विमानस्थलको 'हेल्थ डेस्क'मा १३ जना मात्र स्वास्थ्यकर्मी, नेपाल भित्रने सबै यात्रुको जाँचमा समस्या | Khabarhub Khabarhub

विमानस्थलको ‘हेल्थ डेस्क’मा १३ जना मात्र स्वास्थ्यकर्मी, नेपाल भित्रने सबै यात्रुको जाँचमा समस्या


१८ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनबाट शुरु भएको कोभिड–१९ अर्थात कोरोना भाइरसको संक्रमण विश्वभर फैलदै गएको छ । विश्वका ६४ मुलुक र भूभागमा कोरोनाको संक्रमण देखिएकाे छ ।

चीनपछि अन्य देशमा कोरोनाको संक्रमण बढ्दै गएपछि विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको जोखिममा रहेका देशहरुको सूची सार्वजनिक गर्‍यो । संगठनले नेपाललाई कोरोना भाइरस संक्रमणको अति उच्च जोखिमको सूचीमा राख्यो ।

संगठनले चीनसहित विभिन्न देशमा फैलदै गएको कोरोना भाइरसको संक्रमण नेपालमा फैलिएमा अवस्था भयावह हुने चेतावनी दिएको थियो ।

विश्व स्वास्थ्य संगठनको चेतावनीसँगै नेपाल सरकारले कोरोना भाइरसको संक्रमणको रोकथामको पूर्व तयारी गर्ने र त्यसका लागि उच्च सतर्कता अपनाउने निर्णय गरेको छ ।

शनिबार साँझ प्रधानमन्त्रीले बोलाएको मन्त्रीहरुसहितको बैठकले कोरोना संक्रमण रोकथामको पूर्व तयारी गर्न उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा उच्च स्तरीय समन्वय समिति समेत गठन गरिसकेको छ ।

बैठकले त्रिभुवन विमानस्थलबाट नेपाल भित्रिने सबै स्वदेशी तथा विदेशी नागरिकको थर्मोस्क्यानर तथा थर्मोमिटरबाट ज्वरो परीक्षण गर्ने निर्णय गर्‍यो ।

सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिने सबै व्यक्तिको स्क्रिनिङ गर्ने निर्णय गरेपनि विमानस्थलमा सबै व्यक्तिको कोरोना परीक्षण गर्न कर्मचारी नै अभाव रहेको पाइएको छ ।

विमानस्थलमा स्वास्थ्य मन्त्रालयले सञ्चालन गरेको हेल्थ डेस्कमा रहेका १३ जना स्वास्थ्यकर्मीले तीन सिफ्टमा खटिएर काम गरिहेका छन् । विमानस्थलमा हाल चीन, थाइल्याण्ड, जापान, कोरिया र हङकङबाट आउने व्यक्तिहरुको मात्र स्क्रिनिङ गरिँदै आइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक ५ देखि ६ हजार स्वदेशी तथा विदेशीहरु नेपाल भित्रिने गरेको अध्यागनम विभागले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयले थप स्वास्थ्यकर्मी नखटाएसम्म नेपाल भित्रिने सबै व्यक्तिको स्क्रिनिङ गर्न नसकिने विमानस्थलमा खटिएका एक स्वास्थ्यकर्मीले खबरहबलाई बताए ।

‘माथिल्लो तहले निर्णय गरेर मात्र कसरी सबैको स्क्रिनिङ गर्न सम्भव हुन्छ र ! विमानस्थलबाट आउने सबैको स्क्रिनिङ गर्न त सरकारले पहिला विमानस्थलको हेल्थ डेस्कमा स्रोतसाधन र जनशक्ति पर्याप्त मात्रामा खटाउनु पर्छ,’ उनले भने, ‘थप स्रोत साधन र कर्मचारी नभए विमानस्थलको स्क्रिनिङ प्रभावकारी बन्न सक्दैन ।’

विमानस्थल हेल्थ डेस्कमा कर्मचारी अपुग भएको भन्दै एकसाता अघि नै कर्मचारी माग गरिएको हेल्थ डेस्कका संयोजक गोपाल पाण्डेले बताए ।

पाण्डेका अनुसार हाल १३ जना कर्मचारीले विहान र दिउँसोमा ५ जना र रातिको समयमा ३ जना रहेर तीन सिफ्टमा काम गरिरहेका छन् । यी कर्मचारीले हाल ५ देशबाट आउने व्यक्तिहरुको स्क्रिनिङ गर्दै आएको छ ।

सबै देशबाट आउने यात्रुको स्क्रिनिङ गर्न ४ सिफ्टमा स्वास्थ्यकर्मी खटाउनुपर्ने र हरेक सिफ्टमा कम्तिमा पनि ७ जना स्वास्थ्यकर्मी आवश्यक पर्ने हेल्थ डेस्कका संयोजक पाण्डेले बताए ।

‘हामीले त स्वास्थ्यकर्मी पुगेन भनेर स्वास्थ्यमन्त्रालयलाई एकसाता अघिदेखि नै भनेका हौं, खै अहिलेसम्म कर्मचारी थप भएको छैन,’ पाण्डेले खबरहबसँग भने, ‘सरकारले सबैको स्क्रिनिङ गर्ने भनेर निर्णय गरेको छ भन्ने सुनियो हामीलाई निर्देशन त आइसकेको छैन, स्रोत साधान र स्वास्थ्यकर्मी व्यवस्थापन भयो भने न सबैको स्क्रिनिङ गर्ने हो ।’

विमानस्थलकै हेल्थ डेस्क व्यवस्थापनको विषयमा स्वास्थ्य मन्त्रालयले छलफलका लागि आफूलाई बोलाएको पाण्डेले जानकारी दिए ।
‘म अहिले स्वास्थ्य मन्त्रालयले राखेको बैठकमा जाँदै छु, त्यही बैठकले थप स्वास्थ्यकर्मीको व्यवस्थापनको केही निर्णय गर्छ कि !’

सरकारले नै सबै देशबाट नेपाल आउनेहरुको स्क्रिनिङ गर्ने निर्णय गरेपछि स्वास्थ्य मन्त्रालय विमानस्थलको हेल्थ डेस्क व्यवस्थापनको तयारीमा जुटेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले खबरहबलाई बताए ।

डा देवकोटाका अनुसार स्वास्थ्य मन्त्रालयले विमानस्थलको डेस्थ डेस्कमा आवश्यक पर्ने स्रोत साधनको अवस्था बुझ्न स्वास्थ्य सचिव खगराज बराल, स्वास्थ्य मन्त्रालयका डाक्टर दिपेन्द्र रमण सिंह लगाएका मन्त्रालयको टोलीले विमानस्थलको हेल्थ डेस्कको अवस्था समेत अध्ययन गरीसकेको छ ।

‘स्वास्थ्य सचिव सहितको मन्त्रालयको टोलीले विमानस्थलको हेल्थ डेस्कको अवस्था पनि बुझेर आएको थियो, विमानस्थलमा हरेक सिफ्टमा ६ देखि ७ जना स्वास्थ्यकर्मी चाहियो भनेर माग गर्नुभएको छ,’ डा देवकोटाले भने, ‘विमानस्थलको अहिलेको अवस्था ठिकै ठिकै नै छ ।’

डा देवकोटाका अनुसार विमानस्थलमा भोलि सम्ममा थप स्वास्थ्यकर्मीको टोली खटाइने छ । नेपाल भित्रिने व्यक्तिहरुको स्क्रिनिङमा स्वास्थ्यकर्मीसँगै प्रहरी पनि खटाइने डा देवकोटाले बताए ।

‘सरकारले सबैको स्क्रिनिङ गर्ने निर्णय गरिसकेको छ, त्यसैले अब स्वास्थ्य मन्त्रालयले भोलि सम्ममा थप स्वास्थ्यकर्मीको टोलीलाई विमानस्थलमा खटाउँछ,’ डा देवकोटाले भने, ‘विमास्थलमा स्वास्थ्यकर्मीले स्क्रिनिङ गर्दा विमानस्थलकै प्रहरीलाई पनि खटाइने भनेर समन्वय भैसकेको छ ।’

डा देवकोटाले विमानस्थलमा ज्वरो परीक्षणका लागि प्रयोग गरिने थर्मोमिटर गन ३ वटा थप समेत गरिएको जनाकारी दिए ।

यसअघि विमानस्थलमा ३ वटा थर्मोमिटरबाट कोरोनाको आशंका गरिएका व्यक्तिको ज्वरो परीक्षण गरिन्थ्यो । यस्तै विमानस्थलमा राखिने थर्मो स्क्यानर खरिद प्रक्रियामै रहेको छ । विमानस्थलमा हाल एउटा मात्र थर्मोस्क्यानर राखिएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  १२ : ३६ बजे

राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सेतो मच्छिन्द्रनाथको दर्शन गर्नुभई

वनलाई हात्तीमैत्री बनाउनुपर्छ : राजेन्द्र लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वन क्षेत्रलाई

स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन

देशैभर पुग्यो पाठ्यपुस्तक

भक्तपुर – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुर्‍याएको

सुनिलको शानदार शतक, राजस्थानलाई विशाल लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले