खुद्रा पसलबाट व्यापार शुरु गरेको ‘नाइकी’ यसरी बन्यो विश्व चर्चित कम्पनी | Khabarhub Khabarhub

खुद्रा पसलबाट व्यापार शुरु गरेको ‘नाइकी’ यसरी बन्यो विश्व चर्चित कम्पनी



एउटा ‘ठिक चिह्न’ देख्नेबित्तिकै दिमागमा दृश्य आइहाल्ने संसारभर परिचित ब्राण्ड । लोगो देख्नासाथ सबैले त्यो कुन ब्राण्डको सामान हो भन्ने सहजै ठम्याउन सक्छन् । सायद यो कम्पनीले यत्रो उचाई लिनुको एउटा महत्वपूर्ण कारण पनि यही लोगो हुनसक्छ । तर, धेरै जना यो कम्पनीको नामको उच्चारणका कारण झुक्किन्छन् ।

अमेरिकीहरु यो ब्राण्डलाई ‘नाइकी’ भन्छन्, बेलायती लवजमा यसलाई ‘नइक’ भनिन्छ । बाँकी विश्वमा ‘नाइक’ नामले यो ब्राण्ड परिचित छ । हालै यो कम्पनीका प्रमुख फिलिप नाइटले यो ब्राण्डको नाम ‘नाइकी’ उच्चारण हुने बताएका थिए । तैपनी नेपालमा भने यसलाई ‘नाइक’ नै भनी उच्चारण गर्ने गरिएको पाइन्छ ।

नाम जे सुकै भएपनि ‘स्वाश’ अर्थात् ‘ठिक’ चिह्नको लोगो देख्नेबित्तिकै मानिसहरु यही ब्राण्ड हो भनेर छुट्याउन भने सक्षम छन् । मानिसहरुको दिमागमा यो छाप गढेर बसिसकेको छ । सायद त्यसैले होला यो कम्पनीले यही ‘स्वाश’ लोगोले आफ्नो फरक पहिचान बनाउन सफल भएको छ । यही लोगोको मात्र बजारभाउ २६ अर्ब अमेरिकी डलर बराबर छ । कम्पनीले यो लोगो ग्राफिक डिजाइनर विद्यार्थी क्यारोलाइन डेभिडसनसँग केबल ३५ डलरमा खरिद गरेको थियो ।

परिकल्पना

नाइकीको परिकल्पना भने सन् १९६२ मै भएको थियो । सन् १९६२ मा स्टानफोर्ड विश्वविद्यालयका विद्यार्थी फिलिप नाइटले आफ्नो अध्ययन सकेर जापान भ्रमणमा पुगेका बेला त्यहाँ जुत्ता कम्पनीसँग सम्झौता गरेका थिए । उनले त्यसबेला अमेरिकी बजारमा निकै लोकप्रिय जर्मन जुत्ता कम्पनीसँग जापानी जुत्ता कम्पनीले प्रतिस्पर्धा गर्न सक्ने देखेर यस्तो सम्झौता गरेका थिए । उनले सन् १९६३ मा जापानबाट २ सय जोर जुत्ता आयात गरेका थिए । त्यसको एक वर्षपछि उनले सन् १९६४ मा ओरेगन विश्वविद्यालयमा आफूलाई ट्रय्याक एण्ड फिल्ड अध्यापन गराउने शिक्षक बिल बोअरम्यानसँग मिलेर जापानी जुत्ता अमेरिकी बजारमा विक्री गर्नका लागि ब्लू रिबन स्पोट्र्स नामक संस्थाको स्थापना गरे ।

पहिलो वर्षमा यस कम्पनीले १३ सय जोर जापानी जुत्ता विक्री गरी ८ हजार अमेरिकी डलर आय गरेको थियो । स्थापनाको दोश्रो वर्ष सन् १९६५ मा ब्लू स्पोट्र्स कम्पनीमा दर्ता गरी हुन सफल भयो । दोश्रो वर्षमा यो कम्पनीको आय २० हजार डलर पुग्यो ।

त्यसको एक वर्षपछि अर्थात् सन् १९६६ मा क्यालिफोर्निया राज्यको सान्टा मोनिका क्षेत्रमा एक खुद्रा पसल स्थापना गरी ब्लू रिबन स्पोट्र्सले आफ्नो व्यापारलाई अघि बढायो । सन् १९६७ मा यो कम्पनीले अमेरिकाको पूर्वी तटीय क्षेत्रस्थित मासाचुसेट्स राज्यको वेलेस्ली शहरमा आफ्नो अर्को खुद्रा पसल स्थापना गर्न सफल भयो ।

आफैंपनि खेलकुद प्रशिक्षक रहेका कम्पनीको सह–संस्थापक बोअरम्यानले त्यसबेला खेलकुदमा आवश्यक जुत्तालाई परिमार्जित गर्न लागि परेका थिए । सोही अनुसार उनले सन् १९६८ मा ‘कोर्टेज’ नामक जुत्ता निर्माण गर्न सफल भए । कोर्टेजले छोटो समयमा नै ठूलो ख्याती कमाउन सफल भयो । त्यसपछि विस्तारै कम्पनी समृद्धि तर्फ अघि बढ्न सफल भयो ।

‘नाइकी’ को शुरुआत

सन् १९७१ मा जापानी व्यापारिक कम्पनी निस्शो इवाई कर्पोरेशनसँग मिलेर स्वतन्त्र ठेक्का सम्झौतामार्फत् अमेरिकामा आयात गर्न मिल्नेगरी विदेशमा आफ्नै जुत्ता उत्पादन गर्न लागिपरेको थियो । यहीबेला यो ब्लू रिबन कम्पनीले विजयीका लागि ग्रिक देवी ‘नाइकी’ को नामबाट हालको ‘स्वाश’ लोगो अंकित जुत्ता सार्वजनिक गर्यो ।

सन् १९७२ मा जर्मनीको म्युनिख शहरमा ओलम्पिक सञ्चालन हुँदै थियो । त्यसबेला ओलम्पिकमा छनौटका लागि अमेरिकामा छनौट खेलहरु हुँदै थिए । यही छनौट खेललाई मध्यनजर गर्दै नाइकीको व्यापक प्रवद्र्धन गरियो । नाइकी रातारात लोकप्रिय बन्न पुग्यो । पहिलो वर्षमा नाइकीले मात्रै १९ लाख अमेरिकी डलर बराबरको व्यापार गर्न सफल भयो । सन् १९७४ मा ब्लू रिबन स्पोट्र्स कम्पनीको आय ५० लाख अमेरिकी डलर पुग्न सफल भयो ।

त्यसपछि ब्लू रिबन स्पोट्र्सले क्यानाडामा आफ्नो पहिलो विदेशी खुद्रा पसल स्थापना गर्यो । सन् १९७६ मा क्यानाडामै ओलम्पिक हुँदै थियो । यसबेला कम्पनीले नाइकीको आक्रमक बजारीकरणलाई अघि बढायो । उदयीमान खेलाडीलाई नाइकीले प्रायोजन समेत गर्यो । यससँगै ओलम्पिकमा उदीयमान खेलाडीका खुट्टामा नाइकीका जुत्ता देखिन थालेसँगै नाइकीको बजार र व्यापार पनि फष्टाउँदै गयो ।

सन् १९७० को दशकको उत्तराद्र्धतिर अमेरिकामा बिहान बिहान जगिङ्ग गर्ने एक किसिमको सँस्कृतिको विकास भएको थियो । यसैलाई मध्यनजर गर्दै कम्पनीले आफ्नो बजारीकरणलाई समेत तीब्र गतिमा अघि बढायो । सन् १९७७ सम्म कम्पनीको आय २ करोड ८० लाख अमेरिकी डलर पुग्न सफल भयो । नाइकीका नामबाट विश्वभर आफ्नो ब्राण्डको स्थापना गरिसकेपछि सन् १९७८ मा ब्लू रिबन स्पोट्र्स कम्पनीले आफ्नो नाम परिवर्तन गरी नाइकी राख्यो । यसबेलासम्म नाइकीको बजार पूरै विश्वभर फैलिसकेको थियो ।

८० को दशक

सन् १९८० को दशकको शुरुसम्म नाइकीले अमेरिकी स्पोट्र्सवेयरको बजारमा सबैभन्दा ठूलो हिस्सा ओगटेको जर्मन कम्पनीलाई उछिनेर सबैभन्दा ठूलो स्पोट्र्सवेयर ब्राण्ड बन्न सफल भयो । त्यसबेला नाइकीले विश्वका विभिन्न भागमा दर्जनौं कारखाना स्थापना गरी आफ्नो बजारलाई तीब्र गतिमा अघि बढाइरह्यो । सन् १९८२ सम्म नाइकीले विभिन्न २ सय थरीका स्पोट्र्स शूको विकास गरिसकेको थियो ।

नाइकीले जुत्तासँगै अरु विभिन्न किसिमका स्पोट्र्सवेयरको निर्माण, बजारीकरण, विक्री, खेलकुदमा प्रायोजनलाई आक्रमक शैलीमा अघि बढाइरह्यो । सन् २००३ मा नाइकीले अर्को स्पोट्र्सवेयर कम्पनी कन्भर्सलाई खरिद गर्यो

सन् १९८२ मा नाइकीले त्यसबेला प्रिमियर लिग र युरोपियन कप फुटबलको उपाधि जितेको क्लब एस्टन भिल्लासँग प्रायोजन सम्झौता गर्यो । यसबाट नाइकीको बजारीकरणमा ठूलो प्रोत्साहन मिल्यो । त्यसबाहेक सन् १९८४ मा नाइकीले महान् बास्केटबल खेलाडी माइकल जोर्डनसँग प्रायोजन सम्झौता गर्यो । यसरी तीब्र गतिमा अघि बढिरहेको कम्पनीले सन् १९८६ मा पहिलो पटक १ अर्ब अमेरिकी डलरभन्दा बढीको व्यापार गर्न सफल भयो ।

१९८० को दशकको केही अन्त्यतिर व्यापारमा केही ओरालो लागेपछि नाइकीले क्लब वा खेलाडीलाई प्रायोजन गर्ने परम्परागत बजारीकरणको शैलीलाई परिमार्जन गरी आक्रमक शैलीमा टेलिभिजन र छापा माध्यममा विज्ञापन अभियान सञ्चालन गर्यो । सन् १९८८ मा मात्र नाइकीले टेलिभिजन विज्ञापनका लागि १ करोड अमेरिकी डलर छुट्याएको थियो । त्यसपछिको वर्षमा भने नाइकीको विज्ञापन बजेट ४ करोड ५० लाख पुर्‍याइयो । हरेक शहरका बिलबोर्डमा नाइकीको विज्ञापन झुड्याइयो भने टेलिभिजन र छापामाध्यमको ठूलो स्थान नाइकीका विज्ञापनले ओगट्न थाले ।

प्रायोजन र विस्तार

त्यसपछि नाइकीले पछाडि फर्केर हेर्नुपरेन । नाइकीले जुत्तासँगै अरु विभिन्न किसिमका स्पोट्र्सवेयरको निर्माण, बजारीकरण, विक्री, खेलकुदमा प्रायोजनलाई आक्रमक शैलीमा अघि बढाइरह्यो । सन् २००३ मा नाइकीले अर्को स्पोट्र्सवेयर कम्पनी कन्भर्सलाई खरिद गर्यो । सन् २००५ मा भारतीय क्रिकेट टिमसँग प्रायोजन सम्झौता गरी नाइकी क्रिकेटको बजारमा समेत प्रवेश गर्यो ।

हाल नाइकीले विभिन्न खेलका सयौं क्लब, हजारौं खेलाडीसँग प्रायोजन सम्झौता गरेको छ । नाइकी इङ्ल्याण्डको प्रिमियर लिग र एफए कप फुटबलको प्रमुख प्रायोजकका रुपमा रहेको छ ।

नाइकीको चेल्सी, टोटनह्याम, पेरिस सेन्ट जर्मेन, इन्टर मिलान, रोमा, बार्सिलोना, एट्लेटिको मड्रिड, सख्तर डोनेत्सक लगायतका युरोपेली फुटबल क्लबसँग प्रायोजन सम्झौता छ भने विश्वकप फुटबल विजेता मुलुक फ्रान्स, उपविजेता क्रोएशिया, पोर्चुगल, इङ्ल्याण्ड, ब्राजिल, चिली लगायतका मुलुकको फुटबल टिमसँग पनि नाइकीको प्रायोजन सम्झौता छ ।

त्यसबाहेक क्रिष्टियानो रोनाल्डो, नेयमार, ह्यारी केन, वायन रुनी, थिबाउ कोर्तवा, इडेन हजार्ड, अलेक्सिस सान्चेज, ल्यूका मोड्रिच, ज्लाटान इब्राहिमोभिचलगायतका विख्यात फुटबल खेलाडीहरु पनि नाइकीसँग प्रायोजन सम्झौतामा छन् । यसअघि पनि नाइकीले लुइस फिगो, रोनाल्डो, रोनाल्डिन्हो, रोबर्टो कार्लोस, कार्लस पुयोल, डिडियर ड्रोग्बा लगायतका महान् एवं विख्यात खेलाडीहरुसँग प्रायोजन सम्झौता गरेको थियो ।

हाल नाइकी विश्वको सबैभन्दा ठूलो स्पोटर्स किट कम्पनीका रुपमा रहेको छ । नाइकीले स्पोट्र्स शूजसँगै प्रायः सबै खेलका सामग्री, जर्सी एवं अन्य किसिमका उपकरण र सामानको निर्माण गर्दै आएको छ । अमेरिकी अखबार फच्र्यूनको ५ सय कम्पनीको सूचीमा ९० औं नम्बरमा रहेको नाइकीले विश्वभर ७० हजारभन्दा धेरैलाई रोजगारी दिएको छ ।

नाइकी स्थापना र उदयको यही संघर्षका कारण नाइकी कम्पनीका सामान विश्वभर लोकप्रिय छन् । उपभोक्तामाझ नाइकीले आफ्नो बेग्लै पहिचान स्थापित गर्न सफल भइसकेको छ भने नाइकीप्रति उपभोक्ताको विश्वसनीयता पनि उत्तिकै मजबुत रहँदै आएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७६, शनिबार  ५ : ४० बजे

दुर्गा प्रसाईँको हतियारबारे छानबिन गर्न समिति गठन

काठमाडौं– सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई हातहतियार राख्ने इजाजत दिएको

सभामुख घिमिरे स्वदेश फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन् । अन्तर-व्यवस्थापिका

एफटीएक्सका संस्थापक साम बैंकम्यानलाई २५ वर्षको जेल सजाय

काठमाडौं– अमेरिकी कम्पनि एफटीएक्सका संस्थापक साम बैंकम्यान फ्राइडलाई २५ वर्षको

पर्यटक नभएपछि अध्यागमन कार्यालय सुनसान

नेपालगञ्ज– बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन वर्षदेखि

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सबलीकरण हो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार