पञ्चतन्त्रको कथा र पतनोन्मुख नेकपा « Khabarhub
Logo
१८ जेष्ठ २०७७, आइतबार

पञ्चतन्त्रको कथा र पतनोन्मुख नेकपा



कुरा सुरु गरूँ पञ्चतन्त्रको एउटा कथाबाट ।

एउटा जङ्गलमा सिंहका एक जोडी बस्थे । एक दिन सिंहिनी सुत्केरी भई । सिंह सुत्केरीका लागि सिकार खोज्न गयो । सिंहिनी ओडारमा शिशु डमरुका साथ बसी । दिनभर प्रयास गर्दा पनि सिंहले सिकार फेला पार्न सकेन ।

साँझतिर ऊ थकित भएर फर्किंदै थियो । बाटामा एउटा सानो जनावर देख्यो । स्यालको बच्चो रहेछ । सिंहले सोच्यो, रित्तै फर्केर सुत्केरीलाई भोकै राख्नुभन्दा यही भए पनि लैजानु वेश ।

सिंहले स्यालको बच्चो समायो र बासस्थान पुग्यो । सुत्केरीका अगाडि त्यही फुच्चे सिकार राखिदियो र भन्यो, ‘प्रिया, लाख प्रयत्न गर्दा पनि आज सिकार गर्न सकिनँ । फर्केर आउँदा यही बच्चो भेटेँ । सुत्केरीलाई भोकै राख्नुभन्दा यही भए पनि ल्याएको छ । भोलि जसरी पनि ठूलो सिकार ल्याउँछु ।’

सिंहिनीले सिकार हेरी । ठ्याक्कै आफ्ना डमरुजस्तै देखी । उसमा मातृवात्सल्य सल्बलायो । उसले भनी, ‘प्रिय, आजलाई भयो, यस्तो बालकको हत्या गर्नु हुन्न । तिमीले ल्याइहाल्यौ, म यसलाई मेरा छोरासरह पाल्छु, आजदेखि यो हाम्रो छोरो भयो ।’

सिंहिनीले स्यालको बच्चोलाई आफ्ना डमरुहरूको दाजु बनाई । डमरुसँगै स्याल पनि हुर्किंदै गयो । एक दिन सबै दाजुभाइ सिकार खेल्न निस्किए । परबाट एउटा हात्ती आयो । भाइ डमरुहरू हात्ती मार्न तम्सिए । दाजु पछि हट्यो । जब भाइहरू आक्रमणका लागि तयार भए तब दाजुले यो हात्ती हो, हामी यसलाई मार्न सक्दैनौँ, तिमीहरू छेउमा नजाओ भनेर रोक्यो ।

मनमोहनको सरकार पतनपछि नेपाली राजनीतिमा विकृतिको सुरुआत भयो । सांसद खरिद, ५० जनाभन्दा बढीको मन्त्रिमण्डल, छिटो–छिटो सरकार परिवर्तन इत्यादि घटना भए । कांग्रेस–एमालेको सहयोगमा पञ्चायतका धुरन्धर नेताले पालैपालो बहुदलको प्रधानमन्त्री हुने अवसर पाए । संसदीय राजनीतिमा विकृति र विसंगतिको खात लाग्यो

दाजुले यसरी रोकेपछि भाइहरू रिसाए । हात्ती आफ्नो बाटो गयो । उनीहरू पनि फर्के ।

रिसाएका डमरुहरूले आमालाई कुरा सुनाए । हामीलाई हात्ती मार्न नदिने दाजु डरछेरुवा रहेछ भने । भाइहरूले यसो भनेपछि दाजु रिसायो र हात्ती मार्न नगई छाड्दिनँ भनेर आमालाई घुर्की लगायो । आमाले उसलाई तिमी हात्ती मार्न सक्दैनौ भनेर सम्झाई तर मान्ने छाँट ल्याएन ।

आमाले उसलाई साँचो कुरा नभनी भएन । उसले यसरी सम्झाई:

शूरोऽसि कृतविद्योऽसि दर्शनीयोऽसि पुत्रक ।
यस्मिन् कुले त्वमुत्पन्नो गजस्तस्त्र नहन्यते ।।

छोरा तिमी तिमी शूरो छौ, विद्वान छौ र सुन्दर पनि तर तिमी यस्तो कुलमा जन्मेका हौँ, त्यसबाट हात्तीको सिकार हुँदैन । उसले साँचो कुरा बताइदिई र आफ्नै कुलमा जाऊ भनी । स्याल छोरो डरायो र त्यहाँबाट सुटुक्क भाग्यो ।

करिब तीन दशकयता हाम्रा नेताहरूको चरित्र यही कथासँग ठ्याक्कै मेल खान्छ ।

जनआन्दोलनको सफलतापछि २०४८ सालको आमनिर्वाचनमा नेपाली कांग्रेसले सुविधाजनक बहुमत पायो । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भए । जानी–नजानी राज्य व्यवस्था अघि बढ्दै थियो । सरकारको चौथो नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट असफल भयो । सत्तारुढ दलका सांसद चौहत्तरे र छत्तीसेमा विभाजित भए ।

गिरिजाप्रसादले पद त्यागेकै भए पनि संदीय दलमा उनकै बहुमत थियो । फेरि पनि उनै प्रधानमन्त्री नियुक्त हुन्थे । यसो हुँदा फेरि पनि असफलताको उही खेल दोहोरिन सक्थ्यो । उनले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचन गराए । नेकपा एमालेले ठूलो पार्टीको हैसियतमा सरकार बनायो । मनमोहन अधिकारी प्रधानमन्त्री रहेको त्यो नौ महिने सरकारलाई एमालेजनले आजसम्म स्वर्णकालका रूपमा बयान गर्दै लाभ उठाउँदैछन् ।

गिरिजाप्रसादले प्रधानमन्त्री पद अर्को नेतालाई हस्तान्तरण गर्ने बाटो रोजेनन्, मध्यावधिको जोखिम उठाए । उनले पद हस्तान्तरण गरेका भए सत्ता कांग्रेसकै हातमा रहने थियो होला र राजनीतिक परिदृश्य अर्कै मार्गमा हुने थियो होला । आज अनुमान मात्रै गर्न सकिन्छ ।

गिरिजाप्रसादले पार्टीको बहुमत हुँदाहुँदै सरकारको नीति तथा कार्यक्रम असफल हुनुलाई प्रधानमन्त्रीका रूपमा आफ्नो प्रतिष्ठाको विषय बनाए । उनले प्रधानमन्त्रीको विशेषाधिकार प्रयोग गरे ।

मनमोहनको सरकार पतनपछि नेपाली राजनीतिमा विकृतिको सुरुआत भयो । सांसद खरिद, ५० जनाभन्दा बढीको मन्त्रिमण्डल, छिटो–छिटो सरकार परिवर्तन इत्यादि घटना भए । कांग्रेस–एमालेको सहयोगमा पञ्चायतका धुरन्धर नेताले पालैपालो बहुदलको प्रधानमन्त्री हुने अवसर पाए । संसदीय राजनीतिमा विकृति र विसंगतिको खात लाग्यो ।

कांग्रेस–एमाले संयुक्त सरकारले २०५६ सालमा आमनिर्वाचन गरायो जसमा कांग्रेसले फेरि सुविधाजनक बहुमत पायो तर सरकार टिकाउन सकेन । कृष्णप्रसाद भट्टराईको सरकार तेह्र महिनामै पतन भयो । गिरिजाप्रसाद र शेरबहादुर देउवा हुँदै अन्ततः माओवादीको हिंसात्मक आन्दोलनको रापमा सत्ताको साँचो दरबार पुग्यो । राजा वीरेन्द्रको अवसानपछिका राजा ज्ञानेन्द्रले राजनीतिक दलहरूको असफलताको लाभ उठाएर सत्ता हातमा लिए ।

गिरिजाप्रसादको एकल बहुमतको पहिलो सरकार किन पतन भयो र आज नेकपाको एकल बहुमतको सरकार किन पतनोन्मुख छ ! आधारभूत कारण उही हो– प्रधानमन्त्रीमा शक्तिको असीमित दम्भ र नेताहरूबीच सत्ताशक्तिको असीमित संघर्ष 

साढे एक दशकपछि दोस्रो संयुक्त जनान्दोलनको सफलताले राज्यसत्ता जनताका प्रतिनिधिको हातमा त फर्कायो तर सरकार फेरबदलको स्वार्थी म्याच फिक्सिङका कारण संविधान बनेर आमनिर्वाचन हुँदासम्म एक दशकमा नौवटा सरकार बने । संविधान बनाउन निर्वाचनबाट दुई वटा संविधानसभा बनाउनु पर्‍यो । हुँदाहुँदा राजनीतिक दलहरूको असफलताले प्रधानन्यायाधीशलाई मन्त्रिपरिषदको अध्यक्ष बनाएर पूर्वप्रशासकहरूको सरकार गठन गर्नुपर्‍यो ।

संविधान बन्यो । नयाँ संविधानअनुसार निर्वाचन भयो । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनले भारी बहुमत पायो । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भए । प्रतिनिधिसभामा दुई तिहाईभन्दा बढी समर्थन जुट्यो । २००७ सालपछिको राजनीतिक इतिहासमा संवैधानिक र राजनीतिक शक्तिका हिसाबले पहिलोपटक बलियो सरकार बन्यो । चुनावी गठबन्धनका पार्टी एकीकृत भएर एउटै नेकपा बन्यो ।

प्रदेशहरूमा पनि यस्तै सरकार बने । स्थानीय सरकारहरू बने । देश एउटा निदृष्ट मार्गमा लम्किन थालेको देखियो । परिस्थिति आशलाग्दो भयो ।

प्रतिनिधिसभामा जम्मा चार दल छन् । मुख्य विपक्षी दल एक्लैसँग प्रधानमन्त्रीमाथि अविश्वासको प्रस्ताव राख्ने सदस्य संख्या छैन, सबै विपक्षी मिल्दा पनि मुश्किल पर्छ ।

यस्तो सरकार बनेको साढे दुई वर्ष नहुँदै आज कुन अवस्था उत्पन्न भएको छ, जगजाहेर छ । ठ्क्याक्कै २०५१ सालको पुनरावृत्ति भएको छ । सत्तारुढ दल दुई भँगालो भएर बगेको छ । कुन भाँगालोमा बढी पानी भनेर मापनको काम हुँदैछ । फाटेका भँगाला अलिक तलतिर पुगेर मिसिन्छन् कि झन् टाढा हुँदै जान्छन्, ठ्याक्कै भन्न सकिने भइसकेको छैन ।

गिरिजाप्रसादको एकल बहुमतको पहिलो सरकार किन पतन भयो र आज नेकपाको एकल बहुमतको सरकार किन पतनोन्मुख छ ! आधारभूत कारण उही हो– प्रधानमन्त्रीमा शक्तिको असीमित दम्भ र नेताहरूबीच सत्ताशक्तिको असीमित संघर्ष ।

गिरिजाप्रसादलाई पाँच वर्ष सरकार चलाउन दिएको भए वा उनले पूरा अवधि सरकार चलाउने गरी आन्तरिक समन्वय गर्न सकेका भए आजको राजनीतिक, आर्थिक र सामाजिक अवस्था कस्तो हुन्थ्यो होला ! गिरिजाप्रसादको दम्भ समन्वयको मार्गमा अवरोधक भयो । अरू नेताले बहुमतको सरकारको पतपछिको सम्भावित खतराको अनुमान गर्न सकेनन् वा त्यसो गरिरहनु आवश्यक ठानेनन् ।

यो विग्रहको नतिजा सरकारमा मात्रै परेन, पर्टी विभाजन भयो । पाँच वर्षपछि एकीकरण भयो तर आज कांग्रेस कुन परिस्थितिबाट गुज्रिँदैछ, जगजाहेर छ ।

सुविधाजनक एकल बहुमतयुक्त नेकपा आज नेपाली कांग्रेस झैँ पतनको बाटोमा छ । कारण उही हो, प्रधानमन्त्री केपी शर्मा ओलीमा उम्लिएको सत्ताको दम्भ अनि उनको मेख मार्न अरू नेताको गठजोड ।

ओली र उनको किचन क्याबिनेटको दाबी छ– यो बहुमत ओलीका नाममा आएको हो । पाँच वर्ष अकण्टक प्रधानमन्त्री रहनु उनको विशेषाधिकार हो र कसैले पनि हनन गर्न सक्दैन । ओली जनताले बनाएका प्रधानमन्त्री हुन् । उनले जे निर्णय गर्छन्, जे काम गर्छन् त्यो अग्रिमरूपमा जनअनुमोदित हो । यसमा प्रश्न उठाउनु जनतमको अपमान हो ।

आज केपी शर्मा ओली देशका कार्यकारी प्रधानमन्त्री होइन, उनी फगत एकजना खड्गप्रसाद शर्मा ओली भएका छन् । यसो भएपछि त्यो जिम्मेवार व्यक्तित्वको उज्यालो टेबुलमाथिको टुकीको जस्तोमात्रै हुँदो रहेछ दलिनमा झुन्ड्याइएको बिजुलीको चिमको जस्तो हुँदैन रहेछ

उता अर्को पक्षको दाबी छ– ओली नेता निश्चय नै हुन् तर बहुमत पार्टीले ल्याएको हो । ओलीलाई पार्टीले प्रधानमन्त्री बनाएको हो । सरकार पार्टीको हो । उनी पार्टीको मार्ग निर्देशअनुसार चल्दैनन्, सरकार र पार्टी दुवै मै हुँ भन्छन् भने त्यो सम्भव छैन । पार्टीले प्रधानमन्त्री पदबाट फिर्ता बोलाउँदा फर्किनु पर्छ ।

गिरिजाप्रसाद र उनको पार्टीका नेताहरूबीच यस्तै शक्ति संघर्ष थियो । आजको नेकपामा जस्ताको तस्तै पुनरावृत्ति भएको छ ।

मध्यावधि निर्वाचन गराउने गिरिजाप्रसादको निर्णयले जति नै शीर्ष र जति नै जिम्मेवार स्थानको पदाधिकारी नै किन नहोस् अन्तिम बिन्दुमा नेता पनि एउटा सामान्य व्यक्तिभन्दा बढी होइन । एउटा व्यक्तिले सधैँ आफूलाई केन्द्रमा राखेर आफ्नो सुविधाअनुसार निर्णय गर्छ, ढाँट्छ र छलछाम गर्छ ।

आज केपी शर्मा ओली देशका कार्यकारी प्रधानमन्त्री होइन, उनी फगत एकजना खड्गप्रसाद शर्मा ओली भएका छन् । यसो भएपछि त्यो जिम्मेवार व्यक्तित्वको उज्यालो टेबुलमाथिको टुकीको जस्तोमात्रै हुँदो रहेछ दलिनमा झुन्ड्याइएको बिजुलीको चिमको जस्तो हुँदैन रहेछ ।

शायद व्यक्तित्व स्खलनको शृंखला यसैगरी अघि बढ्दो हो । भ्रष्टाचार भयो भनेर उठेका प्रश्नमा खरो प्रतिरक्षा, अर्काको दल फुटाएर ‘पीडित’ सांसदको उद्धार गरिदिने मनसाय र एकजना साथी लिएर संवैधानिक पदाधिकारी नियुक्त गर्ने अधिकारको अध्यादेशले प्रधानमन्त्री ओलीलाई व्यक्तित्व स्खलनको त्यही मार्गमा लम्काएको छ । आखिर उनले सच्याएकै किन नहुन्, उनको भित्री इच्छा घामजत्तिकै छर्लङ्ग प्रकट भएको छ ।

राज्य, राजनीतिक दल र परिवार आधारभूतरूपमा उस्तै हुन् । संरचनाको जग एउटै हो । घरमूलीले बुद्धि नपुर्‍याउँदा, एक्लै ढिपी कस्दा र परिवारका अन्य सदस्यको भावना नबुझ्दा के हुन्छ भन्ने कुरा जनजनलाई थाहा छ । घरझगडा किन हुन्छ त्यो पनि जनजनलाई थाहा छ ।

एउटा राजनीतिक दल पनि घरपरिवारभन्दा बढी होइन । खान्दानीको घरझगडा त झन भुसको आगोजस्तो हुन्छ भन्छन् । अहिले नेकपा खान्दानमा आगो सल्केको छ । आगो घरमूली र परिवारका सदस्यहरूको नियन्त्रणबाहिर गइसकेको छैन । निभाउने कि तेल थप्ने, आगे उनकै इच्छा हो ।

नेताहरू ‘आदर्श’ र ‘त्याग’ को कुरा गर्छन् । नेपाली बृहत् शब्दकोशका अनुसार आदर्श कुनै वस्तु वा क्रियाको उत्तमताको खास नमूना हो । रूप, गुण र विचार अनुकरणीय हुनु हो । व्यक्तिमा सत् र न्यायी स्वभाव हुनु हो ।

त्यसैगरी, कुनै खास वस्तु वा धारणाबाट आफ्नो अधिकार र सत्व छाड्नु त्याग हो, उत्सर्ग हो । राजनीतिकरूपमा बुझिएको त्याग जनताको हितका लागि आफ्नो व्यक्तिगत चाहना र स्वार्थ छाडेर राजनीतिमा लाग्नु हो ।

आज ओलीलाई प्रधानमन्त्रीबाट अपदस्थ गरेर भोलि अर्को नेकपा नेताले सरकार चलाउँछु अनि स्थिरता र समृद्धि दिन्छु भन्छ भने एकादेशको गाउँखाने कथाभन्दा बढी केही पनि हुनेछैन

यस्तो आदर्श र त्यागका साथ राजनीतिमा लाग्दा जे पद प्राप्त हुन्छ त्यो आफ्नो काँधमा आइलागेको भार हो । त्यो भार सकुशल निश्चित गन्तव्यमा पुर्‍याउने जिम्मेवारी त्यही पदाधिकारीको हुन्छ ।

जसले आफ्नो काँधको भार गन्तव्यमा पुर्‍याउन सक्दैन ऊ असफल ठहरिन्छ ।

आज हाम्रा राजनीतिक नेताहरू प्रत्येक पाइलामा यस्तै असफलता बेहोर्दैछन् । संविधानसभाबाट संविधान बनाउनु निश्चय नै एउटा ठूलो सफलता थियो । आजका सबै नेता त्यो सफलताको गाथा गाउन खप्पिस छन् । आजका सबै शीर्ष नेताहरू अनेक हण्डर र ठक्कर खाँदै यहाँ आइपुगेका हुन् । व्यक्तिगतरूपमा को कति जेल बस्यो, कसले कति दुःख पायो त्यो आदर्श र त्याग मापनको एउटा कडी अवश्य हो तर आज तिनै नेताहरू निजी स्वार्थ, लहड र सत्ताको उम्लिँदो दम्भले फुल्छन् भने त्यो आदर्श र त्यागको व्यक्तित्व होइन ।

अब एक–दुई दशकपछिको राजनीतिक नेतृत्व जेल बसेको र व्यक्तिगत कष्ट उठाएको हुनेछैन । त्यो नेतृत्वले जेलका वर्ष गन्ती गर्न र हिरासतमा भोगेको सास्तीको कथा हाल्न पाउनेछैन । गोलघरको त के कुरा ! अबको जेलमा गोलघर एउटा कहानीमात्रै हुनेछ ।

प्रश्न उठ्छ, जेल नबसेको र निजी कष्ट नउठाएको भावी नेतृत्व लोकतान्त्रिक हुने छैन ? उसमा ‘आदर्श’ र ‘त्याग’ हुने छैन ?

हो, त्यो राजनीतिक आदर्श र त्यागको गाथा आजको नेतृत्वपुस्ताले छाडेर जाने हो । तर, आज हाम्रा नेताहरू कुन दिशामा छन् ? भावी नेतृत्व पुस्ताले के सिक्दैछ ? आजको नेतृत्व पुस्ताले यसतर्फ विचार गरेको छ ?

तीन दिनपछि नेकपा सचिवालय बैठक शनिबार बस्ने भएको छ । बुधबार साँझको रस्साकस्सी र त्यसयताको शक्ति परीक्षणपछि नेताहरूले भार सन्तुलनको केही सहज उपाय सोचेको हुनुपर्छ ।

आज ओलीलाई प्रधानमन्त्रीबाट अपदस्थ गरेर भोलि अर्को नेकपा नेताले सरकार चलाउँछु अनि स्थिरता र समृद्धि दिन्छु भन्छ भने एकादेशको गाउँखाने कथाभन्दा बढी केही पनि हुनेछैन ।

त्यसो हो भने, ठोकुवा गरे हुन्छ– राजनीतिक स्थिरता र समृद्धिको नारा केवल सत्तासुख र राज्यस्रोत लुटका लागि थियो ।

यस्ता नेताहरूले राजनीतिका नाममा व्यक्तिगत स्वार्थ, विकृति र विसंगतिको मत्ताहात्ती सिकार गर्न सक्ने छैनन् । अनि हाम्रा नेताहरू केवल पञ्चतन्त्रको कथाका स्याल हुनेछन् । स्थिरिता र समृद्धि केवल निद्राको सपना हुनेछ ।


भर्खर

0