मानव इतिहासकै कहालीलाग्दो घटना 'सिरियाली संकट' | Khabarhub Khabarhub
Logo
२६ मंसिर २०७६, बिहीबार

मानव इतिहासकै कहालीलाग्दो घटना ‘सिरियाली संकट’



आठ वर्ष लामो सिरियाली गृहयुद्ध मानव इतिहासकै कहालीलाग्दो घटनामध्ये एक हो । सन् २०११ मा शुरु भएको अरब क्रान्तिका क्रममा भएको सिरियाली राष्ट्रपति बसरअल असदको सत्ताविरोधी आन्दोलन हिंसात्मक दमनबाट रोक्न प्रयत्न गरिएपछि सिरियामा गृहयुद्ध शुरु भएको हो ।

सरकारविरोधी युद्धमा आतंकादी समुहहरुको बढ्दो संलग्नता तथा अन्तर्राष्ट्रिय र क्षेत्रीय देशहरुको परस्पर विरोधी भूसामरिक स्वार्थका कारण सिरियाली युद्ध बहुआयामिक बनेको हो । अन्तर्राष्ट्रिय संस्थाहरुको तथ्यांक अनुसार सिरियाली युद्धका क्रममा ४ लाख ६५ हजार मारिएका छन् भने आधाभन्दा बढी जनसंख्या युद्धकै क्रममा विस्थापित भए ।

युद्धकै कारण ६० लाख जनता आन्तरिक शरणार्थी बन्न बाध्य बने भने ५० लाख जनता सिरियाका छिमेकी देशहरु र १० लाख जनता यूरोपमा शरणार्थी बनेका छन् । सिरियाली युद्धले निम्ताएको शरणार्थी संकटले सिंगो यूरोपको सुरक्षामै खलल पारेको थियो।

सिरियाली संकटमा महाशक्ति राष्ट्रहरुका स्वार्थ

सिरियाली संकटमा क्षेत्रीय र विश्व महाशक्ति राष्ट्रहरु पक्ष र विपक्षमा उभिदा संकट लम्बिएको हो । सिरियाली सत्तालाई रुस र इरानको सहयोग रह्यो भने अमेरिका, यूरोप र अन्य क्षेत्रीय साझेदार देशहरुले विपक्षीलाई सहायता गरे । वर्तमान सत्ताको सबैभन्दा ठूलो सहयोगी रुसको सिरियामा ठूलो रणनीतिक स्वार्थ छ ।

उसले सिरियाली समुद्रमा आफ्ना जलसैन्य राखेको छ र सो उसको भू–मध्य सागरमा आफ्नो सैन्य उपस्थिति देखाउने अभिरुची राखेको छ । यता इरानको स्वार्थ आफ्नो क्षेत्रीय प्रभुत्व कायम राख्नु, इजरायलविरुद्धको संभाव्य युद्धका वखत भू–सामरिक अवस्थितिको उपयोग गर्नु, लेबनानको हतियारधारी समूह हेजबुल्लाहलाई हतियार आपूर्ती मार्ग प्रदान गर्नु रहेको छ । सिरियाबाटै इरानले हमास र हेजबुल्लाहसम्म आफ्नो पकड कायम गर्ने केन्द्र मानेको छ । हेजबुल्लाह सिरियाली सत्ता ढलेमा आर्थिक र सामरिक रुपमा मात्र होइन अन्तर्राष्ट्रिय जगतमा एक्लिने निश्चित रहेकाले हरतबरले असद सरकारलाई सहायता गर्न आफ्ना लडाकु नै तैनाथ गरिदिएको छ ।

लेबनानमा सरकारी सैन्य भन्दा शक्तिशाली मानिने इरान र सिरियाको सहयोग प्राप्त राजनीतिक तथा लडाकू समूह हेजबुल्लाह सिरियामा अमेरिकी समर्थक सत्ता बनेमा उसको अस्तित्व नै समाप्त हुने त्रासमा रहेकाले नै हरतबरबाट सिरियाली सत्तालाई सहयोग गरेको हो ।

इजरायलविरोधी इरानको मोर्चामा रहेको सिरिया गुमेमा हेजबुल्लाहलाई सैन्य र आर्थिक क्षतिमात्रै होइन विश्व जगतबाट पूर्णत एक्लिने खतरा छ । विश्व शक्ति रुसको पनि सिरियामा गहिरो रणनीतिक, आर्थिक तथा सामरिक चासो रहिआएको छ । पश्चिमा देशविरोधी रुसी राष्ट्रपति भ्लादिमीर पुटिनको वर्तमान नीति शितयुद्वकालदेखि कै सहयात्री सिरियामा प्रमुख रुपमा देखा परेको हो ।

सिरिया मध्यपूर्वमा रुसका सीमित साझेदारमध्ये एक हो भने हतियार आपूर्तीकर्ता देश पनि हो । रुसी सैन्य बलमै विपक्षीविरुद्ध टिक्न सकेको सिरियाली वर्तमान सत्तामा रुसको सैन्यदेखि नीतिनिमार्ण तहसम्म पकड रहिआएको छ । मध्यपूर्वको रणनीतिक भौगोलिक अवस्थिति रहेको सिरियामा लिबिया जस्तो सत्ता परिवर्तन भएको हेर्न नचाहेकै कारणले सिरियामा रुसले सैन्य हस्तक्षेप गरेको हो ।

यता सिरियाको तेलखानीहरुमा लगानी गरेको चीनको पनि सिरियामा रणनीतिक चासो रहिआएको छ । सिरियाली सरकारविरोधी युद्धको कट्टरपन्थी खेमा अलकायदा आवद्ध चिनिया मुलका उइगुरहरुको बढ्दो संलग्नतालाई दिर्घकालीन रुपमा आफ्नै राष्ट्रिय सुरक्षा खतरामा पार्नसक्ने चीनको बुझाइ छ । विश्वभर पश्चिमा अतिक्रमण बढ्दै गएमा आफ्नो उदाउँदो शक्तिमा ठेस पुग्ने बेइजिङको बुझाइ रहेको देखिन्छ । सिरियामा जतिनै मानिस मरे पनि चीन आन्तरिक मामिलामा वाह्य हस्तक्षेप गर्न नहुने अडानमा देखिनुमा उसको व्यापारीक स्वार्थ र पश्चिमा विरोधी भावनाले काम गरेको हो ।

सिया बाहुल्य रहेको तथा हालको इराकी सत्ता पनि सिरियाली वर्तमान असद सरकार ढल्दा आफ्नो देशसम्म प्रभाव पर्ने बुझाइमा छ । सिरियामा साम्प्रदायिक विभाजन र गृहयुद्ध शुरु भएदेखि नै इराकमा पनि साम्प्रदायिक हिंसा र अशान्ति बढ्न थालेको हो भने आतंकबादी संगठन इस्लामिक स्टेट त्यही अशान्तिबाट मौलाउँदै सन् २०१४ मा इराकी शहरहरु कब्जा गर्न सफल भएको हो ।

सिरिया र इराकमा संलग्न अतिवादी समुहहरु एकै रहनु तथा सीमापार लडाकुको आवत–जावतले इराक सिरियाली सत्ताको पतनपछि आफ्नो देशसम्म अस्थिरता फैलने चूनौतीले सिरियाली सत्तालाई सहयोग गरेको हो । इराकी सत्तामा बढ्दो इरानी प्रभावले तथा इस्लामिक स्टेटविरुद्ध लड्न गठन भएका सिया लडाकू समूहहरु इरानले नै सिरियाली विपक्षीहरुसँग लड्न सिरियामा तैनाथ गरिदिएको थियो ।

सिरियाली विपक्षीलाई साथ दिने अमेरिकाले त एक दशकअघिसम्म सिरियालाई दुष्ट राष्ट्रको संज्ञा दिएको थियो । अमेरिकाले सिरियामा सत्ता परिवर्तनका लागि वर्षौदेखि प्रयत्न गरेपनि विश्वास योग्य विपक्षीको अभावमा आफ्नो अभियानलाई पूरा गर्न सकेको थिएन । मध्यपूर्वमा भित्रेको आन्दोलनको हुरी सिरिया प्रवेश गरेदेखि नै अमेरिका असद सत्ता ढाल्न प्रयत्नशील रह्यो ।

आन्दोलनलाई सिरियाली सत्ताले हिंसात्मक दमन गर्न थालेपनि अमेरिकाले विपक्षीलाई सहयोग गर्न थालेको हो । तरपनि अतिवादी समूहहरुको बढ्दो संलग्नता र इस्लामिक स्टेटको उदयपछि अमेरिकालाई आफ्नो योजनामा पुर्नविचार गर्दै आफ्नो युद्ध आतंकवादविरुद्ध केन्द्रित ग¥यो भने रासायनिक अस्त्र प्रयोग भएको प्रमाणित भएपछि सरकारी निशानाहरुलाई लक्षित गरी क्षेप्यास्त्र हमला गर्यो ।

सिरिया आफ्नो रणनीतिक साझेदार देश इजरायलको सीमामा जोडिनु, रुस र इरानको प्रभावक्षेत्रमा रहनु, आफ्नो देशसँग शत्रुतापूर्ण सम्बन्ध रहनु, प्रजातान्त्रिक सरकार नहुनु तथा अमेरिका विरोधी तत्वहरुलाई सिरियामा आश्रय दिनु अमेरिकाको सिरियाली सत्ता ढाल्नुपर्ने कारणहरु हुन् ।

मध्यपूर्वमा यूरोपेली देशहरुको पनि विशेष सामरिक र आर्थिक स्वार्थ जोडिएको छ । फ्रान्स र ब्रिटे«नले आफ्नो देशको हतियार बिक्री गर्ने तथा त्यहाँको स्रोतसाधनमा प्रभाव जमाउन खोजे जस्तो पनि देखिन्छ । अफ्रिकामा परपरागत पकड रहेको फ्रान्सले आफ्नो सैन्य अखडा यूएई विस्तार गर्नु त्यसैको उदाहरण हो ।

सिरियामा इजरायलको पनि गम्भीर रणनीतिक स्वार्थ छ । यी दुई देश अहिले पनि प्राविधिक रुपमा युद्धकै अवस्थामा छन् । सिरियाली गृहयुद्धमा ईजरायल प्रत्यक्ष रुपमा कतै देखिएको छैन । तर असद सरकारको विकल्पमा विश्वासिलो राजनीतिक शक्ति पाएमा उसले सहयोग गर्नसक्छ । ईजरायलले निश्चित निशानामा हवाई हमला गरेपनि त्यो सिरियाली सत्ता ढाल्ने भन्दा उसको कट्टर दुस्मन लेबनानको सशस्त्र समूह हेजबुल्लाहको हातमा अत्याधुनिक हतियार निर्यात भएका कारण भएको हो ।

८ सय ७७ किलोमिटर सीमाना जोडिएको सिरिया र टर्कीबीच सीमा, पानी, नदीको तटीय अधिकार, धार्मिक दृष्टिकोण, सैन्य संरचना, राजनीतिक दर्शनसंगै उनीहरुलाई समर्थन गर्ने महाशक्ति राष्ट्रहरु पनि फरक रहेका छन् । टर्की शीत युद्धभर रुसको सामरिक शक्ति विस्तारका लागि रणनीतिक मार्गको केन्द्रीय भागमा रहेको थियो भने सिरियाली संकटमा भने टर्की अमेरिका भन्दा रुससँग नजिकियो ।

टर्की सिरियाली मामिलामा अमेरिकासँग चिढिनुमा स्थलमा टर्की विरोधी कुर्दीश समूहलाई हातहतियार र तालिम दिएर स्थलमा इस्लामिक स्टेटविरुद्ध लडाउनु हो, जसलाई टर्कीले दीर्घकालमा ती हतियार आफूविरुद्ध प्रयोग हुने र आफ्नो देशमा कुर्दीश क्षेत्र स्वतन्त्रताको माग गर्दै जारी रहेको युद्धमा सिरियाली कुर्दीहरुको सहयोग रहेको टर्कीको बुझाइ छ ।

सुन्नी मुस्लिम शासन रहेका साउदी अरेबीया, कतार, जोर्डन जस्ता क्षेत्रीय शक्तिले बिद्रोहीलाई सिरियाको आधिकारिक प्रतिनिधिको रुपमा विद्रोहको शुरुमै कुटनीतिक मान्यता प्रदान गर्दै भरपुर सहायता गर्नुमा त्यहाँ आफ्नो क्षेत्रीय प्रतिस्पर्धी देश इरानको रणनीतिक साझेदार असद सत्तालाई पदच्यूत गर्नु हो ।

अमेरिका र गठबन्धन देश असदको सत्ताभन्दा आतंकबादलाई खतरा देखेपछि इस्लामिक स्टेटविरुद्ध लड्न रुससंग समेत अघोषित साझेदारी गरेका थिए । अमेरिकामा ट्रम्पको आगमनसँगै युफ्रेती नदीको पूर्बतर्फ अमेरिका र उसका स्थानीय कुर्दीस साझेदार र पश्चिमतर्फ रुस र उसका साझेदारले लड्ने सहमति गरेका थिए भने हालैमात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना सेना फिर्ता गर्ने निर्णय गरेपनि सिरियाली द्वन्द्वमा विभिन्न देशहरुको परस्परविरोधी भूसामरिक अभिरुचीका कारण निकास भने अझै टाढा छ ।


भर्खर