यस्तो छ आजको नेकपा बैठकमा नेताहरुबीचको 'चर्काचर्की'  | Khabarhub Khabarhub

यस्तो छ आजको नेकपा बैठकमा नेताहरुबीचको ‘चर्काचर्की’ 


१६ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आजको सचिवालय बैठक पनि ‘आरोप-प्रत्यारोप’कै बीच सकिएको छ ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले सुरुवातदेखि अन्तिमसम्म ‘शब्दवाण’ प्रहार गरेपछि नेताहरुबीच ‘चर्काचर्की’मै बैठक सकिएको एक सचिवालय सदस्यले बताए ।

प्रधानमन्त्री ओलीले सचिवालय बैठकबाट नभएर बाहिरबाट निकास खोल्नुपर्ने बताएका थिए । तर, उनको यो प्रस्तावमा महासचिव विष्णु पौडेलले मात्र समर्थन जनाएका थिए ।

पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डमाथि खनिएका ओलीले अन्तिममा पनि ‘मैले भनेको नमान्ने यस्ता बैठकको काम छैन’ भन्दै बाहिरिएको ती सदस्यले बताए ।

 बैठकमा कसले के भने ?

ओलीले सुरुवातमा भने, ‘आज महासचिव कमरेडको ६२औँ जन्मदिन परेको छ, केक काटौँ ।’

‘केक’ काटेर महासचिव पौडेललाई सचिवालयका सदस्यहरुले जन्मदिनको शुभकामना दिएसँगै बैठकले औपचारिकता पाएको थियो ।

अध्यक्ष प्रचण्डले बैठक सुरु भएको संकेत गरेसँगै ओलीले भने, ‘कसरी बढ्छ बैठक, एजेण्डा के हो ?’ भनेर प्रश्न गरे ।

त्यसको उत्तरमा प्रचण्डले भने, ‘हामीले गम्भीर खालका प्रस्तावहरु बैठकमा पेश गरिसकेका छौँ । हामी गम्भीर र जटिल मोडमा छौँ । तिनै एजेण्डामा छलफल गर्ने र निष्कर्षमा पुग्ने नै एजेण्डा हुन् ।’

प्रचण्डलाई बोल्न रोक्दै ओलीले भनेका थिए, ‘तपाइँले पेश गरेको प्रस्ताव नै होइन, लाल्छाना पत्र हो । त्यसैले बैठकमा छलफल गर्ने हैसियत राख्दैन । यसको समाधान भनेको यो प्रस्ताव फिर्ता लिनुपर्छ । फिर्ता लिएरमात्रै हुँदैन माफी पनि माग्नुपर्छ । यो प्रस्ताव बैठकमा छलफल हुन गराउँनै सक्दिन मैले ।’

प्रचण्डलाई लक्षित गर्दै उनले भने, ‘समस्या किन आयो, के कारणले आयो भन्ने बुझ्नुहुन्छ । तपाईं हिँडेको कता हो ? विग्रहको बाटो हिँड्ने अनि एकताको कुरा गर्ने काम नगर्नुस् । विग्रह मात्र गर्ने काम भइरहेको छ । तपाईंका सबै गतिविधि विग्रहतर्फ लक्षित छन् । त्यसैले समस्या आएको हो ।’

अध्यक्ष प्रचण्डले आफ्नो उद्देश्य र लक्ष्य, पुग्न खोजेको गन्तब्य ‘क्लियर’ गर्नासाथ समाधान खोज्न सकिने ओलीले बताएका थिए ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले पार्टीको झण्डा र लोगो लगाएर राजनीतिक प्रतिवेदन भन्दै पुस्तिका वितरण गरिएकोमा आपत्ति जनाएका थिए । सो पुस्तिका पार्टीको कुन निकायमा दर्ता गरिएको हो ? त्यसलाई कसले आधिकारिकता दियो ? कसले बाँड्नु भनेर बाँडेको हो ? पार्टीको लोगो र झण्डा प्रयोग किन गरिएको हो ? ओलीले यस्ता प्रश्नहरु गरेका थिए ।

‘पार्टीको लोगो र झण्डा दुरुपयोग गर्नु भनेको पार्टीलाई विग्रहको बाटोमा हिँडाउनु हो ।’, अध्यक्ष ओलीले भनेका थिए, ‘के प्राप्तिका लागि र के लक्ष्य हासिल गर्नका लागि यो विग्रह गरिरहनुभएको छ ? यो प्रष्ट हुनासाथ समाधन निस्कन्छ ।’

ओलीले महाधिवेशन अगाडि सहमतिमै जानुपर्छ भन्दै आफूले भनेको कुरा मान्नुपर्ने तर्क गरे ।

ओलीले आफ्नो प्रतिवेदनको ब्याख्या गर्दै सरकारले राम्रो काम गरेको प्रसंग पनि उठाए । उनले भने, ‘म नेतृत्वको सरकारले इतिहासमै राम्रो काम गरेको छ । मैले भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्नँ ।’

ओलीको कुरा सुनेपछि सचिवालय सदस्यसँगै प्रचण्ड पनि मुस्कुराएर हाँसेका थिए । त्यो दृश्य देखेपछि ओलीले प्रचण्डतर्फ हेरेर फेरि थपे, ‘मैले गम्भीर कुरा गर्दा तपाईँ हाँस्ने ? मुस्कुराउने ?’

आफ्नो अधिकांश समय सरकारको बयान गर्ने र प्रचण्डमाथि ‘शब्दबाण’ हानेपछि फेरि प्रचण्डले जवाफ दिएका थिए ।

उनले भने, ‘केपी कमरेडले उत्तेजित कुरा गर्नुभयो, ‘हामीलाई पनि उत्तेजित पार्ने प्रयास गर्नु भएको छ । तर, हामी पार्टी एकताका लागि उत्तेजित हुँदैनौँ । अहिले आएका सबै तथ्यलाई सार्थक ढंगले अगाडि बढाएर लैजानुपर्छ । छलफल गरेर अगाडि बढ्नुको हामीसँग विकल्प छैन ।’

प्रचण्ड बोल्दै गर्दा फेरि ओलीले आक्रोश भनेका थिए, ‘जे मन लाग्यो त्यहीँ लेख्न पाइन्छ ?’ ओलीले प्रचण्डलाई बोल्न रोकेपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिवाद गरेका थिए ।

उनले भने, ‘यो के गरेको ? तपाइँको कुरा सुनिदिनुपर्ने, हामीले अहिलेसम्म सुनिरहेका थियौँ, तपाइँले अर्का अध्यक्षलाई रोक्ने ? तपाइँमा विधि, पद्धति भन्ने कुनै कुरा हुँदैन ?’

श्रेष्ठले बोल्नासाथ वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव कुमार नेपाल र उपाध्यक्ष बामदेव गौतमले ‘बोल्न पनि प्रतिबन्ध’ लगाउने भनेर ओलीको प्रतिवाद गरेका थिए ।

त्यसपछि प्रचण्डले भने, ‘बोल्नै रोक्ने, छलफल गर्न नै रोक्ने तपाइँ को हो ? तपाइँलाई कस्ले दियो अधिकार ? ल साथीहरु भन्नुस् यी प्रस्ताव के गर्ने ?’

बैठकमा वरिष्ठ नेता नेपालले छलफल गर्नुको विकल्प नभएको बताए । अर्का वरिष्ठ नेता खनालले पार्टीको सम्पत्ति भइसकेका विषयमा छलफलबाट नै निकास खोज्नुपर्नेमा जोड दिएका थिए ।

उपाध्यक्ष गौतमले केपी ओलीले नै छलफलमा भाग लिइसकेकाले अब छलफल गर्नुको विकल्प नभएको बताए ।

सचिवालय सदस्य ईश्वर पोखरेलले पनि बैठकमा आइसकेका विषयहरु छलफलमार्फत समाधान गर्नुपर्ने बताएका थिए ।

अर्का सदस्य रामबहादुर थापा बादलले पनि छलफल गरेर जानुपर्नेमा जोड दिए । तर, महासचिव पौडेलले भने, ‘मैले छलफल गर्ने वा नगर्ने भन्न सक्दिनँ’

प्रचण्डले त्यसपछि फेरि आफ्नो धारणा राख्न सुरु गरेका थिए ।

उनले भने, ‘केपी कमरेडले नै बैठक बोलाउन आग्रह गर्दा प्रतिउत्तर लेखेर फायर खोल्नु भएको हो । त्यसपछि मैले लिखित प्रस्ताव लेख्नुपर्ने अवस्था आयो । तपाइँले स्थायी कमिटीको निर्णय नमानेर फुटवादी गतिविधि गरेको होइन ? बालुवाटारबाट देशैभर फुटवादी गतिविधि तपाइँले गरेको होइन । यी प्रस्ताव मित्रतापूर्ण तरिकाले हल हुनसक्छन् । मैले तपाइँको प्रस्तावको लिखितैरुपमा पूरक प्रस्ताव ल्याउँछु ।’

प्रचण्डपछि बोलेका वरिष्ठ नेता खनालले ‘सहमति, सहमति’ले नै पार्टीलाई बिगारेको बताए ।

उनले भने, ‘सहमति,सहमति भनेकाले पार्टी बिर्गेको हो । सहमति गर्दा पनि पद्धति र प्रक्रियामा गएर गर्नुपर्छ । मनलाग्दी गर्ने नीतिले नै संकट निम्तिएको हो । सकेसम्म सहमति गर्नु राम्रो कुरा हो । तर, सहमति भएन भने विधि र पद्धतिमा गएर निर्णयमा पुग्नुपर्छ ।’

उपाध्यक्ष गौतमले पनि छलफलबाटै निकास निकाल्नुपर्नेमा जोड दिएका छन् । उनले भने, ‘अनौपचारिक पनि छलफल गरौँ, तर, औपचारिक छलफललाई पनि निरन्तरता दिनुपर्छ । एउटा निष्कर्षमा पुग्नु अब ढिला भइसक्यो ।’

सचिवालय सदस्य पोखरेलले अनौपचारिक संवादलाई जोड दिए । उनले भने, ‘छलफलबाट निकास खोजौँ, अनौपचारिक संवादबाट निकास निकाल्ने प्रयास गरौँ ।’

प्रवक्ता श्रेष्ठले अनौपचारिक संवादका नाममा पार्टीलाई अनिर्णयको अवस्थामा राख्न नहुने बताएका थिए ।

उनले भने, ‘अनौपचारिक संवादको नाममा पार्टीलाई अनिर्णयको अवस्थामा राख्नु हुँदैन । अनौपचारिक संवाद पनि गरौँ तर, औपचारिक बैठक रोक्न मिल्दैन ।’

आजको बैठकमा महासचिव पौडेल र सचिवालय सदस्य थापाले आफ्नो छुट्टै धारणा राखेनन् ।

अन्तिममा प्रचण्डले भोलि दिउँसो १ बजे फेरि सचिवालय बैठक बस्ने बताए । बैठक बस्ने निवर्णयप्रति ओलीले व्यंग्य हानेका स्रोतको भनाइ छ ।

अन्तिममा सबैजना उठ्ने बेलामा ओलीले भने, ‘मैले भनेको नमान्ने हो भने यस्ता बैठकको काम छैन ।’

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  १० : १४ बजे

नेपाल सेमिफाइनलबाट बाहिरियो, एशिया कपमा छनौट हुन असफल

काठमाडौँ– नेपाल एशिया कपमा छनौट हुन असफल भएको छ ।

सर्वोच्चको फैसला नआएसम्म कांग्रेसले गण्डकी प्रदेश सभा बहिष्कार गर्ने

पोखरा– नेपाली कांग्रेसले गण्डकी प्रदेश सभा बैठक बहिस्कार गर्ने निर्णय

दयाहाङको सफलतामा लुकेको रहस्य

काठमाडौं– अहिलेका सर्वाधिक व्यस्त नायक हुन् दयाहाङ राई । विसं

महाजात्राले कमायो २६ करोड ६५ लाख

काठमाडौं– ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको

नेपाललाई तेस्रो सफलता, गुलशनले लिए दोस्रो विकेट

काठमाडौं– नेपालले तेस्रो विकेट लिएको छ । एसीसी प्रिमियर कपको