खिइँदै गएको वैवाहिक सम्बन्धको डोरी « Khabarhub
Logo
११ कार्तिक २०७८, बिहीबार

खिइँदै गएको वैवाहिक सम्बन्धको डोरी



शब्द र लय बुनेर कालजयी सिर्जना पस्कने सक्ने स्रष्टा थिए भीम विराग । मधु क्षेत्रीको स्वरमा घन्केर वनपाखा थर्काएको उनको एउटा गीतमा देउता र ढुङ्गा एकै साथ उदाएका छन् ।

‘देउता बन्ने रहरमा, ढुङ्गा बन्छ मानिस’

अवास्तविक महत्वाकांक्षाको यति सशक्त उदाहरण शायदै अन्त कतै पाइएला ।

देउता बन्ने कल्पनामा डुबेको मानिस कसरी ढुङ्गा बन्छ त ?

सन् २०१७ मा नोबेल पुरस्कार पाएका अध्येता रिचर्ड थेलरले विवाह र पारपाचुकेको प्रसङ्ग जोडेर यो विष अथ्र्याएका छन् ।

मानौं यो लेख पढ्दा पढ्दै कसैले गुगल महारानीलाई प्रश्न सोध्यो रे :

‘अहिले विश्वमा पारपाचुके गर्ने दर के छ ?’
महारानीले फटाक उत्तर दिनेछिन् !
‘विश्वमा अहिले लगभग पचास प्रतिशत दम्पतीको लगनगाँठो चुँडिने गरेको छ ।’
‘अर्थात एक दिनमा विश्वका ५० हजारभन्दा बढी जोडीले छोडपत्रको कागजातमा सहीछाप गर्छन् ।’

तपाईंले हालसालै अग्निसाक्षी राखेर विवाहको मन्त्र सुन्नुभएको छ भने मुटु दह्रो बनाउनुहोस् मित्रवर !

‘तपाईंले यो लेख पढ्न सुरु गरेको आधा मिनेट भएको छ । यति समयमा विश्वभरिका २० जोडीको पारपाचुके भएको छ ।’

यसै विषयलाई उधिनेर रिचर्ड र सन्सटियनले आफ्नो विश्वप्रसिद्ध पुस्तक ‘नज’ मा एउटा रोचक वर्णन गरेका छन् ।
यो व्याख्या अझै घनिभूत पार्न एउटा कल्पना गरौँ ।

मानौँ, अत्यन्तै मिल्ने एक साथीको विवाह भइरहेको मण्डपमा तपाईं पुग्नुभयो ।

स्वयम्बरको माला र औँठी आदान–प्रदान गरेर सोफामा बसेका दुलाहा वा दुलहीलाई कानमा खुसुक्क साउती गर्दै तपाईंले भन्नुभयो : ‘विश्वमा अहिले हरेक दुई जोडीमध्ये एकको सम्बन्धमा छोडपत्रको कालो बादल मडारिने गरेको छ । तिम्रो विवाहको हकमा यस्तो दुरवस्था हुने सम्भावना कति होला ?’

सम्भवत: तपाईंका दुलाहा मित्रले यस्तो प्रश्न गर्नेलाई विवाह स्थलबाट बाहिर निकाल्ने छन् । अथवा पागल भन्नेछन् ।

यदि समाजमा विध्वंशकारी कित्तामा नाम कहलाएको खलनायक दुलाहाको स्थानमा रहेछ भने उसले आफ्ना साथीभाइलाई फिल्मी शैलीमा भन्न सक्नेछ : ‘कच्याक कुचुक पारिदेऊ साथी हो यसको थुतुनो !’

मण्डपका नायक या नायिका तपाईंका एकदम मिल्ने दौँतरी परे रे । रिसको काँचो वायु मित्रताको कवचले थाम्दै तीनले भन्लान् : ‘शून्य प्रतिशत । त्यो तथ्यांक अरूलाई लागु होला तर हामीलाई लाग्दैन ।’

किन यस्तो हुन्छ त ?

किनकि सदियौँदेखि चलेको यो संसारको रीत हो । विवाह बन्धनमा बाँधिन लागेका शतप्रतिशत जोडीले वाचा गर्छन् : ‘जस्तोसुकै विषम परिस्थिति आए पनि हाम्रो सम्बन्धको डोरी छिन्दैन ।’

तारादेवीले ‘सोचेजस्तो हुन्न जीवन’ भनेर गाएजस्तो हुन्छ सबै विवाहित जोडीको सम्बन्धको डोरी । सोचेजस्तो हुन्न, छिन्न पनि सक्छ । मैले केही समयअघि लेखेको एक निबन्धमा यसको बाक्लो चर्चा गरेको छु ।

‘कुनै एक समयमा इष्ट देवताको आँगनमा कसम खाई प्रणयसूत्रमा बाँधिएका जोडीहरू मायाको मर्करी शुन्यमा झारेर बिछोडिन पनि पुग्छन् ।’

अर्थात गुगल महारानीले भनेको सत्य हो । अहिले संसारमै विवाह गराउने पण्डितको भन्दा छोडपत्र गराउने वकिलको कमाइ बढी छ ।

नेपालमै पनि सर्वसाधारणदेखि समाजका धनाढ्य वा प्रतिष्ठित कुलघरानाका दम्पतीहरूको सम्बन्ध विच्छेद हुने दर उर्लंदो भेलजस्तै बढ्दो छ ।

वैवाहिक स्थितिको यो जोड–घटाउको विडम्बनालाई रिचर्ड र सन्सटियनले अनरियलिस्टिक अप्टिमिज्म अर्थात अवास्तविक महत्वकांक्षाको एक बलियो उदाहरण भनेका छन् ।

उदेकलाग्ने कुरा त के छ भने पहिलो सम्बन्धमा पूर्णविराम लागेर दोस्रो विवाह गरेकाहरू पनि यो महत्वाकांक्षाको सिद्धान्तको सिकार हुन्छन् ।
अमेरिकामा दोस्रो विवाह गरेका ६० प्रतिशत दम्पतीको सम्बन्ध विच्छेद हुने गरेको छ ।

‘महत्वाकांक्षाको पूर्वाग्रह’ शीर्षकमा विश्वप्रसिद्ध प्रवचन शृङ्खला ‘टेड टक’ मा बेलायती अध्येता ताली सारोतले भनेकी छन् : ‘उदेक लाग्दो कुरो त सम्बन्ध विच्छेद गराउने वकिलहरूले पनि आफ्नो हुन लागेको छोडपत्रका बारेमा पूर्वानुमान गर्न सक्दैनन् ।’

सारोतका अनुसार प्रत्येक व्यक्तिले आफू र आफ्ना परिवारका बारेमा धेरै आशावादी सोच पालेको हुन्छ तर आफ्नो छिमेकी, प्रतिस्पर्धी वा राष्ट्रप्रति भने निराशावादी सोच पालेको हुन्छ । अझ भनौँ, अरूको उन्नति या प्रगतिको बारेमा त जसले पनि मात्सर्य नै पालेको हुन्छ । यसकारण उसको महत्वाकांक्षा कालान्तरमा अवास्तविक कित्तामा अवतरण गर्न सक्छ ।

नेपाली चलचित्रमा नाम कमाएकी कलाकार प्रियंका कार्कीले २२ वर्षको उमेरमा रोचक मैनालीसँग प्रेमविवाह गरिन् । बिस्तारै उनीहरूको सम्बन्धमा दरार आयो । अहिले प्रियंका र रोचक दुवैले दोस्रो विवाह गरिसकेका छन् ।

नेपाली चलचित्रका सदावहार नायक भुवन केसीको दोस्रो विवाहमा पनि पूर्णविराम लाग्यो । छापाहरूका अनुसार उनी अहिले तेस्री महिलाको सान्निध्यमा छन् ।
अमेरिकाकै तथ्यांकले भन्छ, तेस्रो विवाह गर्नेमध्ये लगभग तीन चौथाईको सम्बन्धविच्छेद हुनेगरेको छ ।

वैवाहिक सम्बन्धमा चरम विचलन आएका र नेपालको राजनीतिसँग जोडिएका पात्रहरूमा पूर्वप्रधानमन्त्री प्रचण्डका छोरा प्रकाशको पनि नाम आउँछ । उनले पहिलीसँग सम्बन्ध विच्छेद गरी दोस्रो विवाह गरेका थिए । फेरि उनले तेस्री महिला ल्याए । दैवको लीला ! जवानीमै प्रकाशको निधन भयो ।

नेपाली समाजको इतिहासमा पुरुष वा महिलाले दोस्रो विवाह गर्ने प्रचलन नभएको होइन । पुरुषले बहुविवाह गरी एउटै घरमा दुई वा तीन श्रीमती राख्ने चलन सामान्य थियो । अहिले पनि यदाकदा त्यस्तो हुने गरेको छ ।

विद्यालय पढ्दाका मेरा एक सहपाठी साथीले दोस्रो विवाह गरे । जेठी श्रीमतीबाट सन्तान भएका थिएनन् । यसलै उनको कदमको लोकले आलोचना गरेन । कान्छीपट्टीवाट दुई सन्तान भए ।

दुई वर्षअघि हामी पढेको विद्यालयको स्वर्ण महोत्सव मनाइयो । म कार्यक्रममा सहभागी हुन मोरङको उर्लाबारी गएँ । ती साथीको बसाइ उर्लाबारीमै छ । महोत्सवकै अवसरमा मेरी अर्की एक सहपाठी र म ती साथीको घर गयौँ ।

हामी दुई जना बैठक कोठामा एकातिरको सोफामा बसेका थियौँ । ती साथी र उनका दुईवटी अर्धाङ्गिनीले हाम्रो विशिष्ट सत्कार गरे । चियाको चुस्की लिँदै हामी गफमा मस्त भयौँ ।

मलाई अहिले पनि हाम्रो विपरीतको सोफामा बसेका तीन पात्रको तस्वीर एकमुष्ट आफ्नै अघि आइरहेको छ । बीचमा साथी थिए । दाहिनेतिर उनकी जेठी श्रीमती बसेकी थिइन् भने देब्रेतिर कान्छी ।

मेरो लागि यो जीवनकै एक अविस्मरणीय अनुभूति हुन गयो ।

पढेको थिएँ । सुनेको थिएँ । आफ्नै आँखाअघि आफ्नै साथीका दुई अर्धाङ्गिनी देख्दा म किन हो पुलकित भएँ ।

मैले बुझेको दम्पतीको समीकरण त्यहाँ भत्किएको थियो । दुवै श्रीमती एकै पटक आफ्नो श्रीमानको अनुहार हेर्थे । अनि हामीतिर हेर्थे ।

अरूले सामान्यरूपमा लेलान् तर मलाई ताज्जुब लागेको मुख्य कुरो मेरो अराजक कल्पना थियो । यसले अझै पनि कहिलेकाहीँ मेरो मष्तिष्कमा हलचल ल्याउँछ । म आफूलाई मेरा ती सहपाठीको स्थानमा राखेर हेर्छु ।

‘मेरा दायाँ–बायाँ दुई श्रीमती भएको भए के हुन्थ्यो होला ?’

मेरा अनन्य मित्र अर्थात ‘सुन जोडी’ का उपल्लो अंशियार सूर्यमान शाक्यले आफूले जानेको एक परिवारको ‘बहुल श्रीमती व्यवस्थापन’ को पक्ष चोटिलो रहेको बताएका थिए ।

‘एक दिन जेठीको कोठामा रात बिताउने । त्यसको लगत्तै भोलिपल्ट कान्छीको कोठामा । जेठीको कोठामा जति जोडी लुगा हुन्छन् कान्छीकोमा पनि उही रङ्गका उति नै थान हुन्छन् । अनि बिहान उठेर इस्त्री गर्दा दुवैको प्रतिस्पर्धा हुन्छ । कसको क्रिज धारिलो, इत्यादि । जिन्दगीको मजा यसैमा छ !’

केही हिम्मतीहरूका लागि बहुल श्रीमती राख्नु यो ‘साहसिक पर्यटन’ खेलजस्तो होला । कतिका लागि फगत एक मात्सर्य । मेरा लागि भने यो खुकुरीको धारमा हिँड्न पर्ने जोखिम यात्रा हुन्थ्यो । अनि अधिकांश पुरुषका लागि पनि त्यस्तै होला भन्ने ठान्दछु । त्यसैले यो प्रचलन समाजविकासक्रमको मूलधारमा नआएको होला ।

महिलाले दोस्रो विवाह गर्ने भन्ने चलन पनि थियो । कसैले यस्तो साहस गरे ‘पोइल गई’ भनिन्थ्यो । यसो गर्नेप्रति हेयको दृष्टि हुन्थ्यो । अर्काकी स्वास्नी फकाएर ल्याउने काम पराक्रमसँग जोडिन्थ्यो । यसलाई ‘जारी प्रथा’ भनिन्थ्यो । शब्दकोशले ‘जारी’ लाई पुरुषप्रधान र ‘पोइल’ लाई स्त्रीप्रधान बनाई प्रस्तुत गरेको छ । ‘स्वास्नी पोइल गई’ भन्नुको अर्थ आफूखुशी अर्को लोग्ने खोजेर गई भन्ने अर्थ लाग्दो रहेछ ।

यहाँनिर ‘जारी’ र ‘पोइल’ को तात्विक भिन्नतामा भेदभावको गन्ध देखिन्छ ।

त्यसो त यौन विचलन र यौनतृप्तिसँग जोडिएका ‘अवास्तविक महत्वाकांक्षा’ का उदाहरणहरू इतिहासमा बाक्लै पाइन्छन् ।

धनुषचन्द्र गोतामेले आफ्नो एक निबन्ध संग्रहमा २०१८ सालतिरको एक प्रसङ्ग उल्लेख गरेका छन् । त्यसेला स्थानीय निकायका अधिकारी अञ्चलाधीश हुन्थे रे । चरम दरिद्रतामा जीवनयापन गरेका जुम्लातिरका जनता ती अधिकारी र दौडाहामा आएका मन्त्रीलाई गुनासो र उजुरी गर्थे रे ।

उनीहरूका गुनासा र उजुरी अधिकांश यौन र सामाजिक अन्यायका विषयमा केन्द्रित हुन्थे रे । नवयौवना आइमाईहरू साहसिला पुरुषको याचना गर्दै यतिसम्म भन्थे रे :

‘पोइ सानु भो, साटिपाऊँ ।’

यसरी पहिलो सम्बन्धमा आफूले अपेक्षा गरेको जस्तो रूप र पराक्रम नभेटिनुका कतिपय जायज कारण पनि होलान् । सत्य कुरा के हो भने विवाह गर्दा हाम्रो वैवाहिक जीवनमा दरार आउन सक्छ भनेर कसैले कल्पना गर्दैन ।

राजनीतिक पृष्ठभूमिसँग जोडिएकी र चलचित्र क्षेत्रमा नाम कमाएकी एक पात्र हुन् मनीषा कोइराला । उनले काठमाडौँका धनाढ्य व्यापारी सम्राट दाहालसँग विवाह गरिन् । हनिमुनको दुई वर्षपछि नै उनीहरू अलग्गिए । मनीषाले दोस्रो विवाह गरेको समाचार आएको छैन । उनको जीवनशैलीमा भने आकाश–जमिनको परिवर्तन आएको छ ।

सम्बन्ध विच्छेद गरेर दोस्रो विवाह नगर्नेको संख्या पनि बढ्दो छ । उता विकसित देशमा भने विवाह नै नगरी एकल जीवन बिताउनेको संख्या यथेष्ठ छ । यसरी बढ्दो सम्बन्ध विच्छेद, समलिङ्गी विवाह, विवाहपूर्वको सहवास, एकल जीवनशैली आदिका कारण विवाहको संस्थागत संरचना जोखिममा परेको छ ।

अष्ट्रेलियाजस्ता मुलुकमा जाने नेपाली युवायुवतीले त हाडनातामा पनि नक्कली विवाह गर्ने गरेका छन् । अहिले परम्परागतरूपमा लगन नहुने महिनामा पनि विवाह हुने थालेको छ ।

यसरी हजारौँ वर्षदेखि जीवन्त रहेको विवाहपद्धतिमा आएको स्खलन नै सम्बन्ध विच्छेद आदि हुनुको एक कारक हो भन्नेमा धेरै अध्येताहरूको निचोड छ । ‘एक व्यक्ति एक जीवनसाथी’ जस्तो हाम्रो परम्परागत र स्थापित मान्यता भत्किन थालेको छ ।

सनातन पद्धतिअनुसार विवाह गर्दा मण्डपमा दुलाहा–दुलहीले अग्नि साक्षी राखेर केही प्रतिज्ञा गर्नु पर्दथ्यो ।

दुलहीले दुलाहालाई यसरी वाचा गराउँथिन् : ‘कन्याको रूपमा तपाईंसँग यो पनि वर माग्दछु कि तपाईं मबाहेकका अन्य स्त्रीलाई आमा समानको दृष्टिले हेर्नुहुन्छ । हामी पति–पत्नीको प्रेमको अंशियार अरू कसैलाई बनाउनु हुन्न । तपाईंलाई यो स्वीकार्य छ भने म तपाईंकी पत्नी हुन मञ्जुर छु ।’

अनुशासन र मर्यादाको यो विराशतमा धमिरा लागेको छ । यसैले दाम्पत्य जीवनका विपरीतधर्मी गतिविधिहरू मौलाएर वृक्ष भएका छन् ।

देउता बन्ने महत्वाकांक्षा लिएर ढुङ्गा बन्ने मान्छेको गीत गाएका मधु क्षेत्रीले यसको कारण पनि त्यही गीतमा खोलेका छन् :

अरूलाई कुल्चेर अघि बढ्छ मानिस ।
देउता बन्ने रहरमा ढुङ्गा बन्छ मानिस ।।


भर्खर

0