'खाद्यान्न र औषधिको अभाव छैन' | Khabarhub Khabarhub

‘खाद्यान्न र औषधिको अभाव छैन’


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दुई साता लामो लकडाउनले उभोक्तामा दैनिक उपभोग्य वस्तुको अभाव हुने हो कि भन्ने चिन्ता छाएको छ । खाना पकाउने ग्यास अभाव छैन भने पनि आधा सिलिण्डरमात्र उपलब्ध छ, त्यो पनि सहज छैन ।

भारतले औषधि निर्यातमा कडाइ गरेपछि औषधि पनि अभाव हुने हो कि भन्ने त्रास देखिन्छ । सरकारले भने आपूर्ति सहज रहेको र पर्याप्त मौज्दात रहेको भनेको छ । प्रस्तुत छ, उपभोक्ताहरूमा व्याप्त गुनासो र आपूर्ति व्यवस्थाबारे उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसँग  खबरहबका लागि  अमृतराज काफ्लेले गरेको कुराकानीको सम्पादित अंश:

लकडाउनपछि कतिपय खाद्यान्न र दैनिक उपभोग्य वस्तुको अभाव भयो भनेर उपभोक्ताले भनिरहेका छन् । सरकारलाई पनि त्यस्तै लागेको छ कि अवस्था फरक छ ?

मलाई लाग्छ, लकडाउन वस्तुवादी नै छ । हाम्रो पहिलो उपचार लकडाउन नै हो । जति दुरी कायम राख्नु पहिलो कुरा हो । लकडाउनपछि बजारमा खाद्यान्न अभाव भयो भन्ने कुरा सही होइन । हामी सक्रिय छौँ ।

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले काठमाडौंका विभिन्न ५ वटा स्थानमा दैनिक उपभोग्य वस्तु बिक्री गरिरहेको छ । साल्ट ट्रेडिङले पनि बिक्री गरिरहेको छ । ठूला सुपरस्टोरहरूसँग पनि छलफल गरेका छौँ । कतिपय ठाउँमा उनीहरूले होम डेलिभरी पनि गरिरहेका छन् । खुद्रा पसलहरू पनि खोल्न भनेका छौं ।

थोक विक्रेताहरूसँग पनि मन्त्रालयले छलफल गरेको छ । उहाँहरूले पनि दैनिक उपभोग्य वस्तुको अभाव छैन भन्नुभएको छ । नेपाल खाद्य व्यवस्था कम्पनीका कार्यालय ३० जिल्लामा छन्, त्यसअन्तर्गत सहायक केन्द्रहरू छन् । ती सबै तीस जिल्लामा वस्तुको विक्री भइरहेको छ । त्यहाँ पनि पर्याप्त मात्रामा दैनिक उपभोग्य वस्तुहरू छन् । जहाँ खाद्यान्न हुँदैन, त्यहाँ हामी पुर्‍याउँछौं । यो हाम्रो प्रतिबद्धताहो ।

लकडाउनका कारण खाद्यवस्तुसँग जोडिएका कतिपय उद्योग बन्द छन्, त्यस्ता उद्योग सञ्चालनका लागि सरकारले केही तयारी छ, ?

लकडाउनका कारण बन्द रहेका खाद्य वस्तुका केही उद्योगहरू कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा हामी छलफलमै छौं । लकडाउनलाई पनि असर नपर्ने र उत्पादन पनि सहज हुने कार्यविधिका बारेमा छलफलमा छौँ । भारतसँगबाट पनि आयात भइरहेको छ । खाद्यान्न ढुवानीमा कुनै समस्या छैन ।

हाम्रो मुख्य समस्या कोरोना भाइरससँग कसरी लड्ने र कसरी बच्ने भन्ने नै हो । महामारीबाट बच्न गरिएको लकडाउनका कारण केही दुःख भए पनि आपूर्तिमा कही समस्या छैन । जहाँ समस्या देखिएको छ, त्यहाँ पहल गरेर सहज व्यवस्था गरेका छौँ ।

बजारमा ग्यासको अभाव त देखिन्छ नि ?

अहिले अभाव भएको भनिएको ग्यास हो । जाहाँ अभाव भनिएको छ, त्यहाँ नेपाल आयल निगमले निरन्तर अनुगमन गरिरहेको छ । ग्यास व्यवसायीहरूले समेत मोबाइल भ्यानबाट ठाउँठाउँमा वितरण गर्दैछन् । कहीँ समस्या भएको हो कि जस्तो देखिन्छ तर ग्यासको अभाव छैन ।

अर्कोतर्फ, नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले इन्डक्सन चुलो समेत बिक्री गरिरहेको छ । त्यसले केही हदसम्म समस्या समाधान गर्नसक्छ । ग्यास आयात निरन्तर भइरहेको छ । कालोबजारी पनि भनिएको छ । त्यस्तोमा सरकारले कारबाही गरेको छ ।

यो बीचमा झण्डै ६० लाख रुपैयाँजति जरिवाना तिराइएको छ । मैले त गडबडी गर्नेलाई सिधा कैद गर्न भनेर भनेको छु ।

यतिबेला अलिकति कष्ट नसहने हो भने महामारी हुनसक्छ । कही समस्या देखियो भने वाणिज्य विभागमा निःशुल्क फोनको व्यवस्था गरिएको छ, ११३७ नम्बरमा फोन गर्न आग्रह गर्छु ।

म पनि बजार अनुगमनमा गइरहेको छु । मूल्यमा कही पनि समस्या देखेको छैन, महँगी बढेको छैन । केही तरकारीको मूल्य बढेको देखिएको छ । भारतबाट तरकारी नल्याउने भनेको र नेपालमा उत्पादन भएको तरकारी पनि बजारमा नआएका कारण केही बढेको जस्तो देखिएको हो ।

न्यून आय भएकाहरूलाई सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङबाट १० प्रतिशत कम मूल्यमा वस्तु बेच्न निर्देशन दिएको छ । त्यसले जनतालाई ठूलो राहत मिल्नेछ ।

सरकारले लकडाउन गर्नु अघि धेरै वस्तु खरिद नगर्न आह्वान गर्‍यो, लकडाउनपछि बजार बन्द भएका कारण समस्या भएको देखियो नि ?

हो, लकडाउनअघि अनावश्यक रूपमा वस्तु खरिद गरेर सञ्चय नगर्न भनेको साँचो हो । अहिले पनि धेरै वस्तु सञ्चयन नगर्न आग्रह गर्छु । लकडाउनको शुरुमा केही भ्रम देखिएको हो, खाद्यान्न पसल बन्द गर्ने कि खोल्ने भन्ने विषयमा ।

अहिले खाद्यान्न पसलहरू बेलुकाको समयमा खुलेका छन् । सर्वसाधारणले अनुशासित भएर खरिद गर्नुपर्‍यो । सरकारी स्वामित्वका कम्पनीहरूसँग पर्याप्त मात्रामा स्टक छ । खरिद प्रक्रिया .पनि शुरु भएको छ । आयात पनि रोकिएको छैन ।

कति छ, सरकारी कम्पनीसँग अहिले खाद्यान्न स्टक ?

२३ हजार मेट्रिक टन चामल त खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग मात्रै छ । धान २० हजार मेट्रिक टन स्टक छ । खरिद प्रक्रिया अघि बढाएका छौँ । गत १३ गते नेपालगञ्ज नाकाबाट ९८० क्विन्टल चामल नेपालमा आयात भएको पछिल्लो तथ्यांक छ । आयात रोकिएको छैन । नेपाली जनता भोको मर्दैन भन्ने मलाई लाग्छ । कुनै पनि हालतमा भोको हुने अवस्था आउँन दिँदैनौं ।

अन्य समयमा पनि खाद्यान्न अभाव हुने दुर्गम जिल्लाहरूको अवस्था कस्तो छ अहिले ?

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका ३० वटा जिल्लाका सहायक केन्द्रहरूमा पर्याप्त मात्रामा स्टक छ । केही नभए पनि ३ महिनासम्म पुग्ने खाद्यान्न अहिले पनि स्टकमै छ । त्यता जिल्लाहरूमा खाद्यान्न पठाउँछौँ । मिलहरुमा स्टक रहेको खाद्यान्न ल्याउने विषयमा गृह मन्त्रालयसँग समन्वय गरिरहेका छौँ । त्यसैले यस्तो समस्या आउँदैन ।

तपाईंले सार्वजनिक कार्यक्रममा भन्नुभएको थियो, कुनै वस्तु अभाव भए मलाई भन्नुस्, त्यसको जिम्मा म लिन्छु । कतिले तपाईंलाई गुनासो सुनाए ?

मकहाँ धेरै त्यस्ता खबर आएका छन् । समस्या समाधान पनि तत्कालै भएको छ । मेरो फोन नम्बर सबै देशबासीले थाहा नपाएका पनि हुन सक्छन् । थाहा पाए पनि सबैले मलाई सिधा गुनासो गर्नेभन्दा पनि काम गर्ने सरकारी संयन्त्रले नै हो ।

केही त्यस्ता समस्या आयो भने ११३७ मा खबर गर्न आग्रह गर्छु । उजुरी गर्नेको नाम सार्वजनिक नगरेर वाणिज्य विभागले तत्काल कारबाही गर्छ ।

ग्यास आपूर्ति निरन्तर भइरहेको छ भनेपनि सरकारले किन आधा सिलिण्डर ग्यास बजारमा पठाउने निर्णय गरेको ?

यो त परसम्म हेरेको कुरा हो । एक सिलिण्डर चाहिनेले ४ सिलिण्डर राख्ने क्रम शुरु भयो । अब ४ वटा राख्नेले ८ वटा त राख्न सक्दैन । अब त दुईवटा पनि राख्न नदिने व्यवस्था मिलाएका छौँ ।

ग्राहकको नागरिकता, ठेगाना, मोबाइल नम्बर सबै राखेरमात्रै ग्यास दिने व्यवस्था मिलाएका छौँ । अब तोकिएको भन्दा धेरै ग्यास दिए विक्रेतालाई पनि कारबाही गर्ने भनेका छौँ । पन्ध्र दिनमा सकिने हो भने फेरि दिने तर एउटै व्यक्तिलाई धेरै सिलिण्डर नदिने रणनीतिअनुसार आधा सिलिण्डर ग्यास बजारमा पठाउने निर्णय भएको हो अभावका कारणले होइन ।

भारतमा कोरोनाको जोखिम बढेपछि उसले कतिपय औषधि निर्यातमा प्रतिबन्ध लगाएको छ । त्यसले नेपालमा केही प्रभाव परेको छ ?

भारतले आफ्नो देशका लागि आवश्यक हुने औषधिमा प्रतिबन्ध लगाएको हो । हामीले पनि कतिपय बस्तु निर्यातमा प्रतिबन्ध लगाएका छौं । हामीलाई औषधि नदिने भनेको छैन, हामीलाई चाहिएको औषधिको तथ्यांक भारतलाई पठाएका पनि छौँ जुन भारतले सहजरुपमा निर्यात गरिरहेको छ ।

कतिपय औषधि हामी आफै पनि उत्पादन गरिरहेका छौँ । नेपालका औषधि उत्पादकलाई बोलाएर मैले छलफल गरेको छु । नेपालका व्यवसायी आत्मनिर्भर बन्न सरकारले के के गर्नुपर्छ भनेर भनिसकेको छु । हामी सहयोग गर्न तयार छौँ ।

भारतले हामीलाई चाहिने औषधि रोकेको छैन । सहज रूपमा आपूर्ति गर्ने भनेको छ । हामीले पनि अनावश्यक रूपमा औषधिको जोहो गरेर बस्नु भएन । नेपालीहरूको संस्कृति नै भोलि के हो के हो भनेर सञ्चित गरेर राख्ने देखिन्छ ।

सरकारको विश्वास नभएर त होइन यसरी सञ्चित गरेर राख्ने बानी परेको ?

सरकारको विश्वास र अविश्वासको कुरा भएन यो । सरकारले आफ्नो जिम्मेवारी पूरा गरिरहेको छ । सरकारले सक्छ वा सक्दैन भनेर होइन । भोलि के हो के हो भन्ने हिसाबले मानिस आत्मकेन्द्रित भएका कारण समस्या देखिएको हो ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ११ : ३८ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका