नेपालमा राख्ने सुरक्षित ठाउँ नहुँदा वुहानमा रहेका नेपालीको उद्धारमा ढिलाइ | Khabarhub Khabarhub

नेपालमा राख्ने सुरक्षित ठाउँ नहुँदा वुहानमा रहेका नेपालीको उद्धारमा ढिलाइ

कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ सय ४ पुग्यो



काठमाडौं – कोरोना प्रभावित क्षेत्र चीनको वुहानबाट विभिन्न मुलुकहरुले आफ्ना नागरिक धमाधम लगिरहँदा नेपाल सरकारले पनि उद्धारका लागि प्रकिया अघि बढाएको जनाएको छ ।

वुहानमा रहेका नेपालीहरुलाई पनि नेपालमा ल्याएर राखिने छुट्टै ठाउँको निर्क्यौल भइनसकेकाले तत्कालै उद्धार नगरिएको खुलेको छ ।

कोरोनाले महामारीको रुप लिएको चीनको वुहानबाट जापान, अमेरिका, अष्ट्रेलिया लगायतका मुलुकहरुले केही दिन अघि नै आफ्ना नागरिकलाई स्वदेश फर्काइरहँदा नेपाल सरकारले भने अझै आफ्ना नागरिक स्वदेश फर्काएको छैन ।

ढिलाईको एउटा कारण वुहानबाट ल्याइने नेपालीहरुलाई कम्तिमा १४ दिनसम्म छुट्टै राखेर गरिने निगरानीस्थलको निर्क्यौल हुन बाँकी नै रहेको खुलेको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाले महामारीको रुप लिएको चीनमा अहिलेसम्म १ सय ७७ जना नेपालीहरु सम्पर्कमा आएका छन । उनीहरुलाई सरकारले विमान चार्टर गरेरै नेपाल ल्याउने तयारी गरेको छ । तर उनीहरुलाई ल्याएर राख्ने ठाउँको अहिलेसम्म पहिचान नभइसकेकाले ढिलाई भएको छ ।

‘वुहानबाट नेपाल आउने नेपालीहरु कोरोनाका संक्रमित नै भन्ने होइन, तर उनीहरु महामारी प्रभावित क्षेत्रबाटै आउने भएकाले संक्रमणको सम्भावना उच्च रहेको यथार्थलाई नकार्न सकिन्न,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले भने ।

प्रवक्ता श्रेष्ठका अनुसार छुट्टै स्थान पहिचानपछि त्यसको निर्क्यौल गरिनेछ । यता तमतयारी अवस्थामा रहेपछि वुहानमा रहेका नेपालीलाई काठमाडौं ल्याइनेछ ।

‘अहिलेसम्म काठमाडौंका १८ वटा ट्रेनिङ सेन्टर र केही सार्वजनिक भवन पहिचानमा गरिएको छ,’ प्रवक्ता श्रेष्ठले भने ‘तर कहाँ राख्ने भन्ने आवश्यक निर्णय गर्न बाँकी नै छ । सम्भवत छिट्टै निर्णय हुनेछ वुहानबाट नेपाली ल्याउन अझै १/२ दिन लाग्न सक्छ ।’

सुकुम्बासीका लागि बनाइएको अपार्टमेन्ट प्रयोग गरौं : डा. मरासैनी

स्वास्थ्य मन्त्रालय अन्तर्गतको महामारी तथा रोग नियन्त्रण महाशाखाका अवकाश प्राप्त प्रमुख डा. बाबुराम मरासैनी ठाउँ नै निर्क्यौल नभएर कोरोना प्रभावित क्षेत्र वुहानबाट नेपालीलाई ल्याउन भएको ढिलाई लज्जास्पद भएको बताउँछन ।

चीनमा महामारी फैलिएको एक महिना भइसक्नु र नेपालमा नै कोरोना प्रभावित व्यक्ति भेटिएको १५ दिन भइसक्दा समेत सरकारले त्यसको तयारी प्रभावकारी ढंगले गर्न नसकेको डा. मरासैनी बताउँछन ।

‘ठाउँ नै भएन भन्नु गलत हो । सुकुम्बासीका लागि भनेर इचंगुनारायणमा बनाइएका ५/६ वटा अपार्टमेन्ट खालि नै छन् । त्यहाँ १ सय २७ परिवारसम्म बस्न सक्ने व्यवस्था छ,’ डा. मरासैनीले भने ‘त्यसलाई स्वास्थ्य मन्त्रालयले क्वारेन्टिन फेसिलिटीको रुपमा विकास गर्न सक्छ । ढिला गर्ने समय छैन, तत्कालै त्यहाँ सिरक तन्ना लगायतका सामग्री खरिद गर्न जरुरी छ ।’

ती अपार्टमेन्टमा नै समस्या भएको हो भने खालि अवस्थामा रहेका निजी अपार्टमेन्टलाई पनि भाडामा लिन सकिने उनले सुझाएका छन ।

छुट्टै ठाउँको व्यवस्था हुनासाथ त्यहाँ कम्तिमा १४ दिन राखिने व्यक्तिहरुको निगरानीका लागि केही नर्स, केही डाक्टर र केही स्वास्थ्य उपकरण थर्मोमिटर लगायतको व्यवस्था गर्न खासै समस्या नहुने उनी बताउँछन ।

बरु १४ दिनसम्म निगरानीमा राखिने व्यक्ति नभागोस भनेर प्रहरीको तैनाथी पनि गर्न जरुरी रहेको डा. मरासैनीले बताए ।

उनले भने ‘ वुहानबाट नेपाल आउने कोरोनाको बिरामी हैनन् । उनीहरुमा संक्रमण भइहाल्छ कि भन्ने शंका मात्र हो । यसर्थ तत्कालै अस्पताल राख्न जरुरी छैन । १४ दिनसम्म पनि केही भएन भने उनीहरु सर्लक्क घर फर्किन्छन, बेकारको टाउको दुःखाई किन ?’

१४ दिनभित्र संक्रमण देखिएमा मात्र अस्पताल भर्ना गर्नुपर्ने उनले सुझाए । ‘तर त्यो बेलाचाँही आइसोलेटेड वार्ड नै चाहिन्छ’ मरासैनीले भने ।

यसअतिरिक्त वुहानका नेपाली ल्याउँदै गर्दा विमानस्थलदेखि नै सतर्कता अपनाउन जरुरी रहेको डा. मरासैनी बताउँछन । सम्भव भएसम्म त विमानस्थल र जहाजभित्रै पनि औषधि छर्कनु पर्ने उनले सुझाव दिएका छन ।

अस्पतालहरु तयारी अवस्थामाः स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अस्पतालहरुमा तत्कालका लागि केही प्रबन्धहरु मिलाइ सकिएको छ ।

कोरोना संक्रमितहरु धेरै नै देखिए भने पनि त्यसको तयारी भएको मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार नेपालमा नै कोरोनाको संक्रमण भएको पुष्टि भएको दिन जनवरी २३ यता सरकारले तयारी तीव्र पारेको छ ।

‘चीनमा कोरोनाको महामारी फैलिएको पुष्टि भएपछि नेपालमा पनि कोरोना भएको पत्ता लगाउने हामी ८ औं मुलुक हौं’ श्रेष्ठले भने ‘त्यसयता हामिले अस्पतालहरुमा आइसोलेटेड वार्ड बनाउन बारम्बार ताकेता गरेका छौ, केही अस्पतालमा त्यस्ता वार्ड तयारी नै भइसके ।’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ३४ वेड क्षमताका ६ वटा आइसोलेटेड वार्ड तयारी अवस्थामा रहेका छन भने पाटन अस्पतालमा पनि ४ वटा वार्ड आइसोलेटेड बनाइएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

ठूला अस्पताललाई हव बनाएर आसपासका अस्पताललाई सेटेलाइटको रुपमा उपयोग गर्ने मन्त्रालयको योजना छ ।

‘कोरोनाले नेपालमा महामारीको रुप लिने भन्नेमा सरकार सचेत छ तर हामी भरसक त्यसलाई छिर्नै नदिने प्रयत्नमा छौ’ श्रेष्ठले भने ‘ मान्नोस चोर शहरमा पसेको छ भने हामी तुरुन्त समाउन सक्षम छौ अर्थात कोरोना संक्रमितलाई छिट्टो पत्तो लगाउनु पनि हाम्रो उपलब्धी नै हो ।’

नेपालमा कोरोनाको संक्रमण भएको पुष्टि भएयता पर्यटकको बढी चहलपहल हुने स्थान आसपासका अस्पतालहरुमा पनि आइसोलेटेड वार्डका बनाउनका लागि समन्वय गरिएको छ ।

पोखरा, लुम्बिनी, भैरहवा, चितवन लगायतका क्षेत्रमा रहेका अस्पतालहरु त्यस्तो प्रबन्ध गर्न लागिएको श्रेष्ठको भनाई छ । आइसोलेसन सुविधा हुँदा श्वासप्रश्वास र दिसापिसावबाट पनि संक्रमण नसर्ने विश्वास गरिन्छ ।

यसअतिरिक्त चिनियाँहरु नेपाल आउने प्रवेश विन्दु रसुवा र तातोपानी नाकामा पनि हेल्थ डेस्क राखि सकिएको छ ।

मृतकको संख्या ३ सय ४

चीनबाहिर पहिलो पटक कोरोना भाइरसबाट संक्रमितको मृत्यु भएको छ ।

यद्यपी मृत्यु हुने व्यक्ती भने ४४ बर्षका चिनियाँ नागरिक नै भएको बीबीसीले जनाएको छ । उनी कोरोनाभाइरस सङ्क्रमणको केन्द्रबिन्दु मानिएको चीनको वुहानबाट फिलिपिन्स गएका थिए।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार फिलिपिन्स आउनुअघि नै उनमा सङ्क्रमण भएको सङ्केत देखिन्थ्यो।

अहिलेसम्म कोरोनाभाइरसको महामारीमा १४ हजारभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् भने ३ सय ४ जनाको मृत्यु भएको पुष्टि भएको छ। अधिकांश बिरामीहरू चीनको हुबे प्रान्तमा छन्।

अमेरिका, अष्ट्रेलियासहितका ६ मुलुकबाट चिनियाँलाई यात्रामा प्रतिबन्ध

कोरोना भाइरसको सङ्क्रमण रोक्ने उद्देश्यले अमेरिका, अष्ट्रेलियासहितका ६ मुलुकले चीनबाट आफ्नो देशमा मानिसहरूको आवातजावतमा प्रतिबन्ध लगाएका छन्।

अमेरिका र अस्ट्रेलियाले डिसेम्बरमा कोरोना भाइरस फेला परेको देश चीनको भर्खरै भ्रमण गरेका विदेशीलाई आफ्नो देशमा प्रवेश नदिने निर्णय लिएका छन्। यो बढी चिनियाँ नागरिकप्रति लक्षित छ ।

यसअघि रुस, जापान, पाकिस्तान र इटलीले त्यस्तै यात्रा प्रतिबन्ध घोषणा गरिसकेका छन। निकै कम मात्र जनस्वास्थ्य सङ्कटकाल घोषणा गर्ने अमेरिकाले पछिल्ला दुई सातादेखि चीनको भ्रमण गरेका सबै विदेशीलाई आफ्नो देशमा प्रवेश गर्न रोक लगाएको छ।

हुबे प्रान्तबाट फर्किरहेका आफ्नो देशका नागरिक र बासिन्दालाई अमेरिकाले १४ दिन क्वारेन्टिनमा राखेर उनिहरुको निगरानी गरिरहेको छ ।

अस्ट्रेलियाले चीनबाट फर्किएका आफ्ना कुनै पनि नागरिकलाई दुई हप्ता क्वारन्टीनमा राख्ने जनाएको छ। तर विश्व स्वास्थ्य संगठनका स्वास्थ्य अधिकारीहरूले भने यात्रामा नै भएको प्रतिबन्धको विरोध गरेका छन ।

विश्व स्वास्थ्य सङ्गठनले यात्रा प्रतिबन्धका कारण सूचना आदानप्रदान र मेडिकल आपूर्ति संयन्त्रमा अवरोध पुग्नुका साथै अर्थतन्त्रमा क्षति पुर्‍याउने भएकाले सचेत रहन आह्वान गरेको छ ।

डब्ल्यूएचओले सीमावारपार गर्ने स्थानमा स्वास्थ्य परीक्षणको व्यवस्था गर्न सुझाएको छ। सीमा बन्द गरेपछि यात्रुहरू अनधिकृत रूपमा पस्दा भाइरस झन् विस्तार हुने उसको चेतावनी छ।

चीनले आधिकारिक सल्लाहको बेवास्ता गरेको भन्दै यात्रा प्रतिबन्ध लगाउने कदमको आलोचना गरेको छ।

सन् २००३ मा दुई दर्जन देशमा फैलिएको सार्सको महामारीजस्तै गरी कोरोना भाइरसको विश्वव्यापी विस्तार भएपछि डब्ल्यूएचओलेले विश्वव्यापी आपतकाल घोषणा गरिसकेको छ।

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  १२ : २९ बजे

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती