हेर्दा हेर्दै सलहले सखाप पार्‍यो | Khabarhub Khabarhub

हेर्दा हेर्दै सलहले सखाप पार्‍यो

धपाउने प्रयास असफल



काठमाडौँ- अर्घाखाँचीका ४१ वर्षीय कृष्ण बेलबासेले यस वर्ष करिब १४ रोपनी जमिनमा मकै रोपेका थिए । मकैमा धानचमर निस्केर सुत्लो च्याप्ने बेला भएको थियो ।

यही मंगलबार अचानक सलह कीरा पसेर मकैको सबै पात नष्ट गरिदियो । पात र धानचमर केही पनि बाँकी छैन । सलहले सखाप पारेपछि कृष्णलाई ठूलो चिन्ता परेको छ । ‘दुःख र महिनेत गरेर बाली लगाइयो । मकैले सुत्लो च्यापिसकेको थियो’ कृष्णले फोनमा खबरहबसँग भने, ‘सलहले सखाप पार्‍यो ।’

कृष्णको मात्रै के कुरा बोटमा अन्न लाग्ने बेलामा अचानक आकाशबाट उड्दै आएका कीराले बाली नष्ट गरेपछि अर्घाखाँचीस्थित पाणिनि गाउँपालिकाका सबैजसो किसान चिन्तामा परेका छन् । हेर्दा हेर्दै सलहले मकै सखाप पारेको कृष्णले बताए ।

पात र धानचमर नष्ट भएपछि मकैमा फल लाग्ने आश किसानलाई छैन । मकैको सुत्लो पोथी फूल र धानचमर भाले फूल हो । फूल नै नभएपछि फल लाग्ने भएन । कृष्णका अनुसार मंगलबार अपराह्न ४ बजेतिर पाणिनीमा सलहको बथान पसेको थियो । अर्घाखाँचीमा आइतबार नै सलह देखिएको हो ।

सलह आउनसक्ने कुरा सुनेपछि किसानहरूले बाली जोगाउन हरसम्भव प्रयास गरे पनि नसकेको कृष्णको भनाइ छ । ‘बेलुकीपखको घाममा मकै सखाप नै पार्‍यो, आज (बुधबार) पनि बिहानैदेखि कीराले खेतबारी ढाकेको छ,’ निराश हुँदै उनले भने, ‘बारी हेर्दा मन बिथोलिन्छ, मकैमा पात छैन, डाँठ मात्र छ ।’

किसानहरूले मंगलबारदेखि नै मकै बाली जोगाउन प्रयास नगरेका होइनन् । गाउँलेहरू भेला भएर थाल र टिन ठटाए, आँगो बालेर धुवाँ लगाए तर केही पार लागेन ।

मकैमात्रै होइन कतिपय ठाउँमा रोप्न तयार भएको धानको ब्याड नै नष्ट भएको छ । किसानहरू सलह गएपछि पनि धान कसरी रोप्ने भन्ने चिन्तामा परेका छन् ।

मंगलबार नै प्युठानमा पनि सलहले मकै बाली नष्ट गरेको छ । सारुमारानी गाउँपालिकाका विभिन्न वडाहरूमा सहल फैलिएको छ । सारुमारानी गाउँपालिकामा ठूलो झुण्डमा सलह प्रवेश गरेको र सबै बालीमा नोक्सान पुर्‍याएको गाउँपालिकाका अध्यक्ष झगबहादुर विश्वकर्माले बताए ।

यता मकवनापुरको गढीमा सलहले सोमबार नै मकै बाली नष्ट गरेको छ ।

सलह २७ जिल्लामा

गत शनिबार बिहान भारतबाट उत्तरपूर्वतर्फ हावा चल्न थालेपछि मध्य तराईका सर्लाही र बारा जिल्लाबाट सलहका बथानहरू नेपाल प्रवेश गरेका हुन् । शनिबार र आइतवार सलहले बालीमा खास क्षति नपुर्‍याए पनि सोमबारबाट ठूलो क्षति पुर्‍याउन थालेको छ ।

अहिलेसम्म बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, मकवानपुर, चितवन, सिन्धुली, रामेछाप, काभ्रे, रुपन्देही, कपिलवस्तु, पाल्पा, स्याङ्जा, दाङ, प्युठान, गुल्मी, कास्की, पाँचथर, खोटाङ, कैलाली, सिन्धुपाल्चोक, डडेलधुरा र काठमाडौँ उपत्यकामा सलहका बथान प्रवेश गरेका छन् ।

हालसम्म नेपालका विभिन्न जिल्लामा भित्रिएका सलहका बथानहरूमा करिब २ हजारदेखि १२ लाखसम्मको संख्यामा सलह कीरा रहेको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ ।

केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीका अनुसार अहिले ५ लाख देखि सात ७ लाखसम्मका झुण्डहरू छुट्टिएर विभिन्न जिल्लामा पुगिरहेका छन् । उनका अनुसार मकवानपुरको गढीमा ५० हेक्टर, बकैयामा करिब ३८ हेक्टर र बाग्मतीमा १५ हेक्टर जमिनको मकै बालीमा क्षति पुगेको छ’।

रुपन्देहीको सैनामैनामा र दाङका केही गाउँमा सामान्य क्षति पुगेको छ । स्याङजाको कालगण्डकीमा केही फलफूल नष्ट गरेको छ । ‘धेरैजसो जिल्लाको मकै बालीमा क्षति पुगेको छ,’सुवेदीले खबरहबसँग भने, ‘केही ठाउँमा तरकारी र फलफूलमा पनि सलहले क्षति पुर्‍याएको छ ।’

सलह प्रवेश गरेका जिल्लाहरूमा भएको क्षतिको विवरण संकलन भइरहेको उनले बताए ।

नियन्त्रण गर्न कठिन

सलह कीरा नियन्त्रण गर्न निकै कठिन देखिएको छ । ‘यी कीरा दिउँसो उडिरहने हुँदा केही गर्न सकिँदैन,’ सुवेदी भन्छन्, ‘राति बास बसेको स्थानमा पुगेर विषादी छर्कनु पर्ने हुन्छ ।’ सलह बास बस्न जङ्गल र ठूला रुखका टुप्पामा पुग्ने भएकाले विषादी छर्किन र अन्य उपाय गर्न पनि कठिन हुन्छ ।

सलह आउने अनुमान भए पनि सरकारले नियन्त्रणका लागि विषादीलगायत अन्य आवश्यक प्रबन्ध गर्न नसकेको कतिपय जानकारको भनाइ छ ।

तस्वीर : रविन घिमिरे, अर्घाखाँची

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  ३ : ४९ बजे

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कति पुग्यो आज?

काठमाडौं– नेपाली बजारमा सुनको भाउले शुक्रबार नयाँ रेकर्ड कायम गरेको

दुर्गा प्रसाईँको हतियारबारे छानबिन गर्न समिति गठन

काठमाडौं– सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई हातहतियार राख्ने इजाजत दिएको

सभामुख घिमिरे स्वदेश फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन् । अन्तर-व्यवस्थापिका

एफटीएक्सका संस्थापक साम बैंकम्यानलाई २५ वर्षको जेल सजाय

काठमाडौं– अमेरिकी कम्पनि एफटीएक्सका संस्थापक साम बैंकम्यान फ्राइडलाई २५ वर्षको

पर्यटक नभएपछि अध्यागमन कार्यालय सुनसान

नेपालगञ्ज– बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन वर्षदेखि