सामुदायिक विद्यालयका छात्रालाई प्याड वितरण गर्न १ अर्ब  २७ करोड बजेट | Khabarhub Khabarhub

सामुदायिक विद्यालयका छात्रालाई प्याड वितरण गर्न १ अर्ब  २७ करोड बजेट


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई नि:शुल्क सेनिटरी प्याड वितरणको कार्यक्रम कार्यान्वयनमा ल्याएको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार ललितपुरको महालक्ष्मी नगरपालिकासँग समन्यव गर्दै ललितपुरको सिद्धिमंगल माध्यमिक विद्यालय ललितपुरबाट निशुल्क सेनिटरी प्याड वितरणको शुरुवात गरेको हो ।

सिद्धिमंगल माविमा छात्राहरुलाई सेनिटरी प्याड वितरण गर्दै शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले सोमबार देशभरका सामुदायिक विद्यालयमा विद्यार्थीहरुलाई नि:शुल्क प्याड वितरणको शुभारम्भ भएको घोषणा गरे ।

सेनिटरी प्याडकै कारण छात्राहरुले पढाइ छाड्ने गरेको भन्दै शिक्षा मन्त्री पोखरेलले सरकारले प्याड वितरणको कार्यक्रम शुभारम्भ गरेको बताए ।

सेनिटरी प्याट वितरण तथा व्यवस्थापन कार्यविधि २०७६ अनुसार सरकारले देशभरका सामुदायिक विद्यालयमा प्याड वितरणको कार्यक्रम शुभारम्भ गरेको शिक्षा मन्त्रालयले जनाएको छ ।

शिक्षा मन्त्रालयले सरकारी योजना अनुसार नि:शुल्क प्याड वितरणका लागि चालु आर्थिक वर्षमा १ अर्ब  २७ करोड ७३ लाख ३७ हजार विनियोजन भएको जनाएको छ । सरकारले यो रकम स्थानीय तहमाफर्त सामुदायिक विद्यालयहरुमा प्याड खरिदका लागि उपलब्ध गराउने जनाएको छ ।

यो बजेटबाट देशभरका १४ लाख ३७ हजार छात्राहरु लाभान्वित हुने शिक्षा मन्त्रालयको दावी छ । २९ हजार सामुदायिक विद्यालयमा यो कार्यक्रम शुरु भएको शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माले बताए ।

सेनटेरी प्याड वितरण शुभारम्भ भएको भन्दै शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले सेनिटरी प्याडको प्रयोगले छात्राहरुको महिनावारी व्यवस्थापन सहज हुने र उनीहरुको स्वास्थ्यमा सुधार भइ नियमित विद्यालय जान सक्ने बताए ।

महिनावारी हुँदा कसरी पाइन्छ विद्यालयमा प्याड ?

शिक्षा मन्त्रालयका प्रवक्ता शर्माका अनुसार संघीय सरकारले सबै स्थानीय तहमा सेनिटरी प्याड वितरणको लागि बजेट पठाएको छ । छात्राहरुलाई सेनिटरी प्याड वितरणका लागि विद्यालयहरुले १ जना सम्पर्क व्यक्ति तोक्ने छ ।

विद्यालय नर्स उपलब्ध भएको विद्यालयमा नर्स र विद्यालय नर्स नभएको अवस्थामा महिला शिक्षक वा प्रारम्भिक बाल विकास महिला सहजकर्तामार्फत छात्राहरुले सेनिटरी प्याड पाउने छन् ।

सेनिटरी प्याड पाउने छात्राहरुको नाम विद्यालयले अभिलेखमा राख्नेछ । महिनावारी हुने उमेरका छात्राहरुले एक पटक महिनावारी हुदा १६ वटा सम्म सेनिटरी प्याड पाउने कार्यविधिमा उल्लेख छ ।

विद्यालयले छात्राहरुलाई वितरण गरेको सेनिटरी प्याडको विवरण प्रत्येक महिनाको पहिलो साता विद्यालयको सूचना पाटीमा टाँस गरी सार्वजनिक गर्नुपर्ने कार्यविधिमा व्यवस्था छ ।

सेनिटरी प्याड वितरणमा किन भयो ढिलाइ ?

महिनावारीको समयमा शौचालय, पानी र सेनिटरी प्याडको अभावमा छात्राहरले पढाइ नै छाड्ने गरेको पाइएपछि सरकारले सामुदायिक विद्यालयमा निशुल्क सेनिटरी प्याड वितरणको कार्यक्रम गर्ने योजना बनायो ।

सरकारी योजना अनुसार गत जेठ १५ गते अर्थमन्त्री डा युवराज खतिवडाले बजेट भाषणमार्फत दशेभरका सबै सामुदायिक विद्यालयका छात्राहरुलाई सेनिटरी प्याड नि:शुल्क उपलब्ध गराउने घोषणा गरे ।

सरकारको नीति तथा कार्यक्रममा नै सामुदायिक विद्यालयमा निशुल्क सेनिटरी प्याड वितरणको कार्यक्रम समावेश भएपछि भदौमा सचिवस्तरको बैठक बसेको थियो । सो बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, शिक्षा मन्त्रालय र स्थानीय तहको जिम्मेवारी भाँडफाँट गरी कात्तिक १ गतेदेखि देशभरका सामुदायिक विद्यालयमा सेनिटरी प्याड वितरण हुने मिति तय गरेको थियो ।

सरकारले कात्तिक १ गते नै विशेष कार्यक्रम सहित सबै सामुदायिक विद्यालयमा सेनिटरी प्याड वितरणको कार्यक्रम शुभारम्भ गर्ने भनेको भएपनि कात्तिक १ गतेदेखि सामुदायिक विद्यालयमा छात्राहरुले सेनिटरी प्याड पाएनन् ।

सेनिटरी प्याड वितरणको कार्यक्रम शुभारम्भ हुने भनेको २ महिनापछि बल्ल सोबारदेखि शिक्षा मन्त्री पोखरेलले प्याड वितरणको कार्यक्रम शुभारम्भ भएको घोषणा गरे ।

सेनिटरी प्याड वितरणको लागि कार्य विभाजनको प्रक्रियामा समय लाग्दा प्याड वितरणको कार्यक्रम दुई महिना ढिला भएको शिक्षा मन्त्रालयका प्रवक्त दिपक शर्माले बताए ।

‘सरकारले घोषणा गरेको मितिमा सेनिटरी प्याड वितरणको कार्यक्रम शुरु गर्न नसकेकै हो, सेनिटरी प्याड वितरणको लागि कार्यविधि बनाउन अलिकति समय लाग्यो, त्यसैले सोचभन्दा अलि ढिला भएको हो,’ प्रवक्ता शर्भाले भने, ‘ढिलै भएपनि शुरु भयो यो नै राम्रो कुरा हो, अब सामुदायिक विद्यालयका छात्राहरुले निशुल्क सेनिटरी प्याड पाउँछन्, महिनावारी हुँदा विद्यालय छाड्नु पर्दैन ।’

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  ८ : ३५ बजे

तनहुँका २३ सामुदायिक वनमा आगलागी, सबै नियन्त्रणमा

तनहुँ– तनहुँमा २३ वटा सामुदायिक वनमा आगलागी भएको छ ।

अध्यादेश ल्याएर भए पनि सहकारीकाे पैसा फिर्ता गर्छु : गृहमन्त्री

काठमाडौं– उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारीमा बचत गरेको जनताको

बालाजुस्थित बाइसधारामा विशेष मेला

काठमाडौं– चैत शुक्ल पूर्णिमा दिन मंगलबार ऐतिहासिक महत्व बोकेको काठमाडौंको

अमिरको नेपाल भ्रमण : भैरहवा-कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह

भैरहवा– नेपाल भ्रमणमा आउन लागेका कतारका अमिरको भ्रमणका अवसरमा भैरहवाको

६ नेपाली महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान

काठमाडौं- मलेसियाको सुपर वुमन्स कप खेल्ने ६ नेपाली राष्ट्रिय महिला