खेर जाने बाँसको जराबाट आत्मनिर्भर बनेका शाक्य « Khabarhub
Logo
११ मंसिर २०७७, बिहीबार

खेर जाने बाँसको जराबाट आत्मनिर्भर बनेका शाक्य



काठमाडौं-‘पैसा जताततै छ तर हामीले त्यसलाई खोज्न जानेका छैनौं’ यो भनाई व्यस्त रहने हस्तकला व्यवसायी निर्मल शाक्यको हो ।

१० वर्षअघि रोजगारी खोज्दै यूएई पुगेका शाक्य अहिले आफैं व्यवसायी भएका छन् । झापाको भद्रपुरमा उनको हस्तकला व्यवसाय सञ्चालन गरेका छन् । स्थानीय स्तरमा उत्पादन हुने बाँसको जराबाट उनी विभिन्न सजावटका सामानहरु बनाइरहेका छन् ।

‘आफ्नै गाउँघरका उत्पादनलाई प्रयोग गरेर सजावटका सामानहरु बनाउन पाउँदा खुसी लाग्छ’ परदेशको जागिरबाट थकित भएर फर्केपछि हस्तकला व्यवसायी बनेका निर्मल सुनाउँछन्, ‘यी उपहारजन्य सामग्री मात्र होइनन्, मेरो परिवार पाल्ने आधार पनि हुन् ।’

५ दशक पार गरेका उनी युवा जोशमै काम गरिरहेका छन् । उनको सीप र जोश आम युवाका लागि प्रेरणाको स्रोत हुन्छ ।

वि.स. २०२४ सालमा झापा भद्रपुरमा जन्मिएका उनी सानैदेखि आर्थिक अभावमा रुमलिए । एसएलसीसम्म झापामै पढेका निर्मल उच्च शिक्षाका लागि काठमाडौं आइपुगे । काठमाडौंको नेपाल कर्मस क्याम्पसमा पढ्दा पढ्दै अध्ययनलाई बिचमै छोडे उनले ।

बाँसको जराबाट बनेका जनावरका आकृति

नेपालीले लाएनन बाँसको चोया र सुपारीको पत्ताको घडी

आजभन्दा १८ वर्षअघि काठमाडौंको भित्री गल्ली असनमा बस्थे उनी । निर्मल सधै नयाँ ढंगले व्यापार गर्नुपर्छ भन्ने सोच राख्थे । त्यसैले त उनले असनमा घडी पसल खोले । जहाँ केही पिसहरु ब्रान्डेड घडी राखेका थिए भने केही आफैंले बनाएका ।

‘त्यो बेला मैले बाँसको चोया र सुपारीको पत्ताबाट घडी बनाउँथे’ ती दिनहरुलाई सम्झिँदै उनी भन्छन्, ‘नेपाल लगायत विभिन्न देशहरुमा समेत पुर्‍याएँ ।’

झण्डै ५ वर्ष घडीकै व्यवसाय गरे उनले । तर व्यवसाय फस्टाउन सकेन । ‘नेपालीहरु चीनबाट आएका झिलीमिली अनि सस्ता घडी लगाउछन् तर यही बनेका उत्पादनलाई चिन्नै सक्दैनन अनि किन्दैनन,’ निर्मलले खबरहबसँग भने, ‘त्यसको असर पर्‍यो व्यवसायमा ।’

घडी बनाउँदा–बनाउँदै उनलाई परदेशको मोहले छोयो । अनि यूएई हान्निए । उनले यूएईमा इलेक्ट्रिसियनका रुपमा तीन वर्ष काम गरे । यूएई मै तालिम लिएका उनले बत्तिका विभिन्न पाटपूर्जा बनाउने काम पनि गरे ।

३ वर्ष परदेश बसेर फर्केपछि नेपालमै उनले मुना चियापत्ति फ्याक्ट्रिमा काम गरे । करिब ५ वर्ष चियालाई ग्रेडिङ गर्ने काम गरेपछि उनी भद्रपुर फर्किए ।

यसरी बने हस्तकला व्यवसायी बने

असनमा घडीको व्यापार फस्टाउन नसकेपछि त्यो व्यवसायलाई त्यही बिट मारेर जन्मथलो फर्किए निर्मलका विवाहबन्धनमा बाँधिए।

वैवाहिक जीवनमा बाधिएपछि भने उनलाई जन्मथलोमै केही गर्नुपर्छ भन्ने सोच पलायो । त्यसो त निर्मल बाल्यउकालमै पनि सोच्थे,–‘गाउँमा धेरै स्रोत छन् जस्तै जल, जंगल, जमीन ।’

यही जमीनमा यतिधेरै रुख छन् यसलाई प्रयोग गरेर विभिन्न कला देखाउन सके पैसा कमाउन टाढा जानुपर्दैन भन्ने सोच सानैदेखि रहेको भन्दै उनले त्यही सोचलाई कार्यान्वयन गर्न गाउँमै काम गर्ने लक्ष्य राखेर हस्तकला निर्माणमा जुटेको बताए ।

हस्तकलामा पनि पहाड तराईमा रहेको बासको प्रयोग गरी सजावटका सामान बनाउन उनी तल्लिन भएन । जसले उनलाई एकपछि अर्को सफलता दिँदै गएको छ ।

त्यति बेला निर्मलका साथीहरुले यस्तै हस्तकलाका काम गर्थे । साथीले त्यो बेला बाँसको जराबाट विभिन्न सामग्रीहरु बनाउने गरेको सुनाउँदै भन्छन्, ‘कमाइ पनि राम्रै हुन्छ भन्ने सुने अनि यही व्यवसाय तिर लागे ।’

निर्मलको यो पेशालाई सुरुवातमा उनको परिवारले भने मन पराएनन् । तर भाइ यसरी व्यवसायिक रुपमा हस्तकलामा लागेर विश्वबजारमै हस्तकलाका सामग्री पुर्‍याएको देख्दा गर्व महशुस गर्छन् उनका दिदी र दाजुहरु ।

बाल्यकालदेखिको कला बाँसको जराबाट विभिन्न आकृति

निर्मल बाल्यकालमा गहुँको छ्वाली, मकैको ढोड र सुपारीका पत्ताबाट हाते घडी बनाउथे र सबैलाई चकित बनाउथे । हातकै कलाले केही आकृती कोर्ने र पैसासँगै नाम पनि कमाउने सोच थियो उनको ।

साथीहरुले उनको त्यो सोचलाई साच्चि नै पूरा गरिदिए । ‘केही दिन साथीहरुसँग बसेँ ! काम गरेको हेरेँ ! सिकेँ !’ अनुभव सुनाउँदै उनले भने, ‘त्यसपछि त आफैंलाई बनाउन आयो ।’

शून्य लगानीबाट ५ जनालाई रोजगारी

उनले साथीसँगै केही समय बाँसबाट हस्तकलाका सामग्री बनाइरहे पनि व्यवसायिक रुपमा लागेको भने १० वर्ष भयो । सुरुवातमा शून्य लगानीबाट थालेको व्यवसायले अहिले राम्रो आम्दानी कमाइरहेका छन् लाखौं रकम कमाइसकेका उनी बताउँछन् ।

‘व्यवसाय शुरु गर्दा लागानी गर्न पैसा थिएन शून्यबाटै गरेँ’ निर्मलले भने, ‘अहिले राम्रो भएको छ, ५ जना युवालाई रोजगारी दिएको छु ।’

‘शुरुमा लगानी गर्ने पैसा पनि थिएन’ उनले भने, ‘गाउँघरमा पाइने बाँसको जरालाई किन्नु पर्दैन सित्तैमा पाइन्थो ।

तिनीहरुलाई संकलन गरेर काम थालेको हो । अहिले त व्यवस्थित पनि भएको छ । काम गर्ने पनि राखेको छु । काम गर्न भ्याइनभ्याइ नै हुन्छ ।’

उनी भद्रपुरमा हस्तकला व्यापारीको रुपमा परिचित बनिसकेका छन् । त्यसकारण पनि उनलाई स्थानीयले बाँसको जरा सित्तैमा दिन्छन् भने निर्मलले उपहार स्वरुप त्यसबाट बनेका सामानहरु दिने गर्दछन् ।

निर्मलको हस्तकला केन्द्रमा बाँसको जराबाट वुद्ध र गणेशका मूर्ति, बाँदर, जरायो, हरिणको टाउको, बाघको टाउको, ड्राइगन, बकुल्ला, डाँफे, उल्लु, मुजुर, लगायतका चरा र चराले चाहरा खुवाइरहेका आकर्षक सामाग्रीहरु रहेका छन् ।

एउटा सामान बनाउन बढीमा दुई दिन लाग्ने उनले बताए । निर्मलको हस्तकलामा १ हजारदेखि १५ हजारसम्मको हस्तकलाका सामान छन् ।

निर्मललाई भद्रपुरमा उत्पादन भएका हस्तकलाका सामान अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन पाउँदा बिछट्टै खुसी मिल्छ ।

‘अमेरिका, अफ्रिका, स्पेन, जापान, जर्मन, बेलायत लगायतका देशहरुमा मैले बनाएका सामान पुगिसकेका छन्’ खुसी हुँदै उनले भने, ‘यसरी विदेशमा समेत निर्यात गर्न पाउँदा एकदमै सन्तुष्ट छु ।’

त्यसलगायत नेपालभित्र पनि जिल्ला वन कार्यालय, नेपाल बार एशोसियसन, अदालत, प्रहरी चौकी, क्याम्पस तथा उद्योग कलकारखानाहरुमा धेरै सामाग्री जाने गरेको उनको भनाई छ ।

हेर्दा पनि राम्रो अनि आकर्षक ! बढी मेहनत । कहिल्यै नबिग्रने । माटोमुनि खिएर गएको जरालाई निकालेर सुन्दर आकृति बनाउने काम आफैंमा सजिलो होइन । तर त्यसलाई सजिलैसँग सजावट गर्न मिल्ने बनाउछन् निर्मल ।

यसरी बनाउँछन् सजावटका सामग्री

सुख्खा मौसममा बाँसलाई काट्ने । माटोमुनिको जरा निकाल्ने । निकालेको जरालाई एकदेखि डेढ महिनासम्म बनाइसक्नुपर्ने उनी बताउँछन् । ‘मुरली र भालु बाँसबाट बन्दैन’ उनी सुनाउँछन्, ‘छिप्पिएको र लामो बाँसको जरा हुनुपर्छ ।’

बनाइरहेका विभिन्न सामग्रीका बारेमा जानकारी गराउँदै उनी सुनाउँछन्, ‘जरा निकालेपछि के बनाउन लायकको छ भनेर अनुमान लगाउने, पेन्सिल र बटालीले छिल्ने, हथौडा हाफ इन्ची बटालीले धार लगाउने, ह्याक्सो र ब्लेट लगाउने र फिनिसिङ गर्ने ।

‘फिनिसिङ सकिएपछि खाक्सी लगाएर चिल्लो बनाउनुपर्छ र त्यसलाई ग्यासमा कालो बनाउने चप्रा लगाउने’ उनले भने, ‘सबै गरेर घाममा मजाले सुकाउने र स्पीड र चप्रा लगाएपछि बाँसकै जरा पनि आकर्षक देखिन्छ आकार फेरिन्छ त्यसको ।’

त्यस लगायत उनी विभिन्न फर्निचरका सामनहरु पनि बनाउँछन् । निम, साल, सिसौ, खवाडी, कटहर लगायतका काठबाट टेबलहरु बनाउने उनले सुनाए ।

स्थानीय स्तरमै धेरै छन् आम्दानीका स्रोत

पैसाका लागि दैनिक हजारौंको संख्यामा नेपालीहरु परदेश गइरहेका छन् । शहरका गल्ली–गल्लीमा रोजगारी खोज्दै भौतारिनेको संख्या पनि बढ्दो छ ।

सरकारले यस्तो गरेन त्यस्तो गरेन भनेका छन् । तर निर्मल भने पैसा कमाउन सजिलो रहेको बताउँछन् ।

‘नेपालमा पैसाका प्रशस्त स्रोत छन्’ सरल वाक्यमा उनी भन्छन्, ‘तर त्यो स्रोत हामीले पहिचान गर्नसक्नुपर्छ ।’

गाउँलेहरु सुख सुविधा खोज्दै शहरतिर प्रवेश गरिरहेका छन् । गाउँघरमा वस्ती सुनसान बन्दै छ । गाउँ रित्तिएसँगै जग्गा जमीन बाँझापन बढ्दै छ । गाउँघर जंगलमा परिणत हुँदै छन् ।

‘गाउँ छोडेर शहर जानेहरु जागिर पाउन मुस्किल छ भन्छन्’ शाक्यले भने, ‘गाउँमा थुप्रै रोजगारीका स्रोतहरु छन् आखिर गाउ किन छोड्ने ?’

‘पैसा कमाउन र परिवार पाल्न धेरै दुःख गर्नुपर्दैन’ अन्तमा उनले भने, ‘खेर गएका स्रोतलाई प्रयोग गरे पुग्छ ।’

शाक्यले बाँसका जराबाट बनाएका सामग्री


भर्खर

0