खुल्यो नियमित अन्तर्राष्ट्रिय उडान | Khabarhub Khabarhub

खुल्यो नियमित अन्तर्राष्ट्रिय उडान


१६ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि देशभर लागू गरिएको लकडाउनको पाँच महिनापछि नियमित अन्तर्राष्ट्रिय उडान सुचारु भएको छ ।

सरकारले लकडाउनको पाँच महिनापछि अर्थात आज भदौ १६ देखि निश्चित शर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

भदौ ४ गतेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ महामारीबाट बचेर सुरक्षित उडानका लागि पीसीआर परीक्षण सहज भएका देशहरुबाट शर्तसहितको नियमित उडान गर्ने निर्णय गरेको हो ।

दैनिक ५०० यात्रु नकट्ने गरी उडान नियमित उडान सञ्चालन हुनेछ । यसबीचमा विभिन्न मुलुकबाट चार्टर्ड उडान पनि सञ्चालन गरिनेछ ।

नेपालमा लकडाउन शुरु भएको चैत ११ देखि अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाइएको थियो । आन्तरिक उडान पनि स्थगन गरिएको थियो । यस बीचमा कुनै पनि व्यावसायिक उडान भएनन् ।

विदेशमा अलपत्र नेपाली ल्याउन तथा लकडाउनले अड्किएका नेपाल र विदेश दुबैतर्फ नागरिक आवतजावतका लागि चार्टर्ड उडानहरु भए । त्यस्तै अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन विभिन्न मुलुकबाट कार्गो उडान पनि सञ्चालन गरियो । लकडाउनको अवधिमा दैनिक १८ वटासम्म चार्टर्ड उडान भएका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीका अनुसार लकडाउन र त्यसपछि निषेधाज्ञाको अवधिमा अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ५४ हजार ११५ यात्रु नेपाल आएका छन् ।

नेपालबाट २२ हजार १९६ जना यात्रु बाहिरिएका छन् । कार्गोतर्फ उक्त अवधिमा विभिन्न देशबाट १४ लाख ४१ हजार ५४० कार्गो नेपाल भित्रिएको छ भने नेपालबाट १८ लाख २७ हजार ८४४ कार्गो विदेश पठाइएको छ । यो चैत ११ देखि भदौ १४ गतेसम्मको विवरण हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सेप्टेम्बर महिनाभरको नियमित र चार्डर्ड दुबै उडानको तालिका सार्वजनिक गरिसकेको छ । पीसीआर परीक्षण सहज भएका मुलुकहरु मलेसिया, युएई, दक्षिण कोरिया, थाइल्याण्ड, जापान, चीन, हङ्कङ, अष्ट्रेलिया, अमेरिका, क्यानाडा र युरोपेली मुलुकबाट नेपाल सरकारको निर्णयअनुसार नेपाल आउन अनुमति भएका नेपाली नागरिक र नेपालस्थित विदेशी नियोगका कूटनीतिज्ञ, कर्मचारी, संयुक्त राष्ट्रसङ्घका कर्मचारीलगायतलाई मात्र नेपाल ल्याउने गरी नियमति उडान गरिनेछ ।

पीसीआर सहज नभएका मुलुकहरु कतार, साउदी अरब र कुवेतलगायत अन्य मुलुकबाट नियमित उडानमार्फत् यात्रु ल्याउन नपाइने निर्णय गरेको छ ।

नियमित उडानका लागि उडान अनुमति नभएका श्रमिक रहेका मुलुकबाट सम्बन्धित नेपाली कूटनीतिक नियोगबाट सिफारिस भएको नामावली बमोजिमका यात्रुका लागि चार्टर्ड उडान गरेर ल्याउन पाइनेछ । यस्तै पीसीआर टेष्ट सहज नभएका मुलुकहरुमा चार्टर्ड उडान मात्र सञ्चालन हुने जनाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित ३० वायुसेवा कम्पनीले उडान भर्दै आएका छन् ।

खुल्यो नियमित अन्तर्राष्ट्रिय उडान

नियमित अन्तर्राष्ट्रिय उडान शुरु हुने आज पहिलो दिन नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को एक मात्र उडान तालिका रहेको छ । निगमको वाइड बडी जहाजले आज राति १:०० बजे जापानको नारिताका लागि उडान भर्ने विमानस्थलले जनाएको छ । आजको लागि अन्य एयरलाइन्सको नियमित उडान तालिका छैन । चार्टर्डतर्फ आज पाँच उडान हुनेछन् ।

नेपाल एयरलाइन्सको जहाज बिहान गन्तव्यतर्फ उडिसकेको छ भने हिमालयको जहाज पनि उड्ने तयारीमा छन् । नेपाल एयरलाइन्सले दोहा र कुवेतबाट तथा हिमालयले दोहा र चीनको कुनमिङबाट नेपाली फर्काउने छ । एयर अरेबियाले सारजाहबाट नेपालीलाई घर फर्काउने उडान तालिका रहेको छ ।

उडान थोरै जनशक्ति र संरचना उत्तिकै

विमानस्थललाई कोभिड–१९ सङ्क्रमणबाट बचेर सुरक्षित उडान गर्नुपर्ने एकातिर छ भने अर्कोतिर थोरै उडान सञ्चालन भएपनि जनशक्ति र संरचना उत्तिकै खर्चनुपर्छ । यसले विमानस्थलको खर्च, समय र जनशक्ति पनि बढी व्यवस्थापन गर्नुपर्ने भएकाले केही असहज हुने जनाएको छ । नियमिततर्फ दैनिक दुई देखि तीन र चार्टर्डका केही उडान सञ्चालन हुनेछन् ।

नेपालबाट उडान दिउँसो वा राति १० बजेसम्म मात्र सञ्चालन गर्न सरोकारवालासँग छलफल भएपनि विदेशी स्टेशनबाट उडान तालिका नमिल्ने भएकाले मध्यरातिमा पनि उडान गर्नुपर्ने विमानस्थललाई वाध्यता परेको छ । त्यसैले आज निगमको जहाज राति १ बजे नारिता उड्ने तालिका छ । विभिन्न मुलुकबाट आउने कनेक्टिङ फ्लाइटलाई पनि समस्या हुनेछ । मध्यरातमा विमानस्थल आउनुपर्दा व्यवस्थापनमा पनि कठिनाइ हुनेछ ।

विमानस्थलका महाप्रवन्धक केसीले थोरै उडान भएपनि सामान्य अवस्थामा जस्तै जनशक्ति र संरचना व्यवस्थापन गर्नुपर्ने भएकाले यसले विमानस्थलको खर्च बढाउनुका साथै जनशक्ति व्यवस्थापनमा पनि असहज हुने बताए । उनका अनुसार अहिले महामारीलाई मध्यनजर गर्दै विमानस्थललाई जुनसुकै अवस्थामा पनि सञ्चालन गर्नुपर्ने भएकाले एक तिहाई कर्मचारीबाट मात्रै सेवा सञ्चालन गरिरहेको छ । अर्को टोली जगेडामा राखिएको छ ।

विदेशबाट आउने यात्रु विमानस्थलबाट सिधै होल्डिङ सेन्टरमा जानुपर्नेछ । प्रदेश अनुसारको सातै प्रदेशको छुट्टाछुट्टै होल्डिङ सेन्टरमा पुगेपछि यात्रुको पीसीआर विवरण तथा होटल बस्नुपर्ने हो वा घर जान पाउने हो टुङ्गो लाग्छ ।

पीसीआर रिपोर्ट नेगेटिभ भएकाले घरमा गएर होम क्वारेन्टिनमा बस्नुपर्छ । पीसीआर रिपोर्ट नभएकाले होटलमा सात दिन बसेर स्वास्थ्य परीक्षण गराएर आवश्यक प्रक्रिया पूरा गरेपछि मात्रै घर जान पाउनेछन् ।

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलबार  २ : १८ बजे

विपक्षीले अपव्याख्या गरे, हाम्रो सरकार २०८४ सम्म जान्छ : खगराज अधिकारी

काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी नेकपा (एमाले) बाट लाभका

उपनिर्वाचनको आज प्रचार प्रसारको अन्तिम दिन

इलाम– इलाम क्षेत्र नम्बर-२ मा वैशाख १५ मा हुने उपनिर्वाचनका

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित 

वासिङ्टन– अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल

नेपाल र कतारबीच विभिन्न ८ वटा समझदारीमा हस्ताक्षर

नेपाल र कतारबीच विभिन्न ८ वटा विषयमा समझदारी भएको छ

काभ्रेको भुम्लुमा सुमो दुर्घटना, १० जना घाइते

धुलिखेल– काभ्रेपलाञ्चोकको भुम्लु, मुलाबारीमा सुमो दुर्घटना हुँदा १० जना घाइते