ए डिभिजन फुटबल लिग : आफूलाई प्रमाणित गर्ने अवसरको खोजिमा बिमल राना | Khabarhub Khabarhub

ए डिभिजन फुटबल लिग : आफूलाई प्रमाणित गर्ने अवसरको खोजिमा बिमल राना



काठमाडौं – नेपालको शीर्ष फुटबल क्लब मनाङ मर्स्याङ्दी क्बलबाट खेल्ने नेपाली फुटबलरको सपना हुन्छ । यही सपना साकार पार्दै अहिले क्लबलाई थप सशक्त बनाउने कसरतमा छन् बिमल राना ।

बिमल राना अग्रपंतीबाट खेल्ने खेलाडी हुन् । नेपाली फुटबल लिगमा मनाङ राम्रो क्लवमा पर्छ ।  यसैले यसको छवि सँधै शीर्ष रहन्छ । तर, यो सिजनमा भने क्लबले आफ्नो विगतको छविलाई अड्याई राख्न सकेन ।

एकैपटक १२ जना खेलाडीले क्लबसँगको सहकार्य तोडे । यसले मनाङलाई केहि घाटा पुगेपनि नयाँ खेलाडीले क्लबको छबि कायमै राख्ने प्रतिबद्धता जनाइरहेका छन् । उनीहरुको प्रतिबद्धता र खेलबीच तालमेल मिलाउन सक्ने वा नसक्ने यो क्लबका लागि चुनौती हो ।

विगतमा नेपाली खेलाडीको पहिलो रोजाइमा मनाङ मर्स्याङ्दी क्लब हुने गर्थ्यो । अन्य क्लबमा राम्रो प्रदर्शन गरेर मनाङमा छिर्ने धेरैको योजना हुन्थ्यो । खेलाडीको यही मनोभाव ग्रहण गर्दा क्लबले धेरै उपलब्धि पनि हाँसिल भयो ।

अहिले शहीद स्मारक ए डिभिजन लिगको खेल जारी छ । लिगमा चौथो चरणका खेल चलिरहेका छन् । जहाँ मनाङको उपस्थिति मजबुद छ ।

१२ जनाले छोड्दा पनि मजबुद 

एकै पटक १२ खेलाडीले क्लब छाडेपछि क्लब निक्कै कमजोर टीम हुने आँकलन गरिएको थियो । तर, जारी लिगमा उसले देखाएको प्रदर्शनले सबै आँकलन कमजोर भएका छन् ।

हुन त क्लबले आफैंले जारी लिगमा आफ्नो स्थान शीर्ष ६ भित्र अटाउने लक्ष्य तय गरेको थियो । क्लब रहेका खेलाडीको मेहनत, उत्साह र सिर्जनशिल जोशले मनाङ कमजोर बनेन् । बरु उपाधी दाबेदारको होडमा छ ।

लिगको आफ्नो पहिलो खेल पुस २ गते खेलेको मनाङले जीत हात पार्दै उत्कृष्ट सुरुवात गर्‍यो । पहिलो खेलमा सशस्त्र प्रहरी बल (एपीएफ) लाई २–० गोलले हराउँदै उत्कृष्ट सुरुवात गरेको मनाङका लागि एपीएफविरुद्ध दुवै गोल बिमल रानाले गरेका थिए ।

राना ती खेलाडी हुन्, जसले मनाङको पहिलो रोजाईमा खेल्न स्टार खेलाडीहरु नै पलायन हुनु पर्‍यो । ४ बर्ष अगाडि बिमल क्लबमा आवद्ध हुँदा उनलाई थाहा थियो । टीमको पहिलो रोजाइमा पर्न त्यति सहज छैन् ।

त्यो सबै बुझेर नै आफू क्बलमा आवद्ध भएको उनी बताउँछन् । त्यतिमात्रै होइन्, उनले घरेलु फुटबलमा आदर्श मानेका अनिल गुरुङ पनि टीममै थिए । उनीसँग खेल्ने रहर पनि थियो, बिमलको ।

‘स्टार खेलाडीहरुसँग खेल्ने सपना सबैको हुन्छ । अनिल दाइसँग खेल्ने मेरो पनि ठूलो सपना थियो । खेलमा उहाँ नै मेरो आदर्श हो । उहाँसँग खेल्नकै लागि भएपनि म मनाङमा आवद्ध भएको थिए,’ उनले क्लबमा आबद्ध हुँदाको क्षण सुनाए ।

मनाङबाट खेल्न संघर्ष गर्नु पर्ने जान्दाजान्दै क्बलमा आबद्ध भएको बताउने बिमलले भने, ‘सबै स्टार खेलाडी हुँदा त्यहाँ धेरै मेहनत गर्नु पर्छ भन्ने मैले सोचेको थिए । सुरुवाती दिनमा बेञ्चमा बस्नु पर्छ भन्ने जानेरै म क्लबमा आएको हुँ ।’

शीर्ष ६ मा रहने योजना बनाएको मनाङले लिगको सुरुवात राम्रो गर्दा धेरैले यसलाई अनपेक्षीत नतिजाका रुपमा विश्लेषण पनि गरेका छन् ।

तर, दोस्रो खेल त्रिभुवन आर्मी क्लबविरुद्ध अतिरिक्त समयमा दयानन्द सिंहले गोल गर्दै स्पष्ट ३ अंक जोड्दा त मुख्य प्रशिक्षक तोपे फुजाले समेत खेलाडीहरुले अनपेक्षीत नतिजा दिलाएको बताए ।

तेस्रो खेलमा बिग्रेड व्वाईज क्लबलाई पराजित गरेको मनाङले चौथो खेलमा भने फ्रेन्ड्स क्लबसँग बराबरी खेल्दै १० अंकसहित लिगमा शीर्ष स्थान बनायो ।

शुरुमा ६ भित्र पर्ने योजना बनाएको क्लबले अब लिग च्याम्पियन बन्ने योजना बुन्दैछ । त्यसको सबैभन्दा बलियो पक्ष नै टीममा रहेका खेलाडीको मेहनत हो ।

कमल श्रेष्ठ कप्तान रहेको टिममा अहिले प्रभावकारी विदेशी खेलाडी पनि छैनन् । तर, बिमलकै शब्दलाई सापट लिने हो भने अहिले  खेलाडी ‘इख’ ले खेलिरहेका छन् ।

साविक विजेता टोलीको साख जोगाउने अभिभारा बिमलसहितको टोलीमै छ । अहिले मनाङमा जगजित श्रेष्ठ बाहेक सबै बिमलकै उमेरका खेलाडी छन् भने केही जुनियर पनि ।

धैर्यताले जन्माएको फरवार्ड

मनाङमा नयाँ खेलाडीलाई टिक्न निकै गाह्रो हुन्थ्यो । कतिपय समय सिनियर खेलाडीहरु नै को मैदान उत्रिने र कसलाई बेञ्चमा राख्ने भन्ने निर्णय गर्न प्रशिक्षकलाई कठिन पथ्र्यो । त्यो बेलामा बिमलको ‘इन्ट्री’ भयो ।

‘म क्लबमा आवद्ध हुँदा त्यहाँ चर्चित फरवार्डहरु थिए । भनिन्छ नि खेलाडी भएपछि ‘प्यासेन्स’ हुनु पर्छ,’ बिमलले भने,‘मैले पनि त्यहीँ प्यासेन्स देखाएको हुँ ।’

त्यसो त, बिमलले ४ बर्ष पुरै बेञ्चमै बस्नु परेको पनि होइन् । जतिबेला सिनियर खेलाडी टोलीमा हुँदैन् थिए । त्यतिबेला उनी मैदान उत्रिने अवसर पाउँथे ।

‘मैले मनाङबाट खेल्न पाएका खेलमा गोल गर्ने अवसर पाएँ, गोल पनि गरे । सिनियर खेलाडी राष्ट्रिय टोलीमा हुँदा वा उनीहरुको स्थानमा मैदान प्रवेश गर्दा पाएको अवसर सदुपयोग गर्थे,’ बिमलले खबरहबसँग भने ।

बिमलले यसरी एकै पटक सिनियर खेलाडीले क्लब छाड्लान र टिम एकै पटक ‘भताभुङ्ग’ होला भन्नेबारे भने सोचेका पनि थिएनन् । तर, भयो नसोचेकै । सिनियर सबै खेलाडी एकै पटक निस्किए ।

आयो जिम्मेवारी आफ्नै काँधमा । जो क्लबमा रहे उनीहरुले आफूलाई प्रमाणित गर्ने अवसरका रुपमा यो सिजनको लिगलाई लिए । त्यसो त, बिमललाई पनि अन्य क्लबबाट ‘अफर’ नआएको होइन् । तर, उनले आफूलाई आवश्यक पर्दा क्लबले सहयोग गरेको गुन सम्झिँदै मनाङमै बस्ने निर्णय गरे ।

‘एक–एक गर्दै धेरै दाइहरु निस्किनु भयो । मलार्ई पनि अफर आएको थियो । तर, म गइन । किनकी, हिजो मलाई अवसर दिएर बिमल रानालाई घरेलु फुटबलमा चिनाएको क्लबलाई समस्या हुँदा यहिँ बसेर केही गर्नु पर्छ भन्ने लाग्यो,’ बिमलले भने,‘हिजो क्लबले लगाएको गुन पनि तिर्नु पर्छ । यहिँ समय हो भन्ने लाग्यो ।’

आमाको काँधमा हुर्किएका बिमल

बिमलको घर कास्की लेखनाथ नगरपालिका गगनगौडामा छ । तर, उनले सानैदेखि घर बाहिर बस्नु पर्‍यो । सानैमा बिमलका बुबा धनबहादुर रानाले अर्को विहे गरेपछि पारिवारिक संरचना फेरियो ।

बुबाको स्नेह नपाएका उनले आमाकै काँधमा आफ्नो बाल्यकाल बिताए । यही अभाव र दबाबको प्रभाव बिमलमा पनि पर्‍यो ।

पछि बिमलकी आमाले एक्लै गुजारा चलाउन नसक्ने देखेर जीवनसाथी खोजिन् । तनहुँका मानबहादुरलाई आफ्नो जीवन संगी बनाउँदा विष्णुमायाले बिमलसहित २ सन्तानको रेखदेखमा दम्पती जुट्ने सम्झौता गरिन् ।

मानबहादुरले पनि विष्णुमायाका २ छोरालाई छोरा स्वीकार गरेपछि उनीहरुको दैनिकी सहज बन्यो । छोराहरुको भविष्य निर्माण गर्ने आमा विष्णुको सपना पनि विस्तारै पूरा हुँदै गयो ।

आमाले बिमललाई ठूलो दुःख गर्दै कक्षा ३ सम्म कास्कीको लेखनाथस्थित ज्ञानज्योति विद्या कुञ्जमा पढाईन । छोरो पढाउन उनी विद्यालयमा कार्यालय सहयोगि भएकी थिइन् ।

त्यसपछि छोराको फुटबल मोहलाई पूरा गर्न उनीले पसल चलाइन । र फुटबल खेल्ने अवसर पनि सिर्जना गरिन् । जसका कारण बिमल आज एक राम्रो खेलाडीका रुपमा खेलिरहेका छन् ।

बिमलका लागि बुबा मानबहादुर आफ्नै बुबा जस्तै बनेका छन् । उनको प्रत्येक योजनालाई सफल पार्न मानबहादुरको हात छ ।

‘सानैदेखि सँगै बसेर हुर्किएकाले होला मलाई कहिलै पनि उहाँ (मानबहादुर) बुबाले कुनै विभेद गरेको अनुभव भएको छैन्,’ बिमलले भने, ‘आमा काम गर्दै हुनुहुन्थ्यो । उहाँहरुबीचको बनेको विश्वासको सम्बन्धले हामी दाजुभाइ झन प्रगाढ बनायो ।’

त्यसोत, बिमलको एक बहिनी पनि छिन् । अनुष्का राई (मानबहादुरतर्फबाट जन्मिएकी) । बिमललाई अहिले कति जना भाई बहिनीभन्दा उनले सिधै भन्ने जवाफ हो तीन जना ।

बिमलको नागरिकता धनबहादुरको नामबाट बनेको छ । उनीसँग पनि बिमलको राम्रै सम्बन्ध छ । ‘कहिलेकाहीँ जान्छु । भेट घाट भइरहँन्छ । बढी जसो त फोनमै कुरा हुन्छ,’ बिमल भन्छन्,‘उहाँ (धनबहादुर) ले छाडेर जानु भएपनि अहिले हामीलाई बुबा (मानबहादुर) ले सधै आफ्नै छोरा जस्तो व्यबहार गर्नु भयो ।’

कहिले काहीँ तनहुँको दुलेगौडा आमालाई भेट्न जाने बिमल त्यहाँ जाँदा टोलमा हुने फुटबल खेल्न जान्थे । टोलमा फुटबल खेल्दै गर्दा त्यहाँको सुक्ला गण्डकी युवा क्लबका लक्ष्मण नाम गरेका एकजनाले उनलाई क्लबमा बोलाए ।

टोलमा हुने साना तिना फुटबल प्रतियोगितामा दौडिएको देखेका लक्ष्मणले क्लबमा बोलाएपछि शुरु भएको थियो । बिमलको फुटबलको यात्रा । त्यसपछि कहिलै पछि फर्किनु नपरेको उनको अनुभव छ ।

तनहुँमा केही समय बसेर कास्की मामाघर फर्किएका उनी पोखराको आर्दश युवा क्लबद्वारा सञ्चालन भएको संगम क्लबमा आवद्र्ध भए । संगम क्लब फुटबलमा आफ्ना लागि राम्रो ‘प्लेटफर्म’ बनेको बिमलले बताउँछन् ।

पोखराबाट हेटौंडा हुँदै काठमाडौंसम्म

पोखरामा संगम क्लबबाट खेल्दा खेल्दै बिमललाई विजय युथ क्लब हेटौंडाले बोलायो । उनलाई हेटौंडा विजय युथसम्म जोड्न सहयोग गर्ने व्यक्ति थिए, सुदिप राजबाग । उनले विजय ययुथबाट सिमरा गोल्डकपदेखि विभिन्न मोफसलका प्रतियोगिता खेले । ६ बर्ष अगाडि सिमरा गोल्डकप खेल्दा उनी प्रतियोगिताको उच्च गोलकर्ता बन्दै ‘मोटरबाइक’ उपहार पाएका थिए । त्यतिबेला उनले ४ गोल गरेका थिए ।

त्यसपछि उनीमाथि नेपालका शीर्ष क्लब मनाङ–मर्स्याङ्दी, थ्री स्टार, आर्मी क्लब लगायतले आँखा लगाएका थिए ।

तर, उनले आर्मीलाई रोजे । ४ महिनाजति आर्मीबाट मोफसलका प्रतियोगिता खेले । ए डिभिजन लिग नभइरहँदा उनले आर्मीमा ६ महिना रहँदा केही खेल खेल्ने अवसर पाए ।

जागिर खाने योजनाले बिमलसँगै विश्व अधिकारी (हाल संकटाका खेलाडी) ले पनि फर्म भरेका थिए । तर, एक महिना आरामका लागि भनेर गाउँजाँदा पछि त्यो सम्झौता नै बदर हुने अवस्था आएको उनी बताउँछन् ।

लगत्तै उनलाई मनाङले सम्पर्क गर्‍यो । आर्मीबाट छुटेको थाहा पाउने वित्तिकै मनाङबाट अफर आउँदा उनले स्वीकारे ।

‘फेम्वा दाइ, छिरिङ सरहरुले फलो गरिरहनु भएको रहेछ । आर्मीसँगको सम्झौता सकिने वित्तीकै बोलाउनु भयो । जानुपर्छ भन्ने लागेर मनाङमा आए,’ बिमलले भने ।

२०१६ नाभेम्बर महिनामा बिमलले मनाङसँग सम्झौता गरेको थियो । अहिलेसम्म आइपुग्दा बिमल व्यवसायिक रुपमा अब्बल त भएका छन् नै फुटबल करियरले पनि उचाई लिएको छ ।

राष्ट्रिय टेलीमा फर्किने लक्ष्य

बिमलले नेपाली राष्ट्रिय फुटबल टोलीबाट डेब्युसमेत गरिसकेका छन् । मुख्य प्रशिक्षक योहान कालिनले बिमललाई २०१९ को मार्चमा कुवेतसँगको मैत्रिपूर्ण खेलमा गराएका थिए । बिमल पहिलो पटक राष्ट्रिय टोलीबाट खेल्दा कुवेतविरुद्ध खेलको ७३ औं मिनेटमा नवयुग श्रेष्ठको स्थानमा मैदान प्रवेश गरेका थिए ।

यो खेलमा नेपालले गोलरहित बराबरी खेलेको थियो भने त्यसपछि उनले दोस्रो दिन भएको कुवेतविरुद्धको खेलमा कालिनले सुरुवाती ११ मै स्थान दिएका थिए ।

बिमल विश्वकप छनोट २०२२ तथा एएफसी कप २०२३ अन्तर्गत छनोटको चाइनीज ताइपेइविरुद्धको खेलमा २३ जनाको टोली भित्र परेका थिए । तर, मैदान उत्रिने अवसर पाएनन् ।

अब बिमल प्रभावकारी खेलाडीका रुपमा राष्ट्रिय टोलीमा स्थान बनाउने लक्ष्यसहित अभ्यासमा छन् । ‘राष्ट्रिय टोलीमा पुनरागमन गर्ने लक्ष्य छ । त्यसका लागि मैले यो सिजनको लिगमा क्लबका लागि राम्रो गर्नुका साथै बन्द प्रशिक्षणमा पनि राम्रो गर्नु पर्नेछ,’ बिमलले भने ।

मनाङबाट छुट्टीएका कतिपय सिनियर खेलाडीहरु मछिन्द्र क्लबमा गएका छन् । अब मछिन्द्रसँग मनाङले आउँदो शनिबार खेल्दैछ । यो खेलमा जसरी भएपनि मछिन्द्रलाई पराजित गर्ने लक्ष्यमा आफूहरु रहेको बिमल बताउँछन् ।

‘सिनियरहरुले छाडेर गएपनि मनाङको शाख जोगाउनु पर्छ भन्ने छ । हामी जुनसुकै हालतमा पनि मछिन्द्रलाई रोक्ने लक्ष्यमा छौं,’ बिमलले भने ।

प्रकाशित मिति : १७ पुस २०७६, बिहीबार  १० : ३७ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न