अपांगता भएका दीपकको सडक व्यापार, पानी बेचेरै ४ जनाको परिवार पाल्दै | Khabarhub Khabarhub
Logo
१९ मंसिर २०७६, बिहीबार

अपांगता भएका दीपकको सडक व्यापार, पानी बेचेरै ४ जनाको परिवार पाल्दै



काठमाडौं–प्राय हरेक दिन, काठमाडौंको गौशालाबाट पुरानो बानेश्वर जाने सडकमा हातभरी पानीका बोतल बोकेर हिडिरहेका हुन्छन् एक युवक ।

शारीरिक रुपमा अशक्त देखिन्छन् उनी । राम्ररी हिड्न, सुन्न र बोल्न पनि सक्दैनन् ।

त्यै पनि परिवारको पेट पाल्नका लागि सडकमा धुलो र धुँवा खादै पानी बेचिरहेका छन्-‘जनकपुरका दीपक दास।’

पोलियोको कारण उनको दायाँ खुट्टा राम्रोसँग टेकिदैँन । फटाफट हिड्न पनि सक्दैनन उनी । तर जब सवारी जाम हुन थाल्छ तब प्रत्येक सवारीको चेपचेपमा पुग्छन् ।

उनमा कुनै ठूलो सोच र चाहना छैन् । यात्रा गर्नेहरुले एक बोतल पानी किनिदिए हुन्थ्यो । उनको चाहना यति मात्र छ।

राजधानीको व्यस्त सडक त्यसमाथि गौशाला चोक। सशक्त व्यक्तिहरुलाइ बाटो क्रसिङ गर्न हम्मेहम्मे परिरहेको हुन्छ । तर दीपक, जो शारीरिक रुपमा अशक्त छन् उनी सडकका बीचमा हिँडिरहेका छन् ।

बाटोमा हिड्नेहरु उनलाई छक्क मान्दै हेर्छन् । सवारी साधनका यात्रुहरु पनि उस्तै । तर उनलाई त्यसले कुनै प्रवाह पार्दैन । उनी कसैको वास्ता पनि गर्दैनन् ।

साँझको समय । झलमल्ल सडक बत्ती बलिरहेका पनि थिए । हातमा बोकेका पानीलाई सडकको पेटीमा टुक्रुक्क राखे उनले । पछाडीबाट झोला निकाले उनी झोलामा कति बोतल पानी बाँकी छ हेर्दै थिए ।

हामी उनको नजिकै थियौँ । ‘दिदी पानी पिउने हो?,’ उनले सोधे ।

हामीलाई कुरा गर्नका लागि ग्राहक नै बन्नुपर्ने थिएन तर पनि हामीले सोध्यौँ, ‘के के बेच्न ल्याउनुभएको छ त?’

‘पानी, रेडबुल, सवारी साधनका चाबीमा राख्ने लकेट र धुलो उडाउने फुर्कावाला (कुच्चो)’ हातमा बोकेका सामान देखाउँदै उनले भने ।

कति लिन्छौं यसको पैंसा ? मैले फेरि प्रश्न गरे ।

‘पानीको २५ रुपैयाँ अरुको एक सय रुपैयाँ’ हत्तपत्त उनले भनिहाले ।

‘यसरी सडकमा हिड्दै व्यापार गर्न डर लाग्दैन’ मैले सवारी जामतिर हेर्दै सोधें ।

‘डर त लाग्छ नि दिदी ! तर के गर्नु यसरी व्यापार नगरे भोकै बस्नुपर्छ, परिवारको पेट भोको हुन्छ’ मायालु स्वरमा उनले भने ।

एक त सडकको व्यापार त्यसमाथि हुँइकिएर आउने सवारी साधन । मनमा डर त छँदैछ तर त्यो डरलाई निडरमा परिणत गरी उनी दिनभरी सडकमा भौतारिन्छन् ।

‘यसरी नै पानी बेच्न हिड्दा केही वर्षअघि गाडीले नै हान्दियो’ दीपकले खबरहबसँग कुरा गर्दै भने ‘हप्तादिन त अस्पतालमै बसे म।’

केही समयपछि फर्किए । केही दिन आराम गरे । व्यापारका लागि फेरि सडकतिर प्रवेश गरे उनी । कुराकानीका क्रममा उनको मुहार मलिन देखिन्थ्यो । ‘फेरि केही दिनपछि मोटरसाइकलले हान्दियो’ त्यो घटना सम्झँदै उनले भने ‘त्यसपछि पनि यही सडकमै छु।’

त्यी घटनाहरु दीपकका मानसपटलमा अझै ताजा छन् । नहोस् पनि कसरी स्थान एउटै पेशा एउटै । दुर्घटनामा परिसकेपछि उनले पेशा परिवर्तन गर्ने कुरा पनि सोचे तर आफ्नो शारीरिक अवस्थाका कारण उनले परिवर्तन गर्न सकेनन् र रोजी रोटीका लाथि पुनः सडकपेटीमै फर्किए ।

जनकपुरबाट पानी बेच्न काठमाडौं

सडकमा पानी बेच्दै हिड्ने दीपकको स्थायी घर जनकपुर हो । केही वर्षयता उनी काठमाडौंको पशुपतिनाथ क्षेत्र परिसर नजिकै डेरामा बस्दै आएका छन् ।

उनका बुबाको सानै उमेरमा मृत्यु भयो । दुई दिदी र आमासँगै बस्छन् उनी । परिवारको एक्लो छोरा दीपकले जनकपुरकै एक विद्यालयमा ७ कक्षासम्म अध्ययन गरे । बुबाको मृत्यु भएपछि उनकी आमाको काँधमा सबै जीम्मेवारी आइप¥यो । उनको ध्यान पढ्न भन्दा पनि आमालाई सहयोग गर्नतिर जान थाल्यो ।

‘एउटी दिदीको पनि मानसिक रोगी हुनुहुन्छ’ उनले भने ‘आमालाइ सघाउने पनि कोही थिएनन् त्यसकारण पढाइ पनि छोडें।’

आर्थिक अवस्था निम्न थियो उनीहरुको । त्यसकारण उनीहरु काम खोज्दै काठमाडौं आइपुगे । दीपक अशक्त थिए भने उनकी दिदी पनि उस्तै । काठमाडौंको ठाउँमा एक जनाले कमाएर ४ जना पाल्न सहज कहाँ छ र ?

‘जे काम पाए पनि गर्थे भनेर जागिर खोज्दै हिडें पनि’ दीपकले बितेका कुराहरु कोट्याउँदै भने ‘तर मलाई कसैले जागिर दिएन, फेरि उमेर पनि सानै थियो।’
एकदिन एकजना व्यक्ति भगवान बनेर उनीसामु आइपुगे । पशुपतिमा बस्ने क्रममा जयबागेश्वरीका एक व्यक्तिले उनलाई आफ्नो व्यापारकालागि खटाए ‘पानी बेच्न।’

पानी बेचेरै मासिक ११ हजार

दीपक बिहान १० बजे डेराबाट निस्कछन् । उनी एक्लै हिड्न नसक्ने हुँदा उनलाई आमाले गौशालासम्म ल्याइदिन्छिन् । त्यससँगै उनी हातमा ४÷५ मिनिरल वाटर बोत्तल बोक्छन् र काम शुरु गर्छन् ।

उनको दैनिकी यसरी नै बित्छ । बेलुकी ७ बजेसम्म सडकमै हुन्छन् उनी । दिनमा लगभग एक सय बोत्तल पानी बेच्ने गरेको उनी सुनाउँछन् । भन्छन्,‘९ घण्टासम्म हिड्छु ८/९ पोकासम्म बेच्छु।’

एउटा पोकामा १२ बोत्तल हुन्छन् । उनी पानीको पोका बोकेर आवजावत गर्न सक्दैनन् त्यसकारण उनलाई साहुले पनि दिउँसो पानीका पोका ल्याइदिने गर्छन् । साहुले नै मासिक ११ हजार तलव दिने गरेको उनले सुनाए ।

सुरुवाती दिनमा त उनलाई पानी बेच्न निकै सकस पथ्र्यो । पहिलेजस्तो गाह्रो नहुने अनुभव सुनाउँदै उनी भन्छन् ‘पहिले कसैलाइ चिन्दैनथिएँ, ‘अहिले धेरैलाइ चिनिसके मेरा गाह्रकहरु हुनुहुन्छ नि।’

पानी बेचेरै दिदीलाई पढाउँदै

दीपकले मासिक रुपमा कमाएको ११ हजारले दिदीलाई पढाउने र ५ हजार रुपैयाँ डेरा भाडा तिर्ने गर्छन् । ‘आफुले पढ्न नसकेपनि दिदीलाई चाहिँ पढाउछु’ उनले भने ‘त्यसैले आफुले यसरी काम गरेर पढाइरहेको छु।’

पैसा कमाएर उपचार गर्ने सोचमा दीपक

शारीरिक रुपमा अशक्त दीपकलाई ठुलो भएर केही बन्ने सोच छैन । आज पनि उनी निकै खुसी छन्। अशक्त भएपनि परिवार पालेको छु भन्ने कुरामा गर्व गर्छन् ।

जसोतसो जीविकोपार्जन त चलेकै छ । तर ठुलो भएपछि खुट्टाको उपचार गराउने सोच छ उनको । ‘धेरै पैसा कमाएपछि खुट्टाको उपचार गर्छु’ अन्तमा उनले भने ।


भर्खर