बेलायतले यूरोपेली संघ छाड्दाका ७ प्रभाव | Khabarhub Khabarhub

बेलायतले यूरोपेली संघ छाड्दाका ७ प्रभाव


१८ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इयूसँगको ४७ वर्ष लामो आवद्धतापछि अन्ततः बेलायत युरोपेली संघबाट शुक्रबार बाहिरिएको छ ।

तीन वर्ष, तीन प्रधानमन्त्री र दुई निर्वाचनपछि युरोपेली संघबाट भएको बेलायतको बहिर्गमनले के प्रधानमन्त्री बोरिस जोन्सनले भनेजस्तै साच्चै ‘नयाँ विहानी’ ल्याउँछ वा थप चुनौतीको सामना गर्नुपर्ला । वा अहिलेकै अवस्था यथावत रहला ?

यसबारे प्रतिष्ठित अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले विभिन्न खाले विश्लेषण गरेका छन । तिनै बिश्लेषणका सार मुलतः यहाँ हामी ७ वटा उपशीर्षकमा रहेर गर्नेछौ ।

१) बेलायती सदस्यले युरोपेली संसद गुमाउँदै

ईयू त्याग्नुपर्ने पक्षका मुख्य अभियानकर्ता नाइजेल फराजको ब्रेक्जिट पार्टीले बेलायतको प्रतिनिधित्व गर्दै सन् २०१९ मा युरोपेली संसदमा  ७३ सदस्य जितेको थियो ।

इयूबाट बेलायतको बहिर्गमनसँगै यी ७३ जना सदस्यले स्वतः युरोपेली संसद गुमाएका छन । ब्रेक्जिटको समयमा बेलायतले ईयूका सबै राजनीतिक निकाय तथा संस्था त्याग्नेछ।

तर बेलायतले सङ्क्रमणकालमा ईयूको नियम मान्नुका साथै युरोपेली न्यायालय (जुन निकायले ईयू कानुन कार्यान्वयन गराउँछ) लाई कानुनी विवादमा अन्तिम निरूपणको अधिकार प्राप्त भइरहनेछ।

२)  बेलायतरहित ईयू शिखर सम्मेलन

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन विशेष निमन्त्रणाका बेलामा बाहेक अब आइन्दा हुने ईयू परिषद् शिखर सम्मेलनहरूमा सहभागी हुने छैनन्।

साथै बेलायती मन्त्रीहरू पनि विभिन्न युरोपेली नियमहरू बसाल्ने नियमित ईयू बैठकहरूमा सहभागी हुने छैनन्।

३) व्यापारमा बेलायतको स्वतन्त्रता

वस्तु तथा सेवाको किनबेचका नयाँ नियम बसाल्न बेलायतले विश्वभरका विभिन्न मुलुकहरुसँग वार्ता गर्न सक्नेछ।

ईयूको सदस्य रहँदा रहँदै बेलायतले अमेरिका तथा अस्ट्रेलियासँग औपचारिक व्यापार वार्ता गर्न पाएको थिएन । ब्रेक्जिट समर्थकहरूको भनाइमा स्वतन्त्रतापूर्वक आफ्नो व्यापार नीति बनाउन अब बेलायतलाई फाइदा हुनेछ ।

बेलायतले व्यापारका लागि अब आफू हावि हुने गरी इयूसँग पनि व्यापार सम्झौता गर्न सक्नेछ । त्यसैले सङ्क्रमणकालको अन्त्यसँगै वस्तु तथा सेवामा अतिरिक्त कर तथा अन्य व्यापार अवरोध आवश्यक पर्ने छैन।

४)  पासपोर्टको रङ्ग परिवर्तन हुने

पूरानो नीलो रङ्गको बेलायती पासपोर्टको अब पुन प्रयोगमा आउनेछ । यूरोपको एउटा मुलुकको प्रवेषाज्ञा लगत्तै सारा यूरोप छिर्न सकिने प्रावधानः अब बेलायतको हकमा लागु हुने छैन ।

हालको कलेजी रङ्गको पासपोर्टले त्यसलाई ३० वर्ष अघि विस्थापन गरेको थियो। सन् २०१७ मा परिवर्तनहरूको घोषणा गर्दै आप्रवासी मामिलामन्त्री ब्र्यान्डन लुविसले सन् १९ सय २१ मा पहिलो पटक प्रयोगमा आएको नीलो पासपोर्टको पुनरागमनको संकेत गरेका थिए।

आगामी केही महिनाहरूमा नयाँ पासपोर्ट चरणबद्ध रूपमा लागु गरिनेछ। यस वर्षको मध्यसम्ममा सबै पासपोर्ट बदलिसक्नेछन्।

५) ब्रेक्जिट सिक्का

ब्रेक्जिटमा ढिलाइ हुँदा सिक्का पुन: बनाउनु परेको थियो । ब्रेक्जिटको संस्मरणमा बनाइएको ५० पेन्सका ३० लाख सिक्का शुक्रवार चलनचल्तीमा आए।

तिनमा जनवरी ३१ को मिति तथा “शान्ति, सम्पन्नता र सबै देशसँग मित्रता” कुँदिएको छ। सिक्काले मिश्रित प्रतिक्रिया पाएको छ। ब्रेक्जिटविरोधी कतिपयले यसलाई नस्वीकार्ने भन्दै आएका छन्।

यसअघि सरकारले यो सिक्का पहिले तोकिएको ब्रेक्जिट मिति अक्टोबर ३१ मा नै चलनचल्तीमा ल्याउन खोजेको थियो। तर ब्रेक्जिटको मिति परिवर्तन भएपछि ती सिक्का फेरि पगालेर नयाँ बनाउनुपर्‍यो।

६)  ब्रेक्जिट विभाग बन्द

बेलायतमा रहेको ब्रेक्जिट विभाग पनि बन्द भएको छ । पूर्वप्रधानमन्त्री टरिजा मे ले सन् २०१६ मा युरोपेली सङ्घ बहिर्गमन विभाग स्थापना गरेकी थिइन्।

आगामी वार्ताका लागि यूकेको वार्ता टोली प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रीटमै रहनेछ।

७) जर्मनीले अब अपराधी सुपुर्दगी गर्ने छैन

अब जर्मनी भागेका केही सन्दिग्ध अपराधीलाई बेलायत फिर्ता ल्याउन सम्भव हुनेछैन।

जर्मनीको संविधानले ईयू सदस्य राष्ट्रबाहेक अन्यत्र उसका नागरिकलाई सुपुर्दगी गर्न अनुमति दिँदैन।

अरू देशको हकमा पनि यस्तै हुने हो कि भन्ने अझै प्रष्ट भइसकेको छैन। उदाहरणका लागि स्लोभेनियाले स्थिति जटिल हुने बताएको छ भने युरोपेली आयोगले यसमा टिप्पणी गरेको छैन।

यूकेको गृह मन्त्रालयले भनेको छ युरोपेली पक्राउपुर्जी सङ्क्रमणकालमा लागु हुनेछ। (अर्थात् जर्मनीले गैरजर्मन नागरिकलाई सुपुर्दगी गर्न सक्नेछ।)

संक्रमणकालका ७ फाइदा

ब्रेक्जिटलगत्तै सङ्क्रमणकाल सुरु हुने हुनाले कैयौँ अन्य कुरा पहिलेको जस्तै रहनेछन्। कम्तीमा सन् २०२० को डिसेम्बर ३१ सम्म। बेलायतले ईयूमार्फत यी सुविधा पाइरहने देखिन्छ ।

१. यात्रा यथावत

सङ्क्रमणकालमा बेलायतका नागरिकलाई ईयू नागरिकझैँ व्यवहार गरिनेछ विमान, पानीजहाज र रेलहरू साविकझैँ चल्नेछन्।

अध्यागमन वा पासपोर्ट नियन्त्रणको सन्दर्भमा चाहिँ सङ्क्रमणकालको अवधिमा बेलायतका नागरिकहरूलाई अझै पनि ईयू आगमनलाई तोकिएको क्षेत्रमा लाइन बस्न दिइनेछ।

२. चालक अनुमतिपत्र तथा घरपालुवा जनावरका पासपोर्ट

म्याद नसकिउन्जेल यी कागजपत्र मान्य रहिरहनेछन्।

३. स्वास्थ्य बीमा कार्ड

बेलायती नागरिकलाई ईयूमा स्वास्थ्य सेवा लिन मिल्ने गरी बनाइएका विशेष कार्ड सङ्क्रमणकालभरी मान्य हुनेछन् ।

यो त्यस्तो कार्ड हो जसले बिरामी वा दुर्घटनाका बेला बेलायतका नागरिकहरूलाई युरोपमा सरकारी स्वास्थ्य सेवा उपलब्ध गराउँछ।

४. ईयूमा बसोबास र काम

सङ्क्रमणकालीन अवधिमा आवतजावतको स्वतन्त्रता रहिरहनेछ । त्यसैले यो अवधिमा यूकेका नागरिकहरूले अहिलेको जस्तै ईयूमा बस्न र काम गर्न पाउनेछन्।

त्यस्तै व्यवस्था यूकेमा बस्न र काम गर्न चाहने ईयूका नागरिकको हकमा पनि लागु हुनेछ।

५. पेन्सन

ईयूमा बस्ने बेलायतका नागरिकहरूले सरकारी पेन्सन तथा वार्षिक वृद्धि पाइरहनेछन्।

६. बजेट योगदान

सङ्क्रमणकालभरी बेलायतले ईयूलाई बजेट योगदान दिइरहनेछ। यसको अर्थ ईयूको अनुदानबाट सञ्चालित साविकका कार्यक्रमहरू चलिरहनेछन्।

७. व्यापार

यूके-ईयु व्यापार कुनै अतिरिक्त कर वा चेकजाँचबिना निरन्तर चल्नेछन्।

प्रकाशित मिति : १८ माघ २०७६, शनिबार  १ : ५९ बजे

टोकियोका दर्शकले पलसँगै बसेर ‘पुजार सार्की’ हर्ने पाउने !

काठमाडौं– चलचित्र ‘पुजार सार्की’ जापानभर प्रदर्शनमा आउने भएको छ ।

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

केन्या– केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको

एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न नयाँ एप ल्याउने !

काठमाडौं–  धनाढ्य एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न अर्को एप लन्च

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक

वैतेश्वरमा वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण 

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिकाले वडागत रूपमा नेपाल सरकारले उपलब्ध गराउँदै