छठ पर्वको महिमा 

देवेश झा

बिहिबार, कार्तिक १४, २०७६

Reading Time: 6 minutes

छठ पर्वको महिमा 

सृष्टिको सुरूवातदेखि नै सूर्यको उपासना गरिंदै आएको पाइन्छ । अग्नि पुराणमा पनि षष्ठी व्रतको प्रसँग उल्लेख छ । चौध वर्षको वनवास र एक वर्षको अज्ञातवास बसेको बेला कुन्ती, द्रौपदीसहित पाण्डवले यो व्रत गरेको वर्णन महाभारतमा पाइन्छ ।

त्रेता युगमा राजा दशरथकी रानी कौशल्याले पनि यो व्रत गरेको बताइन्छ । कात्तिक महिनामा मनाइने छठलाई ठूलो छठ भनिन्छ । चैतको षष्ठी तिथिमा पनि केही ठाउँमा यो पर्व मनाइन्छ ।

अर्को एक प्रसंग अनुसार भगवान् रामको १४ वर्ष वनवास पूरा गरी कार्तिक औँशीको तिथिमा अयोध्या फर्केको धार्मिक दिन अयोध्यामा दिपावली मनाइएको थियो । दिपावलीको छैठौं दिनमा छठ पूजा हुने गर्छ ।

भगवान् राम अयोध्या फर्केपछि राज्य सञ्चालन गर्नुभन्दा पहिले ब्रह्म(रावण) हत्याको पापबाट मुक्त हुनका लागि गुरू वशिष्ठसँग सल्लाह लिँदा कात्तिक शुक्ल षष्ठीसम्म सूर्यको उपासना गर्न सल्लाह दिएको थियो।

अविलम्ब राजकाज सञ्चालन गर्ने भएकाले सोही अवधिभित्र भगवान् रामले सूर्यको उपासना गरेर ब्रह्महत्याको पापबाट मुक्त हुनुभएको थियो। सूर्यवंशी श्रीरामका आराध्यदेव सूर्य भगवान् रहेकाले पनि उक्त दिन सूर्य भगवान को उपासना गरिन्छ। यस्तै पुलस्त्य ऋषि र भीष्मको संवादमा एक कुष्ठरोगी राजाको छठ व्रत र सूर्य पूजनपश्चात् रोग निवृत्त भएको अर्को कथा पनि पाइन्छ ।

भागवत पुराणको नवौँ स्कन्धमा भगवती षष्ठीको महिमा प्रसंग  वर्णन गर्दै राजा प्रियव्रतको कथा उल्लेख गरिएको छ । सो पुराण अनुसार राजा प्रियव्रतका सन्तान थिएनन् ।

सन्तानका लागि राजाले यज्ञ गर्दा महर्षि कश्यपले यज्ञको लागि पकाइएको खीर रानी मालिनीलाई प्रसादको रूपमा खान दिएका थिए । त्यो खीर ग्रहण गरेपछि रानीले पुत्रलाई  जन्म दिए तर छोरो मृत अवस्थामा जन्मिए । मृत सन्तान जन्मेको खवरले राजा भाव विह्वल भई मृत सन्तानको अन्तिम संस्कार गर्ने क्रममा श्मसानघाटमै प्राण त्याग्न खोज्छन् । सोही समयमा एउटा दिव्यरथ लिएर देवीको सवारी भएर राजालाई प्राण त्याग नगर्न सल्लाह दिँदै “म, ब्रह्माकी मानस पुत्री देवसेना हुँ।

छठ माताको पूजाआजा गरेपछि भाकल गर्नेहरूको सबै मनोकामना पूरा हुने धार्मिक विश्वास छ । यो व्रत गर्नाले चर्मरोग छिटो निको हुने पनि विश्वास गरिन्छ ।

सृष्टिको मूल प्रवृतिबाट मेरो उत्पत्ति भएको हो। सोही कारणले मलाई षष्ठी पनि भन्छन्। मेरो उपासना गर। म तिम्रो बच्चालाई जीवित पारिदिन्छु भनी मृत पुत्रलाई काखमा राखी जीवनदान दिएको र सो पश्चात् देवीले मेरो पुजा गर्नू र प्रजालाई पनि पूजा गर्न सल्लाह दिनू । मेरो पूजा गरेमा सन्तानको रक्षा, कर्मशील सन्तान हुने, मनोकामना पूरा हुने र घरबाट दरिद्रताको अन्त्य हुन्छ” भन्दै उपदेश दिइएको कथा पाइन्छ । यस पछि सबैले षष्ठीकादेवी अर्थात् छठ माताको व्रत लिन थालेको पाइन्छ। कार्तिक शुक्ल षष्ठी तिथिमा सो घटना भएकाले सोही तिथिबाट छठपर्वको शुभारम्भ भएको धार्मिक मान्यता छ । षष्ठी शब्दको अपभ्रंश हुँदै छठी पर्वको रुपमा परिणत भएको हो ।

छठ पूजा चार दिवसीय उत्सव हो। कार्तिक शुक्ल चतुर्थीका दिन शुरु भएर कार्तिक शुक्ल सप्तमीमा यस्को समाप्ति हुन्छ। यो बीचमा व्रतधारी लगातार ३६ घन्टाको व्रत राख्ने गर्दछ । छठको प्रसादमा उखु, केराउ, केरा, नरिवल, मिठाई, चना, ठेकुवा, कसार, कागती र अदुवा राखिन्छ । विशेषगरी शुद्ध घिउमा गहुँको पिठोबाट निर्मित ठेकुवा र चामलबाट निर्मित कसारको विशेष प्रसाद बनाइन्छ ।

छठ माताको पूजाआजा गरेपछि भाकल गर्नेहरूको सबै मनोकामना पूरा हुने धार्मिक विश्वास छ । यो व्रत गर्नाले चर्मरोग छिटो निको हुने पनि विश्वास गरिन्छ ।

विधी विधान अनुसार छठ मनाएमा आफ्ना सम्पूर्ण कष्ट हटेर जाने जनविश्वास रहि आएको छ

केही भक्तजन घरबाट साँझ र बिहान घर्सिंदै नदी वा पोखरीको किनारमा गई स्नान गरी व्रत पूरा गर्छन् । कतिले मनोकामना पूरा भएमा नाच नचाउने, पोखरीमा माटोको हात्ती राख्ने तथा दियो बाल्ने जस्ता कार्य पनि गर्छन्।यो चार दिवसीय पर्वको निर्वहन अत्यन्त शुद्धताका साथ गर्नुपर्ने हुन्छ।

नहाय खाय

पहिलो दिन कार्तिक शुक्ल चतुर्थी ‘नहाय-खाय’ को रूप मा मनाइन्छ। सबै भन्दा पहिला घरलाई सफा सुग्घर पवित्र गरिने गरिन्छ। तत्पश्चात छठव्रतीहरु स्नान गरेर पवित्र तरीकाले पकाएको शुद्ध शाकाहारी भोजन ग्रहण गरि व्रत को शुरुवात गर्दछन । घरको सबै सदस्य व्रतिको भोजनोपरांत मात्रै भोजन ग्रहणगर्ने गर्छन् । भोजनका रूप मा लौका-चनाको दाल र चावल ग्रहण गरिन्छ ।

खरना

दोश्रो दिन कार्तिक शुक्ल पंचमीमा व्रतधारीले दिनभर उपवास राख्दै साँझ भोजन गर्दछन्। यसलाई ‘खरना’ भनिन्छ। खरना को प्रसाद लिन आस-पासका सबै लाई  निमंत्रित गरिने गरिन्छ। प्रसाद को रूप मा उखु को रस मा पकाएको चामल को खीर का साथ दूध, चामल को पिट्ठा र घ्यु लगाइएको रोटी बाडिन्छ। यस्मा नुन या चीनी को उपयोग गरिदैन। यस दौरान पूरा घर को स्वच्छता बारे विशेष ध्यान दिनु पर्छ।

संध्याकालिन अर्घ्य

तेस्रो दिन कार्तिक शुक्ल षष्ठीमा छठ को प्रसाद बनाइन्छ। प्रसाद को रूप मा ठेकुआ, जसलाई कतैकतै टिकरी पनि भनिन्छ, चामल को लड्डू, जसलाई लड़ुआ पनि भनिन्छ, बनाउने गरिन्छ। यस बाहेक चढ़ावा को रूप मा ल्याएको साँचा र फल पनि छठ प्रसाद को रूप मा सामेल गरिन्छ। साँझमा पूर्ण तैयारी र व्यवस्था गरेर बाँस को टोकरी मा अर्घ्य का लागि नाङ्लोमा सजाइन्छ तथा व्रति का साथै परिवार र पास पड़ोस का सबै अस्ताचलगामी सूर्य लाई अर्घ्य दिन घाट तिर जाने गर्छन् । सबै छठव्रति एउटा तलाउ या नदी किनारमा जम्मा भएर सामूहिक रूप मा अर्घ्य दान सम्पन्न गर्ने गर्दछन्। सूर्यलाई जल र दूध को अर्घ्य दिइन्छ तथा छठी मैयालाई प्रसादले भरिएको नाङ्लो बाट पूजा गरिन्छ।

उषाकालीन अर्घ्य

चौथो दिन कार्तिक शुक्ल सप्तमी बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिइन्छ। व्रतीहरु फेरि त्यही जम्मा हुन्छन् जहाँ उनले पूर्व संध्यामा अर्घ्य दिएका थिए। पुनः पछिल्लो साझ गरिएको प्रक्रियाको पुनरावृत्ति हुन्छ। सबै व्रति तथा श्रद्धालुहरु घर फिर्ता आएर, पीपल को रुख जसलाई ब्रह्म बाबा भनिन्छ, त्यहाँ पुगेर पुजा गर्छन। पूजा पछि व्रतालुले काचो दूध को शरबत र थोरै प्रसाद खाएर व्रत सम्पन्न गर्दछन् जसलाई पारण अथवा परना भनिन्छ। यसरी षष्ठीको भोलिपल्ट ब्रह्ममुहूर्तमा मानिसहरू पूजासामग्री लिएर नदी किनारमा गई स्नान गरी उदाउँदो सूर्यलाई फेरि अर्घ दिएपछि छठ पर्व सकिन्छ र प्रसाद बाँडिन्छ ।

विधी विधान अनुसार छठ मनाएमा आफ्ना सम्पूर्ण कष्ट हटेर जाने जनविश्वास रहि आएको छ । छाला सम्वन्धी रोग निदानका लागि, पुत्र प्राप्तिका लागि र भाकल पूरा गर्न मानिसहरू भक्तिमा लिप्त भएर नजीकैको पोखरी, जलाशय अथवा कुण्डमा गई यस दिन छठ पूजा गर्दछन् । सम्पूर्ण प्राणीलाई विना कुनै भेदभाद समान शक्ति, ताप र किरण दिने समानताको प्रतीक सूर्यको यसै महिमालाई आत्मसात गर्दै सूर्यको पूजा प्रार्थना र आराधना तन, मन लगाएर चार दिनसम्म गरिन्छ ।

भर्खर

0