकल्प गरी गराई जानेर वा अन्जानमा यसअघि भएका सम्पूर्ण कर्मदोष पाप, प्रदूषण, कुकर्मलाई सकेसम्म स्मरण गरी सम्पूर्ण दोषादिबाट टाढा राख भनी परमेश्वरप्रति विशेष प्रार्थना गर्नुपर्ने वैदिक विधान छ ।

तागाधारीहरूका लागि विधिपूर्वक धारण गरिएको जनै उसको ब्रह्मतेज हो । गुरु वृहस्पतिले विशेष मन्त्रसहित इन्द्रका हातमा रक्षाबन्धन गरिदिएको दिन पूर्णिमा नै परेकाले रक्षाकवचको रूपमा रक्षाबन्धन गर्न थालिएको हो ।

यस अर्थमा यस दिनको स्नान, जनै अभिमन्त्रणकार्य झण्डै चार घण्टा समय लाग्ने गर्छ । पितृहरूका लागि जनै अपसव्य गरी विशेष तर्पण दिइन्छ भने देवताहरूका लागि जनै सव्यबाट तर्पण गरिन्छ । वर्षभरि भएका कुकर्म, झूठो बोली, अभक्षण, खराब साक्षी, गम्यागम्य दोषदेखि आफ्ना सम्पूर्ण कुरीति, कुसंस्कार , कुप्रवृति र तिनका प्रभावबाट मुक्त राखी नवीनतम उत्साहसहितको नयाँ जीवनी आरम्भ गर्दैछु भन्ने प्रतिज्ञासमेत यस कर्मबाट गरिन्छ ।

ब्रह्माण्डमा अनेकौँ द्विपहरू छन् । शरीरका नाडीनशाझैँ साढे तीनकरोड तीर्थहरू छन् । अनेकौँ धामहरू छन् । सम्पूर्ण ब्रह्माण्ड नै आफ्नो शरीर सम्झी ब्रह्माण्डीय तत्तत् स्थानहरूमा स्थूलरूपमा पुग्न, देख्न र स्तुति गर्न नसकेकोमा प्रायश्चित्तस्वरूप तत्तत् देवतीर्थहरूलाई आफ्नै वरिपरि पूजास्थलमा आह्वाहन गरी विशेष वेद, उपनिषद, गायत्री, गीता, पुराण, उपपुराण, शास्त्रीय विधिले चिन्तन गरी रक्षाबन्धनको मन्त्र पढेर आचार्य, गुरु, पुरोहितका हातबाट रक्षाबन्धनको डोरो समेत आफ्ना हातमा बाँध्ने संस्कार पनि यसै दिनका लागि छुट्याइएको छ ।

बालरक्षाको लागि विभिन्न रङको डोरो लगाउने प्रचलन छ भने पहेँलो, रातो, सुन्तला रङले सजाएको धागोको डोरो हातमा बाँध्नाले पुरुष, स्त्री, बाल, वृद्ध वर्षभरि नै सुरक्षित हुने पूर्वीय चिन्तन अरूको लागि पनि उदाहरणीय बनेको छ ।

प्रायः दक्षिणतिरको संस्कारमा जनैपूर्णिमाको दिन दिदीबहिनीका हातबाट रङ्गीन राखी बाँध्ने, उपहार आदान–प्रदान गर्ने चलन पनि छ । खासगरी जनैपूर्णिमाको दिन गुरुपुरोहितबाट मन्त्रसहित जनै लिने, जनै दान गर्ने, हातमा डोरो बाँध्ने चलन सबैतिर देखिन्छ ।

यज्ञोपवीत धारण नगर्ने महिला र अन्य वर्गका स्त्री–पुरुष, केटाकेटी सबैले रक्षाबन्धनको डोरो बाँध्ने चलन छ । वर्षको एकपटक आउने लक्ष्मीपूजा गाईतिहारका दिन हातको त्यो डोरोलाई गाईको पुच्छरमा बाँध्ने चलन र यसो गर्दा भवाटवीको जंघारबाट छुट्टी मिल्ने विश्वास गरिन्छ ।

रक्षाबन्धनले सबैको रक्षा गर्छ भन्ने चलन सत्ययुगदेखि नै चलेको देखिन्छ । अघि दानवहरूबाट पीडित देवगणहरूले अभिमानी असुरहरूको हातबाट कसरी त्राण पाउन सकिएला भनी गुरु वृहस्पति सामु हारगुहार मागे । गुरु वृहस्पतिले विशेष रक्षाकबचको रूपमा तयार पारेको रक्षाबन्धनको धागो देवी इन्द्रायणीमार्फत् देवराज इन्द्रलाई बाँधिदिए । यसो गर्दा गुरु वृहस्पतिले गरेको विशेष मन्त्रजपको प्रभावले दानवहरू पराजित भई देवताहरू सुरक्षित रहेको संस्मरणस्वरूप रक्षाधागो गुरुका हातबाट बाँध्ने परम्परा विकसित हुँदै आएको हो ।

रक्षाबन्धनको मन्त्र यस्तो छ :

येनबद्धो बलीराजा दानवेन्द्रो महाबलः ।
तेन मन्त्रेण बध्नामि रक्षेमा चल मा चल ।।

यस्तो सुरक्षा कवचको तयारी श्रावणशुक्ल चतुदर्शीका दिन भएको र मन्त्रसहित इन्द्रका हातमा बाँधिएको समय पूर्णिमाको दिन परेकाले पनि यस पूर्णिमालाई लागि रक्षाकवचको रूपमा लिन थालिएको हो ।

हाम्रो मुलुकमा यस दिन खासगरी शिवमन्दिरहरूमा विशेष पर्वमेला लाग्ने गर्छ । पशुपतिक्षेत्र, गोसाइँकुण्ड, कुम्भेश्वर आदि विशेष स्थानहरूमा बिहानैदेखि स्नान गर्ने, यज्ञोपवीत धारण गर्नेहरूको विशेष चहलपहल नै हुन्छ ।

जनैमा रहेका ९ तन्तुमा ॐ कार, अग्नि, सोम, पितृ, प्रजापति, यम, विश्वेदेव आदिको आह्वाहन गरिन्छ । जनै ग्रन्थीमा ॐ कै प्रतीक ब्रह्मा, विष्णु, शिव तीन शक्ति र गायत्रीसहित आह्वाहन गरी ब्रह्मसूत्र ब्रह्मतेजको रूपमा सब्यपारी धारण गरिन्छ ।

यसरी धारण गरिएको जनै आवश्यकताअनुसार अपसव्य गरेर पितृ कार्य गरिन्छ । देवकार्य लगायत अरू जुनसुकै बेलामा पनि जनै सव्य नै हुन्छ । सब्य भन्नाले देब्रे काँधमा अड्याएर दायाँतिर काखीमुनि फर्काएर लगाउनु हो । दायाँ काँधमा अड्याएर देब्रे काखीमुनि पारिनु अपसब्य हो ।

शौच गर्दा पनि जनैलाई पवित्र राख्न कानमा अड्काउने गरिन्छ । कान शरीरको तीर्थस्थान हो । जन्म, मृत्य र ग्रहणपछि, प्रत्येक चार महिनापछि, नववर्ष, विशेष देवपितृ कार्यमा नयाँ जनै लगाउनु पर्ने हुन्छ ।

तागाधारीहरूलाई जनैबाट अलग राख्नु उसको ब्रह्मतेज समाप्त गरी तेजोबध गर्नु हो ।

श्रावण शुक्लपूर्णिमामा पर्ने जनैपूर्णिमाका कार्य भने पुरुषोत्तम मास पर्न गए भाद्र शुक्लपूर्णिमाका दिन गरिन्छ ।

ऋषितर्पणीका नामले चिनिने जनैपूर्णिमा ऋषितर्पणका हिसाबले हिन्दु र कामाशक्ति माथि विजय प्राप्त गरेका हिसाबले बुद्धमार्गीहरूका लागि विशेष दिन हो । यसैदिन गौतम बुद्धले आफ्नो कामेच्छामाथि विजय प्राप्त गरेका थिए । त्यसैले बौद्धमार्गीहरू यस विशेष प्यारो दिनमा बौद्ध तीर्थस्थलहरूमा जाने गर्छन् ।

दानवराज बलीबाट स्वर्गका देवताहरूलाई स्वर्ग हस्तान्तरण गराइएको विजयको दिन स्वरूप पनि यस दिनको विशेष स्मरण गरिन्छ । ब्राह्मणबाट हातमा रक्षाबन्धन बाँध्ने चलन यसैले भएको हो । साथै आफ्ना यजमानहरू राजा बली जस्तै दानवीर र वचनका पक्की हुन् भनी गुरुपुरोहितहरूले विशेष आशीर्वाद दिने गर्छन् ।

जनैपूर्णिमाका दिन खासगरी ९ थरिका गेडागुडीहरू मिलाएर क्वाँटी खाने चलन छ । स्वास्थ्यवर्धक विशेष खाना मास, मुँग, बोडी, सिमी, गहत, राज्मा, चना, भटमास, केराउ आदि पोषकतत्व एकैठाउँमा मिसाएर भिजाई टुसा उमारेर तयार पारेको क्वाँटीलाई विशेष मरमसलासहित खानाले शरीरमा तेज र पुष्टि बढ्छ ।

कृषिप्रधान मुलुक हाम्रा लागि विशेषगरी वर्षायाममा खेतबारीमा रुझीभिजी किसानी कार्य गर्नुपर्ने हुँदा यस ऋतुभरि र नजिकै अर्को शारदीय चिसो ऋतु सुरु हुने हुँदा स्वास्थ्यरक्षा, स्वास्थ्यवद्र्धन गरी शारीरिक तन्तरुस्तीका लागि तयार रहन वैज्ञानिक सन्देश समेत दिएको पुष्टि हुन्छ ।

अर्को कुरा, श्रावणमा घण्टाकर्ण पर्व मान्ने पनि चलन छ । अघि घण्टाकर्ण भन्ने बलियो ठूलो राक्षसले किसानकार्य गर्ने मानिसहरूलाई दुःख दिने गरेको र कसैले उसलाई हराउन, मार्न नसकेकोमा नपत्याउँदो एउटा सानो भ्यागुतोले उसलाई मारेको कथन छ ।

यही भ्यागुताको बहादुरी बलको कदर गर्दै यसै दिन भ्यागुतोको विशेष पूजा गर्ने उसलाई खाना खुवाउने चलन नेवारी संस्कृतिमा अझै छ । भ्यागुतोको पराक्रम स्मरण गर्ने, उसलाई इन्द्रको रुपमा सम्मान गरी पूजागर्ने, खाना खुवाउने चलन छ ।

अझैसम्म पनि भ्यागुतोले ट्वारट्वार आवाज निकाल्दा स्वर्गका देवताले पृथ्वीमा वर्षा गराउन लागे भन्ने आहान छ । पानी जीवन हो । पानीको मुख्य स्रोत वर्षा नै हो । किसानी कार्यका क्रममा भ्यागुतासहित खेतबारीका साना जीवहरू मर्न सक्ने हुँदा त्यसको दोष निवारण गर्न भ्यागुता खोजेर ल्याई किसानले घरमा पूजा गरेर खाना खुवाई प्रायश्चित्त गर्ने समेत गर्ने गर्छन् ।

नेवारी भाषामा भ्यागुतालाई ‘ब्याँचा’ भनिन्छन् । भ्यागुतालाई खाना खुवाउने भएकाले यस दिनलाई ‘ब्याँचा नकेगु पुन्ही’ भन्ने चलन छ । धर्म, संस्कृतिको, सभ्यता र संस्कारको बेजोड नमूनाको रूपमा रहेका नेपालीहरूका लागि जनैपूर्णिमा वर्षभरिकै विशेष र उत्कृष्ट पर्वको रूपमा रहेको छ ।


भर्खर

0